तिनीहरूको आधुनिक विकास तथा वृद्धि
यहोवाका साक्षीहरूको आधुनिक इतिहास सय वर्षभन्दा अघि सुरु भयो। सन् १८७० दशकको सुरुतिर स.रा.अ., पेन्सिलभेनियाको हाल पिट्सबर्गमा अवस्थित एलिगेनीमा एउटा सानो बाइबल अध्ययन समूहको सुरुआत भयो। यसको लागि चार्ल्स टेज रसलले अग्रणी भूमिका निर्वाह गरे। जुलाई १८७९ मा जायन्स् वाच टावर एण्ड हेरल्ड अफ क्राइस्ट्स प्रेजेन्स पत्रिकाको पहिलो अंक छापियो। अनि १८८० सम्ममा त्यो सानो बाइबल अध्ययन समूह विस्तार भएर वरपरका प्रान्तहरूमा थुप्रै मण्डलीहरू स्थापना भइसकेका थिए। सन् १८८१ मा जायन्स् वाच टावर ट्राक्ट सोसाइटी गठन गरियो र पछि १८८४ मा यसलाई कानूनन् संस्थाको रूपमा दर्ता गरेर रसललाई अध्यक्ष बनाइयो। यो सोसाइटीको नाउँ पछि परिवर्तन गरेर वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटी राखियो। अनि थुप्रैले घर-घरमा प्रचार गर्दै बाइबल साहित्यहरू वितरण गर्न थाले। सन् १८८८ मा पचास जना मानिसले यो काम पूर्ण-समय गरिरहेका थिए भने, अहिले संसारभरि पूर्ण-समय सेवा गर्नेहरूको संख्या लगभग ७,००,००० पुगेको छ।
सन् १९०९ तिर यो कार्यले अन्तरराष्ट्रिय रूप लिइसकेको थियो र सोसाइटीको मुख्यालय हाल अवस्थित ब्रुक्लिन, न्यु योर्कमा सारियो। भाषणहरू अखबारमा छापेर वितरण गरियो अनि १९१३ तिर संयुक्त राज्य अमेरिका, क्यानाडा र युरोपका हजारौं अखबारमा चारवटा भाषामा वितरण हुन थाल्यो। लाखौं-लाख किताब, पुस्तिका र पर्चाहरू वितरण भए।
सन् १९१२ मा “फोटो-ड्रामा अफ क्रिएशन” सम्बन्धी काम सुरु भयो। यसमा आवाज भएको स्लाइड तथा चलचित्र प्रयोग गरेर पृथ्वीको सृष्टिदेखि ख्रीष्टको हजार वर्षीय शासनसम्म देखाइएको थियो। सन् १९१४ मा यो पहिलो चोटि देखाइयो र दिनहुँ ३५,००० जसोले हेर्थे। यो ध्वनि पनि भएको चलचित्र निर्माणकार्यको सुरुआत नै भयो।
सन् १९१४
एउटा निर्णायक समय नजिक आइरहेको थियो। सन् १८७६ मा बाइबल विद्यार्थी चार्ल्स टेज रसलले न्यु योर्कको ब्रुक्लिनबाट छापिने बाइबल एक्जामिनर भन्ने प्रकाशनमा “अन्यजातिहरूको समय: यो कहिले अन्त हुनेछ?” विषयक लेख छाप्न दिए र त्यसको अक्टोबर अंकको पृष्ठ २७ मा यस्तो लेखिएको थियो: “सा.यु. १९१४ मा सात काल अन्त हुनेछ।” यही समयलाई अर्को बाइबल अनुवादमा “अन्यजातिहरूको समय” भनिएको छ। (लूका २१:२४) सन् १९१४ मा आशा गरिएका सबै कुराहरू भएनन् तर अन्यजातिहरूको समय अन्त भयो र त्यो वर्ष विशेष अर्थपूर्ण थियो। थुप्रै इतिहासकार तथा टिप्पणीकारहरू १९१४ ले मानव इतिहासमा एउटा निर्णायक मोड लियो भन्ने कुरामा सहमत छन्। यो तथ्यलाई निम्न उद्धरणहरूले प्रस्ट पार्छ:
“इतिहासलाई पल्टाएर हेर्दा अन्तिम ‘सामान्य’ वर्ष भन्नु नै १९१३ थियो अर्थात् पहिलो विश्वयुद्ध सुरु हुनुभन्दा अघिल्लो वर्ष।”— टाइम्स-हेरल्ड-मा प्रकाशित सम्पादकीय, वाशिंग्टन डि.सि., मार्च १३, १९४९.
“सन् १९१४ देखि १९८९ सम्म दुइटा विश्वयुद्ध अनि एकपछि अर्को शीत युद्धहरू भए। इतिहासकारहरूले यस समयावधिलाई एक मात्र त्यस्तो अतुलनीय युग भन्छन् जब संसारका प्रायजसो देशहरू युद्धमा मुछिएका थिए, युद्धपछिका क्षणहरूसित संघर्ष गरिरहेका थिए वा युद्धको लागि तयारी गर्दैथिए।”— द न्यु योर्क टाइम्स, मे ७, १९९५.
“प्रथम विश्वयुद्धले सारा संसारलाई भताभुंग पाऱ्यो र यस्तो किन भयो, हामीले अझै बुझ्न सकेका छैनौं। त्यो युद्धअघि मानिसहरूले एउटा उत्तम संसारको परिकल्पना गरिरहेका थिए। शान्ति र संवृद्धि छाएको थियो। तर अचानक सबै चकनाचूर भयो। त्यस बेलादेखि हामी सबै वाल्ल परेका छौं . . . । यो शताब्दीमा जति मानिसहरू मानव इतिहासमा पहिले कहिल्यै मरेका थिएनन्।”— डा. वकर पर्सी, अमेरिकन मेडिकल न्युज, नोभेम्बर २१, १९७७.
सन् १९१४ भन्दा ५० वर्षपछि जर्मन कुटनीतिज्ञ कनराट आडनावरले यस्तो लेखे: “सन् १९१४ पछि मानिसहरूको जीवनबाट शान्ति अनि सुरक्षा भन्ने कुरा हराएको छ।”— द वेस्ट पार्कर, क्लिभल्याण्ड, ओहायो, जनवरी २०, १९६६.
सोसाइटीको पहिलो अध्यक्ष सि.टि. रसलको १९१६ मा मृत्यु भयो र त्यसपछिको वर्षमा, जोसेफ एफ. रदरफोर्ड अध्यक्ष भए। थुप्रै परिवर्तनहरू भए। प्रहरीधरहरा-को सहपत्रिका द गोल्डन एज सुरु गरियो। (अहिले ब्यूँझनुहोस्! भनिन्छ र ८६ भन्दा बढी भाषामा २,१०,००,००० भन्दा बढी प्रति वितरण हुन्छन्।) घर-घरको साक्षी कार्यलाई बढी जोड दिइयो। मसीहीजगत्का सम्प्रदायहरूभन्दा बेग्लै हो भनी चिनाउन यी मसीहीहरूले १९३१ मा यहोवाका साक्षीहरू भन्ने नाउँ ग्रहण गरे। यो नाउँ यशैया ४३:१०-१२ मा आधारित छ।
सन् १९२० र १९३० को दशकमा रेडियोको व्यापक प्रयोग गरियो। सन् १९३३ तिर सोसाइटीले ४०३ वटा रेडियो स्टेशनमार्फत बाइबल भाषणहरू प्रसारण गरिरहेको थियो। पछि, रेडियोको सट्टा घर-घरको प्रचारकार्यलाई नै विशेष जोड दिइयो र साक्षीहरूले फोनोग्राफ तथा रेकर्ड गरिएका बाइबल भाषणहरू प्रयोग गर्न थाले। बाइबल सत्यप्रति चासो देखाउने सबैसित गृह बाइबल अध्ययन सुरु गरियो।
अदालतमा विजय
सन् १९३० र १९४० को दशकमा यो कार्यमा संलग्न हुँदा साक्षीहरूलाई धेरै चोटि गिरफ्तार गरियो अनि वाक्-स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सम्मेलन तथा उपासनाको स्वतन्त्रता जगेर्ना गर्ने हेतुले अदालतमा थुप्रै मुद्दाहरू लडिए। संयुक्त राज्य अमेरिकाको तल्लो अदालतमा अपिल गरिएका साक्षीहरूको ४३ वटा मुद्दाहरू सर्वोच्च अदालतमा विजयी भए। त्यसरी नै, अन्य मुलुकका सर्वोच्च अदालतहरूमा पनि थुप्रै मुद्दाहरू जितियो। अदालतमा भएका यी विजयहरूबारे प्राध्यापक सि. एस. ब्राडनले दीज अल्सो बिलिभ भन्ने आफ्नै पुस्तकमा साक्षीहरूबारे यसो भने: “तिनीहरूले नागरिकहरूको अधिकार संरक्षण गर्न प्रजातन्त्रको लागि उल्लेखनीय योगदान पुऱ्याएका छन् किनभने तिनीहरूले आफ्नो संघर्षमा अमेरिकाका सबै अल्पसंख्यक जनजातिहरूको अधिकारलाई सुरक्षित राखेका छन्।”
विशेष प्रशिक्षण कार्यक्रमहरू
जे.एफ. रदरफोर्डको १९४२ मा मृत्यु भयो र त्यसपछि एन. एच. नोर अध्यक्ष भए। अनि प्रशिक्षणको प्रबन्ध मिलाउने संयुक्त प्रयास गरियो। सन् १९४३ मा मिसनरीहरूलाई प्रशिक्षण दिने विशेष स्कूल स्थापना गरियो, जसलाई वाचटावर बाइबल स्कूल अफ गिलियड भनिन्छ। त्यो समयदेखि यो स्कूलका स्नातकहरू सारा संसारभरि पठाइएका छन्। एउटै पनि मण्डली नभएका देशहरूमा थुप्रै मण्डलीहरू स्थापना भएका छन् अनि विश्वमा शाखा कार्यालयहरूको संख्या ११० नाघेको छ। समय-समयमा, मण्डलीका प्राचीन, शाखा कार्यालयका स्वयम्सेवक अनि साक्षीकार्यमा पूर्ण-समय भाग लिनेहरूलाई (अग्रगामीको हैसियतमा) प्रशिक्षण दिन विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्। अनि न्यु योर्कको पाटर्सनमा अवस्थित शैक्षिक केन्द्रबाट प्रचारकहरूलाई खास-खास प्रकारका प्रशिक्षणहरू दिइँदै आएको छ।
एन. एच. नोरको १९७७ मा मृत्यु भयो। तिनले आफ्नो मृत्यु हुनुअघि गरेका अन्तिम संगठनात्मक परिवर्तनमध्ये ब्रुक्लिनको विश्व मुख्यालयमा अवस्थित परिचालक निकायको संख्यामा विस्तार पनि थियो। सन् १९७६ मा प्रशासकीय जिम्मेवारीहरू बाँडफाँड गरियो अनि परिचालक निकायका सदस्यहरूको जिम्मामा विभिन्न समितिहरू दिइयो। परिचालक निकायका सबै सदस्यहरू दशकौंको अनुभव संगालेका सेवकहरू हुन्।
छापाखानाको विस्तार
यहोवाका साक्षीहरूको आधुनिक इतिहासमा थुप्रै उल्लेखनीय घटनाहरू घटेका छन्। सन् १८७० को दशकमा पेन्सिलभेनियाको सानो बाइबल अध्ययन समूहबाट सुरु भएका साक्षीहरूको संख्या सन् २००१ सम्ममा संसारभरि लगभग ९३,००० मण्डलीहरू भइसकेका थिए। सुरु-सुरुमा सबै साहित्यहरू सोसाइटीको नभई बाहिरका छापाखानाहरूमा छापिन्थ्यो। त्यसपछि १९२० मा साक्षीहरूले भाडामा लिएका कारखानाहरूमा केही साहित्यहरू छाप्न थाले। तर १९२७ देखि वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्कर्पोरेटेडको स्वामित्वमा रहेको न्यु योर्क, ब्रुक्लिनस्थित आठ तले छापाखानामा ठूलो संख्यामा साहित्यहरू छापिन थाल्यो। यसलाई थप विस्तार गरेर कारखाना तथा कार्यालय भवनहरू थपिएका छन्। यी छापाखानाहरूमा काम गर्ने स्वयम्सेवकहरूको आवासका लागि ब्रुक्लिनको छेउछाउमै थुप्रै भवनहरू लिइएका छन्। साथै, न्यु योर्कभन्दा अलि माथि वाल्किल नजिकै खेतबारी र छापाखाना छन्। यहाँ प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरू छाप्नुका साथै विभिन्न स्थानमा सेवारत प्रचारकहरूको लागि भोजन उत्पादन गरिन्छ। सबै स्वयम्सेवकहरूले आकस्मिक खर्च बेहोर्न हरेक महिना सानो रकम पाउँछन्।
अन्तरराष्ट्रिय अधिवेशनहरू
सन् १८९३ मा सं.रा.अ.-को शिकागो, इलिनोइमा पहिलो प्रमुख अधिवेशन सम्पन्न भयो। यहाँ ३६० जना उपस्थित भएका थिए र ७० जना नयाँ व्यक्तिहरूले बप्तिस्मा लिए। त्यसपछि १९५८ मा न्यु योर्कमा आयोजना गरिएको अन्तरराष्ट्रिय अधिवेशन सबैभन्दा विशाल थियो। त्यतिबेला यांकी स्टेडियम र सँगैको पोलो ग्राउण्ड्स पनि प्रयोग गरियो। त्यहाँको शिखर उपस्थिति २,५३,९२२ थियो र ७,१३६ जना नयाँ व्यक्तिहरूले बप्तिस्मा लिए। त्यसबेलादेखि थुप्रै देशहरूमा अन्तरराष्ट्रिय अधिवेशनहरू आयोजना गरिएका छन्। ती सबैको गणना गर्ने हो भने संसारभरि लगभग हजारवटा जति सम्पन्न हुन्छन्।
[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन ]
नागरिक स्वतन्त्रताको लागि उल्लेखनीय योगदान
[पृष्ठ ६-मा भएको चित्र]
एउटा भाषामा ६,००० प्रति छापिन सुरु भएको “प्रहरीधरहरा” अहिले १४३ भन्दा बढी भाषामा २,४०,००,००० भन्दा धेरै प्रति वितरण हुन्छन्
[पृष्ठ ७-मा भएको चित्र]
मानव इतिहासको निर्णायक मोड
[पृष्ठ १०-मा भएको पृष्ठभरिको चित्र]