अध्याय ११०
मन्दिरमा सेवाको काम समाप्त हुन्छ
येशू मन्दिरमा अब अन्तिम पटक देखा पर्नुहुँदैछ। अब तीन दिनपछि हुने उहाँको मुद्दा र मृत्युदण्डको घटनाबाहेक यस पृथ्वीमा उहाँ आफ्नो जनसेवाको काम समाप्त गर्दै हुनुहुन्छ। अब शास्त्री र फरिसीहरूको भर्त्सना गर्ने काम येशू जारी राख्नुहुन्छ।
अझै तीन पटक उहाँ भन्नुहुन्छ: “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो!” पहिला उहाँ तिनीहरूलाई धिक्कार भन्नुहुन्छ किनकि तिनीहरू ‘कचौरा र थालको बाहिरचाहिं माझ्छन् तर त्यसको भित्र भने लुट र ऐयासीले भरिएको हुन्छ।’ त्यसकारण उहाँ तिनीहरूलाई हप्काउनुहुन्छ: “पहिला कचौरा र थालको भित्रपट्टि माझ, तब त्यसको बाहिरपट्टि पनि सफा हुनेछ।”
त्यसपछि बाहिरबाट मानिसहरूसामु धर्मी देखा परेर आफ्नो भित्रको सडन र गन्धलाई ढाकछोप गर्ने तिनीहरूको प्रयासका लागि शास्त्री र फरिसीहरूलाई उहाँ धिक्कार्नुहुन्छ। उहाँ भन्नुहुन्छ: “तिमीहरू कमेरो पोतेका चिहानहरूजस्तै छौ, जो बाहिरबाट हेर्दा साँच्चै सुन्दर देखिन्छन् तर भित्र भने मरेका मानिसहरूको हाडखोड र हर प्रकारका अशुद्ध थोकहरूले भरिएका हुन्छन्।”
अन्तमा, आफ्ना दानपुण्यतर्फ ध्यान आकर्षित गर्न भविष्यवक्ताहरूका चिहानहरू बनाएर तिनीहरूलाई सिंगार्न उत्सुक हुनुमा पनि तिनीहरूको कपट झल्किन्छ। येशूले प्रकाश पारेअनुसार तिनीहरू “भविष्यवक्ताहरूको हत्या गर्नेहरूका सन्तान” हुन्। हो, तिनीहरूको कपटको पर्दाफास गर्न हिम्मत गर्ने जो पनि खतरामा पर्छ!
कडा शब्दमा निन्दा गर्दै येशू अझ भन्नुहुन्छ: “ए विषालु सर्पका सन्तानहरू हो, तिमीहरू गेहेन्नाको इन्साफबाट कसरी उम्कौला?” गेहेन्ना यरूशलेमबाहिर फोहोरमैला फ्याँक्न प्रयोग गरिने बेसी हो। दुष्ट बाटो पछ्याएकाले शास्त्री र फरिसीहरूको अनन्त विनाश हुनेछ भनी येशूले तिनीहरूलाई भनिरहनुभएकोछ।
आफ्ना प्रतिनिधिहरूको रूपमा पठाउनेहरूबारे येशू भन्नुहुन्छ: “तिनीहरूमध्ये केहीलाई तिमीहरूले मार्नेछौ, केहीलाई काठमा टाँग्नेछौ अनि केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र केहीलाई चाहिं सहर-सहरमा खेदो गर्नेछौ; परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसहरूमध्ये पृथ्वीमा ज-जसको रगत बगाइयो ती सबैको दोष तिमीहरूमाथि आइपरोस्, असल मानिस हाबिलदेखि बरखियाको [जसलाई दोस्रो इतिहासमा यहोयादा भनिएको छ] छोरा जकरियाको रगतसम्म, जसको तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका थियौ। म तिमीहरूलाई साँचो-साँचो भन्छु, यी सब यस पुस्तामाथि आइपर्नेछ।”
जकरियाले इस्राएलका नेताहरूलाई कडा चेतावनी दिएकाले “तिनीहरूले जकर्याहको विरुद्धमा षड्यन्त्र रचे, र राजाको हुकुम पाएर परमप्रभुको भवनको चोकमा ढुङ्गा हानेर तिनलाई मारे।” तर येशूले भविष्यवाणी गरेअनुसार परमेश्वरको स्तरबमोजिम असल काम गर्नेहरूको रगत बगाएको मोल इस्राएलले चुकाउनुपर्नेछ। तिनीहरूले ३७ वर्षपछि इस्वी संवत् ७० मा त्यसको मोल चुकाउँछन् जब रोमी फौज आएर यरूशलेम नाश गर्छ र १० लाखभन्दा बढी यहूदीहरू मारिन्छन्।
यसप्रकारको डरलाग्दो स्थितिलाई विचार गर्दा येशू दुःखित हुनुहुन्छ। उहाँ फेरि एक पटक घोषणा गर्नुहुन्छ: “यरूशलेम, हे यरूशलेम, तँ जसले भविष्यवक्ताहरूलाई मारिस् र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हानिस्! कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैं मैले तेरा छोराछोरीहरूलाई कत्ति पटक बटुल्न चाहें! तर तिमीहरूले मानेनौ। हेर, परमेश्वरले तिमीहरूको घरलाई त्याग्नुहुनेछ।”
त्यसपछि येशू भन्नुहुन्छ: “तिमीहरूले अबदेखि मलाई कुनै पनि हालतमा देख्नेछैनौ, जबसम्म तिमीहरू यसो भन्दैनौ: ‘यहोवाको नाममा आउने धन्यका हुन्!’ ” यो दिन ख्रीष्टको उपस्थितिको समयमा आउनेछ जब उहाँ आफ्नो स्वर्गीय राज्यमा आउनुहुनेछ र मानिसहरूले उहाँलाई विश्वासको आँखाले देख्नेछन्।
येशू अब त्यहाँबाट निस्केर मन्दिरको दानपात्रहरू देखिने ठाउँमा गएर ढुकुटीको सामने आएर बस्नुहुन्छ र मानिसहरूले दानपात्रहरूमा पैसा खसालेको हेर्न थाल्नुहुन्छ। धनीहरूले धेरै सिक्का खसाल्छन्। तर एक जना गरिब विधवा आउँछिन् र असाध्यै थोरै मोलका दुई साना सिक्का खसाल्छिन्।
आफ्ना चेलाहरूलाई बोलाएर येशू भन्नुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, दानपात्रहरूमा पैसा खसाल्ने सबै जनाले भन्दा यस गरिब विधवाले धेरै खसाली।” यो कसरी हुन सक्छ भनी सबै छक्क पर्छन्। येशू यसरी व्याख्या गर्नुहुन्छ: “अरू सबैले आफ्नो प्रशस्तताबाट खसाले तर उसले त अभाव हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।” यी सबै कुराहरू भनिसकेपछि येशू मन्दिरबाट सधैंका लागि बाहिर निस्कनुहुन्छ।
मन्दिरको भव्यता र सुन्दरता देखेर उहाँको एक जना चेला यस्तो उद्गार गर्छन्: “गुरुज्यू, हेर्नुहोस् त! कस्ता-कस्ता ढुङ्गा अनि कस्ता-कस्ता भवनहरू!” वास्तवमा ती ढुङ्गाहरू ११ मिटरभन्दा लामो, ५ मिटरभन्दा चौडा र ३ मिटरभन्दा अग्ला छन्!
येशू जवाफ दिनुहुन्छ: “तिमीले यी भव्य भवनहरू देखिरहेका छौ, होइन? यी सब एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत नरहनेगरि ढल्नेछन्।”
यो भनेपछि येशू र उहाँका चेलाहरू किद्रोन खोल्चा पार गर्दै जैतुन डाँडामाथि उक्लनुहुन्छ। त्यहाँबाट उहाँहरू त्यस भव्य मन्दिरलाई हेर्न सक्नुहुन्छ। मत्ती २३:२५–२४:३; मर्कूस १२:४१–१३:३; लूका २१:१-६; २ इतिहास २४:२०-२२.
▪ अन्तिम पटक मन्दिरमा जाँदा येशू के गर्नुहुन्छ?
▪ शास्त्री र फरिसीहरूको कपट कसरी जाहेर हुन्छ?
▪ “गेहेन्नाको इन्साफ” के हो?
▪ विधवाले धनीहरूले भन्दा धेरै खसाली भनी येशू किन भन्नुहुन्छ?