अध्याय १६
यहोवाको उपासनाका लागि जोस
येशूका सौतेनी भाइहरू अर्थात् मरियमका अरू छोराहरू—याकूब, यूसुफ, सिमोन र यहूदा हुन्। यिनीहरू सबै येशू र उहाँका चेलाहरूसँग गालील समुद्र नजिकको सहर कफर्नहुममा जानुभन्दा पहिले परिवारलाई चाहिने कुराहरू पोको पार्न नासरतमा सायद आफ्नो घरमा केही समयका लागि रोकिन्छन्।
नासरत, काना अथवा गालीलको पहाडको अन्य ठाउँहरूमा सेवाको काम नगरेर येशू कफर्नहुम किन जानुहुन्छ? एउटा कारण त कफर्नहुम प्रमुख ठाउँमा अवस्थित छ र स्पष्टतया यो एउटा ठूलो सहर हो। अर्को कारण, येशूले जम्मा गर्नुभएका नयाँ चेलामध्ये धेरै जना कफर्नहुम वा त्यसकै नजिकमा घर भएकाहरू हुन्। अतः उहाँबाट शिक्षा लिन तिनीहरूले आफ्ना घर छाड्नु पर्दैन।
कफर्नहुममा बसेको बेलामा येशूले अद्भुत कामहरू गरेर देखाउनुहुन्छ, जसबारे उहाँ आफैले केही महिनापछि साक्षी दिनुहुन्छ। तर चाँडै नै फेरि येशू र उहाँका साथमा हुनेहरू त्यहाँबाट हिंड्छन्। वसन्त ऋतुको समय हो, र इस्वी संवत् ३० को निस्तार-चाडमा उपस्थित हुन उहाँ र उहाँका साथमा हुनेहरू यरूशलेमतर्फ जान्छन्। त्यहाँ हुँदा येशूबारे उहाँका चेलाहरूले सायद पहिले कहिल्यै नदेखेका कुरा देख्छन्।
परमेश्वरको नियमअनुसार इस्राएलीहरूले पशुहरूको बलिदान चढाउनुपर्छ। त्यसकारण त्यस कामका लागि मानिसहरूलाई सुविधा होस् भनेर यरूशलेमका व्यापारीहरू पशु र चराहरू बेच्छन्। तर तिनीहरू मन्दिरभित्र नै बेचबिखन गरिरहेका छन् र मानिसहरूबाट धेरै दाम लिएर तिनीहरूलाई ठगी रहेछन्।
आक्रोशित हुँदै येशूले डोरीहरूको एउटा कोर्रा बनाएर सबैलाई मन्दिरबाट लघार्नुहुन्छ। पैसा साट्नेहरूको सिक्का छरपस्ट पारिदिनुहुन्छ र टेबल पनि पल्टाइदिनुहुन्छ। अनि ढुकुर बेच्नेहरूलाई कराउँदै भन्नुहुन्छ: “यी सब यहाँबाट लगिहाल! मेरो बुबाको घरलाई व्यापारको थलो बनाउन छोड!”
येशूका चेलाहरूले यो देख्दा तिनीहरूलाई परमेश्वरका छोराबारे लेखिएको यस भविष्यवाणीको सम्झना हुन्छ: “तपाईंको घरको लागि मेरो जोसले मलाई खानेछ।” तर यहूदीहरू सोध्छन्: “तपाईंले यस्ता-यस्ता कामहरू गरिरहनुभएको छ, अब हामीलाई चाहिं के चमत्कार देखाउनुहुन्छ नि?” येशू जवाफ दिनुहुन्छ: “यो मन्दिर भत्काओ अनि तीन दिनमा म यसलाई फेरि खडा गर्नेछु।”
येशू साँच्चैकै मन्दिरको कुरा गर्दै हुनुहुन्छ भनी यहूदीहरू ठान्छन् र तिनीहरू सोध्छन्: “यो मन्दिर बनाउन छयालीस वर्ष लाग्यो तर के तपाईंचाहिं यसलाई तीन दिनमा खडा गर्नुहुनेछ?” तर येशूले त आफ्नो मन्दिररूपी शरीरको चर्चा गर्नुहुँदैछ। तीन वर्षपछि, उहाँ मृत्युबाट पुनर्जीवित हुँदा चेलाहरूले उहाँको यस कथनलाई सम्झिन्छन्। यूहन्ना २:१२-२२; मत्ती १३:५५; लूका ४:२३.
▪ कानामा विवाहको समारोहपछि येशू अरू कुन ठाउँहरूको यात्रा गर्नुहुन्छ?
▪ येशू किन आक्रोशमा आउनुहुन्छ र उहाँले के गर्नुहुन्छ?
▪ उहाँको सो काम देखेर उहाँका चेलाहरूलाई कुन कुराको सम्झना हुन्छ?
▪ “यो मन्दिर”-बारे येशू के भन्नुहुन्छ र उहाँको भनाइको अर्थ के हो?