अध्याय ३४
आफ्ना प्रेषितहरू छान्नुहुन्छ
बप्तिस्मा गराउने यूहन्नाले येशूलाई परमेश्वरको थुमा भनेर चिनाएको र येशूले सेवाको काम सुरु गर्नुभएको करिब डेढ वर्ष भइसकेको छ। त्यसै समयमा अन्द्रियास, सिमोन पत्रुस, यूहन्ना र सायद याकूब (यूहन्नाका दाइ), साथै फिलिप र नथनेल (जसलाई बारथोलोमाइ पनि भनिन्छ) येशूका प्रथम चेलाहरू भएका थिए। केही समयपछि अरूहरू पनि तिनीहरूसित मिलेर येशूको पछि लागेका थिए।
अब येशू आफ्ना प्रेषितहरू छान्न तयार हुनुहुन्छ। यिनीहरू उहाँका घनिष्ठ सहयोगीहरू हुनेछन् जसलाई विशेष प्रशिक्षण दिइनेछ। तर तिनीहरूलाई छान्नुभन्दा अघि येशू डाँडामा जानुहुन्छ र सम्भवतः बुद्धि र परमेश्वरका आशिष्का लागि सारा रात प्रार्थना गर्दै बिताउनुहुन्छ। दिउँसो भएपछि उहाँले आफ्ना चेलाहरूलाई बोलाउनुहुन्छ र तिनीहरूमध्येबाट १२ जनालाई छान्नुहुन्छ। तथापि तिनीहरू येशूका शिष्य रहिरहेकाले तिनीहरूलाई चेला नै भनिन्छ।
माथि नाम उल्लिखित छ जना जसलाई येशूले छान्नुहुन्छ, तिनीहरू उहाँका प्रथम चेलाहरू हुन्। येशूले कर कार्यालयबाट बोलाएर ल्याउनुभएका मत्ती पनि छानिन्छन्। छानिएका अरू पाँच जना चाहिं यहूदा (जसलाई थेदियस पनि भनिन्छ), यहूदा इस्करियोत, जोसिलो भनिने सिमोन, थोमा र अल्फयसका छोरा याकूब हुन्। यी याकूबलाई सानो याकूब पनि भनिन्छ। सायद यिनी शारीरिक दृष्टिले होचो भएर वा प्रेषित याकूबभन्दा कम उमेरका भएर होला।
अहिलेसम्म यी १२ जना येशूसित निकै समयदेखि छन् र तिनीहरूलाई उहाँ राम्ररी चिन्नुहुन्छ। यथार्थमा तिनीहरूमध्ये कति त उहाँकै नातेदारहरू हुन्। याकूब र तिनका भाइ यूहन्ना, येशूकी सानी-आमाका छोराहरू हुन्। सम्भवतः अल्फयस, येशूका धर्मपिता यूसुफका भाइ थिए। त्यसकारण अल्फयसका छोरा, प्रेषित याकूब पनि येशूका नातेदार नै हुन सक्छन्।
निश्चय नै आफ्ना चेलाहरूको नाम सम्झिन येशूलाई कुनै अप्ठ्यारो छैन। तर के तपाईं सम्झिन सक्नुहुन्छ? यसरी सम्झिनुहोस्: सिमोन नाम भएका दुई जना, याकूब नाम भएका दुई जना, यहूदा नाम भएका दुई जना, सिमोनका भाइ अन्द्रियास र याकूबका भाइ यूहन्ना। आठ जना प्रेषितहरूलाई सम्झिने युक्ति यही हो। अरू चार जनामध्ये कर असुल गर्ने व्यक्ति (मत्ती), पछि शङ्का गर्ने (थोमा), रूखमुनिबाट बोलाइएका (नथनेल) र तिनका साथी फिलिप।
प्रेषितहरूमध्ये ११ जना येशूका गृहनगर गालीलका हुन्। नथनेल कानाका हुन्। फिलिप, पत्रुस र अन्द्रियास खासमा बेथसेदाका बासिन्दाहरू भए तापनि पछि पत्रुस र अन्द्रियास कफर्नहुममा सर्छन् जहाँ सम्भवतः मत्ती पनि बस्थे। याकूब र यूहन्ना माछा मार्ने काम गर्थे र सम्भवतः कफर्नहुम वा त्यसको नजिक बस्थे। येशूलाई पछि धोका दिने यहूदा इस्करियोत मात्र यहूदियाका बासिन्दा थिए। मर्कूस ३:१३-१९; लूका ६:१२-१६.
▪ कुन प्रेषितहरू येशूका नातेदार थिए होलान्?
▪ येशूका प्रेषितहरू को-को हुन् र तिनीहरूका नाम तपाईं कसरी सम्झिन सक्नुहुन्छ?
▪ प्रेषितहरू कुन-कुन इलाकाका थिए?