प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • fy chap. २ pp. १३-२६
  • सफल वैवाहिक जीवनका लागि तयारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सफल वैवाहिक जीवनका लागि तयारी
  • पारिवारिक आनन्दको रहस्य
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंको विवाह गर्ने समय भयो?
  • पहिले आफूलाई चिन्‍नुहोस्‌
  • जीवनसाथीमा कस्तो गुनको खोजी गर्नुपर्छ
  • पहिले नै पत्ता लाउनुहोस्‌
  • विवाहपूर्व गरिने भेटघाट आदरणीय होस्‌
  • विवाहको दिनसम्म मात्र नसोच्नुहोस्‌
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • वैवाहिक जीवन सफल बनाउन के चाहिन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • ११. सफल वैवाहिक जीवन
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
पारिवारिक आनन्दको रहस्य
fy chap. २ pp. १३-२६

अध्याय दुइ

सफल वैवाहिक जीवनका लागि तयारी

पृष्ठ १९-मा भएको चित्र

१, २. (क) येशूले अग्रिम तयारीलाई कसरी जोड दिनुभयो? (ख) विशेषगरि कुन क्षेत्रमा अग्रिम तयारी गर्नु अत्यावश्‍यक छ?

भवन निर्माण गर्नेले सावधानीपूर्वक अग्रिम तयारी गर्नुपर्छ। जग बसाल्नअघि पहिला ऊसित जमीन हुनुपर्छ तथा नक्सा बनाउनुपर्छ। तर यीबाहेक एउटा अर्को कुरा पनि अत्यावश्‍यक छ। येशूले भन्‍नुभयो: “तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा त्यो सिध्याउने सम्मको खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब गर्दैन?”—लूका १४:२८.

२ भवन निर्माण गर्दा लागू हुने यो सिद्धान्त वैवाहिक जीवन सफल बनाउँदा पनि लागू हुन्छ। धेरैले भन्छन्‌: “म विवाह गर्न चाहन्छु।” तर वैवाहिक जीवनमा उठाउनुपर्ने जिम्मेवारीहरूबारे कतिले सोच्छन्‌? हुन त बाइबलमा विवाहप्रति सकारात्मक दृष्टिकोण अपनाइएको छ। तर वैवाहिक जीवनमा उठ्‌ने चुनौतीहरूमाथि पनि बाइबलले हाम्रो ध्यान आकर्षित गर्छ। (हितोपदेश १८:२२; १ कोरिन्थी ७:२८) यसकारण विवाह गर्न इच्छुक सबैले वैवाहिक जीवनको आनन्दलाई मात्र नभएर जिम्मेवारीहरूलाई पनि नियालेर हेर्नुपर्छ।

३. वैवाहिक जीवनका लागि अग्रिम तयारी गर्नेहरूका लागि बाइबल किन अत्यन्त मदतकारी हुनसक्छ र यसले हामीलाई कुन तीन प्रश्‍नहरूको उत्तर पाउने सहायता दिन्छ?

३ यस सम्बन्धमा बाइबलले अवश्‍य मदत दिनसक्छ। यसमा भएको सल्लाह विवाहको आरम्भक यहोवा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो। (एफिसी ३:१४, १५; २ तिमोथी ३:१६) यो अति प्राचीन तर पूर्णतया व्यवहारिक निर्देशन पुस्तकका सिद्धान्तहरू प्रयोग गर्दै हामी यी तीनवटा कुरा ठम्याउने कोसिस गरौं: (१) आफ्नो विवाह गर्ने समय भयो वा भएन, कसरी पत्ता लाउने? (२) पति वा पत्नीमा हुनुपर्ने गुन के हो? (३) विवाहपूर्व भेटघाटलाई कसरी आदरणीय राख्न सकिन्छ?

के तपाईंको विवाह गर्ने समय भयो?

४. सफल वैवाहिक जीवनका लागि कुन कुरा अति नै महत्त्वपूर्ण छ र किन?

४ कुनै भवन निर्माण गर्दा धेरै पैसा खर्च हुन्छ भने, त्यसको रेखदेख तथा मर्मत पनि त्यतिकै खर्चिलो हुन्छ। विवाह पनि यस्तै हो। विवाह गर्नु मात्रै पनि चुनौती हो। तर वैवाहिक सम्बन्धलाई सालिन्दा राम्रो राख्नु अझ महत्त्वपूर्ण हो। यस्तो राम्रो सम्बन्ध कायम राख्नुमा के कस्ता कुराहरू सम्मिलित हुन्छन्‌? एउटा हो, हार्दिक वचनबद्धता। यसको महत्त्वपूर्ण भूमिका छ। बाइबलले वैवाहिक सम्बन्धको यसप्रकार व्याख्या गर्छ: “मानिसले आफ्ना आमा-बाबुलाई छोड्‌छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्‌।” (उत्पत्ति २:२४) पारपाचुके गर्न पाउने एक मात्र कारण येशू ख्रीष्टले प्रस्तुत गर्नुभयो। त्यो हो, “व्यभिचार” अथवा आफ्नो पति वा पत्नीबाहेक अरू नै व्यक्‍तिसित अवैध यौन संसर्ग गर्नु। (मत्ती १९:९) तपाईं विवाह गर्ने विचार गर्नुहुँदैछ भने, त्यस शास्त्रीय स्तरलाई ध्यानमा राख्नुहोस्‌। यति गम्भीरतापूर्वक वचनबद्ध हुन तपाईं तयार हुनुहुन्‍न भने, तपाईंको अहिले विवाह गर्ने बेला भएको छैन।—व्यवस्था २३:२१; उपदेशक ५:४, ५.

५. विवाहसित सम्बन्धित गम्भीर वचनबद्धतादेखि केही व्यक्‍तिहरू डराए तापनि विवाह गर्न चाहनेहरूले त्यसको ठूलो मोल किन गर्नुपर्छ?

५ यस्तो गम्भीर वचनबद्धताले गर्दा धेरै जना भयभीत हुन्छन्‌। एक जना नौजवान पुरुषले यो कबुल गरे: “हामी दुइ जना अब आजीवन एकअर्कासित बाँधिएका छौं भन्‍नासाथै मलाई आफू बन्धनमा परेको जस्तो भयो।” तर विवाह गर्न चाहनुभएको व्यक्‍तिलाई तपाईं साँच्चै माया गर्नुहुन्छ भने, यो वचनबद्धता बोझ हुँदैन। यो वचनबद्धताले बरु तपाईंलाई सुरक्षा प्रदान गर्नसक्छ। वैवाहिक वचनबद्धताले पतिपत्नीलाई सुखदुःखमा साथ दिने तथा एकअर्कालाई थाम्ने प्रेरणा दिन्छ। साँचो प्रेमले “सबै कुराको आशा गर्छ” त्यो “सबै कुरामा स्थिर रहन्छ” भनी मसीही प्रेरित पावलले लेखे। (१ कोरिन्थी १३:४, ७) एउटी स्त्री भन्छिन्‌: “वैवाहिक वचनबद्धताले मलाई अझ सुरक्षित महसुस गराउँछ। हामी दुइ जना अब सधैंका लागि एकसाथ हुनेछौं भनी एकअर्का तथा सारा संसारलाई खुलेआम भनी सकेकोले ढुक्क लाग्छ।”—उपदेशक ४:९-१२.

६. कलिलो उमेरमै हतारपतार विवाह गर्नु किन राम्रो होइन?

६ यस्तो वचनबद्धता निर्वाह गर्न परिपक्वता चाहिन्छ। यसैकारण मसीहीहरूले “बैंस नबितुञ्जेल” विवाह नगर्नु नै बेस हो भनी प्रेरित पावल सल्लाह दिन्छन्‌। किनकि बैंस छँदा यौनाकर्षण प्रबल हुन्छ र हाम्रो सोचाइले धोखा खानसक्छ। (१ कोरिन्थी ७:३६, NW) जवान मानिसहरू हुर्कंदै जाँदा तिनमा चाँडचाँडो परिवर्तन हुन्छ। कलिलो उमेरमा विवाह गर्नेहरूले विवाहपश्‍चात्‌ एकाध वर्षपछि नै आफ्नो तथा जीवनसाथीको आवश्‍यकता तथा आकांक्षाहरूमा ठूलो परिवर्तन भएको अनुभव गर्छन्‌। अतः उमेर पुगेपछि विवाह गर्नेहरूभन्दा किशोरावस्थामै विवाह गर्नेहरूबीच असन्तोष र पारपाचुके हुने सम्भावना बढी देखिएको छ। यसकारण हतारपतारमा विवाह नगर्नुहोस्‌। एक जना जवान तथा अविवाहित वयस्क भएर केही वर्ष बिताउनुहोस्‌। यसले तपाईंलाई बढी परिपक्व र अझ सुयोग्य पति वा पत्नी हुने मौका प्रदान गर्नेछ। केही बेर पर्खेर विवाह गर्नुहुँदा तपाईंले आफैलाई पनि अझ राम्ररी बुझ्न सक्नुहुन्छ। किनकि आफूलाई राम्ररी बुझ्नसक्नु सफल वैवाहिक सम्बन्धका लागि अत्यन्त आवश्‍यक कुरा हो।

पहिले आफूलाई चिन्‍नुहोस्‌

७. विवाह गर्न चाहने सबैले सर्वप्रथम आफैलाई जाँच्नु किन उचित हो?

७ के तपाईंलाई आफ्नो जीवनसाथीमा हुनुपर्ने गुनहरूको तालिका बनाउन सजिलो लाग्छ? धेरैलाई सजिलो लाग्छ। तर तपाईंका आफ्ना गुनहरूबारे नि? वैवाहिक जीवनलाई सफल पार्ने के के गुन तपाईंमा छन्‌? तपाईं कुन प्रकारको पति वा पत्नी हुनुहुनेछ? उदाहरणका लागि, के तपाईं सजिलैसित आफ्ना गल्तीहरू कबुल गर्नुहुन्छ? के तपाईं सल्लाह स्वीकार्नुहुन्छ? अथवा कसैले सुधार्न खोज्दा के तपाईं सधैं रिसाउनुहुन्छ? के तपाईं अक्सर हँसिलो र आशावादी हुनुहुन्छ? अथवा अँध्यारो मुख लाएर गनगन गर्नुहुन्छ? (हितोपदेश ८:३३; १५:१५) नबिर्सनुहोस्‌, विवाह गर्दैमा तपाईंको व्यक्‍तित्व परिवर्तन हुने होइन। तपाईं विवाहपूर्व घमण्डी, तुरुन्तै चित्त दुखाउने तथा असाध्यै निराशावादी हुनुहुन्छ भने विवाहपश्‍चात्‌ पनि त्यस्तै हुनुहुनेछ। अरूको दृष्टिमा आफू कस्तो छ, आफैले ठम्याउनु गाह्रो हुन्छ। यसकारण आफूबारे अरूको राय बुझ्न वा उपयुक्‍त सुझाउ चाहनुहुन्छ भने, आफ्नो आमाबाबु वा कुनै विश्‍वासी मित्रलाई सोध्नुहोस्‌। केही परिवर्तन आवश्‍यक देखिएमा विवाहको कदम चाल्नअघि नै ती परिवर्तनहरू ल्याउने कोसिस गर्नुहोस्‌।

पृष्ठ १९-मा भएका चित्रहरू

अविवाहित छँदा नै विवाहपश्‍चात्‌ काम लाग्ने गुन, बानी तथा योग्यताहरू खेती गर्नुहोस्‌

८-१०. मानिसलाई वैवाहिक जीवनका लागि तयार हुन मदत दिने के कस्तो सल्लाह बाइबलमा पाइन्छ?

८ पवित्र आत्मालाई तपाईंमा काम गर्न दिनुहोस्‌। त्यसलाई “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्‍वस्तता, नम्रता र संयम” जस्ता गुनहरू आफूमा विकास गर्न लगाउनुहोस्‌ भनी बाइबलले प्रोत्साहन दिन्छ। बाइबलले हामीलाई “आफ्नो मनको आत्मामा नयाँ हुनु” तथा “परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको” “नयाँ मानिसलाई धारण गर्न” पनि भन्छ। (गलाती ५:२२, २३; एफिसी ४:२३, २४) यो सल्लाहलाई तपाईं अविवाहित छँदै प्रयोगमा ल्याउनुहोस्‌। यसो गर्नु बैंकमा पैसा जम्मा गरे सरह हुनेछ किनकि भविष्यमा तपाईंले विवाह गर्नुहुँदा यो धेरै नै काम आउनेछ।

९ उदाहरणका लागि, तपाईं स्त्री हुनुहुन्छ भने आफ्नो शारीरिक रूपलाई भन्दा “हृदयको गुप्त मानिस[लाई]” बढी ध्यान दिनुहोस्‌। (१ पत्रुस ३:३, ४) नम्रता र संयमले तपाईंलाई बुद्धि अर्थात्‌ “शोभाको मुकुट” प्राप्त गर्न मदत दिन्छ। (हितोपदेश ४:९; ३१:१०, ३०; १ तिमोथी २:९, १०) तपाईं पुरुष हुनुहुन्छ भने, स्त्रीजातिसित दया तथा श्रद्धापूर्वक व्यवहार गर्न सिक्नुहोस्‌। (१ तिमोथी ५:१, २) फैसलाहरू गर्दा तथा जिम्मेवारीहरू उठाउँदा विनयी तथा नम्र हुन सिक्नुहोस्‌। हक जमाउने प्रवृत्तिले वैवाहिक जीवनमा अशान्ति मचाउनेछ।—हितोपदेश २९:२३; मीका ६:८; एफिसी ५:२८, २९.

१० हुन त आफूमा यस्ता परिवर्तनहरू ल्याउनु सजिलो छैन। तापनि जीवनको यो एउटा यस्तो क्षेत्र हो जसमा सबै मसीहीहरूले उन्‍नति गर्ने प्रयास गर्नुपर्छ। यसले तपाईंलाई असल जीवनसाथी हुने मदत दिनेछ।

जीवनसाथीमा कस्तो गुनको खोजी गर्नुपर्छ

११, १२. एकसाथ वैवाहिक जीवन बिताउन दुइ जना व्यक्‍तिको ठ्याक कतिको मिलेको छ, कसरी पत्ता लाउन सकिन्छ?

११ तपाईं बस्नुहुने समाजमा के आफ्नो जीवनसाथी आफै रोज्ने चलन छ? छ भने, तपाईं कुनै पुरुष वा स्त्रीप्रति आकर्षित हुनुभएमा प्रथमतः के गर्नु उचित हो? प्रथमतः आफैलाई सोध्नुहोस्‌, ‘के म वास्तवमा विवाह गर्न चाहन्छु?’ झूटो आशा देखाएर अरूका भावनाहरूसित खेलवाड गर्नु क्रूरता हो। (हितोपदेश १३:१२) यसपछि आफूलाई फेरि यो प्रश्‍न सोध्नुहोस्‌, ‘के म विवाह गर्नसक्ने अवस्थामा छु?’ दुवै प्रश्‍नहरूको जवाफ सकारात्मक छ भने, उठाउनुपर्ने बाँकी कदमहरू तपाईं बस्नुहुने ठाउँको स्थानीय चलनमा भर पर्छ। कुनै कुनै ठाउँमा त्यस व्यक्‍तिलाई केही समयदेखि विचार गर्नुभएपछि सोझै गएर ऊसित अझ चिनजान बढाउने इच्छा प्रकट गर्न सक्नुहुन्छ। यो विचार उसलाई स्वीकार्य नभएमा जबरजस्ती नगर्नुहोस्‌। नबिर्सनुहोस्‌, यस मामिलामा फैसला गर्ने उसको पनि अधिकार छ। तर उसले स्वीकृति जनाएमा चाहिं तपाईंले शायद केही हितकर गतिविधिहरूमा सँगै समय बिताउने प्रबन्ध मिलाउन सक्नुहुन्छ। यसप्रकार, तपाईंले यो व्यक्‍तिसित विवाह गर्नु उचित छ या छैन, त्यो निर्धारण गर्ने मौका पाउनुहुनेछ।a यस मोडमा तपाईंले कुन कुरामाथि ध्यान दिनुपर्छ?

१२ यो प्रश्‍नको उत्तरका लागि दुइटा बाजालाई विचार गर्नुहोस्‌। एउटा पियानो र अर्को गिटार। राम्ररी सुर मिलाएको छ भने ती दुइमध्ये कुनै एउटाबाट आ-आफ्नो ढंगको मीठो धुन सुन्‍न सकिन्छ। तर ती दुवैलाई एकसाथ बजाउने हो भने नि? यसका लागि ती दुवैको धुन एकअर्कासित मिलेको हुनुपर्छ। तपाईं र तपाईंको सम्भाव्य जीवनसाथीको कुरा पनि यस्तै हो। तपाईं दुवैले आ-आफ्नो व्यक्‍तिगत स्वभावको मानौं “सुर” मिलाउने निकै कोसिस गर्नुभएको हुनसक्छ। तापनि प्रश्‍न उठ्‌छ: तपाईं दुवैको सुर के वास्तवमा मिलेको छ? के तपाईं दुवैको ठ्याक मिल्छ?

१३. तपाईंको जस्तै धार्मिक आस्था नराख्ने व्यक्‍तिसित विवाह गर्ने उद्देश्‍यले चिनजान बढाउनु किन अनुचित हो?

१३ तपाईं दुवैको समान विश्‍वास र सिद्धान्तहरू हुनु महत्त्वपूर्ण छ। प्रेरित पावलले लेखे: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ।” (२ कोरिन्थी ६:१४; १ कोरिन्थी ७:३९) परमेश्‍वरमा तपाईं जसरी विश्‍वास गर्नुहुन्छ, त्यसरी नै विश्‍वास नगर्ने व्यक्‍तिसित विवाह गर्दा अमेल हुने सम्भावना बढी हुन्छ। तर दुवैको यहोवा परमेश्‍वरप्रति संयुक्‍त भक्‍ति एकताको सबैभन्दा बलियो आधार हो। यहोवा तपाईं आनन्दित हुनुभएको तथा तपाईंले विवाह गर्नुहुने व्यक्‍तिसित यथासम्भव घनिष्ठ सम्बन्ध अनुभव गर्नुभएको चाहनुहुन्छ। उहाँ अनि तपाईं दुइ, प्रेमको तीन सुताले बाँधिओस्‌ भन्‍ने यहोवा चाहनुहुन्छ।—उपदेशक ४:१२.

१४, १५. दुवैको एउटै धार्मिक आस्था हुँदैमा वैवाहिक एकता कायम हुन्छ र? व्याख्या गर्नुहोस्‌।

१४ मिलेर परमेश्‍वरको उपासना गर्नु एकताको सबैभन्दा महत्त्वपूर्ण आधार हो। तथापि, यसमा अरू कुरा पनि विथोलित छ। एकअर्काबीचको सम्बन्ध सामञ्जस्यपूर्ण हुन तपाईं र तपाईंको जीवनसाथीका लक्ष्यहरू समान हुनुपर्छ। तपाईंका के कस्ता लक्ष्यहरू छन्‌? उदाहरणका लागि, छोरीछोरी जन्माउने विषयमा तपाईं दुवैको के विचार छ? तपाईंको जीवनमा कुन कुराहरूले प्राथमिकता पाएको छ?b (मत्ती ६:३३) साँच्चै सफल विवाहित पतिपत्नी एकअर्काका घनिष्ठ मित्र हुन्छन्‌। तिनीहरूले एकअर्कासित समय बिताउन रुचाउँछन्‌। (हितोपदेश १७:१७) तर यसका लागि तिनीहरूका रुचिका विषयहरू समान हुनुपर्छ। यस्तो नहुँदा विवाह त परै जाओस्‌, मित्रतासमेत टिक्न गाह्रो हुन्छ। तथापि, के यसको अर्थ तपाईंको जीवनसाथीलाई पैदल यात्रा गर्न मन पर्छ र तपाईंलाई चाहिं मन पर्दैन भन्दैमा तपाईं दुइले विवाह गर्नु हुँदैन भनेको हो? होइन। हुनसक्छ तपाईं दुइबीच समान रुचिका अन्य महत्त्वपूर्ण विषयहरू होलान्‌। साथै आफ्नो सम्भाव्य जीवनसाथीलाई मन पर्ने केही हितकर गतिविधिमा भाग लिनुभएर उनलाई तपाईं खुशी तुल्याउन सक्नुहुन्छ।—प्रेरित २०:३५.

१५ भनौं भने, पतिपत्नीका समानताहरूमा भन्दा पतिपत्नी कतिको छाँटकाँट गर्न तयार हुन्छन्‌, यसैमा तिनीहरूको ठ्याक मिल्ने या नमिल्ने कुरा भर गर्छ। “के सबै कुरामा हामी सहमत छौं?” भनी सोध्नुको साटो “कुनै कुरामा हामी सहमत नहुँदा के हुन्छ? के हामी शान्तपूर्वक एकअर्काको कदर र सम्मान गर्दै छलफल गर्नसक्छौं? वा के हाम्रा छलफलहरू भनाभनमा टुंगिन्छ?” भन्‍ने प्रश्‍नहरू सोध्नु उचित हुनसक्छ। (एफिसी ४:२९, ३१) तपाईंको विवाह गर्ने विचार छ भने, घमण्डी, आफ्नै रायलाई माथि राख्ने, कहिल्यै सम्झौता गर्न नचाहने, कचकचे र जसरी भए पनि आफूले चिताएकै कुरा पूरा गर्न खोज्ने व्यक्‍तिसित होशियार हुनुहोस्‌।

पहिले नै पत्ता लाउनुहोस्‌

१६, १७. सम्भाव्य जीवनसाथी रोज्दा पुरुष वा स्त्रीले के कस्ता कुराहरूलाई ध्यान दिनुपर्छ?

१६ मसीही मण्डलीमा कसैलाई जिम्मेवारी सुम्पनअघि “पहिले उसको योग्यतालाई जाँच” गर्नु भनिएको छ। (१ तिमोथी ३:१०, NW) सोही सिद्धान्त तपाईंले पनि प्रयोगमा ल्याउन सक्नुहुन्छ। उदाहरणका लागि, एउटी अविवाहित स्त्रीले यी प्रश्‍नहरू सोध्नसक्छिन्‌: “यस पुरुषको कस्तो नाउँ चलेको छ? उनका मित्र को को हुन्‌? के उनले आत्मसंयम प्रदर्शित गर्छन्‌? उनले बूढापाकाहरूसित कस्तो व्यवहार गर्छन्‌? उनको परिवार कस्तो छ? तिनीहरूसित उनको सम्बन्ध कस्तो छ? पैसाप्रति उनको कस्तो दृष्टिकोण छ? के उनले मादक पेयहरू आवश्‍यकताभन्दा बढी पिउने गर्छन्‌? के उनको मुड छिनछिनमा बिग्रन्छ? के उनि हिंस्रक स्वभावका छन्‌? उनलाई मण्डलीमा कुन कुन जिम्मेवारीहरू सुम्पिएको छ? उनले ती जिम्मेवारीहरू कसरी पूरा गर्दैछन्‌? के म उनको गहिरो आदर गर्नसक्छु?”—लेवी १९:३२; हितोपदेश २२:२९; ३१:२३; एफिसी ५:३-५, ३३; १ तिमोथी ५:८; ६:१०; तितस २:६, ७.

१७ अविवाहित पुरुषले भने यी प्रश्‍नहरू गर्नसक्छन्‌, “के यस स्त्रीले परमेश्‍वरप्रति प्रेम तथा श्रद्धा प्रदर्शित गर्छिन्‌? के तिनलाई घरजम गर्न आउँछ? तिनको परिवारले हामी दुइबाट के आशा गर्नेछ? के तिनी बुद्धिमती, परिश्रमी र मितव्ययी छिन्‌? तिनी के कुरा गर्छिन्‌? के तिनी साँच्चै अरूको भलाइमा चासो लिन्छिन्‌? कि के तिनी अरूको कुरा काट्‌ने तथा स्वार्थी स्वभावकी छिन्‌? के तिनी भरपर्दो छिन्‌? के तिनी अरूको अगुवाइ स्वीकार्न तयार छिन्‌? कि के तिनी अट्टेरी अथवा विरोधी छिन्‌?”—हितोपदेश ३१:१०-३१; लूका ६:४५; एफिसी ५:२२, २३; १ तिमोथी ५:१३; १ पत्रुस ४:१५.

१८. विवाहपूर्व गरिने भेटघाटको दौडान केही सानातिना कमजोरीहरू देखा परेमा कुन कुरा बिर्सनु भएन?

१८ नबिर्सनुहोस्‌, तपाईं आदमको एक जना असिद्ध सन्तानसित व्यवहार गर्नुहुँदैछ। ऊ कुनै उपन्यासको आदर्श पुरुष वा स्त्री होइन। गल्ती सबैले गर्नसक्छ र ती गल्तीहरूको उपेक्षा गर्नैपर्छ, चाहे गल्ती तपाईंको होस्‌ वा तपाईंको सम्भाव्य जीवनसाथीको। (रोमी ३:२३; याकूब ३:२) तथापि, कुनै कमजोरी देखा पर्दा त्यसलाई तपाईंले आध्यात्मिकता बढाउने मौका ठान्‍न सक्नुहुन्छ। मानि लिनुहोस्‌, विवाहपूर्व तपाईं दुइबीच बहस चर्क्यो। यस्तो हुँदा, नबिर्सनुहोस्‌: एकअर्कालाई प्रेम तथा श्रद्धा गर्ने मानिसहरूको कुरा पनि कहिलेकाहीं आपसमा बाझिनसक्छ। (तुलना गर्नुहोस्‌ उत्पत्ति ३०:२; प्रेरित १५:३९) अतः तपाईं दुवैलाई आफ्नो “रीस” थाम्न तथा कुराकानी अझ शान्तपूर्वक गर्न सिक्नु पो खाँचो छ कि? (हितोपदेश २५:२८) के तपाईंको सम्भाव्य जीवनसाथी यस मामिलामा उन्‍नति गर्न इच्छुक छन्‌? के तपाईं इच्छुक हुनुहुन्छ? के तपाईं ज्यादै संवेदनशील नहुने तथा सानोतिनो कुरामा चित्त नदुखाउने बानी बसाल्न सक्नुहुन्छ? (उपदेशक ७:९) आपसमा उठेका समस्याहरू समाधान गर्न सिक्नुभयो भने, इमानदारीसाथ कुराकानी गर्ने बानी लाग्छ। यस्तो बानी विवाहपश्‍चात्‌ धेरै कामलाग्दो हुन्छ।—कलस्सी ३:१३.

१९. विवाहपूर्व गरिने भेटघाटका दौडान गम्भीर त्रुटिहरू देखा परेमा के गर्नु बेस हुनेछ?

१९ तथापि, निकै चिन्तित हुनुपर्ने कुनै त्रुटि देख्नुभयो भने नि? यति बेला चाहिं मनको शंकालाई ध्यानपूर्वक विचार गर्नुपर्छ। तपाईं जति नै रोमान्टिक मुडमा अथवा विवाह गर्न आतुर हुनुभए तापनि गम्भीर दोषहरूप्रति आँखा नचिम्लनुहोस्‌। (हितोपदेश २२:३; उपदेशक २:१४) जसबारे तपाईंको मनमा गहिरो शंका उठेको छ उसलाई वचन दिनुभन्दा उप्रान्त सम्पर्क नराख्नु नै बेस हुन्छ।

विवाहपूर्व गरिने भेटघाट आदरणीय होस्‌

२०. विवाहपूर्व भेटघाट गर्दा पुरुष तथा स्त्री दुवैले कसरी शुद्ध आचरण कायम राख्नसक्छन्‌?

२० विवाहपूर्व भेटघाटलाई तपाईं कसरी आदरणीय राख्न सक्नुहुन्छ? सर्वप्रथम, आफ्नो नैतिक आचरणलाई समाजको नजरमा दोषमुक्‍त राख्नुहोस्‌। अविवाहित व्यक्‍तिहरूले हात समात्नु, म्वाइँ खानु अथवा अंगालो हाल्नु के तपाईंको समाजमा स्वीकार्य छ? मायाका यी अभिव्यक्‍तिहरू अस्वीकार्य नभए तापनि यी कुराहरू विवाह निश्‍चित भएपछि मात्र गर्नु उचित हो। तर होशियार, त्यतिखेर मायाका यी प्रदर्शनहरूलाई अशुद्ध आचरण अथवा व्यभिचारमा परिणत हुन नदिनुहोस्‌। (तुलना गर्नुहोस्‌ एफिसी ४:१८, १९; श्रेष्ठगीत १:२; २:६; ८:५, ९, १०) हृदय छली हुन्छ। यसकारण तपाईं दुइ जना मात्र घरभित्र, पार्क गरेर राखेको मोटर अथवा कुनै यस्तो एकान्त ठाउँमा नबस्नुहोस्‌ जहाँ गलत काम गर्ने मौका प्राप्त हुन्छ। (यर्मिया १७:९) विवाहपूर्व भेटघाटमा नैतिक शुद्धता कायम राख्नुहुँदा संयम तथा आफ्नो इच्छालाई भन्दा अर्काको कुशलतालाई प्रथम स्थान दिने तपाईंको मनोवृत्ति प्रष्ट हुन्छ। तर अझ महत्त्वपूर्ण कुरा, विवाहपूर्व कायम राखिएको नैतिक शुद्धताले यहोवा परमेश्‍वरलाई प्रसन्‍न तुल्याउनेछ। उहाँले आफ्ना सेवकहरूलाई अशुद्धता तथा व्यभिचारबाट अलग बस्ने आदेश दिनुभएको छ।—गलाती ५:१९-२१.

२१. विवाहपूर्व भेटघाटलाई आदरणीय राख्न इमानदार भई कुन विषयहरूमा कुराकानी गर्नु आवश्‍यक हुन्छ?

२१ विवाहपूर्व राखिएको आदरणीय सम्पर्कमा इमानदार कुराकानी पनि सम्मिलित छ। तपाईंहरूको कुराकानी जसै विवाहतर्फ बढ्‌दै जान्छ, केही विषयहरूमा खुलस्त छलफल गर्नु आवश्‍यक पर्नेछ। जस्तो कि तपाईं कहाँ बस्नुहुनेछ? के तपाईं दुवैले जागिर खानुहुनेछ? के तपाईं छोराछोरी चाहनुहुन्छ? साथै वैवाहिक जीवनमाथि प्रभाव पार्नसक्ने केही त्यस्ता कुरा अथवा तपाईंको अतीतसित सम्बन्धित कुनै घटना छ भने, यी जम्मै विवाहपूर्व बताउनु उचित हो। जस्तो कि तिर्नुपर्ने ठूलो ऋण अथवा यस्तै केही बाध्यता, वा तपाईंको कुनै खास रोग वा शारीरिक व्यथा हुनसक्छ। यसबाहेक, एचआइभीबाट (एड्‌स गराउने भाइरस) संक्रमित मानिसहरूमा कुनै बाहिरी चिन्ह नदेखिने हुँदा कसैले बितेको समयमा अन्य व्यक्‍तिहरूसित यौन संसर्ग वा मादक पदार्थको अन्तरशिरीय प्रयोग गरेको थियो भने, माया गर्ने आमाबाबुहरूले उसलाई एड्‌स पत्ता लाउन रक्‍त परीक्षण गराउनु मनासिब हो। परीक्षणबाट रोग खुट्टिंदा, आफ्नो सम्भाव्य जीवनसाथीले उप्रान्त सम्पर्क राख्न चाहँदैन भने, रोग हुने व्यक्‍तिले जबरजस्ती गर्नु हुँदैन। भनौं भने, बितेको समयमा ज-जसले यस्तो रोग लाग्ने सम्भावनापूर्ण जीवनशैली अपनाएका थिए, उनीहरूले कसैसित वैवाहिक सम्बन्ध गाँस्ने सुर कस्नअघि नै एड्‌स पत्ता लाउन रक्‍त परीक्षण गर्नु बेस हो।

विवाहको दिनसम्म मात्र नसोच्नुहोस्‌

२२, २३. (क) विवाह उत्सवका लागि तयारी गर्दा कसरी सन्तुलन गुमाउनसक्छ? (ख) विवाह तथा वैवाहिक जीवन सुरु गर्ने विचार गर्दा कुन सन्तुलित दृष्टिकोण कायम राख्नुपर्छ?

२२ विवाह हुन केही महिनाअघि सम्भवतः तपाईं दुवै विवाहको तरखरमा व्यस्त हुनुहुनेछ। सबै कुरा सीमाभित्र सुहाउँदो रीतिले गर्नुभयो भने दबाब धेरै कम हुनेछ। धूमधामसित विवाह गरेको देखेर नातेदार तथा समाज प्रसन्‍न हुनसक्छन्‌। तर नयाँ दम्पती र तिनीहरूको परिवार चाहिं पूर्णतया थाक्न तथा टाट पर्नसक्छन्‌। स्थानीय चलनहरू केही मात्रामा पालन गर्नु नराम्रो होइन। तर तिनीहरूको दास बन्‍नु तथा प्रतियोगितात्मक भावसाथ ती चलनहरूको अनुसरण गर्नु अनुचित हो। यसले गर्दा विवाहको अर्थ ढाकिनसक्छ तथा तपाईंले अनुभव गर्नुपर्ने आनन्द पनि छुट्‌नसक्छ। हो, हामीले अरूको भावनालाई विचार गर्नुपर्छ। तर विवाह भोज कस्तो हुनेछ वा कस्तो हुनेछैन, यसको फैसला चाहिं दुलहाले नै गर्नुपर्छ।—यूहन्‍ना २:९.

२३ नबिर्सनुहोस्‌, तपाईंको विवाह उत्सव त एकै दिनमा समाप्त हुन्छ। तर तपाईंको वैवाहिक जीवन भने आजीवन चल्नुपर्छ। यसकारण विवाहको दिनमा बढ्‌ता ध्यान केन्द्रित नगर्नुहोस्‌। बरु यहोवा परमेश्‍वरसित निर्देशन माग्नुहोस्‌। विवाहित दम्पती भएर जीवन बिताउने योजना बनाउनुहोस्‌। त्यसो गर्नु भयो भने, तपाईंले सफल वैवाहिक जीवनका लागि राम्रो तयारी गर्नुभएको हुनेछ।

a यो ती मुलुकहरूका लागि हो जहाँ अविवाहित मसीहीहरूले विवाहपूर्व भेटघाट तथा घुमफिर गर्नु उचित मानिन्छ।

b आध्यात्मिक कुराहरूलाई वास्तै नगर्ने व्यक्‍तिहरू पनि मसीही मण्डलीमा हुनसक्छन्‌। तनमनसाथ परमेश्‍वरको सेवा गर्नुको साटो तिनीहरू सांसारिक प्रवृत्ति तथा आचरणबाट प्रभावित भएका हुनसक्छन्‌।—यूहन्‍ना १७:१६; याकूब ४:४.

बाइबलका निम्न सिद्धान्तहरूले . . . सफल वैवाहिक जीवनका लागि तयारी गर्ने व्यक्‍तिलाई कसरी मदत गर्नसक्छन्‌?

पति तथा पत्नी एकअर्काप्रति वचनबद्ध हुनुपर्छ। —उत्पत्ति २:२४.

बाहिरी रूपभन्दा भित्रको गुप्त मानिस महत्त्वपूर्ण हो।—१ पत्रुस ३:३, ४.

“विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ।”—२ कोरिन्थी ६:१४.

अशुद्ध नैतिक आचरण भएका मानिसहरू परमेश्‍वरदेखि टाढा हुन्छन्‌।—एफिसी ४:१८, १९.

चलन र बाइबल

दुलहीको मोल र दाइजो: कुनै कुनै देशहरूमा दुलहाको परिवारले दुलहीको परिवारलाई पैसा (दुलहीको मोल) तिर्ने चलन छ। अरू ठाउँमा चाहिं दुलहीको परिवारले दुलहालाई पैसा (दाइजो) दिन्छन्‌। यस्ता चलनहरूले कानुनी मान्यता पाएको छ भने, त्यसलाई पालन गर्नु गलत नहुनसक्छ। (रोमी १३:१) तथापि, पैसा पाउने परिवारले लोभ प्रकट गर्दै मनासिबभन्दा बढी माग्नु हुँदैन। (हितोपदेश २०:२१; १ कोरिन्थी ६:१०) पतिले पनि पत्नीलाई मोल तिरेर किनेको वस्तु ठान्‍नु हुँदैन। नता आफ्नी पत्नी तथा सासूससुराप्रति उसको आर्थिक जिम्मेवारी मात्र छ भनी सम्झनु हुन्छ।

बहुविवाह: कुनै कुनै ठाउँको चलनअनुसार पुरुषलाई एक जनाभन्दा बढी पत्नी राख्ने छुट छ। यस्तो वातावरणमा पुरुषले पति तथा पिताको भूमिका निर्वाह गर्नुको साटो स्वयं बडाहाकिम बन्‍नसक्छ। साथै बहुविवाहले पत्नीहरूबीच अक्सर प्रतियोगिताको भावलाई प्रोत्साहित गर्छ। मसीहीहरूका लागि बाइबलले या त विवाह नगरी बस्ने वा एउटै पति वा पत्नी राख्ने छुट दिएको छ।—१ कोरिन्थी ७:२.

प्रयोगात्मक विवाह: विवाहपूर्व सहवास गरेमा विवाहपश्‍चात्‌ मिलेर बस्न सकिन्छ कि सकिंदैन ठम्याउन मदतकारी हुन्छ भन्‍ने दाबी धेरै पुरुष तथा स्त्रीहरूले गर्छन्‌। तर यस्तो प्रयोगात्मक विवाहद्वारा वैवाहिक जीवनको एउटा अत्यन्त मुख्य आधार भने जाँच गर्न सकिंदैन र त्यो हो वचनबद्धता। विवाहबाहेक कुनै प्रबन्ध छैन जसले जन्मने बच्चा तथा सबै सम्बन्धित व्यक्‍तिहरूलाई सुरक्षा र बचाउ प्रदान गर्छ। अतः विवाह नगरी आपसी सहमतिको आधारमा सँगै जीवन बिताउनु सृष्टिकर्ता यहोवा परमेश्‍वरको दृष्टिमा व्यभिचार हो।—१ कोरिन्थी ६:१८; हिब्रू १३:४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने