प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be study २ p. ८६-p. ८८ par. ३
  • प्रस्ट बोली

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रस्ट बोली
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • जिब्रोको सदुपयोग गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • “उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • ‘बोलीको सन्दर्भमा उदाहरण बन्‍नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • १२. “उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be study २ p. ८६-p. ८८ par. ३

अध्याय २

प्रस्ट बोली

तपाईंले के गर्नुपर्छ?

श्रोताले सजिलै बुझ्न सक्नेगरि बोल्नुपर्छ। यसमा (१) बोल्न मदत गर्ने अङ्‌गको सही प्रयोग गर्नु र (२) शब्दको बनौट बुझ्नु समावेश छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

प्रस्टसित बोल्दा तपाईंले भनेका कुरा अरूले बुझ्न सक्छन्‌। प्रस्टसित बोलेका छौं भने उक्‍त कुरालाई श्रोताले महत्त्वपूर्ण ठान्छन्‌।

प्रभावकारी ढङ्‌गमा कुराकानी गर्न तपाईंले प्रस्टसित नबोली हुँदैन। तपाईंले भन्‍ने कुरा रोचक होला वा महत्त्वपूर्ण पनि होला तर तपाईंको बोली प्रस्ट छैन भने त्यसको केही महत्त्व हुँदैन।

बोलिएको कुरा बुझिएन भने मानिसहरू उत्प्रेरित हुँदैनन्‌। कुनै व्यक्‍तिको आवाज ठूलो भएकोले उसको बोली टाढैसम्म सुन्‍न सकिएला तर बोली प्रस्ट छैन भने अरू उत्प्रेरित हुन सक्दैनन्‌। उसले नबुझ्ने भाषामा बोलिरहेको जस्तै हुन्छ, श्रोताले बुझ्नै सक्दैनन्‌। (यर्मि. ५:१५) बाइबल हामीलाई यसरी सम्झाउँछ: “बिगुलले प्रस्ट आवाज दिएन भने युद्धको निम्ति को तयार होला? त्यसैगरि, तिमीहरूको जिब्रोले पनि सजिलै बुझ्न नसकिने बोली बोल्यो भने के बोलेको हो कसरी थाह पाउने? वास्तवमा, तिमीहरू हावामा बोलिरहेका हुनेछौ।”—१ कोरि. १४:८, ९.

के कारणले बोली प्रस्ट हुँदैन? चाहिने जति मुख खोलेन भने बोली प्रस्ट हुँदैन। बङ्‌गाराको मांसपेशी कक्रक्क पारिएको छ र ओठ थोरै मात्र चलाइएको छ भने शब्द चपाएर बोलेको जस्तै सुनिन्छ।

छिटो-छिटो बोल्दा पनि बुझ्न गाह्रो हुन्छ। त्यसो गर्नु भनेको रेकर्ड गरिएको कुनै भाषण छिटो बजाएको जस्तो हो। शब्द सुन्‍न त सुनिन्छ, तर अर्थ न बर्थको हुन्छ।

बोल्न मदत गर्ने अङ्‌गहरूमा केही खराबी छन्‌ भने पनि कहिलेकाहीं बोली प्रस्ट नहुन सक्छ। त्यस्ता समस्या भएकाहरूले पनि यस अध्यायमा दिइएका सल्लाह लागू गरेर सुधार गर्न सक्छन्‌।

अक्सर शब्दहरूबीच आवश्‍यक विराम नगरी एकसाथ उच्चारण गर्दा पनि बोली बुझिंदैन। कुनै अक्षरलाई, वर्णलाई वा शब्दको अन्तको भागलाई त्यति ध्यान नदिंदा यस्तो समस्या हुन्छ। कसैले याद नगरी शब्दहरू जोडेर बोलेका छन्‌ भने व्यक्‍त गरिएका विचार र वाक्यांश श्रोताले केही हदसम्म त बुझ्लान्‌ तर अधिकांश भाग भने अनुमानको भरमा बुझ्नुपर्ने हुन्छ। त्यसैले प्रस्टसित उच्चारण नगर्दा प्रभावकारी ढङ्‌गमा सिकाउन सकिंदैन।

प्रस्टसित बोल्ने तरिका: प्रस्टसित बोल्न तपाईंको भाषामा शब्द कसरी बन्छ त्यो बुझ्नुपर्छ। नेपालीलगायत धेरैजसो भाषामा अक्षर(हरू) मिलेर शब्द बन्छ। अक्षर एक वा दुईवटा वर्ण मिलेर बनेको हुन्छ र एउटा अक्षरलाई एउटा एकाइको रूपमा उच्चारण गरिन्छ। यी भाषामा बोल्दा प्रायः हरेक अक्षरको उच्चारण गरिन्छ। तर कुनैमा थोरै त कुनैमा धेरै जोड दिएर उच्चारण गरिन्छ। बोली प्रस्ट बनाउन चाहनुहुन्छ भने बिस्तारै पढ्‌नुहोस्‌ र हरेक अक्षर उच्चारण गर्न सक्दो गर्नुहोस्‌। सुरुमा शब्द उच्चारण गर्दा त तपाईंलाई चाहिनेभन्दा पनि धेरै प्रस्टसित बोलेको जस्तो लाग्ला तर अभ्यास गर्दै जाँदा तपाईंको बोली बिस्तारै स्वाभाविक सुनिन थाल्छ। सरर्र पढ्‌दा तपाईं पक्कै पनि शब्द-शब्दबीच थोरै विराम गर्नुहुन्छ वा विरामै नगरी पढ्‌नुहुन्छ होला तर शब्दको भाव नै प्रस्ट हुँदैन भने त्यसरी नपढ्‌नुहोस्‌।

ध्यान दिनुपर्ने कुरा: शब्दको उच्चारण प्रस्टसित गर्न चाहिनेभन्दा पनि धेरै प्रस्टसित बोल्ने वा पढ्‌ने गर्नुहोस्‌। तर यसलाई बानी नै भने बनाउनुहुँदैन। अन्यथा तपाईंले स्वाङ पारेर बोलेको जस्तो हुन्छ वा तपाईंको बोली अस्वाभाविक सुनिन्छ।

तपाईंले बोल्दा शब्द चपाएर बोलेको जस्तो सुनिन्छ भने शिर अलि ठाडो पार्नुहोस्‌। बाइबलबाट पढ्‌दै हुनुहुन्छ भने बाइबललाई अलि उठाएर पढ्‌नुहोस्‌। यसरी पढ्‌दा पुस्तकबाट आँखा उठाउनेबित्तिकै श्रोतालाई देख्न सक्ने हुनुपर्छ। यसो गर्दा आवाज सजिलै निस्कन्छ।

तनाव कम गर्न सिक्दा पनि बोलीमा सुधार आउँछ। अनुहारको मांसपेशीलाई वा तपाईंले श्‍वास-प्रश्‍वास नियन्त्रण गर्ने मांसपेशीलाई खुकुलो पार्नुभएको छैन भने यसले आवाज निस्कने प्रक्रियालाई असर गर्छ। यी मांसपेशीलाई खुकुलो गरेनौं भने दिमाग, बोल्न मदत गर्ने अङ्‌ग र श्‍वास-प्रश्‍वासबीच तालमेल हुँदैन र बोली पनि अस्पष्ट हुनुका साथै अस्वाभाविक सुनिन्छ।

दिमागबाट आउने निर्देशन सहजै स्वीकार्न बङ्‌गाराको मांसपेशीमा तनाव हुनुहुँदैन। ओठ पनि तनावमुक्‍त हुनुपर्छ। मुख र घाँटीबाट आवाज निकाल्न बङ्‌गारा र ओठका मांसपेशी तुरुन्तै तन्कनुपर्छ, खुम्चनुपर्छ। बङ्‌गारा र ओठमा तनाव छ भने मुख राम्ररी खोलिंदैन र आवाज दाँतको बीचबाट निस्कन पुग्छ। यसले गर्दा शब्द चपाएर बोलेको जस्तै सुनिन्छ, बोली प्रस्ट हुँदैन। तर बङ्‌गारा र ओठ तनावमुक्‍त पार्ने कोसिस गर्नुको अर्थ उच्चारणमा ध्यानै नदिनु भनेको होइन। बरु यसको तालमेल आवाज निकाल्ने प्रक्रियासित मिलायौं भने हाम्रो बोली प्रस्ट हुन्छ।

आफ्नो बोली कस्तो छ, पत्ता लगाउन ठूलो स्वरले पढ्‌नु मदतकारी हुन्छ। बोल्न मदत गर्ने यी अचम्मलाग्दा अङ्‌गलाई तपाईं कसरी प्रयोग गर्नुहुन्छ, याद गर्नुहोस्‌। कुनै बाधाविना शब्द वा आवाज निकाल्न के तपाईं आफ्नो मुख आवश्‍यक मात्रामा खोल्नुहुन्छ? नबिर्सनुहोस्‌, जिब्रो अरू अङ्‌गको तुलनामा धेरै चलाइने भए तापनि बोल्न मदत गर्ने अङ्‌ग यही मात्र होइन। घाँटी, तल्लो बङ्‌गारा, ओठ, अनुहारको मांसपेशी र घाँटीभित्रका मांसपेशी सबै बोल्न मदत गर्ने अङ्‌ग हुन्‌। बोल्दा के तपाईं अनुहारको मांसपेशी नचलाईकनै बोल्नुहुन्छ? त्यसो हो भने तपाईंको बोली प्रस्ट नहुने सम्भावना धेरै हुन्छ।

तपाईंसँग रेकर्ड गर्ने साधन छ भने प्रचार गर्दा कुराकानी गरेको जस्तैगरि बोलेर आफ्नो आवाज केही मिनेट रेकर्ड गर्नुहोस्‌। रेकर्ड गरिएको आवाज सुनेर तपाईंले प्रस्टसित उच्चारण गर्न नसकेका अक्षर वा शब्द चिन्‍न सक्नुहुन्छ। कुन-कुन बेला छिटो-छिटो बोलेर अक्षर खाइदिनुभयो, मुख नखोली शब्द चपाएर बोल्नुभयो वा शब्द नै छुटाउनुभयो, याद गर्नुहोस्‌ र कारण पत्ता लगाउनुहोस्‌। साधारणतया यस्ता कमजोरी माथि दिइएका सुझाव लागू गरेर सुधार्न सकिन्छ।

के तपाईंको बोलीमा कुनै समस्या छ? छ भने मुख अझै खोल्ने प्रयास गर्नुहोस्‌ र अझै ध्यान दिएर उच्चारण गर्ने कोसिस गर्नुहोस्‌। लामो सास तान्‍नुहोस्‌ र त्यसपछि बिस्तारै बोल्नुहोस्‌। यसो गर्दा बोलीमा समस्या भएका थुप्रैलाई प्रस्टसित बोल्न मदत पुगेको छ। तपाईं तोते बोली बोल्नुहुन्छ भने ‘र’ अक्षर उच्चारण गर्दा दाँतमा जिब्रोले नछुनुहोस्‌। तपाईंको समस्या पूर्णतया समाधान नभए तापनि हरेस नखानुहोस्‌। नबिर्सनुहोस्‌, इस्राएलीहरूकहाँ र मिश्रका फिरऊनकहाँ महत्त्वपूर्ण सन्देश पुऱ्‍याउन यहोवाले बोलीमा समस्या भएका मोशालाई नै छान्‍नुभयो। (प्रस्थ. ४:१०-१२) तपाईं इच्छुक हुनुहुन्छ भने यहोवाले तपाईंलाई पनि प्रयोग गर्नुहुन्छ र तपाईंलाई प्रचारमा सफल हुन मदत गर्नुहुन्छ।

यसो कसरी गर्न सकिन्छ?

  • पढ्‌दा र बोल्दा प्रत्येक शब्दलाई ठिक्कको आवाज र ठिक्कको गतिमा सही तरिकाले उच्चारण गर्नुहोस्‌।

  • श्रोताले अर्थ नबुझ्नेगरि शब्दहरूबीच आवश्‍यक विराम नगरी एकसाथ उच्चारण नगर्नुहोस्‌।

  • शिर ठाडो पार्नुहोस्‌ र आवश्‍यक मात्रामा मुख खोलेर बोल्नुहोस्‌।

  • घाँटी, बङ्‌गारा, ओठ, अनुहारको मांसपेशी र घाँटीभित्रका मांसपेशीलाई तनावमुक्‍त बनाउने बानी गर्नुहोस्‌।

अभ्यास गर्नुहोस्‌:- प्राय कुराकानी गर्दा जसरी बोल्नुहुन्छ, त्यसरी नै बोल्नुहोस्‌। बोल्दा तपाईं कति मुख खोल्नुहुन्छ? अझै खोल्नुपर्ने हो कि? अनुहारका मांसपेशीहरूलाई अझै चलाउनुपर्ने पो हो कि? यी सुझाव लागू गर्दै मत्ती ८:२३-२७ ठूलो स्वर निकालेर पढ्‌नुहोस्‌। शिर ठाडो पार्न र बङ्‌गाराको मांसपेशीहरू खुकुलो पार्न नबिर्सनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने