अध्याय ५२
येशूले चमत्कारद्वारा हजारौंलाई खुवाउनुहुन्छ
गालीलभरि १२ जना प्रेषितले एउटा असाधारण प्रचार भ्रमणबाट आनन्द उठाएका छन्। अब यूहन्नाको हत्याको केही समयपछि तिनीहरू येशूकहाँ फर्केर आउँछन् र आफ्ना अद्भुत अनुभवहरू सुनाउँछन्। तर तिनीहरू थकित देखिन्छन्। थुप्रै मानिसहरू आउजाउ गरिरहेका हुँदा तिनीहरूले खाने मौकासमेत नपाएकोले येशू भन्नुहुन्छ: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र अलिकति आराम गर।”
सम्भवतः कफर्नहुम नजिकबाट डुङ्गा चढेर उहाँहरू सबै जना यर्दनको पूर्व, बेथसेदाभन्दा परतिर एउटा एकान्त ठाउँमा जानुहुन्छ। तर उहाँहरू यसरी गइरहेको धेरैले देख्छन् र अरूहरूले पनि थाह पाउँछन्। तिनीहरू सबै जना किनारै-किनारको बाटो भएर अघि-अघि दौडँदै जान्छन् र डुङ्गा किनार लाग्दा येशू र उहाँका चेलाहरूलाई भेट्न मानिसहरू त्यहाँ पुगिसकेका हुन्छन्।
डुङ्गाबाट निस्केर भीडलाई देखेपछि येशूको मनमा दया जाग्छ किनकि तिनीहरू गोठाला नभएका भेडाझैं छन्। अतः उहाँले तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुहुन्छ र तिनीहरूलाई धेरै कुराहरू सिकाउन थाल्नुहुन्छ।
समय बितेको थाहै हुँदैन। येशूका चेलाहरू उहाँका आएर भन्छन्: “यो ठाउँ अनकन्टार छ र समय पनि निकै बितिसक्यो। त्यसैले तिनीहरूलाई पठाइदिनुहोस् र नजिकैका गाउँ-बस्तीहरूतिर गएर तिनीहरूले आफ्नो निम्ति केही खानेकुरा किनून्।”
तर येशूले यसप्रकार उत्तर दिनुहुन्छ: “तिमीहरूले नै उनीहरूलाई केही खान देओ।” अब आफू के गर्दैछु भनी थाह भएको हुनाकारण यो प्रश्न सोधेर उहाँले फिलिपको जाँच गर्नुहुन्छ: “यिनीहरूलाई खुवाउन हामी रोटी कहाँ किनौं?”
फिलिपको दृष्टिकोणमा यो असम्भव कुरो हो। किनभने त्यहाँ पुरुषहरू मात्र लगभग ५,००० जति छन् र स्वास्नीमानिसहरू र बच्चाहरूसमेत गर्दा १०,००० भन्दा बढी भेला भएका छन्! फिलिपले उत्तरमा भन्छन्: “यिनीहरूलाई अलि-अलि मात्र खुवाउने हो भने पनि दुई सय दिनारको [त्यतिबेला एक दिनार एक दिनको ज्याला थियो] रोटीले पुग्दैन।”
यति धेरै जनालाई खुवाउनु असम्भव छ भन्न अन्द्रियास पनि अघि सर्छन्: “यहाँ एक जना केटोसित जौका पाँच वटा रोटी र दुई वटा साना माछा छन्। तर यत्तिका मानिसहरूलाई यसले कसरी पुऱ्याउने?”
वसन्त ऋतुको बेला भएको हुनाले र इस्वी संवत् ३२ सालको निस्तार-चाडका निम्ति केही समय मात्र बाँकी रहेकोले चारैतिर प्रशस्त मात्रामा हरियो घाँस छ। येशूले मानिसहरूलाई घाँसमा ५०, ५० र १००, १०० को समूह बनाएर बसाउन आफ्ना चेलाहरूलाई अह्राउनुहुन्छ। तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरेर धन्यवाद चढाउनुहुन्छ। यसपछि उहाँले रोटी भाँच्नुहुन्छ र माछा पनि भाग-भाग लगाउनुहुन्छ र आफ्ना चेलाहरूलाई दिनुहुन्छ। चेलाहरूले चाहिं मानिसहरूलाई ती बाँडिदिन्छन्। आश्चर्यको कुरा, सबैले अघाउन्जेल खान्छन्!
सबैले खाइसकेपछि येशू आफ्ना चेलाहरूलाई भन्नुहुन्छ: “उब्रेका टुक्राटाक्री बटुल र केही पनि खेर नजाओस्।” तिनीहरूले बटुल्दा खाएर उब्रेका टुक्राहरूले १२ डालो भरिन्छन्! मत्ती १४:१३-२१; मर्कूस ६:३०-४४; लूका ९:१०-१७; यूहन्ना ६:१-१३.
▪ येशू किन आफ्ना चेलाहरूका लागि एकान्त ठाउँ खोज्नुहुन्छ?
▪ चेलाहरूलाई येशू कहाँ लैजानुहुन्छ तर तिनीहरूले किन आराम गर्न पाउँदैनन्?
▪ अबेर भइसकेकोले चेलाहरू उहाँलाई के भन्छन् तर येशूले मानिसहरूका लागि कसरी चासो व्यक्त गर्नुहुन्छ?