प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt अध्या. ८८
  • धनी मानिस र लाजरस

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धनी मानिस र लाजरस
  • सबैभन्दा महान्‌ पुरुष
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धनी मानिस र लाजरसले एउटा परिवर्तन अनुभव गर्छन्‌
  • धनी मानिस र लाजरसको अवस्थामा आएको परिवर्तन
    येसु—बाटो, सत्य र जीवन
  • येसु लाजरसलाई जीवित पार्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
सबैभन्दा महान्‌ पुरुष
gt अध्या. ८८

अध्याय ८८

धनी मानिस र लाजरस

धन-सम्पत्ति र परमेश्‍वर दुवैको एकै साथ दास हुन सकिंदैन तर भौतिक धनको कसरी उचित प्रयोग गर्न सकिन्छ, त्यसबारे येशू आफ्ना चेलाहरूसँग कुरा गर्दै हुनुहुन्छ। उहाँका कुरा फरिसीहरूले पनि सुन्दैछन्‌ र तिनीहरू येशूको खिल्ली उडाउन थाल्छन्‌ किनभने तिनीहरू धनका लोभी छन्‌। त्यसकारण येशू तिनीहरूलाई भन्‍नुहुन्छ: “तिमीहरू मानिसहरूसामु धर्मी भई टोपल्छौ, तर तिमीहरूको मनमा के छ, परमेश्‍वरलाई थाह छ। किनकि मानिसहरू जुन कुरालाई महत्त्वपूर्ण ठान्छन्‌, परमेश्‍वरको नजरमा त्यो घिनलाग्दो हुन्छ।”

धन, राजनैतिक शक्‍ति, धार्मिक हैकम र प्रभुत्वमा सम्पन्‍न हुनेहरूले अब प्रतिकूल परिस्थितिको सामना गर्ने समय आएको छ। तिनीहरू तल झारिनेछन्‌। तर परमेश्‍वरको डोऱ्‍याइको आवश्‍यकता महसुस गर्नेहरूचाहिं उचालिनेछन्‌। यसप्रकारको परिवर्तनतर्फ सङ्‌केत गर्दै येशू फरिसीहरूलाई भन्‍नुहुन्छ:

“किनकि व्यवस्था र भविष्यवक्‍ताका वाणीहरू [बप्तिस्मा गराउने] यूहन्‍नाको समयसम्म घोषणा गरिए। त्यसदेखि यता परमेश्‍वरको राज्यको सुसमाचार घोषणा हुँदैछ र हर प्रकारका मानिसहरू त्यहाँ भित्र पस्न अघि बढ्‌दैछन्‌। व्यवस्थाको एउटा अक्षरको एउटा बिन्दु पूरा नभई मेटिजानुभन्दा आकाश र पृथ्वी बितेर जानु बरु सजिलो हुनेछ।”

मोशाको व्यवस्था पूर्ण रूपले पालन गर्ने विषयमा शास्त्री र फरिसीहरू गर्व गर्छन्‌। सम्झनुहोस्‌ त, यरूशलेममा येशूले चमत्कारपूर्वक एक जना मानिसको आँखा खोलिदिंदा तिनीहरूले घमन्ड गर्दै भनेका थिए: “हामी त मोशाका चेलाहरू हौं। परमेश्‍वरले मोशासित कुरा गर्नुभएको थियो भनेर हामीलाई थाह छ।” तर परमेश्‍वरले नियुक्‍त गर्नुभएको राजा येशूतर्फ नम्र मानिसहरूलाई डोऱ्‍याउने उद्देश्‍य मोशाको व्यवस्थाद्वारा पूरा भइसकेको छ। त्यसैकारण यूहन्‍नाको सेवाको काम सुरु भएदेखि हरेक प्रकारका मानिसहरू, विशेषगरि नम्र र गरिबहरूले परमेश्‍वरको राज्यका प्रजा हुने प्रबल चेष्टा गरिरहेका छन्‌।

मोशाको व्यवस्था पूरा भइरहेको हुनाले त्यसलाई पालन गर्ने आवश्‍यकता पनि हटाइनेछ। विभिन्‍न कारणले गर्दा व्यवस्थामा सम्बन्धविच्छेद गर्ने अनुमति दिइएको पाइन्छ तर अब येशू भन्‍नुहुन्छ: “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले परस्त्रीसित यौनसम्बन्ध राखेको ठहरिन्छ। अनि आफ्नो पतिसित सम्बन्धविच्छेद भएकी स्त्रीसित जसले विवाह गर्छ, उसले परस्त्रीसित यौनसम्बन्ध राखेको ठहरिन्छ।” यो कुरा सुनेर फरिसीहरू कति चिढिए होलान्‌ किनभने तिनीहरूको शिक्षाअनुसार सम्बन्धविच्छेद गर्न सकिने धेरै आधार छन्‌!

फरिसीहरूलाई भन्‍ने कुरा जारी राख्दै येशू एउटा दृष्टान्त बताउनुहुन्छ जसमा दुई जना मानिसको परिस्थितिमा नाटकीय परिवर्तन हुन्छ। ती मानिसहरूले कसलाई प्रतिनिधित्व गर्छन्‌ र तिनीहरूको परिस्थितिमा आएको परिवर्तनको अर्थ के हो भनी के तपाईं ठम्याउन सक्नुहुन्छ?

येशू भन्‍नुहुन्छ, “एक जना धनी मानिस थियो। ऊ बैजनी रङ्‌गको दामी लुगा लगाउँथ्यो र सुखविलासको जीवन बिताउँथ्यो। उसको ढोकाबाहिर भने जीउभरि घावैघाउ भएको लाजरस नाम गरेको माग्नेलाई मानिसहरूले ल्याएर राखिदिन्थे। अनि ऊ त्यस धनी मानिसको टेबुलबाट झरेको टुक्राटाक्री खाएर आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। यहाँसम्म कि, कुकुरहरू पनि आएर उसको घाउ चाट्‌थे।”

येशूले यहाँ यहूदी धर्म-गुरुहरू अर्थात्‌ फरिसी र शास्त्रीहरू मात्र होइन तर सदुकीहरू र मुख्य पुजारीहरूसमेतलाई प्रतिनिधित्व गर्न धनी मानिसको प्रयोग गर्नुहुन्छ। तिनीहरू धार्मिक सुविधा तथा अवसरहरूमा धनी छन्‌ र तिनीहरू त्यो धनी मानिसझैं व्यवहार गर्छन्‌। तिनीहरूको बैजनी रङ्‌गको कपडाद्वारा तिनीहरूको सुविधाजनक अवस्थाको बोध हुन्छ र सेतो मलमलको वस्त्रले तिनीहरूको आत्म-धर्मी मनोभावलाई दर्साउँछ।

यो घमन्डी धनीवर्गले गरिब र साधारण मानिसहरूलाई बिलकुलै तिरस्कारको दृष्टिले हेर्छन्‌ र तिनीहरूलाई एमहारेट्‌स वा धर्ती-पुत्र भन्छन्‌। यसकारण माग्ने लाजरसले तिनै मानिसहरूको प्रतिनिधित्व गर्छ जसलाई यी धर्म-गुरुहरूले परमेश्‍वरबारे सही ज्ञान र सुविधाहरूबाट वञ्चित गराएका छन्‌। यी साधारण मानिसहरू, घावैघाउले भरिएको लाजरसजस्तै कुकुरहरूसित मात्र सङ्‌गत गर्ने योग्यका पतित रोगीहरूझैं तुच्छ ठानिन्छन्‌। तैपनि यी लाजरसवर्गका मानिसहरू परमेश्‍वरको ज्ञानको निम्ति भोको र तिर्खाएका छन्‌। यसैकारण धनी मानिसको टेबुलबाट खसेको आहारका टुक्राटुक्री पाउने आशा गर्दै तिनीहरू ढोकामा बस्छन्‌।

धनी मानिस र लाजरसको परिस्थितिमा हुने परिवर्तनबारे अब येशू वर्णन गर्नुहुन्छ। ती परिवर्तनहरू के हुन्‌ र त्यसले कुन कुराको प्रतिनिधित्वगर्छ?

धनी मानिस र लाजरसले एउटा परिवर्तन अनुभव गर्छन्‌

धनी मानिसले धर्म-कर्मको नाममा सुविधा र अवसरहरू पाएका धर्म-गुरुहरूको प्रतिनिधित्व गर्छ। लाजरसले चाहिं परमेश्‍वरको ज्ञानका निम्ति भोकाएका साधारण मानिसहरूको प्रतिनिधित्व गर्छ। ती मानिसहरूका परिस्थितिमा आइपर्ने एउटा ठूलो परिवर्तनको वर्णन गर्दै येशू आफ्नो कथा अगाडि बढाउनुहुन्छ।

येशू भन्‍नुहुन्छ: “केही समयपछि त्यो माग्ने मऱ्‍यो अनि स्वर्गदूतहरूले उसलाई बोकेर अब्राहामको काखमा राखिदिए। साथै, त्यो धनी मानिस पनि मऱ्‍यो र उसलाई गाडियो। अनि चिहानमा सास्ती खाइरहेको बेला नजर उठाएर हेर्दा उसले धेरै पर अब्राहामलाई अनि लाजरसलाई चाहिं तिनको काखमा ढल्किरहेको देख्यो।”

धनी मानिस र लाजरस वास्तविक व्यक्‍तिहरू होइनन्‌, बरु तिनीहरूले दुई बेग्लाबेग्लै वर्गका मानिसहरूको प्रतिनिधित्व गर्छन्‌। यसकारण तिनीहरूको मृत्यु पनि प्रतीकात्मक हो। तिनीहरूको मृत्यु कुन कुराको प्रतीक हो वा त्यसले कुन कुरालाई प्रतिनिधित्व गर्छ?

‘व्यवस्था र भविष्यवक्‍ताका वाणीहरू बप्तिस्मा गराउने यूहन्‍नाको समयसम्म थिए तर त्यसदेखि यता परमेश्‍वरको राज्यको सुसमाचार घोषणा हुँदैछ’ भनेर येशूले परिस्थितिमा हुने परिवर्तनलाई भर्खरै मात्र सङ्‌केत गर्नुभएको छ। हो, यूहन्‍ना र येशू ख्रीष्टले गर्नुभएको प्रचारकार्यद्वारा नै धनी मानिस र लाजरस दुवै आफ्ना पहिलेका स्थिति वा अवस्थाबाट मर्छन्‌।

ती नम्र र पश्‍चात्ताप गर्ने लाजरसवर्गका मानिसहरू, परमेश्‍वरको ज्ञानबाट वञ्चित भएको आफ्नो पहिलेको अवस्थाबाट मर्छन्‌ र ईश्‍वरीय स्वीकृति प्राप्त गर्छन्‌। केही समयअघि परमेश्‍वरको टेबुलबाट झरेका टुक्राटाक्रीहरूको निम्ति तिनीहरूले धर्म-गुरुहरूको मुख ताक्नुपर्थ्यो भने अब येशूले दिनुभएका धर्मशास्त्रीय सत्यहरूद्वारा तिनीहरू तृप्त भइरहेछन्‌। यसप्रकार तिनीहरू महान्‌ अब्राहाम अर्थात्‌ यहोवा परमेश्‍वरको काखमा बस्छन्‌ अर्थात्‌ उहाँको नजरमा ग्रहणयोग्य हुन्छन्‌।

अर्कोतिर, येशूले सिकाउनुभएको राज्यको सुसमाचारलाई निरन्तर तिरस्कार गरेकोले धनीवर्गका मानिसहरू परमेश्‍वरको नजरमा अस्वीकृत हुन्छन्‌। यसप्रकार तिनीहरू आफ्नो पहिलेको कथित ग्रहणयोग्य अवस्थाबाट मर्छन्‌। वास्तवमा तिनीहरूले प्रतीकात्मक अर्थमा शासना भोगिरहेका छन्‌ भन्‍नु मिल्छ। अब धनी मानिसले भनेका कुराहरू सुन्‍नुहोस्‌:

“हे बुबा अब्राहाम, ममाथि कृपा गर्नुहोस्‌ र आफ्नो औंलाको टुप्पो पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पार्न लाजरसलाई मकहाँ पठाइदिनुहोस्‌। किनकि दनदनी बलिरहेको यो आगोमा म तड्‌पिरहेको छु।” येशूका चेलाहरूले घोषणा गरेका परमेश्‍वरका अग्निमय इन्साफको सन्देशले ती धनीवर्गका मानिसहरूलाई पिरोल्छ। यो सन्ताप केही मात्रामा कम गराउनका लागि चेलाहरूले यी सन्देशहरूको घोषणा यति जोडतोडका साथ नगरून्‌ भनी तिनीहरू चाहन्छन्‌।

“तर अब्राहामले उसलाई यस्तो जवाफ दिए: ‘बाबु, नबिर्स, तिमीले आफ्नो जीवनभर असल-असल थोक सबै पायौ तर लाजरसले भने पीडाबाहेक केही पाएन। त्यसैले अहिले ऊ यहाँ आरामसित बसिरहेको छ तर तिमी भने तड्‌पिरहेका छौ। यी सब कुराबाहेक, तिमीहरू र हामीबीच ठूलो खाडलको अन्तर छ। त्यसैले न तिमीहरूकहाँ जान चाहनेहरू यहाँबाट जान सक्छन्‌ न त हामीकहाँ आउन चाहनेहरू नै त्यहाँबाट आउनसक्छन्‌।’ ”

लाजरसवर्ग र धनीवर्गका बीचमा यसप्रकारको नाटकीय परिवर्तन हुनु कत्ति न्यायसङ्‌गत र उचित छ! केही महिनापछि इस्वी संवत्‌ ३३ को पेन्तिकोसको दिनमा यो परिवर्तन हुन्छ, जब पुरानो व्यवस्थाको करारको ठाउँ नयाँ करारले लिन्छ। त्यतिबेला फरिसीहरू र अरू धर्म-गुरुहरू परमेश्‍वरका कृपा-पात्र नभई येशूका चेलाहरू नै कृपा-पात्र रहेछन्‌ भन्‍ने कुरा स्पष्ट हुन्छ। त्यसकारण प्रतीकात्मक धनी मानिसलाई येशूका चेलाहरूबाट अलग पार्ने “ठूलो खाडलको अन्तर” परमेश्‍वरको अपरिवर्तनीय न्यायको प्रतीक हो।

यसपछि धनी मानिसले फेरि यो अनुरोध गर्छ: ‘हे बुबा अब्राहाम लाजरसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस्‌।’ त्यो धनी मानिसले अर्को बुबासँग आफ्नो अझ बढी घनिष्ठ सम्बन्ध रहेको कुरा यहाँ स्वीकार्छ। त्यो अर्को बुबा सैतान अर्थात्‌ दियाबल हो। लाजरसले यति प्रभावकारी ढङ्‌गमा परमेश्‍वरका न्यायका सन्देशहरू घोषणा नगरोस्‌ र उसका “पाँच भाइ” अर्थात्‌ आफ्ना धार्मिक गठबन्धन पनि “सास्ती पाउने यस ठाउँमा” आउन नपरोस्‌ भनी धनी मानिसले अनुरोध गर्छ।

“तर अब्राहामले जवाफ दिए: ‘तिनीहरूसित मोशा अनि भविष्यवक्‍ताहरू छन्‌, तिनीहरूले उनीहरूकै कुरा सुनून्‌।’ ” हो, ती “पाँच भाइ”-ले सास्ती नपाउने हो भने येशू नै मसीह हुनुहुन्छ भनी प्रमाण प्रस्तुत गर्ने मोशा र भविष्यवक्‍ताहरूले लेखेका कुराहरूमा ध्यान दिनु र येशूका चेलाहरू हुनु आवश्‍यक छ। तर धनी मानिसले यो कुरा अस्वीकार गर्दै यसो भन्छ: “हैन, बुबा अब्राहाम, यदि मरेकाहरूमध्येबाट कोही एक जना तिनीहरूकहाँ गयो भने तिनीहरूले पश्‍चात्ताप गर्नेछन्‌।”

तथापि उसलाई यसो भनिन्छ: “यदि तिनीहरू मोशा र भविष्यवक्‍ताहरूको कुरा सुन्दैनन्‌ भने मरेकाहरूमध्येबाट उठेको कोही एक जनाको कुरा पनि तिनीहरूले मान्‍नेछैनन्‌।” मानिसहरूको चित्त बुझाउन परमेश्‍वरले कुनै विशेष चिन्ह वा चमत्कार देखाउनुहुनेछैन। उहाँको कृपा चाहनेहरूले धर्मशास्त्र पढ्‌नुपर्छ र त्यसलाई प्रयोगमा ल्याउनुपर्छ। लूका १६:१४-३१; यूहन्‍ना ९:२८, २९; मत्ती १९:३-९; गलाती ३:२४; कलस्सी २:१४; यूहन्‍ना ८:४४.

▪ धनी मानिस र लाजरसको मृत्यु किन प्रतीकात्मक हुनुपर्छ र तिनीहरूको मृत्युले कुन कुरालाई दर्साउँछ?

▪ यूहन्‍नाको सेवाको काम सुरु हुनेबित्तिकै कुन-कुन कुरामा परिवर्तन भयो भनी येशू भन्‍नुहुन्छ?

▪ येशूको मृत्युपछि के हटाइनेछ र यसबाट सम्बन्धविच्छेदको कुरामा के असर पर्नेछ?

▪ येशूले बताउनुभएको दृष्टान्तमा धनी मानिस र लाजरसले क-कसलाई प्रतिनिधित्व गर्छन्‌?

▪ धनी मानिसले कस्तो सास्ती भोग्छ र त्यसबाट आराम पाउन त्यसले के अनुरोध गर्छ?

▪ “ठूलो खाडलको अन्तर”-ले केको प्रतिनिधित्व गर्छ?

▪ धनी मानिसको असली बुबा को हो र उसका पाँच भाइ को हुन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने