अध्याय ६७
तिनीहरू उहाँलाई पक्रन असफल हुन्छन्
झुप्रोबासको चाड चलिरहेको बेला येशूलाई पक्रन धर्म-गुरुहरूले पहरेदारहरूलाई पठाउँछन्। उहाँ लुक्ने प्रयास गर्नु हुन्न। बरु आफ्नो आम शिक्षालाई यसो भन्दै जारी राख्नुहुन्छ: “जसले मलाई पठाउनुभयो, उहाँकहाँ जानुअघि अब केही बेर म तिमीहरूसित हुनेछु। तिमीहरूले मलाई खोज्नेछौ तर फेला पार्नेछैनौ र म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ।”
यहूदीहरू बुझ्दैनन् र तिनीहरू आपसमा सोधपुछ गर्छन्: “हामीले फेला पार्न नसक्ने गरी यो मानिस कहाँ जाँदैछ? ग्रीकहरूमाझ छरिएका यहूदीहरूकहाँ गएर यसले ती ग्रीकहरूलाई सिकाउने विचार गर्दैछ कि कसो? अनि ‘तिमीहरूले मलाई खोज्नेछौ तर फेला पार्नेछैनौ र म जहाँ हुन्छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेर यसले के भन्न खोजेको?” वास्तवमा येशू आफ्नो मृत्यु र पुनर्जीवनद्वारा पाउने स्वर्गीय जीवनबारे कुरा गर्नुहुँदैछ, जहाँ उहाँका शत्रुहरूले उहाँलाई पछ्याउन सक्दैनन्।
चाडको सातौं र अन्तिम दिन आइपुग्छ। चाडको दिन प्रत्येक बिहान एक जना पुजारीले सिलोआमको कुण्डबाट पानी ल्याएर खन्याउँछन् र त्यो बगेर वेदीको तलसम्म पुग्छ। सायद यो दैनिक समारोहबारे मानिसहरूलाई याद दिलाउने उद्देश्यले येशू यसो भन्दै उद्गार गर्नुहुन्छ: “यदि कसैलाई तिर्खा लागेको छ भने ऊ मकहाँ आओस् र पिओस्। जसले ममाथि विश्वास गर्छ, धर्मशास्त्रले भनेजस्तै ‘उसको मनको गहिराइबाट जीवन दिने पानीको खोला बग्नेछ।’ ”
यथार्थमा पवित्र शक्ति खन्याइसकेपछिको महान् परिणामबारे येशू यहाँ कुरा गर्नुहुँदैछ। त्यसपछिको वर्षको पेन्तिकोसमा पवित्र शक्ति खन्याउने काम हुन्छ। त्यहाँ १२० जना चेलाले मानिसहरूलाई सिकाउन थाल्दा जीवन दिने पानीका खोला बग्न थाल्छन्। तर त्यसबेलासम्म पवित्र शक्ति यस अर्थमा बग्न थालेको छैन किनभने येशूका कुनै पनि चेलाले पवित्र शक्तिद्वारा अभिषिक्त भएर स्वर्गीय जीवनका लागि निम्तो पाएका छैनन्।
येशूका शिक्षा सुनेर कसै-कसैले भन्छन्: “यी मानिस पक्कै पनि भविष्यवक्ता हुनुपर्छ।” यसप्रकार तिनीहरूले मोशाभन्दा महान् ती भविष्यवक्तातर्फ सङ्केत गर्छन् जसको आगमनबारे प्रतिज्ञा गरिएको थियो। कसै-कसैले, “यी मानिस ख्रीष्ट हुन्” भन्छन्। तर यसको विरोध गर्दै अरू भन्छन्: “ख्रीष्ट पनि कहीं गालीलबाट आउँछन् र? ख्रीष्ट दाऊदको सन्तानबाट अनि जहाँ दाऊद बस्थे, अर्थात् बेतलेहेमको गाउँबाट आउनेछन् भनेर के धर्मशास्त्रले बताएको छैन र?”
त्यसकारण भीडमा फूट उत्पन्न हुन्छ। कोही-कोहीले येशूलाई पक्रन चाहन्थे तर उहाँमाथि कसैले पनि हातचाहिं हाल्दैन। पहरेदारहरू येशूविना फर्कंदा मुख्य पुजारीहरू र फरिसीहरूले तिनीहरूलाई सोध्छन्: “तिमीहरूले किन उसलाई पक्रेर ल्याएनौ?”
पहरेदारहरूले जवाफ दिन्छन्: “यो मानिसले जस्तो त कसैले बोलेको छैन।”
रिसले चूर भएर ती धर्म-गुरुहरू निन्दा, झूट र अपशब्द प्रयोग गर्न थाल्छन्। उपहास गर्दै तिनीहरू भन्छन्: “तिमीहरू पनि बहकियौ कि कसो? शासक वा फरिसीहरूमध्ये के कसैले त्यसमाथि विश्वास गरेको छ र? तर मोशाको व्यवस्था नजान्ने यो भीड श्रापित हो।”
यसो हुँदा एक जना फरिसी, यहूदीहरूका शासक (अर्थात् यहूदी न्यायपरिषद्का सदस्य) निकोदेमसले येशूको पक्षमा बोल्ने हिम्मत गर्छन्। तपाईंलाई सम्झना होला, अढाई वर्षअघि निकोदेमसले येशूकहाँ राती आएर आफ्नो विश्वास जाहेर गरेका थिए। अब निकोदेमस भन्छन्: “हाम्रो व्यवस्थाअनुसार कसैलाई दोष लगाउनुअघि उसको कुरा सुन्नु अनि उसले के गर्दैछ, त्यो बुझ्नु आवश्यक छैन र?”
आफूमध्येकै एक जनाले येशूको पक्षमा बोलेको देखेर फरिसीहरू झन् क्रोधित हुन्छन्। तिनीहरू व्यङ्ग्य गर्दै भन्छन्: “के तिमी पनि गालीलकै हौ र? धर्मशास्त्रमा खोजेर हेर, गालीलबाट भविष्यवक्ता आउनेछ भनेर कतै लेखिएको छैन।”
एक जना भविष्यवक्ता गालीलबाट निस्कनेछ भनी धर्मशास्त्रले प्रत्यक्ष रूपमा नभने तापनि यस इलाकामा “एउटा ठूलो ज्योति” देखा पर्नेछ भनेर ख्रीष्ट यहाँबाट आउनुहुने कुराको सङ्केत गरिएको छ। यसबाहेक येशू बेतलेहेममा जन्मनुभएको थियो र उहाँ दाऊदको सन्तान हुनुहुन्थ्यो। फरिसीहरूलाई यस कुराको जानकारी हुँदाहुँदै पनि सायद तिनीहरूले नै येशूको विषयमा मानिसहरूबीच गलत धारणा फैलाएको हुन सक्छ। यूहन्ना ७:३२-५२; यशैया ९:१, २; मत्ती ४:१३-१७.
▪ चाडको दिनको प्रत्येक बिहान के हुन्छ र येशूले त्यसतर्फ कसरी ध्यान आकर्षित गर्न खोज्नुभएको हुन सक्छ?
▪ पहरेदारहरूले येशूलाई गिरफ्तार गर्न किन सक्दैनन् र धर्म-गुरुहरूले कस्तो प्रतिक्रिया व्यक्त गर्छन्?
▪ निकोदेमस को हुन्, येशूप्रति उनले कस्तो दृष्टिकोण राखेका छन् र उनीसँग उनका सँगी फरिसीहरूले कस्तो व्यवहार गर्छन्?
▪ ख्रीष्ट गालीलबाट आउनुहुनेछ भन्ने कुराको के प्रमाण छ?