परमेश्वरलाई प्रसन्न तुल्याउने साँचो शिक्षा
कुन शिक्षा साँचो हो अनि कुन शिक्षाले परमेश्वरलाई प्रसन्न तुल्याउँछ भनेर पृथ्वीका बासिन्दाहरूले थाह पाउन उहाँले मानिसलाई आफ्ना विचारहरू प्रकट गर्नै पर्छ। उहाँले त्यो ज्ञान सबैको लागि उपलब्ध पनि गराउनै पर्छ। यसो गरिएन भने सिद्धान्त, उपासना र आचरणको सन्दर्भमा परमेश्वरले स्वीकार गर्नुहुने कुराहरू के-के हुन् भनेर मानिसले कसरी थाह पाउन सक्छ र? के परमेश्वरले यस्ता जानकारीहरू प्रदान गर्नुभएको छ? यदि छ भने कसरी?
केही दशक बाँच्ने छोटो जीवन भएको मानिस सबै व्यक्तिहरूकहाँ पुग्न र परमेश्वरले दिनुभएको सञ्चारको माध्यम बन्न सक्छ र? अहँ, सक्दैन। तर स्थायी लिखित रेकर्ड चाहिं यस्तो माध्यम बन्न सक्छ। तसर्थ, पुस्तकको रूपमा परमेश्वरले दिनुभएको ज्ञान उपलब्ध गराउनु उपयुक्त नहोला र? परमेश्वरद्वारा प्रेरित भनी दाबी गरिएको एउटा पुरानो पुस्तक बाइबल हो। यसका एक जना लेखक यसो भन्छन्, “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) आउनुहोस्, बाइबललाई अझ नजिकबाट नियालौं र यो साँचो शिक्षाको स्रोत हो कि होइन, हेरौं।
कत्तिको पुरानो?
धर्मका प्रमुख किताबहरूमध्ये बाइबल सबैभन्दा पुरानो हो। यसको सुरुको भाग करिब ३,५०० वर्ष पहिले लेखियो। यो पुस्तक सा.यु. ९८ मा लेख्न सिद्धियो।a यसका लेखकहरू १,६०० वर्षको दौडानका ४० पुरुषहरू भए तापनि बाइबलको लेखाइमा एकरूपता छ। यसको वास्तविक ग्रन्थकार परमेश्वर हुनुभएकोले यसो भएको हो।
इतिहासमै सबैभन्दा व्यापक वितरण र अनुवाद भएको पुस्तक बाइबल हो। हरेक वर्ष पूर्ण तथा आंशिक गरी बाइबलका लगभग ६ करोड प्रतिहरू वितरण हुन्छन्। सम्पूर्ण बाइबल अथवा यसका केही अंशहरू गरेर बाइबल २,३०० भन्दा धेरै भाषा र उपभाषाहरूमा अनुवाद गरिएको छ। नब्बे प्रतिशतभन्दा धेरै मानव परिवारले बाइबलका केही भाग भए पनि आफ्नै भाषामा पढ्न पाएका छन्। यस पुस्तकले राष्ट्रिय सिमाना, जातीय विभेद, अनि साम्प्रदायिक पर्खाल नाघेको छ।
कसरी व्यवस्थित गरियो?
तपाईंसित बाइबल छ भने यसलाई खोलेर र यो कसरी व्यवस्थित गरिएको छ, एक चोटि केलाए कसो होला?b सबैभन्दा पहिले विषयसूची पल्टाउनुहोस्। अधिकांश बाइबलमा सुरुमा सबै पुस्तकको नाउँ र कहाँ पाइने हो पृष्ठ संख्याको सूची पाइन्छ। बाइबल छुट्टाछुट्टै नाउँ भएको पुस्तकहरूको सँगालो भएको कुरा तपाईंले थाह पाउनुहुनेछ। सबैभन्दा पहिलो पुस्तक उत्पत्ति हो, सबैभन्दा अन्तिम चाहिं प्रकाशको पुस्तक हो। यी पुस्तकहरूलाई दुई भागमा विभाजन गरिएको छ। सुरुका ३९ पुस्तकहरूलाई हिब्रू धर्मशास्त्र भनिन्छ किनकि तिनीहरू प्रायजसो हिब्रू भाषामा लेखियो। पछिल्ला २७ पुस्तकहरू चाहिं युनानी भाषामा लेखियो र युनानी धर्मशास्त्र बन्यो। कसै-कसैले यी दुई अंशहरूलाई पुरानो नियम र नयाँ नियम पनि भन्छन्।
खोजेको शास्त्रपदहरू सजिलै भेट्टाउन सकियोस् भनेर बाइबलका पुस्तकहरूलाई अध्याय र पदहरूमा छुट्याइएका छन्। यस पत्रिकामा शास्त्रपदहरू उल्लेख गरिंदा बाइबल पुस्तकको नामपछि दिइएको पहिलो नम्बरले अध्यायलाई र त्यसपछिको नम्बरले पदलाई सङ्केत गर्छ। उदाहरणको लागि, “२ तिमोथी ३:१६” उल्लेख गर्दा त्यसको अर्थ दोस्रो तिमोथीको पुस्तक अध्याय ३ र पद १६ हो। तपाईं यो पद भेट्टाउन सक्नुहुन्छ कि हुन्न, हेर्नुहोस्।
बाइबलमा के छ भनेर थाह पाउने सबैभन्दा राम्रो उपाय, यसलाई नियमित रूपमा पढ्नु हो भन्ने कुरामा के तपाईं सहमत हुनुहुन्न? कसै-कसैले पहिले युनानी धर्मशास्त्रको मत्तीको पुस्तकबाट पढ्न सुरु गर्न लाभकारी पाएका छन्। दिनमा तीनदेखि पाँच अध्याय पढेर तपाईंले एक वर्षमा सम्पूर्ण बाइबल पढ्न सक्नुहुन्छ। तपाईंले बाइबलमा पढ्नुभएका कुराहरू साँच्चै परमेश्वरबाट प्रेरित छन् भन्ने कुरामा तपाईं कसरी पक्का हुन सक्नुहुन्छ?
के तपाईं बाइबललाई भरोसा गर्न सक्नुहुन्छ?
परमेश्वरबाट प्रेरित सबैका लागि उपयोगी यस किताबमा कसरी जीवन बिताउने भन्ने सन्दर्भमा जुनसुकै समयको लागि काम लाग्ने सल्लाह नहोला र? बाइबलले मानिसको सबै पुस्तामा लागू हुने मानव स्वभावलाई बुझेको छ। अनि यसका सिद्धान्तहरू पहिलो पटक उल्लेख गरिंदा जति व्यावहारिक थिए आज पनि त्यत्ति नै व्यावहारिक छन्। मसीही धर्मको संस्थापक येशू ख्रीष्टले दिनुभएको प्रसिद्ध भाषणमा यो कुरा सजिलै बुझ्न सकिन्छ। यो भाषण मत्ती ५ देखि ७ अध्यायमा लिपिबद्ध छ। डाँडाको उपदेश पनि भनिने यस भाषणले साँचो आनन्द कसरी पाउने मात्र नभएर विवादहरू कसरी सुल्झाउने, कसरी प्रार्थना गर्ने, भौतिक आवश्यकताहरूलाई कुन दृष्टिले हेर्ने लगायत अरू धेरै कुराहरू बताएको छ। यस भाषणमा र बाइबलका अन्य भागहरूमा परमेश्वरलाई खुसी पार्न अनि हाम्रो जीवनका परिस्थितिहरू सुधार्न हामीले के गर्नुपर्छ र के गर्नु हुँदैन, सोबारे स्पष्ट बताइएको छ।
तपाईंले बाइबलमा भरोसा राख्न सक्नुहुने अर्को कारण, वैज्ञानिक कुराहरूको सन्दर्भमा यो पुरानो पुस्तकले भनेका कुराहरू सही छन्। उदाहरणको लागि, अधिकांश मानिसहरूले पृथ्वी चेप्टो छ भनेको बेला बाइबलले “पृथ्वीको परिधि” भन्यो।c (यशैया ४०:२२, NRV) प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनले ग्रहहरू गुरुत्वाकार्षणद्वारा शून्य अन्तरिक्षमा अडिन्छन् भनेर भन्नुभन्दा ३,००० वर्षअघि नै बाइबलले काव्यत्मक शैलीमा ‘पृथ्वी अन्तरिक्षमा झुण्डिएको छ’ भनी बतायो। (अय्यूब २६:७) करिब ३,००० वर्षअघि पृथ्वीको जलचक्रबारे बाइबलमा दिइएको यस काव्यात्मक विवरणलाई पनि ध्यान दिनुहोस्: “सबै खोलाहरू समुद्रमानै बग्छन्, तापनि समुद्र चाहिं कहिल्यै भरिएर पोखिंदैन। जुन स्थानबाट खोलाहरू बग्छन् फेरि बग्नलाई ती त्यतै फर्कछन्।” (उपदेशक १:७) हो, यस ब्रह्माण्डको सृष्टिकर्ता बाइबलको ग्रन्थकार पनि हुनुहुन्छ।
बाइबलको ऐतिहासिक सत्यताले यो परमेश्वरबाट प्रेरित भएको हो भन्ने तथ्यलाई पुष्टि दिन्छ। बाइबलमा लिपिबद्ध घटनाहरू मिथ्या होइनन्। तिनीहरू कुनै निश्चित मिति, मानिस र ठाउँहरूसित सम्बन्धित छन्। उदाहरणको लागि लूका ३:१ “सिजर टाइबेरियसको शासनकालको पन्ध्रौं वर्षमा पन्तियस पिलातस यहूदियामा बडा हाकिम, गालीलमा हेरोद, . . . रजौटाहरू हुँदा” भनी बताउँछ।
पुरातन इतिहासकारहरूले अक्सर सधैं शासकहरूको सफलता र गुनगान मात्र गाए पनि बाइबल लेखकहरू इमानदार थिए र तिनीहरूले आफ्ना गल्तीहरू खुल्लमखुल्ला मानिलिए। उदाहरणको लागि इस्राएलका राजा दाऊदले यसरी आफ्नो गल्ती स्वीकारे: “मैले साह्रै दुष्ट काम गरेछु! . . . म साह्रै मूर्ख भएँ।” यस भनाइलाई बाइबलमा नलुकाईकन राखिएको छ। (२ शमूएल २४:१०) अनि बाइबल लेखक मोशाले आफू स्वयम्ले साँचो परमेश्वरमाथि भरोसा देखाउन नसकेको घटनाबारे लेखे।—गन्ती २०:१२.
ईश्वरीय प्रेरणाद्वारा लेखिएको भन्ने एउटा अर्को प्रमाण पनि बाइबलमा छ। त्यो हो—पूरा भएका यसका भविष्यवाणीहरू अर्थात् पूर्वलिखित इतिहास। यसमध्ये केही अगमवाणीहरू येशू ख्रीष्टबारे छन्। उदाहरणको लागि, येशूको जन्म हुनुभन्दा करिब ७०० वर्षअघि हिब्रू धर्मशास्त्रले प्रतिज्ञाकृत व्यक्ति “यहूदियाको बेतलेहेममा” जन्मनेछन् भनेर सही ढङ्गमा भविष्यवाणी गऱ्यो।—मत्ती २:१-६; मीका ५:२.
अर्को उदाहरणलाई विचार गर्नुहोस्। दोस्रो तिमोथी ३:१-५ मा बाइबल यसो भन्छ: “तर यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने, भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्।” के यसले आज अधिकांश मानिसहरूको मनोवृत्तिलाई देखाउँदैन? यी शब्दहरू १,९०० वर्षभन्दाअघि सा.यु. ६५ मा लेखिएका थिए!
बाइबलले हामीलाई के सिकाउँछ?
तपाईंले बाइबल पढ्नुभएपछि बाइबल उच्च बुद्धिको स्रोतबाट आएको हो भन्ने कुरा देख्न सक्नुहुनेछ। यसले यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिन्छ: परमेश्वर को हुनुहुन्छ? के दियाबल साँच्चै छ? येशू ख्रीष्ट को हुनुहुन्छ? दुःखकष्ट किन छ? मरेपछि हामीलाई के हुन्छ? मानिसहरूका विश्वास र प्रचलनहरू जत्ति भिन्न छन् यी प्रश्नहरूको जवाफ पनि तपाईंले त्यति नै भिन्न पाउनुहोला। तर बाइबलले यी लगायत अरू धेरै विषयबारे सत्य कुरा प्रकट गर्छ। साथै, आफ्नो आचरण, अरू व्यक्ति र उच्च अख्तियारवालाप्रति राख्ने मनोवृत्तिमा बाइबलले उत्तम डोऱ्याइ दिन्छ।d
पृथ्वी र मानवजातिको लागि परमेश्वरको उद्देश्यबारे बाइबलले के बताउँछ? यसले यस्तो प्रतिज्ञा गर्छ: “थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” (भजन ३७:१०, ११) “परमेश्वर आफै [मानिसहरूसँग] . . . हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश २१:३, ४) “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।”—भजन ३७:२९.
बाइबलले युद्ध, अपराध, हिंसा र दुष्टताको छिट्टै अन्त हुने कुराको भविष्यवाणी गर्छ। बिरामी, बुढ्यौली र मृत्यु हुनेछैन। प्रमोदवनमा अनन्त जीवन वास्तविकता हुनेछ। कस्तो आनन्ददायी प्रत्याशा! अनि यी सबै कुराले मानिसजातिप्रतिको परमेश्वरको प्रेम साँच्चै प्रकट गर्छ!
तपाईं के गर्नुहुनेछ?
बाइबल, परमेश्वरले दिनुभएको अद्भुत उपहार हो। यो किताबलाई तपाईंले कुन दृष्टिले हेर्नुपर्छ? एक जना हिन्दू पृष्ठभूमिमा हुर्केका व्यक्ति सबैको कल्याणको लागि परमेश्वरले दिनुहुने ज्योति मानव सभ्यताको सुरुमै दिइएको हुनुपर्छ भनी विश्वास गर्थे। बाइबलको केही अंश वेद जस्तो पुरातन हिन्दू लेखोटभन्दा पुरानो हो भन्ने कुरा थाह पाइसकेपछि तिनले बाइबल पढ्ने र यसमा उल्लेखित कुराहरू जाँच्ने निर्णय गरे।e बाइबलको विषयमा केही कुरा भन्नुअघि संयुक्त राज्य अमेरिकाको एक जना प्राध्यापकले पनि सबैभन्दा व्यापक रूपमा वितरण भएको यो पुस्तक पढ्नुपर्ने महसुस गरे।
बाइबल पढ्दा र यसले सिकाउने कुराहरू व्यवहारमा उतार्दा तपाईंले प्रशस्त आशिष्हरू पाउनुहुनेछ। बाइबल यसो भन्छ: “त्यो मानिस धन्य हो, जो . . . परमप्रभुको व्यवस्थामानै त्यो प्रसन्न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। खोलाको धारको छेउमा रोपेको बोटजस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”f (भजन १:१-३) बाइबल अध्ययन र यसमा मनन गर्दा तपाईंले आनन्द पाउनुहुनेछ किनकि यसले तपाईंको आध्यात्मिक आवश्यकता पूरा गर्नेछ। (मत्ती ५:३) कसरी इनामदायी जीवन जिउने र सफलतासाथ समस्या सुल्झाउने भनी बाइबलले बताउँछ। हो, “[बाइबलमा लिपिबद्ध परमेश्वरका व्यवस्थाहरू] पालन गरेमा ठूलो इनाम छ।” (भजन १९:११) साथै, परमेश्वरका प्रतिज्ञाहरूमा विश्वास गर्दा तपाईंले अहिले आशिष् पाउनुका साथै भविष्यको लागि उज्ज्वल आशा पाउनुहुनेछ।
बाइबल हामीलाई यस्तो आग्रह गर्छ: “नयाँ जन्मेका बालकहरूजस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर।” (१ पत्रुस २:२) बच्चालाई पोसिलो आहार चाहिन्छ अनि त्यो आवश्यकता पूरा गर्न उसले हत्ते हाल्छ। त्यसरी नै हामी साँच्चै परमेश्वरको वचनमा निर्भर छौं। त्यसैले उहाँको वचनको लागि “तृष्णा” अथवा तीव्र इच्छा गर्नुहोस्। बाइबल परमेश्वरबाट आएको साँचो शिक्षाको पुस्तक हो। यसलाई नियमित रूपले अध्ययन गर्ने लक्ष्य राख्नुहोस्। बाइबल अध्ययनबाट तपाईंले अत्यधिक लाभ उठाउन तपाईंको समुदायमा बस्ने यहोवाका साक्षीहरूले तपाईंलाई मदत गर्नेछन्। तिनीहरूलाई सम्पर्क राख्न हामी तपाईंलाई हार्दिक आग्रह गर्छौं। अथवा तपाईं यस पत्रिकाको प्रकाशकहरूलाई लेख्न सक्नुहुन्छ।
[फुटनोट]
a सा.यु.-ले “सामान्य युग” भन्ने बुझाउँछ अक्सर यसलाई ए. डी. अर्थात् एन्नो डोमिनी भनिन्छ जसको अर्थ हो, “हाम्रो प्रभुको वर्ष” सा.यु.पू. को अर्थ हो, “सामान्य युग पूर्व।”
b यदि तपाईंसित बाइबल छैन भने, तपाईंलाई एक प्रति उपलब्ध गराउन यहोवाका साक्षीहरू खुसी हुनेछन्।
c यशैया ४०:२२, NRV मा “परिधी” अर्थात् घेरा भनी अनुवाद गरिएको मूल भाषाले “गोलाइ” भन्ने अर्थ पनि बुझाउँछ। कुनै-कुनै बाइबल अनुवाद यस्तो पनि छ, “गोलाकार पृथ्वी” (डुवे भर्सन) र “गोलो पृथ्वी”— मोफेट।
d यी कुराहरू यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकमा छलफल गरिएका छन्।
e वेदको सबैभन्दा पुराना पाठहरू झन्डै ३,००० वर्ष पहिले तयार पारिएको र मौखिक रूपमै दिइएको हो भन्ने विश्वास छ। अ हिस्ट्री अफ इन्डिया पुस्तकमा पि. के. सरतकुमार यसो भन्छन्, “सा.यु. १४ शताब्दीमा मात्र वेद लेखिएको थियो।”
f बाइबलमा परमेश्वरको नाउँ यहोवा लेखिएको छ। धेरैजसो अनुवादहरूमा भजन ८३:१८; इजकिएल ४८:३५ र प्रस्थान ६:३ मा यो नाउँ पाइन्छ।
[पृष्ठ ७-मा भएको चित्र]
परमेश्वरको वचनको लागि ‘तृष्णा गर्नुहोस्।’ नियमित रूपमा बाइबल अध्ययन गर्नुहोस्
[पृष्ठ ५-मा भएको चित्रको स्रोत]
NASA photo