अध्याय १०६
दाखबारीका दृष्टान्तहरूद्वारा पर्दाफास हुन्छ
येशू मन्दिरमा हुनुहुन्छ। कुन अख्तियारले उहाँ ती कामहरू गर्दै हुनुहुन्छ भनी जान्न खोज्ने धर्म-गुरुहरूलाई येशूले भर्खरै अकमक्क पारिदिनुभएको छ। तिनीहरू अकमक्क परिरहेकै बेला येशू सोध्नुहुन्छ: “तिमीहरूलाई कस्तो लाग्छ?” त्यसपछि तिनीहरू कुन प्रकारका मानिसहरू हुन् भनी उहाँले एउटा दृष्टान्तद्वारा तिनीहरूलाई देखाउनुहुन्छ।
येशू सोध्नुहुन्छ: “एक जना मानिसका दुई छोरा थिए। जेठोकहाँ गएर तिनले यसो भने, ‘बाबु, जाऊ गएर आज दाखबारीमा काम गर।’ उसले ‘हवस् बुबा,’ भन्यो तर ऊ गएन। अनि कान्छोकहाँ गएर तिनले त्यसै भन्दा उसले ‘नाइँ, म जान्नँ’ भन्यो तर पछि ऊ चुकचुकायो र दाखबारीमा गयो। यी दुईमध्ये कसले आफ्नो बुबाको इच्छा पूरा गऱ्यो?”
उहाँका विरोधीहरूले जवाफ दिन्छन्: “कान्छोचाहिंले।”
त्यसकारण येशू व्याख्या गर्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, कर उठाउनेहरू र वेश्याहरू तिमीहरूभन्दा अगाडि परमेश्वरको राज्यमा पस्नेछन्।” कर उठाउनेहरू र वेश्याहरूले यथार्थमा सुरुमा परमेश्वरको सेवा गर्न इन्कार गरेका थिए। तर त्यो कान्छो छोरोजस्तै तिनीहरूले पश्चात्ताप गरे र परमेश्वरको सेवा गर्न थाले। त्यसको विपरीत, जेठो छोरोजस्तै ती धर्म-गुरुहरूले परमेश्वरको सेवा गर्छौं त भने, तर येशू भन्नुहुन्छ: “[बप्तिस्मा गराउने] यूहन्ना आए र तिमीहरूलाई सत्यको बाटो देखाए, तैपनि तिमीहरूले ऊमाथि विश्वास गरेनौ। तर कर उठाउनेहरू र वेश्याहरूले ऊमाथि विश्वास गरे र तिमीहरूले यो देख्दादेख्दै पनि पछि चुकचुकाउँदै ऊमाथि विश्वास गरेनौ।”
ती धर्म-गुरुहरूले परमेश्वरको सेवा गर्नमा हेलचेक्य्राइँ मात्र गरेका होइनन् तर तिनीहरू वास्तवमा खराब, दुष्ट मानिसहरू हुन् भनी येशू अब देखाउनुहुन्छ। येशू वर्णन गर्नुहुन्छ: “एक जना घरमालिक थियो, जसले दाखबारी लगाएर त्यसको वरिपरि बार हाल्यो। त्यसपछि उसले दाख पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्यो। अनि मोहीहरूलाई जिम्मा लगाएर आफूचाहिं विदेशतिर लाग्यो। जब फल टिप्ने बेला भयो, तब उसले आफ्ना दासहरूलाई कुत उठाउन मोहीहरूकहाँ पठायो। तर मोहीहरूले उसका दासहरूलाई समातेर एक जनालाई कुटे, अर्कोलाई मारे अनि अर्कोलाई चाहिं ढुङ्गाले हाने। फेरि उसले पहिलेको भन्दा धेरै दास पठायो तर तिनीहरूले उनीहरूलाई पनि त्यसै गरे।”
“दासहरू” भनेका भविष्यवक्ताहरू हुन् जसलाई “घरमालिक” यहोवा परमेश्वरले आफ्नो “दाखबारी”-का “मोहीहरूकहाँ” पठाउनुभयो। यी मोहीहरू भनेको इस्राएल राष्ट्रका प्रमुख प्रतिनिधिहरू हुन्। बाइबलमा यस राष्ट्रलाई परमेश्वरको “दाखबारी” भनी इङ्गित गरिएको छ।
ती “मोहीहरूले” “दासहरूलाई” दुर्व्यवहार गर्ने र तिनीहरूलाई मार्ने भएकाले येशू व्याख्या गर्नुहुन्छ: “अन्तमा, ‘मेरो छोरालाई त आदर गर्नेछन्’ भन्ने सोच्दै उसले आफ्नो छोरालाई पठायो। तर छोराचाहिं आएको देखेर ती मोहीहरूले आपसमा यसो भन्न थाले, ‘यो त हकवाला हो, त्यसैले आओ, यसलाई मारेर यसको सम्पत्ति हात पारौं।’ तिनीहरूले उसलाई समाते र दाखबारीबाहिर लगेर मारे।”
अनि धर्म-गुरुहरूलाई सम्बोधन गर्दै येशू सोध्नुहुन्छ: “अब, दाखबारीको मालिक आएपछि उसले ती मोहीहरूलाई के गर्ला?”
धर्म-गुरुहरूले जवाफ दिन्छन्: “तिनीहरू दुष्ट भएकोले उसले रत्तीभर दया नदेखाई तिनीहरूलाई नाश गर्नेछ र आफ्नो दाखबारी त्यस्ता मोहीहरूलाई दिनेछ जसले समयमै कुत बुझाउँछन्।”
यसप्रकार तिनीहरूले अनजानमा आफैले आफूमाथि इन्साफको घोषणा गर्छन् किनकि इस्राएल राष्ट्र अर्थात् यहोवाको “दाखबारी”-का इस्राएली “मोहीहरू”-मा तिनीहरू पनि समावेश छन्। यसप्रकारका मोहीहरूबाट यहोवाले आशा राख्नुभएको फल तिनीहरूले उहाँको छोरा साँचो मसीहमाथि विश्वास राखून् भन्ने हो। तिनीहरूले यसप्रकारको फल दिन नसकेकोले येशू तिनीहरूलाई चेतावनी दिनहुन्छ: “के तिमीहरूले धर्मशास्त्रमा [भजन ११८:२२, २३ मा] कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ। यहोवाले त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा अति अचम्मको छ’? त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ। साथै, जो यो ढुङ्गोमाथि बजारिन्छ, त्यो चकनाचूर हुनेछ र जसमाथि यो ढुङ्गो खस्छ, त्यो धूलोपीठो हुनेछ।”
येशू तिनीहरूकै बारेमा बोलिरहनुभएको छ भनी शास्त्री र मुख्य पुजारीहरू अब बुझ्छन् र उहाँलाई अर्थात् जायज “हकवाला”-लाई मार्न चाहन्छन्। यसकारण परमेश्वरको राज्यमा शासक हुने विशेषाधिकार राष्ट्रको रूपमा तिनीहरूबाट खोसिनेछ र उपयुक्त फल उत्पादन गर्न सक्ने ‘दाखबारीका मोहीहरूको’ एउटा नयाँ राष्ट्र सृजना गरिनेछ।
येशू एक जना भविष्यवक्ता हुनुहुन्छ भनी स्वीकार्ने भीडको डरले गर्दा धर्म-गुरुहरू त्यस अवसरमा येशूलाई मार्ने प्रयास गर्दैनन्। मत्ती २१:२८-४६; मर्कूस १२:१-१२; लूका २०:९-१९; यशैया ५:१-७.
▪ येशूले बताउनुभएको पहिलो दृष्टान्तका दुई छोराहरूले कसलाई प्रतिनिधित्व गर्छन्?
▪ दोस्रो दृष्टान्तमा “घरमालिक,” “दाखबारी,” “मोहीहरू,” “दासहरू,” र “हकवाला”-ले क-कसलाई प्रतिनिधित्व गर्छन्?
▪ ‘दाखबारीका मोहीहरूलाई’ के हुनेछ र तिनीहरूको ठाउँ कसले लिनेछन्?