अध्याय ३२
विश्वस्त भएर बोल्नुहोस्
विश्वस्त भएर बोल्ने व्यक्ति आफूले भनिरहेको कुरामा एकदमै विश्वास गर्छन् भनेर अरूले थाह पाउँछन्। प्रचारमा पनि प्रेषित पावलको यस्तै विश्वस्तता प्रस्टै झल्किन्थ्यो। थिस्सलोनिकाका सँगी विश्वासीहरूलाई तिनले यस्तो लेखे: “हामीले प्रचार गरेको सुसमाचार तिमीहरूमाझ बोलीमा मात्र सीमित रहेन तर . . . त्यो सुसमाचारले तिमीहरूलाई पूर्णतया विश्वस्त तुल्यायो।” (१ थिस्स. १:५) पावलको बोली अनि जीवनशैली दुवैमा तिनको विश्वस्तता झल्कियो। बाइबल सत्य प्रस्तुत गर्ने तरिकामा पनि हाम्रो पूर्ण विश्वस्तता प्रस्टै देखिनुपर्छ।
विश्वस्त भएर बोल्नु भनेको पूर्वाग्रही हुनु, अड्डी कस्नु वा घमन्डी हुनु होइन। विश्वस्त व्यक्तिले परमेश्वरको वचनमा भएका कुराहरू बताउँदा त्यसमा बलियो विश्वास झल्काउँदै बोल्छन्।—हिब्रू ११:१.
विश्वस्तता व्यक्त गर्ने मौका: प्रचार गर्दा विश्वस्त भएर बोल्नु महत्त्वपूर्ण छ। मानिसहरू अक्सर तपाईंको सन्देशमा मात्र होइन तर तपाईंको बोल्ने शैलीमा पनि ध्यान दिन्छन्। तपाईंले भनिरहेको कुरामा तपाईं विश्वास गर्नुहुन्छ कि गर्नुहुन्न, त्यो तिनीहरूले पत्ता लगाउन सक्छन्। तपाईंले बताउने कुरा अत्यन्तै जरुरी छ भनेर तपाईंले प्रयोग गर्ने शब्दले भन्दा पनि तपाईंको विश्वस्तताले प्रकट गर्छ।
सँगी भाइबहिनीसामु बोल्दा पनि तपाईंले विश्वस्तता झल्काउनुपर्छ। भाइबहिनीलाई “प्रोत्साहन दिन अनि परमेश्वरको साँचो असीम अनुग्रहको सत्य साक्षी दिन” प्रेषित पत्रुसले परमेश्वरको प्रेरणा पाएर पहिलो पत्र लेखे। उक्त पत्रमा तिनले “असीम अनुग्रहलाई बलियो गरी पक्रिराख्न” भाइबहिनीलाई आग्रह गरे। (१ पत्रु. ५:१२) रोमको मण्डलीलाई पत्र लेख्दा प्रेषित पावलले व्यक्त गरेको विश्वस्तताले गर्दा तिनीहरूले लाभ उठाउन सके। तिनले यस्तो लेखे: “म विश्वस्त छु, न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न सरकारहरूले, न अहिले यहाँ भएका न त पछि आउने कुराहरूले, न शक्तिले, न उचाइले, न गहिराइले, न त अरू कुनै सृष्टिले हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत व्यक्त भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न सक्नेछ।” (रोमी ८:३८, ३९) पावलले अरूलाई प्रचार गर्नुपर्ने आवश्यकताबारे पनि जोरदार ढङ्गमा लेखे। प्रचार गर्नुलाई तिनी महत्त्वपूर्ण ठान्थे भन्ने कुरा तिनको जोसबाट देखियो। (प्रेषि. २०:१८-२१; रोमी १०:९, १३-१५) आज पनि एल्डरहरूले परमेश्वरको वचनबाट सिकाउने बेला त्यस्तै विश्वस्तता झल्काउनुपर्छ।
अध्ययनको दौडान होस् वा अरू बेला होस्, छोराछोरीसित आध्यात्मिक विषयमा छलफल गर्दा आमाबाबु विश्वस्त भई बोल्नुपर्छ। यसरी बोल्न आमाबाबुले मनदेखि नै परमेश्वर र उहाँको मार्गलाई प्रेम गरेको हुनुपर्छ। त्यसपछि मात्र तिनीहरूले छोराछोरीसित पूर्णतया विश्वस्त भई बोल्न सक्नेछन्, “किनकि मनमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।” (लूका ६:४५; व्यव. ६:५-७) यस्तो विश्वस्तताले आमाबाबुलाई “निष्कपट विश्वास” देखाउने सन्दर्भमा उदाहरण बसाल्न पनि उत्प्रेरित गर्नेछ।—२ तिमो. १:५.
कसैले तपाईंलाई तपाईंको विश्वासबारे सोध्यो भने विश्वस्त भई जवाफ दिनु अत्यन्तै महत्त्वपूर्ण छ। तपाईं कुनै खास पर्व किन मनाउनुहुन्न भनेर सहपाठी, शिक्षक-शिक्षिका वा सहकर्मीहरूले सोध्लान्। दृढ भएर राम्रो तर्क प्रस्तुत गर्नुभयो भने तिनीहरूले तपाईंको बाइबलआधारित विचारको कदर गर्न सक्छन्। तर कसैले तपाईंलाई गलत आचरणमा फसाउन खोज्यो भने नि? जस्तै:- बेइमानी गर्ने, लागूपदार्थ सेवन गर्ने वा अवैध यौनसम्बन्धमा संलग्न हुने प्रलोभन दिन्छ भने नि? यस्ता आचरणमा तपाईं संलग्न हुनै चाहनुहुन्न अनि जतिसुकै जोड गरे पनि तपाईंको विचार परिवर्तन हुनेछैन भनेर स्पष्ट पार्नु महत्त्वपूर्ण छ। यसैले त्यस्ता प्रस्तावलाई इन्कार गर्दा विश्वस्त भई बोल्नुपर्छ। पोतिफरकी पत्नीले राखेको अवैध यौनसम्बन्धको प्रस्तावलाई इन्कार गर्दा यूसुफले दृढ भई यसो भने: “कसरी यस्तो घोर दुष्ट काम गरेर परमेश्वरको विरुद्धमा मैले पाप गर्नु?” पोतिफरकी पत्नीले अझै कर गर्दा यूसुफ घर छोडेर भागे।—उत्प. ३९:९, १२.
विश्वस्तता प्रकट गर्ने तरिका। बोल्दाखेरि तपाईं कस्तो शब्द चलाउनुहुन्छ, त्यसले पनि तपाईंको विश्वस्तता प्रकट गर्छ। येशूले महत्त्वपूर्ण कुरालाई बुझाउन थुप्रै चोटि “तिमीलाई म साँच्चै भन्छु” भनेर कुरा थाल्नुभयो। (यूह. ३:३, ५, ११; ५:१९, २४, २५) पावलले “म विश्वस्त छु,” “प्रभु येशूको चेला भएको नाताले मलाई थाह छ” अनि “म सत्य बोल्दैछु, झूट होइन” भन्दा तिनको विश्वस्तता झल्कियो। (रोमी ८:३८; १४:१४; १ तिमो. २:७) यहोवाले पनि आफूले गरेका प्रतिज्ञा पूरा हुने सन्दर्भमा बेला-बेलामा आफ्ना अगमवक्ताहरूलाई यस्तै किसिमको जोरदार वाक्य प्रयोग गर्न प्रेरणा दिनुभयो: “त्यो निश्चय पूरा हुनेछ।” (हब. २:३) यस्ता भविष्यवाणीबारे उल्लेख गर्दा तपाईं पनि उस्तै भाषाशैली प्रयोग गर्न सक्नुहुन्छ। आफैलाई होइन, यहोवालाई भरोसा गर्दा र अरूसित आदरपूर्वक कुरा गर्दा तपाईंको बोलीमा विश्वस्तता झल्किन्छ। यस्तो विश्वस्तताले तपाईंको विश्वास बलियो छ भन्ने प्रमाण दिन्छ।
कुनै कुरा व्यक्त गर्दा देखाएको उत्साह र उत्कटताबाट पनि तपाईंको विश्वस्तता देखिन्छ। अनुहारको भाव, इशारा र शरीरको हावभावबाट तपाईं विश्वस्त भएको देखाउन सक्नुहुन्छ। तर विश्वस्तता व्यक्त गर्ने तरिका मान्छेपिच्छे फरक हुन्छ। तपाईं स्वभावैले लजालु हुनुहुन्छ वा मसिनो आवाजमा बोल्नुहुन्छ होला। तर आफूले बताइरहेको कुरा सत्य हो र यो कुरा अरूले सुन्नु जरुरी छ भनेर तपाईं एकदमै ढुक्क हुनुहुन्छ भने तपाईंको विश्वस्तता अरूले प्रस्टै बुझ्नेछन्।
हामीले मनदेखि नै विश्वस्तता व्यक्त गर्नुपर्छ। हामी मनदेखि बोलिरहेका छैनौं तर स्वाङ मात्र पारिरहेका छौं भन्ने मानिसहरूलाई लाग्यो भने तिनीहरूलाई हाम्रो सन्देश हल्का लाग्नेछ। त्यसकारण स्वाङ नपार्नुहोस्। श्रोता थुप्रै छन् भने तपाईंले आफ्नो आवाज साबिकभन्दा अलि ठूलो पार्नुपर्ने हुन्छ र अझै जोसिलो भएर बोल्नुपर्ने हुन्छ। जेहोस्, तपाईंले निष्कपट र स्वाभाविक तरिकामा आफ्नो कुरा व्यक्त गर्नुपर्छ।
के गऱ्यौं भने विश्वस्त भएर बोल्न सक्छौं? तपाईंलाई आफूले प्रस्तुत गर्ने विषय कस्तो लाग्छ, त्यसमा नै तपाईंको विश्वस्तता निर्भर छ। त्यसकारण राम्ररी तयारी गर्नु महत्त्वपूर्ण छ। कुनै प्रकाशनबाट सरसरती सार्नु र त्यसपछि त्यही कुरा भनेर मात्र पुग्दैन। तपाईंले विषयवस्तु राम्ररी बुझ्नुपर्छ र आफ्नै शब्दमा व्यक्त गर्न सक्नुपर्छ। तपाईंले बताउने कुरा सत्य हो र यसले श्रोतालाई फाइदा हुन्छ भनेर तपाईं एकदमै ढुक्क हुनुपर्छ। यसको मतलब तपाईंले आफ्नो प्रस्तुति तयार गर्ने बेला श्रोताको परिस्थिति, तिनीहरूलाई थाह भएको कुरा र त्यो विषय तिनीहरूलाई कस्तो लाग्छ, विचार पुऱ्याउनुपर्छ।
हाम्रो प्रस्तुति सरर्र बगेको छ भने अरूले हामी विश्वस्त भएको कुरा सजिलै थाह पाउन सक्छन्। त्यसकारण राम्रो-राम्रो जानकारी खोजेर मात्र पुग्दैन; श्रोतासामु उक्त विषय राम्ररी प्रस्तुत गर्न अथक प्रयास पनि गर्नुपर्छ। अझै उत्साहित हुँदै बताउनुपर्ने बुँदामा विशेष ध्यान दिनुहोस्। यसो गर्नुभयो भने ती बुँदाबारे बताउँदा तपाईंले बारम्बार आफ्नो टिपोट हेर्नुपर्दैन। आफ्नो प्रयासमा आशिष् दिनुहोस् भनेर यहोवालाई प्रार्थना गर्न पनि नबिर्सनुहोस्। यसो गर्दा तपाईं ‘परमेश्वरको मदत पाएर साहस बटुल्न’ सक्नुहुन्छ र आफ्नो सन्देश सत्य छ अनि महत्त्वपूर्ण छ भन्ने विश्वस्तता झल्किनेगरि बोल्न सक्नुहुन्छ।—१ थिस्स. २:२.