अध्याय ८३
एक जना फरिसीले उहाँको आतिथ्य गर्छ
येशू अझैसम्म एक जना प्रमुख फरिसीको घरमा हुनुहुन्छ र उहाँले भर्खरै जलोदर भएको मानिसलाई निको पार्नुभएको छ। त्यहाँ आएका अरू पाहुनाहरूले आफू बस्नका लागि मुख्य-मुख्य आसन छानेको देखेर उहाँले नम्रताको एउटा पाठ सिकाउनुहुन्छ।
येशू व्याख्या गर्नुहुन्छ: “कसैले तिमीलाई विवाह-भोजमा निम्त्याउँदा अगाडि गएर सबैभन्दा मुख्य आसनमा नबस। तिमीलाई निम्तो दिनेले सायद तिमीभन्दा पनि प्रतिष्ठित मानिसलाई त्यहाँ निम्त्याएको हुन सक्छ अनि तिमीहरू दुवैलाई निम्त्याउने मानिस आएर तिमीलाई यसो भन्नेछ: ‘उहाँलाई यो ठाउँ छोडिदिनुहोस्।’ अनि तिमी लाजले भुतुक्क हुँदै सबैभन्दा पछाडि गएर बस्नुपर्नेछ।”
यसकारण येशू सल्लाह दिनुहुन्छ: “तिमीले निम्तो पाउँदा गएर सबैभन्दा पछाडि बस अनि तिमीलाई निम्तो दिने मानिस आएर तिमीलाई भन्नेछ: ‘मित्र, गएर अगाडि बस्नुहोस्।’ तब त्यहाँ भएका सबै पाहुनाको अगाडि तिम्रो इज्जत हुनेछ।” कुरा टुङ्ग्याउँदै येशू भन्नुहुन्छ: “किनकि जसले आफूलाई उचाल्छ, ऊ होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, ऊ उचालिनेछ।”
यसपछि येशूले आफूलाई निम्तो दिने फरिसीलाई सम्बोधन गर्नुहुन्छ र परमेश्वरबाट इनाम पाउनेगरि कसरी भोज दिने भनेर वर्णन गर्नुहुन्छ। “तिमीले दिउँसो वा बेलुकी कसैलाई खान बोलाउँदा आफ्ना साथी, दाजुभाइ, नातेदार वा धनी छिमेकीहरूलाई नबोलाऊ। सायद तिनीहरूले पनि तिमीलाई कुनै बेला खान बोलाउलान् र हिसाबकिताब बराबर हुनेछ। तर तिमीले भोज दिंदा गरिब, अपाङ्ग, लुला-लङ्गडा, अन्धाहरूलाई निम्तो देऊ र तिमी आनन्दित हुनेछौ, किनकि त्यसको साटो तिर्न तिनीहरूसित केही पनि हुँदैन।”
दरिद्रहरूलाई यसप्रकार भोजन खुवाउँदा भोज दिने व्यक्तिले आनन्द अनुभव गर्नेछ किनभने उहाँलाई आतिथ्य गर्नेलाई येशू भन्नुहुन्छ, “परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरू पुनर्जीवित हुँदा तिमीले त्यसको इनाम पाउनेछौ।” यसप्रकारको इनाम कमाउने भोजको वर्णन येशूबाट सुनेपछि त्यहाँ उपस्थित एक जना अतिथिको मनमा एउटा अर्कै प्रकारको भोजको सम्झना हुन्छ र उनी भन्छन्: “आनन्दित हो त्यो मानिस, जसले परमेश्वरको राज्यमा भोज खानेछ।” तापनि यसप्रकारको सुखमय आशाको मोल सबैले गर्दैनन् भनी येशूले एउटा दृष्टान्तद्वारा बताउनुहुन्छ।
“एक जना मानिसले भव्य रात्रि-भोज दियो र धेरैलाई निम्त्यायो। . . . उसले आफ्नो दासलाई निम्तालुहरूकहाँ यसो भन्न पठायो: ‘आउनुहोस्, सबै कुरा तयार भइसक्यो।’ तर तिनीहरू सबका सबले बहाना बनाउन थाले। पहिलोले उसलाई भन्यो: ‘मैले एउटा खेत किनेकोले त्यो हेर्न जानुछ। त्यसैले माफ गर्नुहोस्, म आउन सक्दिनँ।’ अनि अर्कोले भन्यो: ‘मैले पाँच हल गोरु किनेकोले ती हेर्न जाँदैछु। त्यसैले माफ गर्नुहोस्, म आउन सक्दिनँ।’ अर्कोचाहिंले भन्यो: ‘मैले भर्खरै विवाह गरें। त्यसैले म आउन सक्दिनँ।’ ”
कत्ति अव्यावहारिक बहानाहरू! खेत अथवा गाईवस्तुजस्ता कुराहरू साधारणतया किन्नुभन्दा पहिले नै जाँच गरिन्छ। त्यसकारण किनिसकेपछि तिनीहरूलाई जाँच्न त्यतिको जरुरी हुँदैन। त्यसैगरि कसैको विवाह भयो भन्दैमा यसप्रकारको महत्त्वपूर्ण निम्तो अस्वीकार गर्नुपर्ने कुनै खाँचो हुनु नपर्ने हो। अतः यसप्रकारका बहानाहरू सुनेपछि घरको मालिक रिसाएर आफ्ना दासहरूलाई यो आज्ञा गर्छ:
“ ‘तुरुन्तै चौबाटो र सहरका गल्लीहरूमा जाऊ र गरिब, अपाङ्ग, अन्धा र लुला-लङ्गडाहरूलाई यहाँ ल्याऊ!’ केही बेरपछि दासले भन्यो: ‘मालिक, तपाईंले भनेजस्तै गरें, तैपनि अझ ठाउँ बाँकी छ।’ तब मालिकले दासलाई भन्यो: ‘सडक-सडकमा र बार लगाइएका ठाउँहरूमा जाऊ अनि मानिसहरूलाई आउन कर गर, ताकि मेरो घर भरियोस्। . . . निम्तालुहरूमध्ये कसैले पनि मेरो भोज चाख्न पाउनेछैन।’ ”
यस दृष्टान्तमा कस्तो परिस्थितिको वर्णन गरिंदैछ? भोज खुवाउने “मालिक”-ले यहोवा परमेश्वरको प्रतिनिधित्व गर्छ; निम्तो बाँड्ने “दास” येशू ख्रीष्ट हुनुहुन्छ; र “रात्रि-भोज” स्वर्गको राज्यको हकदार हुने मौका हो।
राज्यमा प्रवेश गर्न पाउन सक्ने प्रथम निमन्त्रणा येशूका समयका यहूदी धर्म-गुरुहरूले पाए। तथापि तिनीहरूले निमन्त्रणा अस्वीकार गरे। अतः विशेषगरि इस्वी संवत् ३३ को पेन्तिकोसको दिनदेखि यहूदी राष्ट्रका तुच्छ र हेला गरिएकाहरूलाई दोस्रो पटक निमन्त्रणा दिइयो। तर यो निमन्त्रणा स्वीकार्ने मानिसहरूको सङ्ख्याले परमेश्वरको स्वर्गीय राज्यमा भएका १,४४,००० खाली ठाउँहरू भर्न सकिएन। यसकारण साढे तीन वर्षपछि अर्थात् इस्वी संवत् ३६ मा खतना नभएका गैर-यहूदीहरूलाई तेस्रो र आखिरी निमन्त्रणा दिइयो र आज हाम्रो समयसम्म त्यसप्रकारका मानिसलाई एकत्रित गर्ने काम चलिरहेको छ। लूका १४:१-२४.
▪ नम्रताबारे येशू कस्तो पाठ सिकाउनुहुन्छ?
▪ परमेश्वरबाट इनाम कमाउन सक्ने भोज एक जना मालिकले कसरी दिन सक्छ र यसबाट उसले किन आनन्द प्राप्त गर्न सक्नेछ?
▪ आमन्त्रित पाहुनाहरूका बहानाहरू किन अव्यावहारिक छन्?
▪ येशूले दिनुभएको “रात्रि-भोज”-को दृष्टान्तले कुन कुरालाई बुझाउँछ?