अध्याय १२९
फेरि-फेरि देखा पर्नुहुन्छ
चेलाहरू अझै पनि निराश छन्। तिनीहरू न त खाली चिहानको महत्त्व बुझ्छन्, न ती आइमाईहरूले ल्याएका खबरहरू नै पत्याउँछन्। अतः पछि आइतबारका दिन क्लेओपा र अर्को एक जना चेला यरूशलेमबाट ११ किलोमिटर टाढा पर्ने इम्माउस भन्ने ठाउँतिर लाग्छन्।
बाटोमा तिनीहरू दिनभरिका घटनाहरूबारे छलफल गर्दै गइरहेको बेला एक जना अपरिचित मानिस पनि तिनीहरूसँगै हिंड्न थाल्छन्। उनी सोध्छन्: “तिमीहरू बाटोमा हिंड्दै आपसमा के बहस गर्दैछौ?”
चेलाहरू त्यहीं रोकिन्छन्, तिनीहरूको चेहरा अँध्यारो छ र क्लेओपाले जवाफ दिन्छन्: “के तपाईं अचेल यरूशलेममा के भइरहेको छ, त्यसबारे बेखबर परदेशी हुनुहुन्छ?” ती अपरिचित मानिसले सोध्छन्: “के कुरा?”
तिनीहरूले जवाफ दिन्छन्: “नासरी येशूलाई जे-जे भयो, त्यही कुरा। . . . हाम्रा मुख्य पुजारीहरू र यहूदी न्यायपरिषद्का सदस्यहरूले उहाँलाई मृत्युदण्ड दिनको लागि सुम्पे र खम्बामा टाँगे। इस्राएललाई छुटकारा दिने मानिस यही हुनुपर्छ भनेर हामीले आशा गरिरहेका थियौं।”
यसपछि क्लेओपा र तिनका साथीले त्यस दिनका आश्चर्यजनक घटनाहरूको सारा वृत्तान्त अर्थात् स्वर्गदूतहरूको अलौकिक दृश्य र खाली चिहानको खबर बताउँछन् तर यी कुराहरूको अर्थ लाउन नसकेकोमा आफ्नो हैरानी पनि व्यक्त गर्छन्। ती अपरिचित व्यक्तिले तिनीहरूलाई हप्काउँदै भन्छन्: “ए अबुझ अनि भविष्यवक्ताहरूले बताएका सबै कुरा नपत्याउने मानिसहरू हो! आफूले पाउनुपर्ने गौरव हासिल गर्न के ख्रीष्टले यी सब कष्ट भोग्नु आवश्यक थिएन र?” त्यसपछि धर्मशास्त्रमा ख्रीष्टबारे लेखिएका कुराहरूको अर्थ उनले तिनीहरूलाई बुझाइदिन्छन्।
अन्तमा तिनीहरू इम्माउस आइपुग्छन् र ती अपरिचित व्यक्तिचाहिं अझ अगाडि जान लागेझैं गर्छन्। उनीबाट अझ बढी कुराहरू सुन्न चाहेका हुनाले चेलाहरूले उनलाई आग्रह गर्छन्: “हामीसँगै बस्नुहोस् न, किनकि दिन ढलेर साँझ पर्न लागिसक्यो।” अतः खानका निम्ति उनी बस्छन्। उनले प्रार्थना गरेपछि रोटी भाँचेर जसै तिनीहरूलाई दिन्छन्, उनी त मानव शरीर धारण गर्नुभएको येशू हुनुहुँदोरहेछ भनी तिनीहरूले चिन्छन्। तर उहाँ त्यत्तिकैमा त्यहाँबाट अलप हुनुहुन्छ।
ती अपरिचित व्यक्तिलाई त्यत्तिका कुरा कसरी थाह रहेछ भनी अब पो तिनीहरूले बुझ्छन्! तिनीहरू आपसमा भन्छन्: “उहाँले बाटोमा हामीसित कुरा गर्दै धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा के हाम्रो मनमा छटपटी भइरहेको थिएन र?” ढिलो नगरिकनै तिनीहरू उठेर यरूशलेम फर्किन्छन् जहाँ तिनीहरूले प्रेषितहरू र तिनीहरूसित भेला भइरहेका अरूहरूलाई फेला पार्छन्। क्लेओपा र तिनका साथीले केही भन्नुअघि नै अरूहरूले उत्तेजित भएर यो खबर दिन्छन्: “यो साँचो हो, प्रभु ब्यूँताइनुभयो र सिमोनकहाँ देखा पर्नुभयो!” अनि ती दुई जनाले पनि येशू कसरी तिनीहरूकहाँ देखा पर्नुभयो भनी सुनाउँछन्। एकै दिनभित्र आफ्ना विभिन्न चेलाहरूकहाँ उहाँ जम्माजम्मी चार पटक देखा परिसक्नुभएको छ।
येशू अचानक अब पाँचौं पटक देखा पर्नुहुन्छ। यहूदीहरूको डरले चेलाहरू ढोका थुनेर भित्र बसेको भए तापनि उहाँ कोठामा प्रवेश गर्नुहुन्छ र तिनीहरूकै माझमा उभिएर भन्नुहुन्छ: “तिमीहरूलाई शान्ति होस।” तर तिनीहरू तर्सिन्छन् र आफूहरूले स्वर्गदूत देखिरहेका छौं भन्ठान्छन्। त्यसकारण आफू स्वर्गदूत वा छाया होइन भनी तिनीहरूलाई व्याख्या गर्दै येशू भन्नुहुन्छ: “तिमीहरू किन विचलित हुन्छौ अनि तिमीहरू किन मनमा शङ्का गर्छौ? मेरा हातखुट्टा हेर त, म नै हुँ। मलाई छामेर हेर, किनकि मेरो हाड र मासु छ तर स्वर्गदूतको त हुँदैन।” तर तिनीहरू अझ पनि पत्यार गर्दैनन्।
आफू वास्तवमा येशू नै हो भनी तिनीहरूलाई बुझ्ने मदत दिनका लागि येशू भन्नुहुन्छ: “के तिमीहरूसित केही खानेकुरा छ?” एक टुक्रा पोलेको माछा तिनीहरूबाट थापेर त्यसलाई खाएपछि उहाँ भन्नुहुन्छ: “मोशाको व्यवस्था, भविष्यवक्ताहरूको लेखोट र भजनहरूमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनै पर्छ भनेर म तिमीहरूसित हुँदा मैले तिमीहरूलाई बताएको थिएँ।”
तिनीहरूसित बाइबल अध्ययन गरेझैं उहाँ अगाडि सिकाउनुहुन्छ: “यस्तो लेखिएको छ कि ख्रीष्टले दुःख भोग्नेछ र मृत्युबाट तेस्रो दिनमा ब्यूँतनेछ। अनि उहाँको नाममा पापको क्षमा पाउन पश्चात्ताप गर्नुपर्ने सन्देश यरूशलेमबाट सुरु गरेर सबै जातिमा प्रचार गरिनेछ। अनि तिमीहरू यी कुराहरूको साक्षी हुनेछौ।”
कारणवश थोमा यस आइतबार साँझको महत्त्वपूर्ण सभामा उपस्थित छैनन्। त्यसकारण पछि अरूहरू हर्षित हुँदै तिनलाई यसो भन्छन्: “हामीले प्रभुलाई देख्यौं!”
तर थोमा विरोध गर्दै भन्छन्: “उहाँको हातमा कीलाको डोब नदेखेसम्म र त्यो डोबमा मेरो औंला नघुसारेसम्म अनि उहाँको कोखामा मेरो हात नहालेसम्म म पत्याउँदै पत्याउँदिनँ।”
आठ दिनपछि उहाँका चेलाहरू फेरि कोठाभित्र भेला भएका छन्। यस बखत थोमा पनि तिनीहरूसँगै छन्। ढोकाहरू बन्द भए तापनि येशू फेरि एक पटक तिनीहरूका माझमा उभिनुहुन्छ र भन्नुहुन्छ: “तिमीहरूलाई शान्ति होस्।” अनि थोमातिर फर्केर भन्नुहुन्छ: “तिम्रो औंला यहाँ घुसार अनि मेरो हात हेर। तिम्रो हात यता ल्याएर मेरो कोखामा हाल। अनि शङ्का गर्न छोड बरु विश्वास गर।”
थोमा चीत्कार गर्छन्: “हे मेरा प्रभु, मेरा परमेश्वर!”
येशूले तिनलाई भन्नुहुन्छ: “के तिमीले मलाई देखेको हुनाले विश्वास गऱ्यौ? धन्य हुन् ती, जसले नदेखीकनै विश्वास गर्छन्।” लूका २४:११, १३-४८; यूहन्ना २०:१९-२९.
▪ इम्माउस जाँदा बाटोमा एक जना अपरिचित मानिसले दुई जना चेलाहरूलाई के सोध्छन्?
▪ अपरिचित व्यक्तिले के भन्छन् जसले गर्दा चेलाहरूको मनमा छटपटी हुन्छ?
▪ अपरिचित व्यक्ति को रहेछन् भनी चेलाहरूले कसरी ठम्याउन सक्छन्?
▪ क्लेओपा र तिनका साथी यरूशलेम फर्केपछि तिनीहरूले कस्तो उत्तेजनात्मक खबर सुन्छन्?
▪ येशू आफ्ना चेलाहरूसमक्ष पाँचौं पटक कहिले देखा पर्नुहुन्छ र त्यसबेला के हुन्छ?
▪ पाँचौं पटक देखा पर्नुभएको आठ दिनपछि के हुन्छ र येशू जिउँदै हुनुहुन्छ भनी थोमाले अन्तमा कसरी पत्यार गर्छन्?