अध्याय २९
गुणस्तरीय आवाज
के भनिन्छ त्यसले मात्र होइन, कसरी भनिन्छ त्यसले पनि मानिसहरूलाई धेरै असर गर्छ। तपाईंसित कुरा गर्ने व्यक्तिको आवाज रूखो वा कठोर छ भने सुन्नै मन लाग्दैन तर आवाज मीठो, न्यानो, मित्रैलो र दयालु छ भने सुनूँ-सुनूँ लाग्छ नि, होइन र?
आवाज गुणस्तरीय बनाउन ध्वनि अङ्गले आवाज निकालेर मात्र पुग्दैन। व्यक्तित्वले पनि त्यसमा असर पार्छ। कुनै व्यक्तिले बाइबल सत्य सिक्दै जाँदा र त्यो ज्ञान लागू गर्दै जाँदा तिनले गरेका परिवर्तन कुराकानीमा देखिन्छ। प्रेम, आनन्द र दयाजस्ता ईश्वरीय गुण तिनको आवाजमा झल्किन्छ। (गला. ५:२२, २३) तिनले अरूप्रति साँच्चै चासो देखाइरहेका हुन् कि होइनन्, तिनको आवाजबाट प्रस्ट हुन्छ। गनगनाउने बानी त्यागेर कृतज्ञता देखाउने बानी बसालेको कुरा पनि तिनको बोली र तिनले व्यक्त गरेको भावमा झल्किन्छ। (विला. ३:३९-४२; १ तिमो. १:१२; यहू. १६) कसैले बोलेको भाषा तपाईं बुझ्नुहुन्न भने पनि तिनको आवाजबाट तिनी घमन्डी, असहिष्णु, गनगने र कठोर छन् कि नम्र, धैर्य, दयालु र मायालु छन्, तपाईं सजिलै छुट्ट्याउन सक्नुहुन्छ।
कहिलेकाहीं रोग बिमारले गर्दा स्वरयन्त्रमा समस्या भएकोले वा वंशाणुगतरूपमा नै केही खराबी भएकोले आवाजको गुणस्तर नराम्रो हुन सक्छ। त्यस्तो समस्या अहिलेको संसारमा पूर्णतया निको पार्न नसकिने गम्भीर किसिमको पनि हुन सक्छ। तर साधारणतया बोल्न मदत गर्ने अङ्गहरू ठीकसित प्रयोग गर्न सिक्दा निकै प्रगति गर्न सकिन्छ।
संसारका हरेक मानिसको आवाजको आ-आफ्नै विशेषता हुन्छ भनी मानिलिनुहोस्। अरूको नक्कल गरेर बोल्न नखोज्नुहोस्। तपाईंको आवाजको पनि आफ्नै विशेषता भएकोले त्यसको गुणस्तर बढाउने प्रयास गर्नुहोस्। तपाईं आफ्नो आवाजलाई कसरी सुमधुर बनाउन सक्नुहुन्छ? यसका लागि दुइटा महत्त्वपूर्ण कदम चाल्नुपर्छ।
ठीकसित सास फेर्नुहोस्। आवाजको गुणस्तर बढाउन लामो सास तान्नुपर्छ र ठीकसित सास फेर्नुपर्छ। यसो गर्नुभएन भने आवाज कमजोर सुनिन्छ र प्रस्तुति अड्कीअड्की दिएको जस्तो सुनिन्छ।
कुम चौडा भएकोले फोक्सोको माथिल्लो भाग ठूलो देखिन्छ तर वास्तवमा फोक्सोको ठूलो भाग डायफ्रामको ठीक माथि पर्छ। डायफ्राम तल्लो लहरको करङभित्र पर्छ र यसले छाती र पेटलाई छुट्ट्याउँछ।
सास अलिकति मात्र तान्नुभयो भने सास फुल्छ। तपाईंको आवाज सशक्त सुनिंदैन र तपाईंलाई छिट्टै थकाइ लाग्नेछ। ठीकसित सास फेर्न छाती तन्काएर सीधा उभिनुपर्छ वा सीधा बस्नुपर्छ। कुरा गर्दा सास अलिकति मात्र तान्ने बानी छुटाउन अथक प्रयास गर्नुहोस्। पहिला लामो सास तान्नुहोस्। यसरी लामो सास तान्दा तल्लो करङ दायाँ-बायाँ फैलिन्छ। त्यति नै बेला डायफ्रामले तलतिर रहेको पेट र आन्द्रालाई बिस्तारै थिच्छ र तपाईंको कम्मरपेटी वा कम्मरमा भएको अरू लुगा कस्सिएको महसुस गर्नुहुन्छ। फोक्सो पेटमा होइन करङको बीचमा हुन्छ। आफै जाँच्न चाहनुहुन्छ भने सबैभन्दा तल्लो करङमा दायाँ-बायाँ आफ्नो हात राख्नुहोस्। अब लामो सास लिनुहोस्। ठीकसित सास फेर्दै हुनुहुन्छ भने तपाईंको पेट भित्र गइरहेको र तपाईंले कुम तन्काइरहेको हुँदैन। बरु करङ बिस्तारै-बिस्तारै माथि उठेको र तल झरेको महसुस गर्नुहुन्छ।
त्यसपछि सास फ्याँक्ने अभ्यास गर्नुहोस्। एकैचोटि सास फ्याँक्ने नगर्नुहोस्। बिस्तारै सास फ्याँक्नुहोस्। यसरी सास फ्याँक्दा मांसपेशी कडा नबनाउनुहोस्। घाँटीको मांसपेशी कडा भयो भने तपाईंको आवाज काँपेको जस्तै सुनिन्छ वा चाहिनेभन्दा बढी तीखो हुन्छ। पेटका मांसपेशीहरू र करङबीचमा भएका मांसपेशीहरूको (इन्टरकोस्टल मसल्स्) दबाबले गर्दा सास बाहिर निस्कन्छ। डायफ्रामले चाहिं सास फ्याँक्ने गति निर्धारण गर्छ।
धावकले दौडको लागि तालिम लिएझैं वक्ताले पनि अभ्यास गरेर ठीकसित सास फेर्न सिक्नुपर्छ। छाती फुलाएर सीधै उभिनुहोस्, लामो सास तान्नुहोस् र बिस्तारै सास फ्याँक्दै जतिसम्म सक्नुहुन्छ त्यति गन्ती गर्नुहोस्। त्यसपछि त्यसरी नै सास फेर्दै पढ्ने अभ्यास गर्नुहोस्।
कडा मांसपेशीलाई खुकुलो पार्नुहोस्। आवाजको गुणस्तर राम्रो बनाउन तनावमुक्त हुनु पनि आवश्यक छ। बोल्ने बेला तनावमुक्त हुनुभयो भने तपाईं प्रगति गर्न सक्नुहुन्छ। यस्तो प्रगति देखेर तपाईं आफै दङ्ग पर्नुहुनेछ। शरीरका साथसाथै दिमाग पनि तनावमुक्त बनाउनुपर्छ किनभने मानसिक तनाव भयो भने मांसपेशीहरूमा पनि तनाव हुन्छ।
श्रोताप्रति सही दृष्टिकोण राखेर तनावमुक्त हुनुहोस्। तपाईंले बाइबल अध्ययन गरिरहेको केही महिना मात्र भएको छ भने पनि यहोवाको उद्देश्यसित सम्बन्धित अमूल्य कुरा तपाईंलाई थाह छ। तपाईंले प्रचारमा मानिसहरूलाई बाँड्ने जानकारी त्यही हो। मानिसहरूलाई थाह होस् वा नहोस् उनीहरूलाई मदत चाहिएकोले नै तपाईं उनीहरूलाई भेट्न जानुभएको हो। अर्कोतर्फ राज्यभवनमा बोल्दै हुनुहुन्छ भने धेरैजसो श्रोता यहोवाका साक्षी नै हुन्। उनीहरू तपाईंका साथी हुन् र तपाईं सफल भएको चाहन्छन्। यस्तो मित्रैलो र मायालु श्रोतासामु नियमित रूपमा बोल्ने मौका संसारमा अरू कसले पाएको छ र?
घाँटीका मांसपेशीलाई तनावमुक्त बनाउन त्यसमा ध्यान दिनुहोस् र ती मांसपेशीहरूको तनाव कम गर्ने कोसिस गर्नुहोस्। स्वरचिम्टीमा सास पसेपछि त्यसमा कम्पन हुन्छ भन्ने कुरा याद गर्नुहोस्। जसरी गीतार वा सारङ्गीको तारलाई कस्दा त्यसबाट निस्कने धुन फरक हुन्छ, त्यसरी नै घाँटीका मांसपेशी कडा वा खुकुलो पार्दा त्यसबाट निस्कने आवाजको भावमा पनि परिवर्तन आउँछ। स्वरचिम्टीलाई खुकुलो पार्दा आवाज मधुरो वा मसिनो हुन्छ। घाँटीका मांसपेशी खुकुलो पार्दा त्यसले तपाईंका नाकको पोराहरू खुला हुन मदत गर्छ र तपाईंको आवाजको गुणस्तरमा पक्कै पनि असर गर्छ।
पूरै शरीर—तपाईंका घुँडा, हात, कुम र घाँटी तनावमुक्त पार्नुहोस्। यसो गर्दा त्यस्तो कम्पन र गुन्जन पैदा गर्छ जसले गर्दा तपाईंको आवाज टाढा-टाढासम्म पुग्न सक्छ। कम्पन र गुन्जन तब पैदा हुन्छ जब पूरै शरीरले आवाजलाई एकदमै छिटो बढाउने काम गर्छ। तर यसलाई तनावले बाधा पुऱ्याउँछ। स्वरयन्त्रबाट निस्कने आवाजको भाव नाकको पोराहरूमा मात्र होइन तर छातीका हड्डीहरू भएको भाग, दाँत, मुखको तालु र अस्थिविवरमा घरीघरी प्रतिध्वनित हुन्छ। यी सबैले कम्पन कत्तिको हुन्छ भन्ने कुरामा असर गर्छ। गीतारको प्वाल भएको काठको भागमाथि केही चीज राख्नुभयो आवाज दबिन्छ किनभने राम्ररी आवाज निस्कनको लागि त्यो भाग राम्ररी कम्पन हुन सक्नुपर्छ। शरीरको हड्डी भएको भागमा पनि यही कुरा लागू हुन्छ। ती भागलाई मांसपेशीहरूले बेसरी कसेको हुन्छ। कम्पन गरेर तपाईं आफ्नो आवाज थपघट गर्न सक्नुहुन्छ र स्वरबाट विभिन्न भाव राम्ररी व्यक्त गर्न सक्नुहुन्छ। घोक्रो नसुकाई तपाईं थुप्रै श्रोताले सुन्नेगरि बोल्न सक्नुहुन्छ।