वैवाहिक जीवन सफल बनाउन के चाहिन्छ?
के तपाईं पौडी खेल्न नजान्दा नजान्दै पनि नदीमा डुबुल्की मार्नुहुन्छ? त्यस्तो मूर्ख कार्य हानिकारक मात्र नभई प्राणघातकसमेत हुनसक्छ। तर यसो विचार गर्नुहोस्, कति जनाले विवाह पछि वहन गर्नुपर्ने जिम्मेवारीहरूबारे सोचेर बिहे गर्छन्।
येशूले भन्नुभयो: “तिमीहरूमध्ये कसले एउटा धरहरा बनाउने इच्छा गर्दा त्यो सिध्याउने सम्मको खर्च आफूसँग छ कि छैन भनी पहिले बसेर हिसाब गर्दैन?” (लूका १४:२८) धरहरा बनाउनुअघि जसरी पहिल्यै विचार गर्नुपर्छ त्यसरी नै विवाह गर्न चाहनेहरूले पनि पहिल्यै विचार गर्नुपर्छ। बिहे गर्ने विचार गरिरहेकाहरूले पहिल्यै यसका जिम्मेवारीहरू पूरा गर्नसक्छन् कि सक्दैनन्, सोच्नुपर्छ।
विवाह के हो
जीवनको सुख दुःख बाँड्नसक्ने जीवनसाथी पाउनु साँच्चै एउटा आशिष् हो। एकाकीपन वा निराशाको कारण भएको शून्यता बिहेपछि हट्नसक्छ। प्रेम, सहचारिता र घनिष्ठताको लागि हामीमा भित्रैदेखि भएको चाहनालाई विवाहले तृप्त गर्नसक्छ। असलै मनसायले परमेश्वरले आदमलाई सृष्टि गर्नुभएपछि यस्तो भन्नुभयो: “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु।”—उत्पत्ति २:१८; २४:६७; १ कोरिन्थी ७:९.
हो, बिहेपछि केही समस्याहरू हट्नसक्छ। तर यसका साथसाथै नयाँ समस्याहरू पनि आउँछन्। किन? किनभने विवाह भनेको दुई भिन्न व्यक्तिहरूको मिलन हो जसबीच केही समानताहरू त होलान् तर ती दुईको व्यक्तित्व भने कहिल्यै दुरुस्त हुँदैन। तसर्थ, असाध्यै मिल्ने दम्पतीबीच पनि कहिलेकाहीं खटपट हुन्छ। विवाह गर्नेहरूको “शरीरमा कष्ट हुनेछ” भनी मसीही प्रेरित पावलले लेखे।—१ कोरिन्थी ७:२८.
के पावल निराशावादी भइरहेका थिए? पटक्कै होइन! तिनले बिहे गर्ने विचार गरिरहेकाहरूलाई कल्पनाको महल नसजाउन मात्र आग्रह गरिरहेका थिए। कसैसित मायाप्रीति गाँस्दा उल्लसित त भइन्छ तर त्यसो भन्दैमा विवाहपछिका महिना तथा वर्षहरूमा त्यस्तै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। हरेक विवाहको आफ्नै चुनौती तथा समस्याहरू हुन्छन्। प्रश्न, समस्याहरू आउँछन् कि आउँदैनन् भन्ने होइन तर ती आइपर्दा तपाईंले कसरी सामना गर्नुहुन्छ भन्ने हो।
समस्याहरू आइपर्दा पतिपत्नीले आपसमा साँचो प्रेम देखाउने अवसर पाउँछन्। उदाहरणका लागि: समुद्र किनारामा राखिएको जहाज देख्न त भव्य देखिएला। तथापि, यो कत्तिको भरपर्दो छ भनी समुद्रमा र अझ शक्तिशाली आँधीबेहरी आउँदा मात्र थाह पाइन्छ। त्यस्तैगरि, वैवाहिक बन्धन कतिको बलियो छ भनी सबै कुरा राम्रै चलिरहेको बेला थाह पाइदैन। कहिलेकाहीं आइपर्ने हुरीसरह कठिन समयमा दम्पतीले कसरी सामना गर्छ त्यसमा भर पर्छ।
त्यसो गर्न विवाहित दम्पती एकअर्काप्रति वचनबद्ध हुनुपर्छ किनभने परमेश्वरको उद्देश्यअनुसार मानिस “आफ्नी स्वास्नीसँग मिलिरहन्छ” र दुई “एउटै जीउ हुन्छन्।” (उत्पत्ति २:२४) तर आजकाल मानिसहरू वचनबद्धताको कुरा मात्र गर्दा पनि तर्सन्छन्। तैपनि, आपसमा साँचो प्रेम भएका दुई व्यक्तिले सँगै बस्ने वाचा बाँध्न चाहनु व्यवहारिक नै हुन्छ। एकअर्काप्रति वचनबद्ध भएका पतिपत्नीले विवाहलाई हल्कासित लिंदैनन्। यस्तो हुँदा जस्तोसुकै परिस्थितिमा पनि पतिपत्नीले एकअर्कालाई सहयोग गर्नेछ भनी विश्वस्त हुनसक्छन्।a तपाईं वचनबद्ध हुन तयार हुनुहुन्न भने विवाह गर्न पनि तयार हुनुहुन्न। (उपदेशक ५:४, ५ तुलना गर्नुहोस्।) विवाह भइसकेकाहरूले पनि आफ्नो वैवाहिक सम्बन्धलाई अझ बलियो बनाउन वचनबद्ध हुनु कत्तिको महत्त्वपूर्ण छ भनी बुझ्नुपर्छ।
आफूलाई जाँच्दा
निस्सन्देह, तपाईंले आफ्नो जीवनसाथीमा चाहनुहुने गुणहरूको सूची कुनै कठिनाइबिना तयार पार्न सक्नुहुन्छ। तथापि, तपाईं आफूले विवाह सफल बनाउन कसरी योगदान पुऱ्याउन सक्नुहुन्छ भनी पत्ता लगाउन पो धेरै गाह्रो हुन्छ। विवाहको वाचा बाँध्नु अघि र पछिका दिनहरूमा आफूले आफैलाई जाँच्नु अत्यन्तै महत्त्वपूर्ण छ। उदाहरणका लागि, आफूलाई निम्न प्रश्नहरू सोध्नुहोस्।
• के म आफ्नो जीवनसाथीसित जीवनभर वचनबद्ध हुन तयार छु?—मत्ती १९:६.
बाइबल अगमवक्ता मलाकीको समयमा थुप्रै पतिहरूले आ-आफ्ना पत्नीलाई त्यागेर जवान स्त्रीहरूलाई बिहे गरे। यहोवाले उहाँको वेदी त्यागिएका स्वास्नीहरूको आँसुले भिजिएको छ भन्नुभयो र उहाँले “धोका” दिने पतिहरूको निन्दा गर्नुभयो।—मलाकी २:१३-१६.
• के म यौनेच्छाको वशमा नपरी बुद्धिमानी निर्णय गर्नसक्ने उमेरको भइसकें?—१ कोरिन्थी ७:३६.
बाइस वर्षको उमेरमा विवाह गरेकी निक्की भन्छिन्: “सानै उमेरमा विवाह गर्नु एकदमै खतरनाक कुरा हो।” तिनी अझ यस्तो चेताउनी दिन्छिन्: “१८/१९ वर्षदेखि २७/२८ वर्ष नपुगुञ्जेल हाम्रा भावना, लक्ष्य तथा चाहनाहरू परिवर्तन भइरहन्छन्।” हो, विवाह गर्न तयार भएको हो वा होइन भन्ने निर्णय उमेरको आधारमा मात्र गर्न सकिंदैन। तथापि, विशेषगरि यौनेच्छाहरू प्रबल भएको समयमा बिहे गर्दा कुनै व्यक्तिको सोचाइमा बाधा पुऱ्याउनुका साथै सम्भावित समस्याहरूप्रति पनि अन्धा तुल्याइ दिनसक्छ।
• वैवाहिक जीवन सफल बनाउन ममा के कस्ता गुणहरू छन्?—गलाती ५:२२, २३.
प्रेरित पावलले कलस्सीका भाइहरूलाई यसो लेखे: “परमेश्वरका चुनिएकाहरूझैं पवित्र र प्रिय, सहानुभूतिको हृदय, दया, नम्रता, विनय, सहनशीलता धारण गर।” (कलस्सी ३:१२) यो सल्लाह बिहे गर्ने विचार गरिरहेकाहरूलगायत विवाह भइसकेकाहरू दुवैलाई उपयुक्त छ।
• कठिन परिस्थितिमा आफ्नो जीवनसाथीलाई सहयोग गर्नसक्ने परिपक्वता के ममा छ?—गलाती ६:२.
एक चिकित्सक भन्छन्: “समस्याहरू आइपर्दा साधारणतया आफ्नो पति वा पत्नीलाई दोष लगाउने बानी हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा कसलाई दोष लगाउने भन्ने होइन। बरु, पतिपत्नी दुवैले वैवाहिक सम्बन्धलाई बलियो बनाउन कसरी योगदान पुऱ्याउनसक्छन्, त्यो महत्त्वपूर्ण हो।” बुद्धिमान् राजा सुलेमानका शब्दहरू विवाहित दम्पतीहरूलाई पनि लागू हुन्छ। तिनले यस्तो लेखे: “एकभन्दा दुइ असल हो। तिनीहरूले आफ्नो मेहनतको असल इनाम पाउनेछन्, किनभने एउटा लोट्यो भने अर्कोले आफ्नो साथीलाई उठ्न सहायता गर्छ, तर लोट्ने र कोही उठाउने साथी नहुने विचरा!”—उपदेशक ४:९, १०.
• म प्रायः हँसिलो र आशावादी छु वा सधैं ठुस्केर नकारात्मक कुराहरू मात्र सोच्ने गर्छु?—हितोपदेश १५:१५.
नकारात्मक सोचाइ राख्ने व्यक्तिले सबै कुरामा खोट मात्र देख्छ। विवाह गर्नेबित्तिकै यस्तो मनोवृत्ति चटक्कै हट्दैन! अविवाहित व्यक्ति पुरुष होस् या स्त्री, साधारणतया कचकचे वा निराशावादी छ भने विवाहपछि पनि त्यत्तिकै कचकचे वा निराशावादी हुन्छ। त्यस्तो नकारात्मक विचारधाराले विवाहमा अनावश्यक तनाउ ल्याउनसक्छ।—हितोपदेश २१:९ तुलना गर्नुहोस्।
• कामकुरा ठीक नहुँदा के म शान्त रहन्छु वा रिसको झोंकमा जथाभावी गर्छु?—गलाती ५:१९, २०.
मसीहीहरूलाई “रिसाउनालाई धीमा” हुने आज्ञा दिइएको छ। (याकूब १:१९) विवाहपूर्व र पछि पनि पुरुष र स्त्रीले यस सल्लाह लागू गर्ने प्रयास गर्नुपर्छ: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस।”—एफिसी ४:२६.
आफ्नो सम्भावित जीवनसाथीलाई नियाल्दा
बाइबल हितोपदेश यस्तो भन्छ: “समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।” (हितोपदेश १४:१५, नयाँ संशोधित संस्करण) जीवनसाथी छान्दा पनि निश्चय यो सल्लाह लागू हुन्छ। केटा वा केटीले आफ्नो जीवनमा गर्ने सबैभन्दा महत्त्वपूर्ण निर्णयहरूमध्ये एउटा जीवनसाथी छान्नु पनि हो। तथापि, मानिसहरूले कुन घर किन्ने वा कुन स्कूल जाने जस्ता कुराहरूबारे निर्णय गर्न नै बढी समय बिताएको पाइन्छ।
मसीही मण्डलीमा जिम्मेवारी पाएका भाइहरूको पहिला “जाँच” हुन्छ। (१ तिमोथी ३:१०, नयाँ संशोधित संस्करण) तपाईंले बिहे गर्न लाग्नुभएको व्यक्ति पनि योग्य छन् या छैन, “जाँच” गर्नुपर्छ। उदाहरणका लागि निम्न प्रश्नहरूलाई ध्यान दिनुहोस्। प्रश्नहरू केटीको दृष्टिकोणबाट प्रस्तुत गरिए तापनि यी सिद्धान्तहरूमध्ये कतिपय केटाहरूलाई पनि लागू हुन्छन्। अनि विवाह भइसकेकाहरूले पनि यी बुँदाहरूबाट लाभ उठाउनसक्छन्।
• तिनले कस्तो नाउँ कमाएका छन्?—फिलिप्पी २:१९-२२.
हितोपदेश ३१:२३ मा “शहरको मूल-ढोकामा शहरका बूढ़ा-प्रधानहरूसँग बस्ता सबैका बीचमा . . लोकप्रिय” भएका पतिबारे बताइएको छ। शहरका बूढा प्रधानहरू इन्साफ गर्न शहरको ढोकामा बस्थे। अतः स्पष्टतः तिनी उच्च ओहदाका व्यक्ति थिए। कुनै व्यक्तिबारे अरू मानिसहरूले कस्तो विचारधारा राख्छ, त्यसबाट पनि तिनले कस्तो नाउँ कमाएका छन् थाह पाइन्छ। उपयुक्त भएमा तिनीमुनि काम गर्ने मानिसहरूले कस्तो विचारधारा राख्छन्, बुझ्नुहोस्। समयमा तपाईंले तिनको जीवनसाथीको रूपमा तिनीप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ यसैबाट संकेत पाउन सक्नुहुन्छ।—१ शमूएल २५:३, २३-२५ तुलना गर्नुहोस्।
• तिनको नैतिकता कस्तो छ?
ईश्वरीय बुद्धि “पहिले . . . पवित्र” हुन्छ। (याकूब ३:१७) तपाईंको सम्भावित जीवनसाथी परमेश्वरसामु तपाईं र तिनी आफ्नैको सम्बन्धबारे बढी चिन्तित छन् कि आफ्नै यौन तृप्तिमा मात्र चासो राख्छन्? तिनले अहिले परमेश्वरको नैतिक स्तरअनुरूप जीवन बिताउन प्रयास गरिरहेका छैनन् भने विवाहपछि गर्नेछन् भनेर विश्वास गर्न के आधार छ?—उत्पत्ति ३९:७-१२.
• तिनले मसित कस्तो व्यवहार गर्छन्?—एफिसी ५:२८, २९.
बाइबल पुस्तक हितोपदेशले आफ्नो पत्नीलाई “पूर्ण भरोसा” गर्ने पतिबारे बताउँछ। यसबाहेक पतिले “तिनको प्रशंसा” गर्छन्। (हितोपदेश ३१:११, २८) तिनी अन्धो प्रेम गर्दैनन् नता तिनी आफ्ना प्रत्याशाहरूमा अव्यवहारिक छन्। याकूबले माथिबाट आउने ज्ञान “मिलापी, कोमल, मृदुभाव, दया र बढ़िया फलले भरिएको” हुन्छ भनी लेखे।—याकूब ३:१७.
• तिनले आफ्नै परिवारका सदस्यहरूसित कस्तो व्यवहार गर्छन्?—प्रस्थान २०:१२.
छोराछोरीले आमाबाबुको आदर गर्नु भनेको एउटा आवश्यकता पूरा गर्नु मात्र होइन। बाइबल भन्छ: “तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।” (हितोपदेश २३:२२) चाखलाग्दो कुरा, डा. डब्ल्यु. ह्यु मिसेलडेनले यसो लेखे: “सम्भावित दुलहा र दुलहीले बिहे गर्नुअघि एकअर्काको घर त्यत्तिकै अनौपचारिक ढंगमा गएर तिनले आफ्ना आमाबाबुसित कस्तो व्यवहार गर्छन् हेरेमा मात्र पनि विवाहपछि के कस्ता समस्या तथा परिस्थितिहरू आइपर्छन् थाह पाउनसक्छन्। तिनले आफ्ना आमाबाबुसित कस्तो व्यवहार गर्छन् त्यसबाट तिनले तपाईंसित कस्तो व्यवहार गर्छन्, झलक पाउनुहुनेछ। यस्तो प्रश्न गर्नु उपयुक्त हुनेछ: ‘तिनले आफ्ना आमाबाबुसित जस्तो व्यवहार गर्छन् त्यस्तै व्यवहार मसित गरेको के मलाई मन पर्छ?’ अनि आमाबाबुले तिनीसित गर्ने व्यवहारबाट तिनको व्यवहार र हनिमूनपछि तिनले तपाईंबाट कस्तो व्यवहार आशा गर्छन्, थाह पाउन सक्नुहुन्छ।”
• के तिनी झनक्क रिसाउने वा अपशब्द प्रयोग गर्ने गर्छन्?
बाइबलले यस्तो सल्लाह दिन्छ: “सबै तीतोपना, क्रोध रीस, हो-हल्ला, निन्दा, सारा वैर-भावसमेत तिमीहरूबाट त्यागिओस्।” (एफिसी ४:३१) कोही कोही मसीहीहरूलाई “वाद-विवाद गर्ने रोग . . . लागेको हुन्छ, जसबाट डाह झगड़ा, गाली, खराब शङ्का, मानिसहरूका कचिङ्गल, बुद्धि बिग्रेका भई, सत्यबाट अलग भएर भक्तिचाहिं लाभको बाटो हो भनी सम्झने हुन्छन्” भनी पावलले तिमोथीलाई चेताउनी दिए।—१ तिमोथी ६:४, ५.
यसबाहेक, मण्डलीमा विशेष अवसरहरूका लागि योग्य भएकाहरू “मारपीट नगर्ने” अर्थात् मूल युनानी शब्दअनुसार “हात नउठाउने” हुनुपर्छ भनी पावलले लेखे। (१ तिमोथी ३:३, पादटिप्पणी, NW) तिनी मानिसहरूलाई कुटपीट गर्ने वा गाली गर्ने खालका हुनुहुँदैन। रिसको झोंकमा तुरुन्तै हिंस्रक हुने सम्भावना भएको मानिस सुहाउँदो जीवनसाथी हुनसक्दैन।
• तिनका लक्ष्यहरू के हुन्?
कोही कोही धनको पछि लाग्छन् र खराब नतिजाहरू भोग्छन्। (१ तिमोथी ६:९, १०) अरू चाहिं जीवनमा कुनै उद्देश्यबिना त्यसै भौंतारिन्छन्। (हितोपदेश ६:६-११) तथापि, ज्ञानी मानिसले यहोशूले जस्तै कटिबद्धता प्रदर्शित गर्छन् जसले यसो भने: “म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।”—यहोशू २४:१५.
इनाम तथा जिम्मेवारीहरू
विवाहको स्थापना परमेश्वरले गर्नुभयो। यसको आरम्भकर्ता यहोवा परमेश्वर हुनुहुन्छ। (उत्पत्ति २:२२-२४) परमेश्वरले पुरुष तथा स्त्रीबीचको स्थायी बन्धनलाई वैवाहिक सम्बन्धको रूपमा स्थापना गर्नुको उद्देश्य तिनीहरूले एकअर्कालाई पारस्परिक मदत गरोस् भन्ने हो। बाइबलका सिद्धान्तहरू व्यवहारमा उतार्दा पति र पत्नीले जीवन आनन्दमय हुने आशा गर्न सक्नछन्।—उपदेशक ९:७-९.
तर “आखिरी दिनमा डरलाग्दो समय आउनेछ” भनेर पनि हामीले सम्झनुपर्छ। बाइबलले यस समयमा मानिसहरू “स्वार्थी, धनका लोभी, अहंकारी, हठी, . . . बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, . . . विश्वासघाती, उत्ताउला, दिमागी” हुनेछन् भनी भविष्यवाणी गरेको थियो। (२ तिमोथी ३:१-४) यस्ता स्वभावले विवाहमा निकै असर गर्नसक्छ। अतः बिहे गर्ने विचार गरिरहेकाहरूले होसियारसाथ सबै कुरा सोच्नुपर्छ। अनि विवाह भइसकेकाहरूले बाइबलमा पाइने ईश्वरीय निर्देशन पढेर तथा व्यवहारमा उतारेर आफ्नो वैवाहिक बन्धनलाई अझ बलियो बनाउनुपर्छ।
हो, विवाह गर्ने विचार गरिरहेकाहरूले विवाहपछिका दिनहरूबारे पनि सोच्नुपर्छ। अनि सबैले विवाहको दिनबारे मात्र होइन तर विवाहित जीवनबारे पनि विचार गर्नुपर्छ। रोमान्टिक भएर मात्र होइन व्यवहारिक भई सोच्न डोऱ्याइको निम्ति यहोवालाई बिन्ती गर्नुहोस्। यसो गर्दा सायद तपाईंले सफल वैवाहिक जीवनको आनन्द उठाउन सक्नुहुनेछ।
[पादटिप्पणी]
a सम्बन्ध विच्छेद गरेर पुनः विवाह गर्न बाइबलले एउटै मात्र कारण दिन्छ र त्यो हो “व्यभिचार” अर्थात् विवाहबाहिर यौन सम्बन्ध राख्दा।—मत्ती १९:९.
[पृष्ठ ५-मा भएको पेटी]
“प्रेमबारे मैले त्योभन्दा उत्कृष्ट वर्णन अहिलेसम्म पढेको छैन”
“तपाईं चोखो माया बसेको कसरी थाह पाउन सक्नुहुन्छ?” भनी डा. केभिन लेम्यान लेख्छन्। “प्रेमबारे वर्णन गरिएको एउटा पुरानो पुस्तक छ। त्यो पुस्तक झन्डै दुई हजार वर्ष पुरानो भइसक्यो तर प्रेमबारे मैले त्योभन्दा उत्कृष्ट वर्णन अहिलेसम्म पढेको छैन।”
डा. लेम्यानले बाइबलको १ कोरिन्थी १३:४-८ मा पाइने मसीही प्रेरित पावलका शब्दहरूलाई संकेत गरिरहेका थिए:
“प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, प्रेमले आफै सेखी गर्दैन, र घमण्डले फुल्दैन, आफै बेकायदासाथ चल्दैन, आफ्नै भलाई खोज्दैन, रिसाउँदैन खराबीको वास्ता गर्दैन। अधर्ममा खुशी हुँदैन, तर सत्यमा खुशी हुन्छ। सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुराको आशा गर्छ, सबै कुरामा स्थिर रहन्छ। प्रेम कहिल्यै टल्दैन।”
[पृष्ठ ८-मा भएको पेटी]
भावनाहरू छली हुनसक्छन्
बाइबलकालीन शूलम्मेनी कुमारीलाई रोमान्टिक भावनाहरू कतिको छली हुनसक्छन् भनी राम्ररी थाह थियो। शक्तिशाली राजा सुलेमानले तिनलाई फकाउने लाख प्रयास गर्दा तिनले आफ्ना सँगिनीहरूलाई भनिन्: “आफूले नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।” (श्रेष्ठगीत २:७, नयाँ संशोधित संस्करण) यस बुद्धिमानी कुमारी केटी भावनामा बहेर सँगिनीहरूको लहैलहैमा लागिनन्। बिहे गर्ने विचार गरिरहेकाहरूका लागि पनि यो व्यवहारिक छ। आफ्ना भावनाहरूलाई वशमा राख्नुहोस्। तपाईंले विवाह गर्नुको कारण त्यस व्यक्ति मन परेकोले हुनुपर्छ, विवाह गर्ने विचारले मात्र होइन।
[पृष्ठ ६-मा भएको चित्र]
विवाह गरेको धेरै भइसकेकाहरूले पनि आफ्नो वैवाहिक सम्बन्धलाई अझ बलियो बनाउनसक्छन्
[पृष्ठ ७-मा भएको चित्र]
तिनले आफ्ना आमाबाबुसित कस्तो व्यवहार गर्छन्?