पारिवारिक जीवनको आनन्द उठाउनुहोस्
परिवारहरू के वास्तवमा आनन्दित हुन सक्छन्?
यो कसरी सम्भव छ?
के तपाईंले चिन्नु भएका केही परिवारहरू यस पर्चामा चित्रित एकताबद्ध र सुखी परिवारहरू जस्तै छन्? जताततै परिवारहरू छिन्नभिन्न हुन लागेको छ। छुटानाम, असुरक्षित जागिर, आमा वा बाबुमात्र भएका परिवारहरूको धर्मसंकट र नैराश्य यस संकटकालीन स्थितिका केही कारणहरू हुन्। पारिवारिक जीवनको एकजना विशेषज्ञले यसो भन्दै खेद व्यक्त गरे: “परिवार अन्त्य हुने भविष्यवाणीहरू अब भने प्रायः सर्वविदित भइसकेको छ।”
परिवारहरूमाथि यस्ता गम्भीर समस्याहरूको बमवर्षा किन भइरहेको छ? हामी पारिवारिक जीवनको आनन्द कसरी उठाउन सक्छौं?
परिवारको सुरुआत कसरी भयो ?
ती प्रश्नहरूको जवाफ पाउनका लागि हामीले विवाह र परिवारको सुरुआत जान्नु आवश्यक छ। यी कुराहरूका मूल स्थापक—एकजना सृष्टिकर्ता—हुनुहुन्छ भने परिवारका सदस्यहरूले उहाँबाटै निर्देशन लिने गर्नुपर्छ। किनकि पारिवारिक जीवनबाट हामीले सम्पूर्ण लाभ उठाउन सक्ने सर्वोत्तम तरिका उहाँलाई नै थाह हुन्छ।
चाखलाग्दो कुरा के हो भने, पारिवारिक प्रबन्धको कुनै मूल स्थापक नै छैन भनी धेरैजना विश्वास गर्छन्। दी इनसाइक्लोपीडिया अमेरीकाना भन्छ: “कुनै कुनै विद्वानहरूको विचारमा मानवभन्दा तल्लो दर्जाका जनावरहरू बीच भाले-पोथीको जोडी मिल्ने प्रबन्धबाट नै विवाहको सुरुआत भएको हो।” तापनि, येशू ख्रीष्टले चाहिं पुरुष र स्त्रीको सृष्ट-बारे कुरा गर्नुभयो। उहाँले बाइबलको प्राचीन लेखलाई मान्यता दिनु हुँदै त्यसबाट यसरी उद्धरण गर्नु भयो: “जसलाई परमेश्वरले एक साथ जोड्नुभएको छ, त्यसलाई मानिसले नछुट्याओस्।”—मत्ती १९:४-६.
अतः येशू ख्रीष्टको कुरा नै ठीक हो। प्रथम मानवहरूको सृजना एकजना बुद्धिमान परमेश्वरले गर्नु भएर सुखी पारिवारिक जीवनको प्रबन्ध मिलाउनु भयो। परमेश्वरले प्रथम मानव जोडीको विवाह गरी दिनु भयो। तिनीहरूलाई एकसाथ राख्नु भएर भन्नु भयो कि मानिस “आफ्नी स्वास्नीसँग मिलिरहन्छ औ तिनीहरू एउटै जीउ हुन्छन्।” (उत्पत्ति २:२२-२४) यसकारण सृष्टिकर्ताले आफ्नो वचन बाइबलमा दिनु भएका स्तरहरूलाई उल्लंघन गर्ने जीवनशैलीको मानिसले पिछा गरेको हुनाले नै आजका पारिवारिक समस्याहरू उत्पन्न भएका हुन् कि?
सफलतातर्फ लैजाने बाटो के हो ?
तपाईंलाई थाहै होला, यो आधुनिक संसारले स्वार्थ-सिद्धि र आत्मसन्तुष्टिलाई नै महत्त्व दिन्छ। संयुक्त राज्य अमेरिकामा स्नातकहरूको एउटा कक्षालाई एकजना अर्थशास्त्रीले यसो भने: “लोभ स्वस्थकर हो। तपाईं लोभी हुनु भए तापनि आफ्नोबारे राम्रो धारणा राख्न सक्नु हुन्छ।” तर भौतिक धनसम्पत्तिको पिछा गर्दैमा सफलता प्राप्त हुँदैन। भनौं भने, पारिवारिक जीवनका लागि सबैभन्दा बढी खतरनाक तत्त्वहरूमध्ये एउटा त भौतिकवाद हो। यसले मानव पारस्परिक सम्बन्ध बिगार्छ र मानिसको समय र पैसा बरबाद पार्छ। तर यसको ठीक विपरीत, आनन्दित हुनका लागि कुन कुन कुरा महत्त्वपूर्ण छन्, तीबारे बाइबलका दुइटा नीतिवचनले के भन्छ, यसो विचार गर्नुहोस्।
“डाहसित खाएको मोटो बहरभन्दा प्रेमसित खाएको साग-पात असल हो।”
“भोज र झगड़ाले भरिएको घरभन्दा मेलसित खाएको निस्तो गाँस असल हो।”
हितोपदेश १५:१७; १७:१, “टुडेज इंग्लिश भर्सन्।”
ती कति प्रभावकारी छन्! प्रत्येक परिवारले त्यसै प्रकारका मान्यताहरूलाई प्राथमिकता दिएमा संसार कति बेग्लै हुने थियो! परिवारका सदस्यहरूले एकअर्कासित कसरी व्यवहार गर्नु पर्ने हो, यस विषयमा पनि बाइबलले कामलाग्दो निर्देशन दिन्छ। तीमध्येका केही निर्देशहरूलाई विचार गर्नुहोस्।
पतिहरू: ‘आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ।’—एफिसी ५:२८-३०.
कुरा सरल छ, तर धेरै नै व्यावहारिक! ‘पत्नीलाई आदर पनि गर्नु’ भनेर बाइबलले पतिहरूलाई निर्देश दिन्छ। (१ पत्रुस ३:७) यो निर्देश मान्नुको अर्थ पतिले पत्नीलाई विशेष ध्यान, स्नेह र ढाडस दिनुका साथै तिनलाई राम्ररी बुझ्ने कोशिश गरेर व्यवहार गर्नु हो। यसबाहेक तिनले पत्नीको रुचिलाई मान्यता दिन्छन् र तिनको कुरा पनि सुन्ने गर्छन्। (उत्पत्ति २१:१२ सँग तुलना गर्नुहोस्।) पतिले आफ्नी पत्नीको सोचविचारलाई ध्यानमा राखेर व्यवहार गर्दा अर्थात् तिनी स्वयंले अरूहरूबाट आशा गरेको व्यवहार प्रयोगमा ल्याउँदा सारा परिवारका लागि लाभदायक हुनेछ, होइन र?—मत्ती ७:१२.
पत्नीहरू: “पत्नीले पनि आफ्ना पतिको डर मानोस्।”— एफिसी ५:३३.
आफ्नो पतिलाई तिनका गहकिला जिम्मेवारीहरू पूरा गर्नमा मदत दिंदै एउटी पत्नीले पारिवारिक आनन्द बढाउन सक्छिन्। परमेश्वरको उद्देश्य पनि यही नै थियो। मानिसको निम्ति त्यसलाई “सुहाउने एउटा सहयोगी” हुनका लागि उहाँले एउटी पत्नीको प्रबन्ध गरी दिनु भएको थियो। (उत्पत्ति २:१८) पत्नीले आफ्नो पतिको आदर गर्दै तिनले गरेका फैसलाहरूको समर्थन गरिन् र पारिवारिक लक्ष्यहरू प्राप्त गर्न सहयोग पुऱ्याइन् भने, पारिवारिक जीवन कति सुखी हुन सक्छ!
दम्पतीहरू: “पति र पत्नी एकअर्काप्रति इमान्दार हुनुपर्छ।”— हिब्रू १३:४, टुडेज इंग्लिश भर्सन्।
यसरी तिनीहरू इमान्दार हुँदा पारिवारिक जीवन निश्चय नै लाभान्वित हुनेछ। (हितोपदेश ६:२७-२९, ३२) व्यभिचारले परिवारलाई अक्सर बरबाद पारिदिन्छ। अतः बाइबलले बुद्धिमानीका साथ यो आग्रह गर्छ: “तेरो पत्नीसित सुखी रह र तैंले विवाह गरेकी केटीसँगै आनन्द मना . . . तेरो प्रेम अर्की आइमाईलाई किन दिन्छस्?”—हितोपदेश ५:१८-२०, टुडेज इंग्लिश भर्सन्।
आमाबाबुहरू: “[तपाईंका छोराछोरीलाई तिनीहरू ] हिंड्नु पर्ने बाटोमा हिंड्ने प्रशिक्षण दिनुहोस्।”— हितोपदेश २२:६[NW ].
आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई समय र ध्यान दिने गर्दा पारिवारिक जीवनमा निश्चय नै उन्नति हुन्छ। यसैकारण आमाबाबुहरूले आफ्नो छोराछोरीहरूलाई ‘घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्केर बस्दा र उठ्दा’ ठीक सिद्धान्त सिकाउन बाइबलले आग्रह गर्छ। (व्यवस्था ११:१९) साथै, आमाबाबुहरूले छोराछोरीहरूलाई प्रेम देखाउने पनि गर्नु पर्छ भनी बाइबलले भन्छ।—एफिसी ६:४.
छोराछोरीहरू: “ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर।”— एफिसी ६:१.
हुन त हो, यस अव्यवस्थित संसारमा आफ्ना आमाबाबुको आज्ञा पालन गर्नु सधैं सजिलो नहोला। तापनि, परिवारको मूल स्थापकले भन्नु भएको कुरा मान्नु नै बुद्धिमानीको कुरा हुनेछ, होइन र? हाम्रो पारिवारिक जीवनलाई अझ सुखी बनाउन के आवश्यक छ, त्यो सबैभन्दा बढी उहाँलाई नै थाहा छ। यसकारण, आफ्ना आमाबाबुप्रति आज्ञाकारी हुने हर प्रयास गर्नु होस्। खराब काम गराउने संसारमा भएका परीक्षाहरूमाथि विजयी हुने दृढ संकल्प गर्नुहोस्।—हितोपदेश १:१०-१९.
परिवारको प्रत्येक सदस्यले जुन हदसम्म बाइबलको सल्लाहलाई प्रयोगमा ल्याउँछ, त्यसै हदसम्म पारिवारिक जीवन लाभान्वित हुनेछ। वर्तमान पारिवारिक जीवनमा सुधार आउनुका साथै परमेश्वरले प्रतिज्ञा गर्नु भएको नयाँ संसारमा एउटा सुन्दर भविष्यको आशा पनि गर्न सकिनेछ। (२ पत्रुस ३:१३; प्रकाश २१:३, ४) यसकारण एकसाथ बसेर बाइबल पढ्ने बानी बसाल्नु होस्! पारिवारिक आनन्दको रहस्य नामक पुस्तकमा दिएको सल्लाहबाट पृथ्वीभरिका लाखौं परिवारहरूले लाभ उठाएका छन्।
अन्यथा उल्लिखित नभए यस पर्चामा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्स-बाट उद्धृत गरिएका हुन्।