३
उत्कृष्ट बुद्धिको अनुपम स्रोत
१, २. हामीले बाइबलको जाँच किन गर्नुपर्छ?
१ के बाइबल त्यस्तो उत्कृष्ट बुद्धिको रेकर्ड हो? के यसले जीवनको उद्देश्यसित सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिन सक्छ?
२ बाइबल अवश्य हाम्रो परीक्षणको योग्य छ। यसको एउटा कारण, यो अरू कुनै पनि पुस्तकभन्दा धेरै भिन्न र हालसम्म लेखिएको पुस्तकभन्दा साह्रै असाधारण छ। निम्न तथ्यहरूलाई विचार गर्नुहोस्।
सबैभन्दा पुरानो अनि व्यापक वितरित पुस्तक
३, ४. बाइबल कति पुरानो पुस्तक हो?
३ अहिलेसम्म लेखिएका पुस्तकहरूमध्ये बाइबल सबैभन्दा पुरानो पुस्तक हो। यसका केही अंशहरू ३,५०० वर्षअघि लेखिएका हुन्। पवित्र मानिएका अन्य पुस्तकहरूभन्दा यो निकै शताब्दी पुरानो छ। बाइबलका ६६ वटामध्ये पहिलो पुस्तक बुद्ध र कन्फुसियसभन्दा हजार वर्ष र मुहम्मदभन्दा दुई हजार वर्षअघि लेखिएको थियो।
४ बाइबलको इतिहास मानव परिवारको थालनीदेखि सुरु हुन्छ र हामी पृथ्वीमा कसरी आयौं भन्ने कुरा यसले बताउँछ। भनौं भने मानिसहरूको सृष्टिअघि पृथ्वीको निर्माण कसरी भयो भनेर समेत यसले जानकारी दिन्छ।
५. अरू पुराना लेखोटहरूको तुलनामा बाइबलका कतिवटा प्राचीन पाण्डुलिपि अस्तित्वमा छन्?
५ अन्य धर्मग्रन्थहरू र पुस्तकहरूका पुराना हस्तलिपीहरूको थोरै प्रति मात्र अस्तित्वमा छन्। तर पूरै बाइबल वा त्यसको अंशको हिब्रू र युनानी भाषामा लगभग १३,००० हस्तलिखित प्रतिहरू पाइन्छन्। यसमध्ये कुनै-कुनै झण्डै मौलिक प्रति जत्तिकै पुराना छन्। कल्पनै गर्न नसक्ने ढङ्गमा बाइबलमाथि भएको अचाक्ली आक्रमणबाट ती हस्तलिपीहरू उम्केर आएका हुन्।
६. बाइबल कतिको व्यापक रूपमा वितरित भएको छ?
६ यसबाहेक इतिहासको सबैभन्दा व्यापक वितरित पुस्तक पनि बाइबल नै हो। पूरै बाइबल वा त्यसको अंश लगभग दुई हजार भाषाहरूमा तीन अरबभन्दा बढी प्रति वितरण भइसकेको छ। भनिन्छ, ९८ प्रतिशत मानिसहरूले आफ्नै भाषामा बाइबल पढ्न सक्छन्। अरू कुनै पुस्तक यति धेरै वितरित भएको छैन।
७. बाइबलको यथार्थताबारे के भन्न सकिन्छ?
७ यथार्थताको कुरा गर्ने हो भने, अरू कुनै प्राचीन पुस्तक बाइबलको तुलनामा आउन सक्दैन। वैज्ञानिक, इतिहासकार, पुरातत्त्वविद्, भूगोलविद्, भाषाविद् र अरूले समेत बारम्बार बाइबलका विवरणहरूको पुष्टि दिन्छन्।
वैज्ञानिक यथार्थता
८. वैज्ञानिक विषयहरूको सम्बन्धमा बाइबल कति सही छ?
८ उदाहरणको लागि, वैज्ञानिक पाठ्यपुस्तकको रूपमा नेलेखिए तापनि वैज्ञानिक विषयहरूलाई छुँदा बाइबल विशुद्ध विज्ञानसँग मेल खान्छ। तर पवित्र मानिएका अन्य प्राचीन पुस्तकहरू भने वैज्ञानिक किंवदन्ती, गल्ती र सुस्पष्ट झूटहरूले भरिपूर्ण छन्। बाइबलको वैज्ञानिक यथार्थताका थुप्रै उदाहरणहरूमध्ये केवल चारवटालाई विचार गर्नुहोस्:
९, १०. समकालीन अवैज्ञानिक विचारधारा विपरीत बाइबलले पृथ्वीको आधारबारे के भन्छ?
९ पृथ्वी कसरी अन्तरिक्षमा अडिएको छ। जुनबेला बाइबल लेखिंदै थियो त्यतिबेला पृथ्वी अन्तरिक्षमा कसरी अडिएको छ भन्ने विषयमा निकै अवधारणाहरू थिए। कसै-कसैले समुद्री कछुवाको ढाडमा उभिएका चारवटा हात्तीहरूले पृथ्वीलाई थामेको छ भन्ने विश्वास गर्थे। सा. यु. पू. चौथो शताब्दीका युनानी दार्शनिक तथा वैज्ञानिक अरस्तुले पृथ्वी खुला अन्तरिक्षमा अडिनु असम्भव छ भनेर सिकाए। तिनले एकभित्र अर्को गाभिएको पारदर्शी ठोस गोलाहरूमा आकाशीय पिण्डहरू अडेका छन् भनी बताए। तिनको कल्पनाअनुसार पृथ्वी सबैभन्दा बीचको गोलामा र ताराहरू बाहिरी गोलामा अडेका थिए।
१० यद्यपि, आफ्नो लेखनकालमा (लगभग सा. यु. पू. १४७३ मा) विद्यमान अवास्तविक र अवैज्ञानिक दृष्टिकोण झल्काउनुको सट्टा बाइबलले स्पष्टसँग यसो भन्यो: “परमेश्वरले अन्तरिक्षको शून्यतामा पृथ्वीलाई झुण्डाउनुभयो।” (अय्यूब २६:७, NW) “शून्यता” भनेर चलाएको शब्दको अर्थ मौलिक हिब्रू भाषामा “रित्तो” हो र बाइबलमा एक ठाउँमा मात्र त्यसको उल्लेख पाइन्छ। रित्तो अन्तरिक्षबीच पृथ्वीको जुन चित्र यसले प्रस्तुत गर्छ त्यसलाई तत्कालीन समयको उल्लेखनीय दर्शन भनी विद्वानहरूले मानेका छन्। थियोलोजिकल वर्डबुक अफ दि ओल्ड टेस्टामेन्ट यसो भन्छ: “अय्यूब २६:७ ले त्यतिबेलाको संसारलाई अन्तरिक्षमा झुण्डिएको ज्वलन्त चित्रण गर्छ र भावी वैज्ञानिक खोजको लागि पूर्वज्ञान दिन्छ।”
११, १२. अय्यूब २६:७ को सत्यतालाई मानिसहरूले कहिलेदेखि बुझ्न थाले?
११ बाइबलको यस यथार्थ विवरण अरस्तुभन्दा १,१०० वर्षअघिको हो। यद्यपि, अरस्तुको मृत्युपश्चात् लगभग अर्को २,००० वर्षसम्म पनि तिनको दृष्टिकोणलाई तथ्यको रूपमा सिकाइन्थ्यो! अन्तमा, सा. यु. १६८७ मा सर आइजक न्युटनले अरू आकाशीय पिण्डहरूसित पृथ्वी आपसी आकर्षण शक्ति अर्थात् गुरुत्वाकर्षणद्वारा अन्तरिक्षमा अडिएको छ भन्ने आफ्नो खोज प्रकाशित गरे। “शून्य[मा]” पृथ्वी अडेको छ भनेर बाइबलले दिएको सरल विवरणको झण्डै ३,२०० वर्षपछि मात्र उक्त कुरा थाह लाग्यो।
१२ हो, पृथ्वीको कुनै ठोस आधार छैन भनेर लगभग ३,५०० वर्षअघि नै बाइबलले ठीक विवरण दिएको थियो। अहिले आएर प्रस्टिएका गुरुत्वाकर्षण र गतिका नियमहरूसँग मिल्ने यो एउटा तथ्य हो। एक जना विद्वानले यसो भने: “अय्यूबलाई यो कुरा कसरी थाहा भयो त? पवित्र शास्त्र प्रेरित पुस्तक हो भनेर अस्वीकार गर्नेहरूले अहिलेसम्म यस प्रश्नको जवाफ पाएका छैनन्।”
१३. पृथ्वीको आकारबारे शताब्दीयौं अघिका मानिसहरूले कस्तो विचारधारा राख्थे तर कुन कुराले तिनीहरूको विचार परिवर्तन गऱ्यो?
१३ पृथ्वीको आकार। दि इन्साइक्लोपीडिया अमेरिकाना-ले यसो भन्यो: “अहिलेसम्म थाह लागेअनुसार पृथ्वी अन्तरिक्षको बीचमा अनि ठोस र चेप्टो आकारको छ भन्ने मानिसहरूको पूर्व धारणा थियो। . . . पृथ्वी गोलो छ भन्ने धारणाले रेनसाँसअघि त्यति मान्यता पाएको थिएन।” केही प्रारम्भिक नाविकहरू जहाजमा यात्रा गर्दा चेप्टो पृथ्वीको किनारामा पुगेर खस्ला भनेर साह्रै डराउँथे। तर पछि गएर कम्पासको प्रयोग तथा अन्य प्रगतिहरू चलनचल्तीमा आएपछि मानिसहरूले लामो समुद्री यात्राहरू गर्न थाले। एउटा अर्को इन्साइक्लोपीडियाअनुसार “अधिकांश मानिसहरूले विश्वास गरेझैं पृथ्वी चेप्टो होइन तर गोलो छ भन्ने कुरा यी खोज यात्राहरूले प्रस्टायो।”
१४. पृथ्वीको आकारबारे बाइबलले कस्तो वर्णन गऱ्यो र कहिले?
१४ यद्यपि, त्यस्ता यात्राहरू सुरु नहुँदै आजभन्दा करिब २,७०० वर्षअघि बाइबलले यसो भन्यो: “उहाँ तिनै हुनुहुन्छ जो पृथ्वी[को] [ घेरामाथि] विराजमान हुनुहुन्छ।” (यशैया ४०:२२) “घेरा” भनेर यहाँ अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “गोला” पनि हुन सक्छ र थुप्रै सन्दर्भ पुस्तकहरूले यसको पुष्टि दिएका छन्। त्यसैकारण बाइबलका अन्य अनुवादहरूले “पृथ्वीको गोलाइ” (डुवे संस्करण) र, “गोलो पृथ्वी” (मोफेट) भनी बताएका छन्।
१५. पृथ्वीसित सम्बन्धित अवैज्ञानिक विचारधाराबाट बाइबल किन प्रभावित भएन?
१५ अतः पृथ्वीको आधार र आकारको सम्बन्धमा तत्कालीन प्रचलित अवैज्ञानिक विचारधाराबाट बाइबल प्रभावित भएन। कारण सरल छ: बाइबलको रचनाकार ब्रह्माण्डको रचनाकार पनि हुनुहुन्छ। उहाँले नै सृष्टि गर्नुभएको हुँदा, पृथ्वी कहाँ अडेको छ र कस्तो आकारको छ भनेर पनि उहाँलाई थाह हुनुपर्छ। त्यसैकारण बाइबल लेख्ने प्रेरणा दिनुहुँदा उहाँले कुनै अवैज्ञानिक विचारधारा मुछिने मौका दिनुभएन। तथापि, त्यतिबेला धेरैले त्यस्ता विचारधारालाई विश्वास गरेको हुन सक्छ।
१६. बाइबलको विवरणसित सजीव वस्तुहरूको बनौट कसरी मेल खान्छ?
१६ जीवित प्राणीहरूको संरचना। “परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो,” भनेर उत्पत्ति २:७ ले भन्छ। द वर्ल्ड बुक इन्साइक्लोपीडिया-ले यसो भन्छ: “सजीव प्राणीमा हुने सबै रासायनिक तत्त्वहरू निर्जीव वस्तुहरूमा पनि पाइन्छ।” अतः मानिसलगायत सबै सजीव प्राणीमा भएका आधारभूत रासायनिक तत्त्वहरू यसै पृथ्वीमा पाइन्छ। परमेश्वरले मानिस र अन्य सजीव प्राणीहरू सृष्टि गर्नुहुँदा चलाउनुभएको सामाग्रीको सम्बन्धमा बाइबलले दिएको विवरणसँग यो मेल खान्छ।
१७. सजीव वस्तु कसरी अस्तित्वमा आए भन्ने कुराको सत्यता के हो?
१७ “आफ्ना आफ्नै किसिमका।” परमेश्वरले नै प्रथम मानव दम्पती सृष्टि गर्नुभएको हो र तिनीहरूबाटै अरू मानिसहरू आएका हुन् भनेर बाइबलले बताउँछ। (उत्पत्ति १:२६-२८; ३:२०) माछा, पक्षी र स्तनपायीहरूजस्ता अन्य प्राणीहरू पनि त्यस्तै गरी “आफ्ना आफ्नै किसिमका” सृष्टि भए भनी यसले उल्लेख गर्छ। (उत्पत्ति १:११, १२, २१, २४, २५) वैज्ञानिकहरूले प्राकृतिक सृष्टिमा देखेको कुरा पनि यही हो, हरेक सजीव प्राणी आफूजस्तै माऊबाट जन्मन्छ। यसको कुनै अपवाद छैन। यस सम्बन्धमा भौतिकशास्त्री रेमो यसो भन्छन्: “जीवनबाट जीवन सुरु हुन्छ; हर कोषमा सधैं हुने कुरा यही हो। त्यसोभए निर्जीव कुराबाट कसरी सजीव कुरा आयो त? जीवशास्त्रमा अनुत्तरित ठूला प्रश्नहरूमध्ये एक यो पनि हो र हालसम्म जीवशास्त्रीहरूले आधारहीन अनुमान लगाउनुबाहेक केही गर्न सकेका छैनन्। तर उनीहरूको भनाइअनुसार कसो हो कसो निर्जीव वस्तुहरू एकाएक सजीव बने . . . जे होस्, उत्पत्तिको रचनाकारले यथार्थ कुरा बताएको हुनुपर्छ।”
ऐतिहासिक यथार्थता
१८. बाइबलको ऐतिहासिक यथार्थताबारे एक जना वकिल के भन्छन्?
१८ अहिलेसम्म अस्तित्वमा रहेका कुनै पनि पुस्तकमा भन्दा बाइबलमा सबैभन्दा यथार्थ प्राचीन इतिहास पाइन्छ। अ लयर इक्जामिन्स द बाइबल नामक पुस्तकले यसको ऐतिहासिक यथार्थतालाई यसरी जोड दिन्छ: “रोमाञ्चकारी घटना, किंवदन्ती र झूटा बयानले घटनाहरूलाई होसियारीपूर्वक कुनै अनिश्चित कालअघि अनिर्धारित ठाउँमा भएको घटनाको रूपमा प्रस्तुत गर्छ। हामी वकिलहरूले सिकेको राम्रो वकालतको पहिलो नियमलाई त्यसले उल्लंघन गर्छ अर्थात् ‘कुनै पनि विवरणको समय र ठाउँ हुनुपर्छ।’ तर बाइबलका वृत्तान्तहरूले अति यर्थाथताका साथ घटनाको समय र ठाउँ बताउँछ।”
१९. बाइबलको ऐतिहासिक विवरणबारे एउटा स्रोतले के भन्छ?
१९ द न्यु बाइबल डिक्सनरी यस्तो टिप्पणी गर्छ: “[बाइबल पुस्तक प्रेरितको लेखक] समकालीन इतिहासको ढाँचामा आफ्नो वृत्तान्त तयार गर्छन्; तिनले लेखेका हरेक पृष्ठमा नगर हाकिम, प्रान्तीय गभर्नर, रजौटाहरू तथा त्यस्तै व्यक्तिहरूको उल्लेख पाइन्छ, र हरेक पल्ट यी उल्लेखहरू स्थानानुकूल, समयानुकूल र प्रश्नानुकूल साबित भएका छन्।”
२०, २१. बाइबलको इतिहासबारे एक जना बाइबलविद् के भन्छन्?
२० द युनियन बाइबल कम्पानियन-मा एस. अस्टिन अलिबोनले यस्तो लेखे: “सर आइजक न्युटन . . . प्राचीन लेखोटहरूका उल्लेखनीय आलोचक थिए र तिनले पवित्र शास्त्रलाई बडो ध्यानपूर्वक जाँच गरे। यस सम्बन्धमा न्युटनको मत के छ त? तिनी आफै भन्छन्, ‘अरू कुनै इतिहासमा भन्दा नयाँ नियममा म बढी यथार्थता पाउँछु।’ डा. जोनसनको भनाइअनुसार रोमको सांसद भवनमा जुलियस सिजर मारिए भन्ने घटनाको भन्दा सुसमाचार पुस्तकको विवरणअनुसार येशूलाई डाँडामा लगेर शूलीमा लट्काइयो भन्ने घटना बढी प्रामाणिक छ। निस्सन्देह हामीसँग यथेष्ट प्रमाण छ।”
२१ सोही पुस्तक अझ यसो भन्छ: “सुसमाचार पुस्तकको इतिहासको यथार्थमाथि शङ्का प्रकट गर्ने व्यक्तिलाई सोध्नुहोस्, सांसद भवनमा सिजर मारिए अनि सन् ८०० मा पोप लिओ तेस्रोद्वारा चार्लमेन पश्चिमको सम्राट् बने भनेर विश्वास गर्ने के आधार छ? [बेलायतका] चार्ल्स प्रथम भन्ने व्यक्ति काटिए र तिनको ठाउँमा ओलिभर क्रमवेलले शासन गरे। . . . गुरुत्वाकर्षणको नियमको लागि सर आइजक न्युटनलाई नै श्रेय दिइयो भनेर तपाईंलाई कसरी थाहा भयो? . . . यी व्यक्तिहरूबारे गरिएका सबै दाबीहरू हामी विश्वास गर्छौं; किनकि हामीसँग त्यसको ऐतिहासिक प्रमाण छ। . . . यस्तो प्रमाणको बावजुद कसैले अझै पनि विश्वास गर्न अस्वीकार गर्छ भने त्यसलाई मूर्ख जिद्दी वा निराशाजनक स्तरमा पुगेको अज्ञानी भन्नु सिवाय अरू कुनै उपाय छैन।”
२२. किन केही व्यक्तिहरू बाइबलको यथार्थतालाई स्वीकार गर्न इन्कार गर्छन्?
२२ अन्तमा सोही पुस्तक यसो भन्छ: “पवित्र शास्त्रको यथार्थताको पक्षमा प्रशस्त प्रमाणहरू हुँदा हुँदै उल्टो त्यसको विरोध गरेर आफू अविश्वस्त भएको दाबी गर्छ भने हामी के नै गर्न सक्छौं र? . . . यस्तो अवस्थामा निश्चय नै उसको मन होइन बरु हृदय ठेगानमा रहेनछ भनी हामी भन्न सक्छौं; त्यसैकारण त आफ्नो गरिमा तल झर्ला र भिन्न जीवन बिताउनु पर्ला भनेर तिनीहरू विश्वास गर्ने इच्छा गर्दैनन्।”
आन्तरिक सामञ्जस्य अनि निष्पक्षता
२३, २४. बाइबलको आन्तरिक सामञ्जस्यता किन अनौठो छ?
२३ भिन्नाभिन्नै लेखकहरूले रोमी साम्राज्यको समयमा लेख्न थालेको एउटा पुस्तक मध्य युग हुँदै आजको २१ औं शताब्दीमा लेख्न सकिएको कल्पना गर्नुहोस्। यदि ती लेखकहरू सिपाही, राजा, पूजाहारी, जलारी, गोठाला र चिकित्सकजस्ता विभिन्न पेसाका थिए भने तपाईं त्यो पुस्तक कस्तो होला भनी आशा गर्नुहुन्छ? के तपाईं सामञ्जस्य अनि एकरूपताको आशा गर्न सक्नुहुन्छ? ‘अहँ!’ तपाईं भन्नुहोला। तर बाइबल त्यस्तै परिस्थितिहरू माझ लेखिएको थियो। यद्यपि, बाइबल मोटामोटी विचारको आधारमा मात्रै नभई सानोभन्दा सानो विवरणमा समेत सम्पूर्ण रूपमा सामञ्जस्य छ।
२४ बाइबल, ४० भिन्न लेखकहरूले सा. यु. पू. १५१३ देखि सा. यु. ९८ बीचको १,६०० वर्षीय समयावधिमा लेखेका ६६ पुस्तकहरूको सङ्कलन हो। यसको लेखकहरूका बेग्ला बेग्लै पेसा अनि जीवन शैली थिए र धेरैको आपसमा कुनै सम्पर्क भएन। यद्यपि, यो पुस्तक मानौं एउटै दिमागको उपजझैं एउटै केन्द्रित र एकरूप विषयमा लेखिएको छ। अनि केही मानिसहरूको विश्वासझैं बाइबल कुनै पश्चिमी सभ्यताको उपज नभई एसियालीहरूद्वारा लिखित पुस्तक हो।
२५. बाइबलको इमानदारी र निष्पक्षताले बाइबल लेखकहरूको कुन दाबीलाई समर्थन गर्छ?
२५ अधिकांश प्राचीन लेखकहरूले आफ्नै सफलता र सद्गुणको मात्रै विवरण दिएको भए तापनि बाइबलका लेखकहरूले आफ्ना गल्तीहरूका साथै आफ्ना राजा तथा नेताहरूका गल्तीहरूलाई समेत नलुकाई स्वीकारेका छन्। गन्ती २०:१-१३ र व्यवस्था ३२:५०-५२ मा मोशाका गल्तीहरू लेखिएका छन् र त्यो लेख्ने तिनी आफै थिए। योना आफैले योना १:१-३ र ४:१ मा आफ्नो भूलको विवरण दिए। मत्ती १७:१८-२०; १८:१-६; २०:२०-२८; अनि २६:५६ मा येशूका चेलाहरूले देखाएका कमजोरीहरूको विवरण पाइन्छ। तसर्थ, बाइबलका लेखकहरूको इमानदारिता र निष्पक्षताले तिनीहरूले गरेको ईश्वर प्रेरणाको दाबीलाई समर्थन गर्छ।
अति भिन्न पक्ष
२६, २७. वैज्ञानिक तथा अन्य पक्षहरूमा बाइबल किन एकदम सही छ?
२६ वैज्ञानिक, ऐतिहासिक र अन्य कुराहरूमा बाइबल यतिको विशुद्ध अनि यतिको सामञ्जस्य र इमानदार किन छ भनेर बाइबल आफैले बताउँछ। त्यसले बताएअनुसार सारा ब्रह्माण्डको रचनाकार, सर्वोच्च, सर्वशक्तिमान परमेश्वर आफै बाइबलको रचनाकार हुनुहुन्छ। उहाँले मानिसहरूलाई मात्र लेखनदासको रूपमा चलाउनुभएको थियो र आफूले प्रेरित गर्नुभएका कुरालाई लेख्न उहाँले आफ्नो शक्तिशाली सक्रिय शक्ति चलाउनुभयो।
२७ बाइबलकै एउटा विवरणमा प्रेरित पावल यसो भन्छन्: “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, [ताकि] परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।” त्यस्तै गरी अर्को ठाउँमा तिनले यसो भने: “तिमीहरूले हामीबाट सुनेको वचन, अर्थात् परमेश्वरको वचन पाएर, मानिसको वचन गरी जस्तो होइन, तर परमेश्वरको वचन जस्तैगरी, जो साँच्चिनै हो पनि, ग्रहण गऱ्यौ।”—२ तिमोथी ३:१६, १७; १ थिस्सलोनिकी २:१३.
२८. सोभए बाइबलको स्रोत को हो त?
२८ तसर्थ, बाइबल एकै जना ग्रन्थकार—परमेश्वरको मनको उपज हो। उहाँसँग असीम शक्ति भएको हुँदा त्यसमा लेखिएका कुराहरूको अखण्डतालाई हाम्रो दिनसम्म जोगाइराख्नु उहाँको लागि सामान्य कुरा हो। यस सम्बन्धमा बाइबल पाण्डुलिपीका अग्रविशेषज्ञ, सर फ्रेडरिक केन्यनले सन् १९४० मा यसो भने: “शास्त्रहरू जुन रूपमा लेखिएका थिए, त्यस्तै तात्त्विक रूपमा हामीहरूसम्म आइपुगेको छ भन्ने कुरामा अब कुनै शङ्का गर्ने ठाउँ छैन।”
२९. सञ्चार सम्पर्क राख्न सक्ने परमेश्वरको क्षमतालाई कसरी चित्रण गर्न सकिन्छ?
२९ मानिसहरूसँग हजारौं किलोमिटर टाढा अन्तरिक्ष र चन्द्रमाबाट समेत रेडियो अनि टेलिभिजन संकेत पठाउन सक्ने क्षमता छ। कृत्रिम उपग्रहहरूले करोडौं किलोमिटर टाढाका ग्रहहरूको भौतिक जानकारी र चित्रहरू पृथ्वीमा पठाएका छन्। निस्सन्देह मानिसको सृष्टिकर्ता, रेडियो तरङ्गको सृष्टिकर्ताले त्योभन्दा बढी गर्न सक्नुहुन्छ। बाइबल लेख्न आफूले छान्नुभएको व्यक्तिको मनमा आफ्नो प्रतापी बलद्वारा शब्द अनि चित्रहरू पठाउनु उहाँको लागि सरल कुरा हो।
३०. मानवजातिको लागि आफ्नो उद्देश्य के हो, त्यो मानिसले थाहा पाऊन् भनी के परमेश्वर चाहनुहुन्छ?
३० यसबाहेक मानवजातिमाथि परमेश्वरको चासो छ भन्ने कुराको प्रमाण दिन पृथ्वी र त्यसमा भएको जीवनका थुप्रै कुराहरू छन्। त्यसकारण उहाँ को हुनुहुन्छ र मानिसहरूका लागि उहाँले के उद्देश्य राख्नुभएको छ भन्ने कुरालाई प्रस्टसँग एउटा स्थायी लेखोट अर्थात् बाइबलमा प्रकट गर्नुभएर मानव मात्रलाई मदत गर्न चाहनु अस्वाभाविक कुरा होइन।
३१. मौखिक रूपमा हस्तान्तरण गरिएका जानकारीभन्दा अभिलेख गरिएको प्रेरित समाचार किन उत्कृष्ट हुन्छ?
३१ साथै, मौखिक आधारमा हस्तान्तरण गरिएका जानकारीहरूसँग परमेश्वरले रच्नुभएको पुस्तक तुलना गर्दा देखिने श्रेष्ठतालाई पनि विचार गर्नुहोस्। प्राप्त जानकारीहरूलाई आफ्नै शब्दमा व्यक्त गर्दा समयको दौडान अनर्थक हुन सक्छ। आ-आफ्नै दृष्टिकोणअनुसार ती मौखिक जानकारीहरू आदानप्रदान हुनेछन्। तर परमेश्वरबाट प्रेरित स्थायी अभिलेखमा गल्ती हुने सम्भावना कम हुन्छ। साथै विभिन्न भाषा-भाषिका मानिसहरूले त्यस पुस्तकको फाइदा उठाउन, त्यसलाई पुनः छपाउन र अनुवाद गर्न सकिन्छ। अतः जानकारी प्रदान गर्न हाम्रो सृष्टिकर्त्ताले यस्तो माध्यम चलाउनु के मनासिब कुरा होइन र? निस्सन्देह, यो ज्यादै मनासिब छ, किनभने सृष्टिकर्त्ता भन्नुहुन्छ, उहाँले त्यसै गर्नुभयो।
पूर्ति भएका भविष्यवाणी
३२-३४. अरू पुस्तकहरूमा नभएको कुन कुरा बाइबलमा छ?
३२ थप कुरो, बाइबलले एउटा अद्वितीय र अतुलनीय ढङ्गमा ईश्वर प्रेरित भएको प्रमाण दिन्छ। त्यो बाइबल भविष्यवाणीहरूको पुस्तक हो र आजसम्म त्यसमा भएका भविष्यवाणीहरूको अचूक पूर्ति भइरहेको छ।
३३ उदाहरणको लागि, बाइबलमा पूर्ण विवरणसहित प्राचीन टायरको नाश, बेबिलोनको पतन, यरूशलेमको पुनर्निर्माण र मादी-फारसी तथा युनानको उत्थान अनि पतनको भविष्यवाणी गरिएको थियो। ती भविष्यवाणीहरू यति सही थिए, केही आलोचकहरूले ती भविष्यवाणीहरू घटनापश्चात् लेखिएको हो भनेर प्रमाणित गर्न खोजेका थिए तर प्रमाणित गर्न भने सकेनन्।—यशैया १३:१७-१९; ४४:२७–४५:१; इजकिएल २६:३-६; दानियल ८:१-७, २०-२२.
३४ सा. यु. ७० मा भएको यरूशलेमको विनाशबारे येशूले बोल्नुभएका भविष्यवाणीहरू ठीक प्रमाणित भए। (लूका १९:४१-४४; २१:२०, २१) अनि “आखिरी दिन[बारे]” येशू र प्रेरित पावलका भविष्यवाणीहरू हाम्रै समयमा एक-एक गरी पूरा हुँदैछन्।—२ तिमोथी ३:१-५, १३; मत्ती २४; मर्कूस १३; लूका २१.
३५. बाइबलका भविष्यवाणीहरूको स्रोत किन सृष्टिकर्त्ता मात्र हुन सक्नुहुन्छ?
३५ जतिसुकै बुद्धिमान किन नहोस्, कुनै मानिसले भावी घटनाहरूको त्यति सही अनुमान लगाउन सक्दैन। ब्रह्माण्डको सर्वशक्तिमान र सर्वज्ञानी सृष्टिकर्त्ताले मात्र बताउन सक्नुहुन्छ। यस सम्बन्धमा २ पत्रुस १:२०, २१ ले यसो भन्छ: “कुनै अगमवाणी कसैले खास आफ्नै अर्थले दिएको होइन, किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।”
यसले जवाफ दिन्छ
३६. बाइबलले हामीलाई के बताउँछ?
३६ यसर्थ, बाइबल सर्वोच्चको प्रेरित वचन हो भनेर यो आफैले थुप्रै ढङ्गमा प्रमाण दिन्छ। उदाहरणको लागि, पृथ्वीमा मानिसहरू किन छन्, किन यतिको दुःख छ, हाम्रो भविष्य कस्तो छ र परिस्थिति बद्लेर कसरी राम्रो हुनेछ, त्यो यसले बताउँछ। एउटा उद्देश्यसहित पृथ्वी र मानिसको सृष्टि गर्ने एक जना सर्वोच्च परमेश्वर हुनुहुन्छ र उहाँको त्यो उद्देश्य पूरा हुनेछ भनेर यसले प्रकट गर्छ। (यशैया १४:२४) साँचो धर्म के हो र त्यो कसरी प्राप्त गर्न सक्छौं भनेर पनि बाइबलले स्पष्ट पार्छ। तसर्थ, जीवनसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूको सत्यता बताउन सक्ने एक मात्र उत्कृष्ट बुद्धिको स्रोत बाइबल हो।—भजन १४६:३; हितोपदेश ३:५; यशैया २:२-४.
३७. मसीहीजगत्बारे के प्रश्न गर्नु आवश्यक छ?
३७ बाइबलको यथार्थता र सत्यताको प्रशस्त प्रमाणहरूको बावजुद के त्यसका शिक्षा स्वीकार्छु भनी दाबी गर्ने सबैले पालन पनि गरिरहेका छन् त? उदाहरणको लागि, मसीही धर्म पालन गरेको दाबी गर्ने राष्ट्रहरू अर्थात् मसीहीजगत्लाई विचार गर्नुहोस्। निकै शताब्दीदेखि तिनीहरूले बाइबल पढ्ने मौका पाएका छन्। तर के तिनीहरूको सोचाइ र कामले साँच्चै नै परमेश्वरको उत्कृष्ट बुद्धिलाई प्रतिबिम्बित गर्छ?
[पृष्ठ ११-मा भएको चित्र]
अरू आकाशीय पिण्डहरूसित पृथ्वी गुरुत्वाकर्षण शक्तिद्वारा अन्तरिक्षमा अडिएको छ भनेर सर आइजक न्युटन विश्वास गर्थे
[पृष्ठ ११-मा भएको चित्र]
रित्तो अन्तरिक्षबीच पृथ्वीको जुन चित्र बाइबलले प्रस्तुत गर्छ, त्यसलाई विद्वानहरूले तत्कालीन समयको उल्लेखनीय दर्शन भनी मानिलिएका छन्
[पृष्ठ १२-मा भएको चित्र]
केही प्राचीन नाविकहरू चेप्टो पृथ्वीको छेउमा पुगेर खस्ला भनेर समेत डराउँथे
[पृष्ठ १३-मा भएको चित्र]
जुलियस सिजर, सम्राट चार्लमेन, ओलिभर क्रमवेल, वा पप लियो तृतीयको भन्दा येशूको अस्तित्वको बढी प्रमाण छ
[पृष्ठ १५-मा भएको चित्र]
सा. यु. ७० मा भएको यरूशलेमको विनाशबारे येशूले दिनुभएको भविष्यवाणीहरूको पूर्तिलाई रोमको आर्च अफ टाइटसले पुष्टि गरेका छन्