पाठ ८०
येसु बाह्र प्रेषित रोज्नुहुन्छ
येसुले प्रचारकार्य सुरु गर्नुभएको करिब साढे एक वर्ष भइसकेको थियो। अब उहाँले एउटा महत्त्वपूर्ण निर्णय गर्ने बेला भएको थियो। आफूसँगै काम गर्न उहाँले क-कसलाई रोज्नुहुने थियो? ख्रिष्टियन मण्डलीलाई डोऱ्याउन उहाँले क-कसलाई तालिम दिनुहुने थियो? यस्ता निर्णयहरू गर्न उहाँ यहोवा परमेश्वरको डोऱ्याइ चाहनुहुन्थ्यो। त्यसैले उहाँ एक्लै एउटा डाँडामा उक्लनुभयो। त्यहाँ उहाँले रातभरि प्रार्थना गर्नुभयो। बिहान उहाँले केही चेलालाई बोलाउनुभयो र १२ प्रेषित रोज्नुभयो। तिमीलाई तिनीहरूमध्ये कसैको नाम याद छ? ती हुन्: पत्रुस, अन्द्रियास, याकुब, युहन्ना, फिलिप, बारथोलोमाइ, थोमा, मत्ति, अल्फयसका छोरा याकुब, थेदियस, सिमोन र यहुदा इस्करियोत।
अन्द्रियास, पत्रुस, फिलिप, याकुब
ती १२ जना प्रेषितले उहाँसँगसँगै यात्रा गर्ने थिए। उहाँले तिनीहरूलाई तालिम दिनुभएपछि तिनीहरूलाई प्रचार गर्न पठाउनुभयो। यहोवा परमेश्वरले तिनीहरूलाई प्रेतहरू धपाउने र बिरामीहरूलाई निको पार्ने शक्ति दिनुभयो।
युहन्ना, मत्ति, बारथोलोमाइ, थोमा
ती १२ जनालाई येसुले आफ्नो मित्र भन्नुभयो र उहाँ तिनीहरूमाथि भरोसा गर्नुहुन्थ्यो। फरिसीहरूलाई ती प्रेषितहरू अशिक्षित अनि साधारण मानिस जस्तो लाग्थ्यो। तर येसुले तिनीहरूलाई सेवाको कामको लागि तालिम दिनुभयो। येसुको जीवनको सबैभन्दा महत्त्वपूर्ण क्षणहरूमा तिनीहरू उहाँसँगै हुने थिए। जस्तै: उहाँको मृत्युअघि र उहाँ फेरि जीवित हुनुभएपछि। येसुजस्तै ती १२ जनामध्ये धेरैजसो गालिलका थिए। कोही-कोही विवाहित थिए।
अल्फयसका छोरा याकुब, यहुदा इस्करियोत, थेदियस, सिमोन
प्रेषितहरू त्रुटिपूर्ण भएकोले तिनीहरूले गल्तीहरू गरे। कतिपय अवस्थामा तिनीहरूले सोचविचारै नगरी बोले र गलत निर्णयहरू गरे। कहिलेकाहीँ तिनीहरू अधीर भए। तिनीहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर पनि तिनीहरूले झगडा गरे। तर तिनीहरू यहोवा परमेश्वरलाई प्रेम गर्ने असल मानिसहरू थिए। येसु जानुभएपछि तिनीहरू ख्रिष्टियन मण्डलीको जग हुने थिए।
“मैले तिमीहरूलाई मित्र भनेको छु किनभने आफ्नो बुबाबाट मैले जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई प्रकट गरेको छु।”—युहन्ना १५:१५