प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be p. ६२-p. ६५ par. ४
  • कुराकानी गर्न अझै सिपालु कसरी हुन सक्छौं?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कुराकानी गर्न अझै सिपालु कसरी हुन सक्छौं?
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • घरबाटै सुरु गर्नुहोस्‌
  • नौलो व्यक्‍तिसित कुरा गर्दा
  • कुराकानी कसरी अगाडि बढाउने?
  • भाइबहिनीसित कुराकानी गर्दा
  • प्रचारकार्यमा अझै उन्‍नति गर्ने—अनौपचारिक साक्षी दिन आफैले कुराकानी थाल्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१४
  • कुराकानी एउटा कला हो
    ब्यूँझनुहोस्‌!—१९९५
  • मलाई कुरा गर्नै आउँदैन, के गरूँ?
    युवाहरू सोध्छन्‌
  • तपाईँले कति बेला कुराकानी टुङ्‌ग्याउनुपर्छ?
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be p. ६२-p. ६५ par. ४

कुराकानी गर्न अझै सिपालु कसरी हुन सक्छौं?

के तपाईंलाई अरूसित कुराकानी गर्न सजिलो लाग्छ? कुराकानी गर्ने र त्यसमा पनि नौलो व्यक्‍तिसित कुराकानी थाल्ने भनेर सोच्दा मात्र पनि थुप्रैलाई अत्यास लाग्छ। तिनीहरू लजालु स्वभावका होलान्‌। सायद तिनीहरू यसरी सोच्छन्‌ होला:- ‘के कुरा गर्ने? कसरी कुरा थाल्ने? कुरालाई कसरी अगाडि बढाउने?’ निर्धक्क र फरासिलो व्यक्‍ति कुराकानी गर्न खप्पिस हुने भएकोले अरूले कुराकानी गर्ने मौका नै नपाउने हुन सक्छ। यस्ता व्यक्‍तिहरूले अरूको कुरा सुन्‍न सिकेका हुँदैनन्‌ र तिनीहरूसामु अरूले मनको कुरा पोखाउने मौका पनि पाउँदैनन्‌। यो नै निर्धक्क र फरासिलो व्यक्‍तिले सामना गर्नुपर्ने चुनौती हो। त्यसैले हामी लजालु स्वभावका होऔं वा फरासिला, कुराकानी गर्ने सीप सबैले सिक्नै पर्छ।

घरबाटै सुरु गर्नुहोस्‌

कुराकानी गर्न सिपालु हुन घरैबाट सुरु गरे कसो होला? उत्थानदायी कुराकानीले गर्दा परिवार अझै आनन्दित हुन सक्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, उत्थानदायी कुराकानी गर्न एकअर्कामा गहिरो चासो लिनै पर्छ। (व्यव. ६:६, ७; हितो. ४:१-४) चासो लिन्छौं भने हामी कुराकानी गर्छौं र अर्को व्यक्‍तिले भनेको कुरा सुन्छौं। दोस्रो महत्त्वपूर्ण कुरा, तपाईंसित भन्‍न लायकको केही हुनै पर्छ। व्यक्‍तिगत बाइबल पढ्‌ने र अध्ययन गर्ने नियमित तालिका छ भने अरूसित बाँड्‌न सक्ने थुप्रै कुरा हुन्छ। दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिका सदुपयोग गरेर पनि कुराकानी सुरु गर्न सक्छौं। प्रचारमा सायद राम्रो अनुभव बटुलेका छौं होला। कुनै जानकारीमूलक वा हाँसउठ्‌दो कुरा पढेका थियौं होला। परिवारमा कुराकानी गर्दा यस्ता कुरा सुनाउने बानी बसाल्नुहोस्‌। यसले गर्दा परिवारबाहिरका मानिसहरूसित कुराकानी गर्न मदत पाउन सक्नुहुन्छ।

नौलो व्यक्‍तिसित कुरा गर्दा

नौलो व्यक्‍तिसित कुराकानी थाल्न थुप्रै हिचकिचाउँछन्‌। तर परमेश्‍वर र छिमेकीप्रतिको प्रेमले गर्दा यहोवाका साक्षीहरू बाइबल सत्य अरूलाई बताउन कसरी कुराकानी गर्ने भनेर सिक्न अथक प्रयास गर्छन्‌। यस सन्दर्भमा तपाईं कसरी प्रगति गर्न सक्नुहुन्छ?

फिलिप्पी २:४ को सिद्धान्त महत्त्वपूर्ण छ। हामीलाई “आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान” दिन प्रोत्साहन दिइएको छ। यसबारे यसरी सोच्नुहोस्‌: पहिला कहिल्यै नभेटेको मानिसको लागि तपाईं नौलो व्यक्‍ति हुनुहुन्छ। तिनलाई तपाईं कसरी सजिलो महसुस गराउन सक्नुहुन्छ? मुसुक्क हाँसेर अनि मित्रैलो अभिवादन गरेर। तर त्यतिले मात्र पुग्दैन।

तिनी केही सोचिरहेका थिए होलान्‌ तर तपाईंले कुरा थाल्दा तिनको ध्यान भङ्‌ग भएको हुन सक्छ। तिनी के सोच्दैछन्‌ भनेर वास्तै नगरी आफ्नो कुरा मात्रै राख्नुभयो भने के तिनले तपाईंको कुरा सुन्लान्‌? सामरियाको इनारमा एउटी स्त्रीलाई भेट्‌दा येशूले के गर्नुभयो? ती स्त्री एकसुरले पानी भर्नेबारे सोचिरहेकी थिइन्‌। पानीकै विषय उठाएर येशूले कुराकानी थाल्नुभयो र छिट्टै नै त्यो कुराकानी अघि बढाएर जीवन्त आध्यात्मिक छलफल गर्नुभयो।—यूह. ४:७-२६.

नियालेर हेर्ने बानी छ भने मानिसहरू के सोच्दैछन्‌, थाह पाउन सक्नुहुन्छ। तिनी खुसी देखिन्छन्‌ वा दुःखी? तिनी उमेर ढल्किसकेका र सायद अशक्‍त नै छन्‌ कि? घरमा केटाकेटी भएको कुनै प्रमाण देख्नुभयो कि? उक्‍त व्यक्‍ति सम्पन्‍न देखिन्छन्‌ वा गुजारा चलाउन हाडछाला घोट्‌नुपर्ने जस्ता देखिन्छन्‌? घरको साजसज्जाले वा घरधनीको सिंगार र गर-गहनाले कुनै खास धर्म मान्‍ने व्यक्‍ति हुन्‌ भन्‍ने सङ्‌केत दिन्छ कि? अभिवादन गर्दा यस्ता कुरालाई पनि याद गर्नुभयो भने तपाईंहरू दुवैलाई चासो लाग्ने कुरा समान भएकोले तिनलाई तपाईंसित कुराकानी गर्न अप्ठ्यारो नलाग्न सक्छ।

घरधनीलाई प्रत्यक्ष भेटेर कुराकानी गर्न पाउनुभएन तर तिनी ढोकै नखोली भित्रैबाट कुराकानी गर्छन्‌ भने तपाईं कस्तो निष्कर्षमा पुग्नुहुन्छ? उक्‍त व्यक्‍तिलाई डर लागेको हुन सक्छ। त्यही विषयमा ढोकाबाहिरबाटै कुराकानी सुरु गर्न सक्नुहुन्छ कि?

कुनै-कुनै ठाउँमा आफ्नै बारेमा बताएर अर्थात्‌ आफ्नो पृष्ठभूमि, बाइबल अध्ययन गरेको कारण र बाइबलले तपाईंलाई कसरी मदत गरेको छ भन्‍ने कुरा बताएर तपाईं घरधनीलाई कुराकानीमा संलग्न गराउन सक्नुहुन्छ। (प्रेषि. २६:४-२३) यसको लागि तपाईंले समझशक्‍ति चलाउनुपर्छ र स्पष्ट उद्देश्‍य राखेको हुनुपर्छ। यसो गर्दा घरधनी पनि आफूबारे केही भन्‍न र आफ्नो विचार पोख्न सक्छन्‌।

कुनै-कुनै संस्कृतिमा नौला व्यक्‍तिलाई सत्कार गर्ने चलन छ। मानिसहरू नहिचकिचाई तपाईंलाई ‘भित्रै आउनुस्‌ न’ भन्‍न सक्छन्‌। घरधनीलाई परिवारको सन्चो बिसन्चो सोध्नुहोस्‌ र घरधनीको जवाफ राम्ररी सुन्‍नुहोस्‌। त्यसो गर्नुभयो भने तिनले पनि तपाईंको कुरा ध्यान दिएर सुन्‍नेछन्‌। अरू भने पाहुनालाई अझ धेरै चासो देखाउँछन्‌, त्यसैले अभिवादनपछि पनि लामो भूमिका बाँधिरहनुपर्ला। कुराकानी गर्दै जाँदा तिनीहरूसित तपाईंको केही कुरा मिल्दो रहेछ भनेर तिनीहरूले थाह पाउनेछन्‌। यसले राम्रो नतिजा प्राप्त हुनेगरि आध्यात्मिक छलफल सुरु गर्न मदत गर्नेछ।

तपाईंको इलाकामा अर्कै भाषा बोल्ने थुप्रै व्यक्‍ति छन्‌ भने नि? यस्ता व्यक्‍तिलाई तपाईं कसरी सुसमाचार सुनाउन सक्नुहुन्छ? तीमध्ये केही भाषामा अभिवादन गर्न मात्र सिक्नुभयो भने पनि तपाईंले तिनीहरूमा चासो लिनुहुँदो रहेछ भनेर बुझ्नेछन्‌। यसले थप कुराकानी गर्ने बाटो खुल्न सक्छ।

कुराकानी कसरी अगाडि बढाउने?

कुराकानीलाई अगाडि बढाउने हो भने अर्को व्यक्‍ति कस्तो विचार राख्छन्‌, त्यसमा चासो लिनुहोस्‌। तिनलाई आफ्नो विचार पोख्न प्रोत्साहन दिनुहोस्‌। राम्ररी सोचेर प्रश्‍न सोध्नुभयो भने मदत पुग्छ। विचार बुझ्ने प्रश्‍न सोध्नु सबैभन्दा बेस हो। त्यस्तो प्रश्‍नले हो वा होइन भनेर जवाफ दिने मात्र नभई त्यसभन्दा बढी जवाफको माग गर्छ। उदाहरणका लागि त्यस इलाकाका मानिसहरूलाई पिरोलिरहेको कुनै समस्या बताएपछि यसरी सोध्नुहोस्‌: “तपाईंको विचारमा यस्तो समस्या किन भयो होला?” अथवा “यस समस्याको समाधान के होला?”

कुनै प्रश्‍न सोधेपछि त्यसको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌। केही भनेर, शिर हल्लाएर, हावभावबाट तपाईं साँच्चै चासो लिनुहुन्छ भन्‍ने देखाउनुहोस्‌। बीचैमा कुरा नकाट्‌नुहोस्‌। तिनले भनेको कुरा खुल्ला दिमागले सोच्नुहोस्‌। “चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।” (याकू. १:१९) तपाईंको बोल्ने पालोमा घरधनीको कुरा तपाईंले साँच्चै सुनिरहनुभएको थियो भनेर देखाउनुहोस्‌।

तर याद गर्नुहोस्‌, हरेक व्यक्‍तिले तपाईंले सोधेको प्रश्‍नको जवाफ दिंदैन। प्रश्‍न सोध्दा कोही आँखीभौं खुम्च्याउँछन्‌ वा कोही भने मुस्कुराउँछन्‌। अरूचाहिं हो वा होइन भन्‍ने जवाफ मात्र दिन्छन्‌। झर्को नमान्‍नुहोस्‌। धैर्य गर्नुहोस्‌। जबरजस्ती कुरा गर्न नखोज्नुहोस्‌। घरधनी सुन्‍न इच्छुक छन्‌ भने बाइबलबाट उत्थानदायी कुराहरू छलफल गर्नुहोस्‌। समय बित्दै जाँदा तपाईंलाई उक्‍त व्यक्‍तिले साथी ठान्‍न सक्छन्‌। त्यसपछि तिनलाई आफ्नो विचार पोख्न सजिलो लाग्ला।

फेरि भेट्‌न जाने उद्देश्‍य राखेर मानिसहरूसित कुराकानी गर्नुहोस्‌। कसैले थुप्रै प्रश्‍न सोधे भने कुनै-कुनैको जवाफ दिनुहोस्‌ तर एक दुइटा प्रश्‍नको जवाफ अर्को पटक दिनुहोस्‌। अनुसन्धान गर्छु भन्‍नुहोस्‌ र प्राप्त नतिजा तिनलाई बताउनुहोस्‌। प्रश्‍न सोधेका छैनन्‌ भने उक्‍त व्यक्‍तिलाई चासो लाग्न सक्ने प्रश्‍न सोधेर तपाईं कुराकानी टुङ्‌ग्याउन सक्नुहुन्छ। अर्को पटक यस प्रश्‍नको जवाफ छलफल गर्ने कुरा बताउनुहोस्‌। धर्मशास्त्रबाट तर्क गर्ने (अङ्‌ग्रेजी), हालसालैका प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकामा जानकारीको भण्डारै पाउन सक्नुहुन्छ।

भाइबहिनीसित कुराकानी गर्दा

तपाईं कुनै यहोवाका साक्षीलाई पहिलो पटक भेट्‌दै हुनुहुन्छ भने चिनजान गर्न अघि सर्नुहुन्छ? वा मूर्तिजस्तै ठिङ्‌ग उभिरहनुहुन्छ? सँगी विश्‍वासीलाई राम्ररी चिन्‍न तिनीहरूप्रतिको प्रेमले हामीलाई उत्प्रेरित गराउनुपर्छ। (यूह. १३:३५) तपाईं कुराकानी कसरी सुरु गर्न सक्नुहुन्छ? आफ्नो नाम भन्‍नुहोस्‌ र उक्‍त साक्षीको नाम पनि सोध्नुहोस्‌। तिनले कसरी बाइबल सत्य सिके भनेर सोध्दा रमाइलो कुराकानी गर्न सकिन्छ र आपसमा चिनजान बढाउन मदत पुग्छ। सोचेजस्तै फरर्र कुरा गर्न नसके तापनि कुराकानी गर्न तपाईंले प्रयास गरेको देखेर तपाईं तिनको ख्याल गर्नुहुन्छ भनेर देखिन्छ। यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

मण्डलीका भाइबहिनीसित तपाईं कसरी अर्थपूर्ण कुराकानी गर्न सक्नुहुन्छ? तिनी र तिनको परिवारप्रति निष्कपट चासो राख्नुहोस्‌। सभा भर्खरै सकिएको हो? हो भने सभामा तपाईंलाई मदतकारी लागेको बुँदाबारे कुरा गर्नुहोस्‌। यसो गर्दा दुवैलाई फाइदा पुग्छ। हालैका प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिकाबाट केही रोचक बुँदा बताउन सक्नुहुन्छ। तर फूर्ति देखाउन अथवा अरूको जाँच गर्न यसो नगर्नुहोस्‌। बरु आफूलाई सबैभन्दा मन परेको बुँदा बाँड्‌नुहोस्‌। तपाईंमध्ये कसैको ईश्‍वरतान्त्रिक सेवा स्कूलमा भाग छ भने त्यसलाई कसरी प्रस्तुत गर्ने भनेर कुरा गर्न सक्नुहुन्छ। प्रचारमा बटुलेको अनुभव पनि बताउन सक्नुहुन्छ।

मानिसहरूप्रति चासो राख्ने भएकोले नै हामी मानिसहरू के भन्छन्‌ र के गर्छन्‌ भन्‍ने विषयमा कुराकानी गर्छौं। रमाइलो लाग्ने, हँसाउने कुरा पनि कहिलेकाहीं गर्नुहोस्‌। हामीले भन्‍ने कुरा उत्थानदायी छ? परमेश्‍वरको वचनको सल्लाह पालन गर्छौं र हामी पनि परमेश्‍वरको जस्तै प्रेमले उत्प्रेरित छौं भने हाम्रो बोली उत्थानदायी नहुने त कुरै छैन।—हितो. १६:२७, २८; एफि. ४:२५, २९; ५:३, ४; याकू. १:२६.

प्रचार जानुअघि हामी तयारी गर्छौं। सँगै जाने साथीहरूसित बाँड्‌न सकिने छोटामीठा, रसिला कुरा गर्न तयारी गरे कसो होला? चाखलाग्दो कुरा पढ्‌नुभयो वा सुन्‍नुभयो भने अरूसित तपाईंले बाँड्‌न चाहने बुँदाहरू याद गर्नुहोस्‌। समय बित्दै जाँदा कुराकानी गर्न तपाईंसित थुप्रै बुँदा होलान्‌। यसो गर्दा दैनिक जीवनका विषयमा मात्र होइन तपाईं त्योभन्दा पनि धेरै विषयमा कुरा गर्न सक्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरको वचन तपाईंको लागि कत्तिको अनमोल छ भन्‍ने प्रमाण तपाईंको बोलीबाट देखियोस्‌।—भज. १३९:१७.

कुराकानी सुरु गर्न

  • स्थानीय चलन याद गर्नुहोस्‌

  • निष्कपट भएर प्रशंसा गर्नुहोस्‌

  • दुवैको समान रुचि के हो, पत्ता लगाउनुहोस्‌

  • विचार बुझ्ने प्रश्‍न गर्नुहोस्‌

यस्ता गुणले मदत गर्छन्‌

  • हँसिलो स्वभाव

  • न्यानोपन र निष्कपटता

  • ठिक्क मात्राको व्यक्‍तिगत चासो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने