अध्याय ५५
धेरै चेलाहरू येशूका पछि लाग्न छाड्छन्
कफर्नहुमको एउटा सभाघरमा आफू नै स्वर्गबाट ओर्लेर आएको रोटी हो भनेर येशू शिक्षा दिंदै हुनुहुन्छ। यो छलफल केही समयअघि गालील समुद्रको पूर्वपपट्टि उहाँले चमत्कारपूर्वक रोटी र माछा खुवाउनुभएका मानिसहरू फर्केर उहाँलाई फेला पारेको बखतमा उठेको थियो। अहिले पनि उहाँ त्यसै विषयलाई अघि बढाउँदै हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ।
आफ्नो कुरा अघि सार्दै येशू भन्नुहुन्छ: “मैले दिन लागेको रोटी वास्तवमा मेरो शरीर हो अनि संसारले जीवन पाओस् भनेर म त्यो दिनेछु।” दुई वर्षअघि मात्र इस्वी संवत् ३० को वसन्त ऋतुमा येशूले निकोदेमसलाई भन्नुभएको थियो कि परमेश्वरले संसारलाई यत्तिको प्रेम गर्नुभएकोले आफ्नो छोरा मुक्तिदाताको रूपमा दिनुभयो। यसप्रकार संसारका कुनै पनि व्यक्तिले उहाँले दिनै लाग्नुभएको बलिदानमा विश्वास गरेर प्रतीकात्मक रूपमा उहाँको शरीर खायो भने अनन्त जीवन पाउन सक्नेछ भनेर येशू अब बताउनुहुँदैछ।
तथापि मानिसहरूचाहिं येशूका शब्दहरूले गर्दा ठोकर खान्छन्। “यो मानिसले कसरी हामीलाई आफ्नो शरीर खान दिन सक्छ?” भन्दै तिनीहरू प्रश्न गर्छन्। उहाँको शरीरलाई प्रतीकात्मक रूपमा खानेछन् भनेर मानिसहरूले बुझेको येशू चाहनुहुन्छ। यसकारण यो कुरालाई जोड दिन उहाँ अझ एउटा यस्तो कुरा भन्नुहुन्छ जसको शाब्दिक अर्थ लगाइयो भने झनै आपत्तिजनक हुन्छ।
“मानिसको छोराको शरीर नखाएसम्म र उसको रगत नपिएसम्म तिमीहरूले जीवन पाउनेछैनौ। जसले मेरो शरीर खान्छ र मेरो रगत पिउँछ, उसले अनन्त जीवन पाउँछ अनि म उसलाई आखिरी समयमा पुनर्जीवित पार्नेछु किनकि मेरो शरीर साँच्चिकै खानेकुरा र मेरो रगत साँच्चिकै पिउनेकुरा हो। जसले मेरो शरीर खान्छ र मेरो रगत पिउँछ, ऊ मसित एकतामा रहन्छ अनि म ऊसित एकतामा रहन्छु।”
साँच्चै नै, येशूले मान्छेको मासु र रगत खाने तथा पिउने कुरा गर्नुभएको हो भने त यो अति नै घृणास्पद विषय हुनेथियो। तर जरुर पनि येशूले यहाँ साँच्चिकै मासु खाने र रगत पिउने कुरा गर्नुभएको होइन। उहाँले बलिदान चढाउनै लागेको त्रुटिरहित मानव शरीर र रगतमा विश्वास गर्नेहरूले अनन्त जीवन पाउनेछन् भन्ने कुरामाथि जोड मात्र दिनुहुँदैछ। तापनि उहाँका धेरै चेलाहरूसमेतले उहाँका शिक्षा बुझ्ने प्रयास गर्नुको सट्टा विरोध गर्छन्: “यो कुरा असाध्यै घिनलाग्दो छ; कसले यो सुन्न सक्छ र?”
आफ्ना धेरैजसो चेलाहरू गनगन गर्दैछन् भनेर थाह पाएपछि येशू भन्नुहुन्छ: “के यो कुराले तिमीहरूलाई ठेस पुऱ्यायो? त्यसो हो भने, तिमीहरूले मानिसको छोरालाई पहिला ऊ जहाँ थियो, त्यतै उक्लँदै गरेको देख्यौ भने झनै के होला? . . . मैले तिमीहरूलाई पवित्र शक्तिद्वारा यो कुरा भनेको हुँ र यसले जीवन दिन्छ। तर तिमीहरूमध्ये कोही-कोही यस्ता छौ, जसले विश्वास गर्दैनौ।”
येशू अझै भन्नुहुन्छ: “यसैले मैले तिमीहरूलाई भनेको हुँ, बुबाले उसलाई अनुमति नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन।” यो सुन्नासाथ उहाँका चेलाहरूमध्ये धेरै जना पछि हट्छन् र उहाँका पछि लाग्न छाड्छन्। यसकारण येशू उहाँका १२ प्रेषितहरूतिर फर्केर यो प्रश्न गर्नुहुन्छ: “तिमीहरू त जान चाहँदैनौ नि, होइन र?”
पत्रुसले उत्तर दिन्छन्: “प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका वचनहरू त तपाईंसित छन्; अनि परमेश्वरका पवित्र जन तपाईं नै हुनुहुन्छ भनेर हामीले विश्वास गरेका र थाह पाएका छौं।” येशूले भर्खरै दिनुभएको शिक्षा पूर्णरूपमा नबुझे तापनि पत्रुस र अरू प्रेषितहरूले वफादारीको कति ठूलो प्रमाण प्रस्तुत गर्छन्!
पत्रुसको प्रत्युत्तरसँग प्रसन्न हुनुभए तापनि येशू भन्नुहुन्छ: “मैले तिमीहरू बाह्र जनालाई छानेको थिएँ, होइन र? तर तिमीहरूमध्ये एक जना निन्दक हौ।” उहाँ यहूदा इस्करियोतको विषयमा कुरा गर्नुहुँदैछ। सम्भवतः यसै समयदेखि नै येशूले यहूदामा गलत बाटोमा लाग्ने झुकाव सुरु भएको थाह पाउनुहुन्छ।
आफूलाई राजा बनाउन चाहने मानिसहरूको कोसिसको प्रतिकार गरेर येशूले तिनीहरूलाई भर्खरै निराश तुल्याउनुभएको छ। ती मानिसहरूले अब मनमनै तर्क गरिरहेका होलान्: ‘आफ्नो उचित हक र स्थान अपनाउन नचाहने यो मानिस कसरी मसीह हुन सक्छ?’ मानिसहरूको मनमा यो पनि एउटा नयाँ कुरा खेल्ने भयो। यूहन्ना ६:५१-७१; ३:१६.
▪ येशूले आफ्नो शरीर कसका निम्ति दिनुहुन्छ र तिनीहरूले कसरी उहाँको ‘शरीर खान्छन्’?
▪ येशूका अरू कुन-कुन शब्दहरूले गर्दा मानिसहरू विचलित हुन्छन् तर पनि उहाँ कुन कुरालाई जोड दिनुहुँदैछ?
▪ धेरै जना येशूको पछि लाग्न छाड्दा पत्रुसको प्रतिक्रिया कस्तो हुन्छ?