अध्याय १०७
विवाह भोजको दृष्टान्त
येशूले दुई वटा दृष्टान्त बताएर शास्त्री र मुख्य पुजारीहरूको पर्दाफास गर्नुभएको छ। अतः तिनीहरू उहाँलाई मार्न चाहन्छन्। तर येशूले तिनीहरूलाई भन्ने कुरा अझ बाँकी नै छ। उहाँ अर्को दृष्टान्त बताउँदै तिनीहरूलाई भन्नुहुन्छ:
“स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे। अनि तिनले विवाह-भोजका निम्तालुहरूलाई बोलाउन आफ्ना दासहरू पठाए तर तिनीहरू आउन मानेनन्।”
यहोवा परमेश्वर ती राजा हुनुहुन्छ जसले आफ्ना छोरा, येशू ख्रीष्टको निम्ति विवाह-भोज तयार पार्नुहुन्छ। अन्तमा दुलही वर्गका १,४४,००० अभिषिक्त चेलाहरू स्वर्गमा येशूसँग सम्मिलित हुनेछन्। राजाका प्रजाहरू इस्राएलका मानिसहरू हुन् जोसँग ईसापूर्व १५१३ मा व्यवस्थाको करार बाँधिएको थियो र त्यसपछि तिनीहरूले “पूजाहारीहरूको एक राज्य” हुन पाउने सुअवसर पाए। त्यस अवसरमा तिनीहरूलाई विवाह-भोजको निम्तो प्रथम पटक दिइयो।
तथापि इस्वी संवत् २९ को शरद् ऋतुदेखि अथवा येशू र उहाँका चेलाहरूले [राजाका दासहरूले] राज्य-प्रचारको काम सुरु गरेदेखि मात्र निम्तो पाएकाहरूलाई प्रथम पटक बोलाइयो। तर इस्वी संवत् २९ देखि इस्वी संवत् ३३ सम्ममा दासहरूद्वारा यसप्रकार बोलाइएका जन्मजात इस्राएलीहरूले आउने इच्छा गरेनन्। त्यसकारण परमेश्वरले तिनीहरूलाई अर्को एउटा मौका दिनुभयो भन्दै येशू बयान गर्नुहुन्छ:
“तिनले फेरि यसो भनेर अरू दासहरू पठाए: ‘निम्तालुहरूलाई यसो भन: “हेर, मैले दिवा-भोज तयार पारेको छु, मेरा गोरु र मोटा-मोटा पशुहरू काट्न लगाइसकेको छु अनि सबै थोक तयार भइसकेका छन्। विवाह-भोजमा आउनुहोस्।” ’ ” निम्तो पाएकाहरूका निम्ति यो दोस्रो र अन्तिम बोलावट इस्वी संवत् ३३ को पेन्तिकोसमा सुरु भयो। त्यस बेला येशूका चेलाहरूमाथि पवित्र शक्ति खनाइएको थियो। यो बोलावट इस्वी संवत् ३६ सम्म कायम रह्यो।
तथापि इस्राएलीहरूमध्येका बहुमतले यस बोलावटको पनि हेलचेक्य्राइँ गरे। येशू भन्नुहुन्छ: “तर तिनीहरूले वास्तै गरेनन्; एक जना आफ्नो खेततिर गयो, अर्कोचाहिं व्यापारतिर लाग्यो अनि बाँकी अरूले तिनका दासहरूलाई पक्रेर दुर्व्यवहार गरे र तिनीहरूलाई मारे।” येशू अगाडि भन्नुहुन्छ: “तब राजा क्रुद्ध भए अनि आफ्नो सेना पठाएर ती हत्याराहरूलाई नाश गरे र तिनीहरूको सहर जलाइदिए।” यो घटना इस्वी संवत् ७० मा हुन गयो जब रोमीहरूले यरूशलेमलाई ध्वस्त पारिदिए र ती हत्याराहरू मारिए।
यसै बीच के भयो भनी येशू व्याख्या गर्नुहुन्छ: “त्यसपछि तिनले आफ्ना दासहरूलाई भने: ‘विवाह-भोज त तयार छ तर निम्तालुहरू योग्य भएनन्। त्यसैले सहरका मूल बाटोहरूमा जाओ र ज-जसलाई भेट्टाउँछौ, सबैलाई विवाह-भोजको निम्तो देओ।’ ” दासहरूले त्यसै गरे र “विवाह-घर पाहुनाहरूले भरियो।”
सहरबाहिरका बाटोहरूबाट बोलाएर पाहुनाहरू जम्मा गर्ने काम इस्वी संवत् ३६ देखि सुरु भयो। खतना नभएका गैर-यहूदीहरूबाट जम्मा गरिएकाहरूमा रोमी अधिकारी कर्नीलियस र तिनका परिवार पहिला थिए। सुरुमा बोलावट अस्वीकार गर्नेहरूको ठाउँ लिन यी गैर-यहूदीहरूलाई जम्मा गर्ने काम २१ औं शताब्दीसम्म चलिरहेको छ।
बीसौं शताब्दीमै विवाह-समारोहको कोठा पाहुनाहरूले भरिन्छ। त्यसपछि के हुन्छ, येशू यसो भन्दै वर्णन गर्नुहुन्छ: “जब राजा पाहुनाहरूलाई हेर्न आए, तब तिनले एक जना मानिसलाई विवाहमा जाँदा लगाउनुपर्ने पोसाक नलगाई आएको देखे। त्यसैले तिनले उसलाई सोधे: ‘मित्र, विवाहमा लगाउनुपर्ने पोसाक नलगाई भित्र छिर्ने आँट तिमीले कसरी गऱ्यौ?’ उसले जवाफै दिन सकेन। त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने: ‘त्यसको हातखुट्टा बाँधेर त्यसलाई बाहिर अन्धकारमा फालिदेओ, जहाँ रोदन अनि वेदनाको चीत्कार हुनेछ।’ ”
विवाहको पोसाक नलगाई आउने पाहुनाले चर्चजगत्का नकली ख्रीष्टियनहरूको प्रतिनिधित्व गर्छ। परमेश्वरले तिनीहरूलाई कहिल्यै पनि प्रतीकात्मक इस्राएली भनी स्वीकार्नुभएको छैन। परमेश्वरले तिनीहरूलाई कहिल्यै पनि राज्यको उत्तराधिकारीको रूपमा पवित्र शक्तिद्वारा अभिषेक गर्नुभएको छैन। त्यसकारण तिनीहरू बाहिर अन्धकारमा फालिनेछन् जहाँ तिनीहरू नाश हुनेछन्।
येशू यसो भन्दै आफ्नो दृष्टान्त टुङ्ग्याउनुहुन्छ: “किनकि निम्तालुहरू त धेरै छन् तर चुनिएकाहरू भने थोरै हुन्छन्।” हो, इस्राएल राष्ट्रबाट ख्रीष्टकी दुलही वर्गको सदस्य हुन धेरैलाई बोलाइएको थियो तर थोरै जन्मजात इस्राएलीहरू मात्र छानिए। स्वर्गीय इनाम पाउने १,४४,००० पाहुनाहरूमध्ये धेरैजसो गैर-यहूदीहरू नै हुनेछन्। मत्ती २२:१-१४; प्रस्थान १९:१-६; प्रकाश १४:१-३.
▪ सुरुमा विवाहको भोजमा निम्तो पाएकाहरू को हुन् र तिनीहरूलाई कहिले निम्तो दिइएको थियो?
▪ निम्तालुहरूले प्रथम बोलावट कहिले पाउँछन् र बोलाउने काममा प्रयोग गरिएका दासहरू को हुन्?
▪ दोस्रो बोलावट कहिलेसम्म कायम रहन्छ र त्यसपछि अरू कसलाई निम्तो दिइन्छ?
▪ विवाहको पोसाक नलगाउने मानिसले कसलाई इङ्गित गर्छ?
▪ बोलावट पाएका धेरै मानिसहरू को हुन् र छानिएका थोरैचाहिं को हुन्?