पाठ ८३
येसु हजारौँ मानिसलाई खुवाउनुहुन्छ
इस्वी संवत् ३२ को निस्तार चाड मनाउने बेला हुनै लागेको थियो। प्रेषितहरू प्रचार-यात्राबाट फर्के। उनीहरू धेरै थाकेका थिए। त्यसैले आराम गर्न सकून् भनेर येसुले उनीहरूलाई बेथसेदा लिएर जानुभयो। तर उहाँहरू चढ्नुभएको डुङ्गा किनारामा पुग्दा उहाँले हजारौँ मानिस उहाँको पछि लागेर त्यहाँ पुगिसकेको देख्नुभयो। उहाँ प्रेषितहरूसित केही समय एकान्तमा बस्न चाहनुहुन्थ्यो। तैपनि उहाँले तिनीहरूलाई न्यानो स्वागत गर्नुभयो। उहाँले बिरामीहरूलाई निको पार्नुभयो र तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले दिनभरि परमेश्वरको राज्यबारे सिकाउनुभयो। साँझ परेपछि प्रेषितहरू उहाँकहाँ आएर भने: ‘यी मानिसहरूलाई भोक लागिसक्यो होला। तिनीहरूलाई पठाइदिनुहोस् र तिनीहरूले आफ्नो निम्ति खानेकुरा किनून्।’
तर येसुले भन्नुभयो: “उनीहरू जानु आवश्यक छैन, तिमीहरूले नै उनीहरूलाई केही खान देओ।” प्रेषितहरूले भने: “के हामी गएर यी मानिसहरूको लागि खानेकुरा किनेर ल्याऔँ?” प्रेषितहरूमध्ये एक जना फिलिपले भने: ‘हामीसित धेरै पैसा भए पनि यो भीडको लागि पुग्दो खानेकुरा किन्न सक्दैनौँ।’
येसुले सोध्नुभयो: ‘हामीसित कति खानेकुरा छ?’ अन्द्रियासले भने: ‘हामीसित पाँच वटा रोटी र दुई वटा साना माछा छन्। तर यतिले पुग्दैन।’ येसुले भन्नुभयो: “ती मकहाँ ल्याओ।” उहाँले मानिसहरूलाई ५०-५० र १००-१०० जनाको समूह बनाएर घाँसमा बस्न लगाउनुभयो। येसुले रोटी र माछा लिनुभयो अनि स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो। त्यसपछि ती खानेकुरा प्रेषितहरूलाई दिनुभयो र तिनीहरूले मानिसहरूलाई बाँडे। पाँच हजार पुरुष अनि स्त्रीहरू र केटाकेटीहरू सबैले पेटभरि खाए। प्रेषितहरूले केही खेर नजाओस् भनेर उब्रेका टुक्राटाक्री जम्मा गरे। बाह्र डाला भरिए! येसुले कस्तो अचम्मलाग्दो काम गर्नुभयो नि, हैन?
यो देखेर मानिसहरू यत्ति खुसी भए कि तिनीहरूले येसुलाई राजा बनाउन खोजे। तर येसुलाई आफू राजा हुन यहोवा परमेश्वरले तोक्नुभएको समय आइसकेको छैन भनेर थाह थियो। त्यसैले उहाँले भीडलाई त्यहाँबाट पठाइदिनुभयो अनि प्रेषितहरूलाई चाहिँ गालिल समुद्रपारि जान भन्नुभयो। उनीहरू डुङ्गा चढेर गए अनि येसुचाहिँ एक्लै डाँडातिर लाग्नुभयो। किन? किनकि उहाँ एकान्तमा आफ्नो बुबालाई प्रार्थना गर्न चाहनुहुन्थ्यो। जति नै व्यस्त भए पनि येसु सधैँ प्रार्थना गर्न समय निकाल्नुहुन्थ्यो।
“नाश भएर जाने खानेकुराका लागि होइन तर सधैँभरि रहिरहने र तिमीहरूलाई अनन्त जीवन दिने खानेकुराका लागि परिश्रम गर, जो तिमीहरूलाई मानिसको छोराले दिनेछ।”—युहन्ना ६:२७