अध्याय ९२
यरूशलेमको अन्तिम भ्रमणमा येशूले दस जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ
यरूशलेमदेखि करिब २४ किलोमिटर उत्तर-पूर्वतिर पर्ने एप्रैम सहरमा जानुभएर उहाँको हत्या गर्ने यहूदी न्यायपरिषद्का प्रयासहरूलाई येशूले विफल पारिदिनुहुन्छ। उहाँ यस ठाउँमा शत्रुहरूदेखि टाढा आफ्ना चेलाहरूसित बस्नुहुन्छ।
तथापि इस्वी संवत् ३३ को निस्तार-चाडको दिन नजिकै आइरहेछ र येशू फेरि हिंड्ने तरखर गर्नुहुन्छ। उहाँ सामरिया हुँदै गालीलतिर उकालो लाग्नुहुन्छ। आफ्नो मृत्यु हुनुभन्दाअघि यस क्षेत्रमा यो उहाँको अन्तिम भ्रमण हो। गालीलमा हुँदा सायद उहाँ र उहाँका चेलाहरू यरूशलेममा निस्तार-चाड मनाउन गइरहेका अरू यात्रीहरूसँग मिलेर जानुहुन्छ। यर्दन नदीको पूर्वतिर पर्ने पेरिया जिल्लाको बाटो भएर उहाँहरू जानुहुन्छ।
यस यात्राको सुरुमै येशू सामरिया वा गालीलको गाउँभित्र पस्न लाग्दा कुष्ठरोग लागेका दस जना मानिसहरूसित उहाँको भेट हुन्छ। यस भयङ्कर रोगले मानिसका औंलाहरू, गोडाको औंला, कान, नाक र ओठजस्ता शरीरका विभिन्न अङ्गहरूलाई बिस्तारै नष्ट पार्छ। यो रोग अरूलाई नसरोस् भनेर परमेश्वरको व्यवस्थामा कुष्ठरोगीका विषयमा भनिएको छ: “त्यसले आफ्नो माथिल्लो ओंठ ढाकेर ‘अशुद्ध, अशुद्ध!’ भनेर कराओस्। जहिलेसम्म त्यो रोग ग्रस्त रहन्छ त्यो अशुद्धै रहोस्। . . . त्यो एकलै रहोस्।”
कुष्ठरोगीहरूका लागि दिइएको यो नियम पालन गर्दै ती दस जना कुष्ठरोगी येशूदेखि टाढै उभिन्छन्। तापनि तिनीहरू ठूलो स्वरले कराउँछन्: “हे येशू, हे गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्!”
टाढैबाट तिनीहरूलाई देखेर येशू आज्ञा गर्नुहुन्छ: “जाओ, गएर पुजारीहरूलाई देखाओ।” येशूले यसो किन भन्नुहुन्छ भने कुष्ठरोगबाट निको भएकाहरूलाई निको भयो भनी घोषित गर्ने अधिकार परमेश्वरको नियममा पुजारीहरूलाई दिइएको छ। त्यसपछि ती निको भएकाहरू फेरि अरू स्वस्थ मानिसहरूसित बस्न पाउँछन्।
येशूका चमत्कारपूर्ण शक्तिमा ती दस जना कुष्ठरोगी विश्वास गर्छन्। त्यसकारण तिनीहरू अझसम्म निको नभए तापनि हतार-हतार पुजारीहरूलाई भेट्न जान्छन्। येशूमाथि आफ्नो विश्वासको इनाम तिनीहरूले बाटोमा जाँदा-जाँदै पाउँछन्। तिनीहरू आफू स्वस्थ भएको स्वयम् देख्न र अनुभव गर्न थाल्छन्!
निको भएका नौ जना कुष्ठरोगी आ-आफ्ना बाटो लाग्छन् तर एक जना सामरी कुष्ठरोगीचाहिं येशूलाई भेट्न फर्कन्छ। किन? किनभने उसलाई जे भएको छ, त्यसका लागि ऊ धेरै नै कृतज्ञ छ। ऊ चर्को स्वरमा परमेश्वरको महिमा गर्छ र येशूलाई भेट्टाएपछि उहाँको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दिन्छ।
प्रत्युत्तरमा येशू भन्नुहुन्छ: “शुद्ध हुने त दस जना थिए नि, होइन र? त्यसोभए, बाँकी नौ जना खै त? परमेश्वरको महिमा गर्न फर्किआउनेमा यो विदेशीबाहेक अरू कोही भएन?”
अनि उहाँले उसलाई भन्नुहुन्छ: “उठ र आफ्नो बाटो लाग। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
येशूले दस जना कुष्ठरोगीलाई निको पार्नुभएको कुरा पढ्दा उहाँले “बाँकी नौ जना खै त?” भनी सोध्नुभएको प्रश्नमा लुकेको शिक्षालाई हामीले याद गर्नु आवश्यक छ। नौ जनाले व्यक्त गरेको बैगुनी प्रवृत्ति एउटा गम्भीर त्रुटि हो। परमेश्वरको नयाँ संसारमा अनन्त जीवनको निश्चित आशाका साथै उहाँबाट पाइने अरू थोकहरूका लागि के हामीले पनि त्यो सामरीले जस्तै कृतज्ञता व्यक्त गर्नेछौं? यूहन्ना ११:५४,५५; लूका १७:११-१९; लेवी १३:१६, १७,४५,४६; प्रकाश २१:३, ४.
▪ आफूलाई मार्ने प्रयासलाई येशूले कसरी विफल पारिदिनुहुन्छ?
▪ यसपछि येशू कुन ठाउँको भ्रमण गर्न जानुहुन्छ र उहाँको गन्तव्य कहाँ हो?
▪ कुष्ठरोगीहरू किन टाढा उभिन्छन् र येशूले तिनीहरूलाई पुजारीहरूकहाँ जान किन भन्नुहुन्छ?
▪ यस अनुभवबाट हामीले के शिक्षा लिनुपर्छ?