तिनीहरूको विश्वव्यापी संगठन तथा काम
अहिले २३५ भन्दा बढी मुलुकमा भइरहेको साक्षी कार्यलाई थुप्रै माध्यमहरूद्वारा निर्देशन दिइन्छ। मुख्यतया निर्देशन ब्रुक्लिन, न्यु योर्कस्थित मुख्यालयको परिचालक निकायबाट आउँछ। परिचालक निकायले हरेक वर्ष संसारको विभिन्न ठाँउमा प्रतिनिधिहरू पठाएर शाखाका प्रतिनिधिहरूलाई निर्देशन दिन्छ। शाखा कार्यालयहरूमा तीनदेखि सात जना सदस्य मिलेर बनेको शाखा समिति हुन्छ र यसले आफ्नो इलाकाअन्तर्गत पर्ने कामको सुपरिवेक्षण गर्छ। कुनै-कुनै शाखामा छापाखानाको सुविधा पनि छ र तीव्र गतिमा चल्ने रोटरी प्रेस सञ्चालन हुन्छन्। हरेक शाखाले सुपरिवेक्षण गर्ने देश वा इलाकालाई जिल्ला र जिल्लालाई क्षेत्रमा छुट्याइएको हुन्छ। हरेक क्षेत्रमा २० वटा जति मण्डलीहरू हुन्छन्। जिल्ला निरीक्षकले पालैपालो आफ्नो इलाकामा पर्ने क्षेत्रहरूको भ्रमण गर्छन्। हरेक क्षेत्रको लागि वर्षेनी दुईवटा सम्मेलन आयोजना गरिन्छ। अनि क्षेत्रीय निरीक्षकको पनि प्रबन्ध छ, तिनले हरेक वर्ष आफ्नो क्षेत्रमा भएका मण्डलीहरूमा दुई चोटि भ्रमण गर्छन् अनि त्यो मण्डलीलाई खटाइएको इलाकामा प्रचार कार्यको बन्दोबस्त मिलाई प्रचार गर्न साक्षीहरूलाई सहयोग गर्छन्।
स्थानीय मण्डलीको राज्यभवन तपाईंको समुदायमा सुसमाचार प्रचार गर्ने केन्द्र हो। हरेक मण्डलीअन्तर्गत पर्ने इलाकालाई स-सानो इलाकामा विभाजन गरिएका हुन्छन्। यी साना इलाकाको जिम्मा साक्षीहरूलाई दिइएको हुन्छ र तिनीहरूले त्यो इलाकाका सबै घरका मानिसहरूलाई भेटेर कुरा गर्ने प्रयास गर्छन्। कुनै मण्डलीमा थोरै भने कुनैमा २०० जनासम्म साक्षीहरू हुन्छन् र विभिन्न जिम्मेवारीहरू पूरा गर्न प्राचीनहरू खटाइएका हुन्छन्। यहोवाका साक्षीहरूको संगठनमा प्रत्येक राज्य उद्घोषकको महत्त्वपूर्ण भूमिका हुन्छ। मुख्यालय, शाखा कार्यालय वा मण्डलीहरूमा नै किन नहोस्, सबै साक्षीहरूले मानिसहरूलाई व्यक्तिगत तवरमा भेटेर परमेश्वरको राज्यबारे सुनाउँछन्।
यस गतिविधिको रिपोर्ट अन्ततः मुख्यालयमा पुग्छ र वार्षिक यरबूक-मा संकलन गरेर प्रकाशित गरिन्छ। साथै प्रहरीधरहरा-को जनवरी १ अंकमा एउटा चार्ट छापिन्छ। यी दुई प्रकाशनहरूले यहोवा र ख्रीष्ट येशूको नेतृत्वमा उहाँको राज्यबारे साक्षी दिने कार्यमा हरेक वर्षको उपलब्धिबारे विस्तृत विवरण प्रस्तुत गर्छ। येशूको मृत्युको स्मरणार्थ उत्सवमा हालै यहोवाका साक्षी तथा अन्य जिज्ञासु व्यक्तिहरू गरेर लगभग १,५०,००,००० मानिसहरू उपस्थित भएका छन्। यहोवाका साक्षीहरूले सुसमाचार घोषणा गर्न वर्षेनी १,१०,००,००,००० भन्दा बढी घण्टा बिताउँछन् अनि २,५०,००० भन्दा बढी नयाँ व्यक्तिहरूले बप्तिस्मा लिएका छन्। लाखौंको संख्यामा प्रकाशनहरू वितरण गरिन्छन्।