अध्याय ८०
गोठहरू र गोठालो
येशू यरूशलेममा हनोक्का अर्थात् समर्पणको चाडका लागि आउनुभएको छ। यो चाड यहोवालाई मन्दिर पुनःसमर्पण गरेको उपलक्ष्यमा मनाइन्छ। ईसापूर्व १६८ मा करिब २०० वर्षअघि एन्टिओकस चौथो एपिफनेसले यरूशलेमलाई कब्जा गरेर त्यहाँको मन्दिर र त्यसको वेदीलाई अपवित्र पारेको थियो। तथापि तीन वर्षपछि उसको हातबाट यरूशलेम पुनःस्वतन्त्र पारियो र मन्दिरलाई पुनःसमर्पण गरियो। त्यसपछि प्रत्येक वर्ष पुनःसमर्पणको एउटा समारोह मनाउन थालियो।
समर्पणको यो चाड यहूदी महिना किसलेव २५ मा अर्थात् हाम्रो आधुनिक पात्रोअनुसार नोभेम्बरको अन्त र डिसेम्बरको सुरुतिर पर्छ। यसप्रकार इस्वी संवत् ३३ को महत्त्वपूर्ण निस्तार-चाड आउन करिब १०० दिन जति बाँकी छ। जाडोको मौसम भएकोले प्रेषित यूहन्नाले यसलाई “हिउँदको बेला” भन्छन्।
येशू अब एउटा दृष्टान्तको प्रयोग गर्नुहुन्छ, जसमा तीन वटा गोठहरू र उहाँ स्वयम्ले निर्वाह गर्ने गोठालोको भूमिकाको वर्णन उहाँ गर्नुहुन्छ। उहाँले चर्चा गर्नुभएको प्रथम गोठले मोशाको व्यवस्थासँग सम्बन्धित वाचाको प्रबन्धलाई बुझाउँछ। यो व्यवस्थाले एउटा पर्खालको काम गर्थ्यो जसले परमेश्वरसँग विशेष वाचामा नहुने मानिसहरूका भ्रष्ट चालहरूबाट यहूदीहरूलाई अलग्ग राख्थ्यो। येशू व्याख्या गर्नुहुन्छ: “तिमीहरूलाई म साँच्चै भन्छु, जो ढोकाबाट नभई अर्कै ठाउँबाट चढेर गोठभित्र पस्छ, त्यो चोर अनि लुटेरा हो। तर जो ढोकाबाट भित्र पस्छ, ऊ भेडाहरूको गोठालो हो।”
अरूहरू पनि आएर मसीह अर्थात् ख्रीष्ट हुने दाबी गरेका थिए। तर तिनीहरू त्यो साँचो गोठालो थिएनन् जसबारे येशू अब यहाँ कुरा गर्नुहुन्छ: “ढोकेले उसको निम्ति ढोका खोलिदिन्छ, अनि भेडाहरूले उसको सोर सुन्छन् र उसले आफ्ना भेडाहरूलाई नाम काढेर बोलाउँछ अनि डोऱ्याएर बाहिर लैजान्छ। . . . तिनीहरू कुनै हालतमा अपरिचित मानिसको पछि लाग्दैनन्, बरु ऊदेखि भाग्छन्, किनकि अपरिचित मानिसहरूको सोर तिनीहरूले चिन्दैनन्।”
प्रथम गोठको “ढोके” बप्तिस्मा गराउने यूहन्ना थिए। यूहन्ना ढोके हुनाकारण तिनले येशूका लागि ढोका ‘खोलिदिए’ र उहाँले बाहिर चराउन लाने लाक्षणिक भेडाहरूसँग उहाँको परिचय गराइदिए। येशूले नाम काढी-काढी बोलाउँदै बाहिर लाने भेडाहरू अन्तमा एउटा अर्कै गोठमा हुलिन्छन् र यस विषयमा येशू भन्नुहुन्छ: “तिमीहरूलाई म साँच्चै भन्छु, म भेडाहरूको निम्ति ढोका हुँ” अर्थात् एउटा नयाँ गोठको ढोका। जब येशू आफ्ना चेलाहरूसित नयाँ वाचा स्थापित गर्नुहुन्छ र आउँदो पेन्तिकोसको दिनमा तिनीहरूमाथि स्वर्गबाट पवित्र शक्ति खन्याउनुहुन्छ, तब तिनीहरू त्यो नयाँ गोठमा प्रवेश गर्छन्।
आफ्नो भूमिकाबारे अझ बुझाउँदै येशू भन्नुहुन्छ: “म ढोका हुँ; जो मबाट भित्र पस्छ, उसले उद्धार पाउनेछ र ऊ भित्र बाहिर गर्नेछ अनि उसले खर्कमा चर्न पाउनेछ। . . . म भने तिनीहरूले दीर्घ जीवन पाऊन् भनेर आएको हुँ। . . . म असल गोठालो हुँ र आफ्ना भेडाहरूलाई चिन्छु अनि मेरा भेडाहरूले मलाई चिन्छन्, जसरी बुबाले मलाई चिन्नुहुन्छ र म बुबालाई चिन्छु; अनि म भेडाहरूको निम्ति आफ्नो ज्यान अर्पण गर्छु।”
हालै येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्दै सान्त्वना दिनुभएको थियो: “हे सानो बगाल, नडराओ, किनकि तिमीहरूको बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।” यो सानो बगालको सङ्ख्या अन्तमा १,४४,००० हुनेछ र यस बगालकाहरू नै त्यो नयाँ अथवा दोस्रो गोठमा प्रवेश गर्छन्। तर येशू अझै भन्नुहुन्छ: “मेरा अरू भेडा छन्, जो यस गोठका होइनन्; तिनीहरूलाई पनि मैले ल्याउनै पर्छ अनि तिनीहरूले मेरो सोर सुन्नेछन् र तिनीहरू सबै एउटै बगालको अनि एकै जना गोठालोका हुनेछन्।”
“अरू भेडा” ‘यस गोठका नभएका’ हुनाले तिनीहरू अर्कै गोठ अर्थात् तेस्रो गोठका हुनुपर्छ। यी पछिल्ला दुई गोठका भेडाहरू बेग्ला-बेग्लै ठाउँमा जाने हुन्। एउटा गोठका “सानो बगाल” स्वर्गमा येशूसित शासन गर्नेछन् र अर्को गोठका “अरू भेडा”-चाहिं पार्थिव प्रमोदवनमा बस्नेछन्। तथापि दुई गोठमा भए तापनि ती भेडाहरू आपसमा डाह गर्दैनन्, नता तिनीहरू कुनै भेदभाव नै महसुस गर्छन्। येशूले भन्नुभएझैं तिनीहरू “एकै जना गोठालो”-मुनि “एउटै बगालको” हुनेछन्।
असल गोठालो येशू ख्रीष्टले दुवै गोठका भेडाका लागि स्वेच्छाले आफ्नो जीवन अर्पण गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “म आफ्नो ज्यान अर्पण गर्छु। . . . त्यो अर्पण गर्ने अधिकार मसित छ अनि फेरि प्राप्त गर्ने अधिकार पनि मसित छ। मैले आफ्नो बुबाबाट त्यस्तो अधिकार पाएको हुँ।” येशूले यसो भन्नुभएपछि यहूदीहरूमा फूट उत्पन्न हुन्छ।
भीडबाट धेरै जना भन्छन्: “उसमा दुष्ट स्वर्गदूत बास गरेको छ, ऊ बौलाहा हो। तिमीहरू किन उसको कुरा सुन्छौ?” तर अरूहरू भन्छन्: “यो कुरा दुष्ट स्वर्गदूत बास गरेको मानिसको हुनै सक्दैन।” अनि केही महिनाअघि एउटा जन्मजात अन्धोलाई उहाँले निको पार्नुभएको कुरालाई सङ्केत गर्दै तिनीहरू यो कुरा थप्छन्: “के दुष्ट स्वर्गदूतले अन्धाहरूको आँखा खोलिदिन सक्छ र?” यूहन्ना १०:१-२२; ९:१-७; लूका १२:३२; प्रकाश १४:१, ३; २१:३, ४; भजन ३७:२९.
▪ समर्पणको चाड के हो र यो कहिले मनाइन्छ?
▪ प्रथम गोठ के हो र त्यसको ढोके को हो?
▪ ढोकेले गोठालोका लागि कसरी ढोका खोल्छ र यसपछि भेडाहरूले कहाँ प्रवेश पाउँछन्?
▪ असल गोठालोको दुई वटा गोठमा को-को हुन्छन् र तिनीहरू कति वटा बगाल बन्छन्?