परिपक्व भई सम्पूर्ण रूपले निर्धक्क भएका होओ
“तिनले आफ्नो प्रार्थनामा परिश्रमसाथ सधैं तिमीहरूलाई स्मरण गर्छन्, ताकि तिमीहरू परिपक्व होओ, र परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक।”–कलस्सी ४:१२ नयाँ संशोधित संस्करण।
१, २. (क) बाहिरका मानिसहरूले प्रारम्भिक मसीहीहरूबारे के कुरा याद गरे? (ख) कलस्सीको पुस्तकले कसरी मायालु चासो प्रकाश पार्छ?
येशूका अनुयायीहरू आफ्ना सँगी उपासकहरूको गहिरो चासो राख्थे। तिनीहरूले अनाथ, गरिब र वृद्धप्रति देखाएको दयाबारे टर्टुलियनले (दोस्रो तथा तेस्रो शताब्दीका लेखक) बताए। मसीहीहरूको प्रेम देखेर कोही कोही गैरमसीहीहरू पनि अत्यन्तै प्रभावित भए र यसो भने, ‘हेर, तिनीहरू एकअर्कालाई कत्ति माया गर्छन्।’
२ कलस्सीको पुस्तकमा प्रेरित पावल तथा तिनका सँगी इप्राफासले कलस्सीका भाइबहिनीहरूप्रति त्यस्तो मायालु चासो प्रकट गरे। पावलले तिनीहरूलाई यस्तो लेखे: इप्राफास “परमेश्वरका सब इच्छामा सिद्ध र पूरा निश्चय भएका होओ भनेर प्रार्थनामा तिमीहरूका निम्ति बराबर प्रयत्न” गर्छन्। सन् २००१ को दौडान यहोवाका साक्षीहरूको वार्षिक पद कलस्सी ४:१२ का यी शब्दहरू हुनेछन्: “तिमीहरू परिपक्व होओ, र परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक।”
३. कुन दुइटा कुराको निम्ति इप्राफासले प्रार्थना गरे?
३ इप्राफासले आफ्ना प्रिय जनहरूको निम्ति गरेको प्रार्थनामा तपाईंले दुइटा पक्ष याद गर्नुभयो होला: (१) तिनीहरू “परिपक्व” र (२) ‘सम्पूर्ण रूपले निर्धक्क भई बस्न’ सकून्। धर्मशास्त्रमा यो जानकारी हाम्रो फाइदाको निम्ति समावेश गरिएको हो। त्यसैले, आफैलाई यस्तो प्रश्न सोध्नुहोस्, ‘परिपक्व भई परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क हुन मैले व्यक्तिगत तवरमा के गर्नुपर्छ? अनि मैले त्यसो गर्दा नतिजा कस्तो हुनेछ?’ आउनुहोस्, हामी हेरौं।
“परिपक्व” हुने प्रयास गर्नुहोस्
४. कलस्सीहरू कुन अर्थमा “परिपक्व” हुनु आवश्यक थियो?
४ इप्राफास आफ्ना कलस्सीका आध्यात्मिक भाइबहिनीहरू “परिपक्व” होऊन् भन्ने चाहन्थे। यहाँ पावलले प्रयोग गरेको “सिद्ध” शब्दको अर्थ पूर्ण, पूरा बढेको वा परिपक्व पनि हुनसक्छ। (मत्ती १९:२१; हिब्रू ५:१४; याकूब १:४, २५) कोही व्यक्तिले यहोवाको साक्षीको रूपमा बप्तिस्मा लिंदैमा तिनी पूरा बढेको मसीही हुँदैनन् भनी तपाईंलाई सायद थाह होला। “जबसम्म हामी सबै जना विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं” तबसम्म गोठालो तथा शिक्षकहरूले मदत गर्नेछन् भनी पावलले कलस्सीको पश्चिमतिर बसोबास गर्ने एफिसीका भाइहरूलाई लेखे। अन्य ठाउँमा पावलले मसीहीहरूलाई “समझमा मानिस होओ” भनेर लेखे।—एफिसी ४:८-१३; १ कोरिन्थी १४:२०.
५. हामी कसरी परिपक्वतालाई आफ्नो प्रमुख लक्ष्य बनाउनसक्छौं?
५ कलस्सीका कोही कोही आध्यात्मिक तवरमा पूरा पाको वा हुर्केका थिएनन् भने तिनीहरूको लक्ष्य यस्तै हुनुपर्थ्यो। के आज पनि त्यस्तै हुनुपर्ने होइन र? दशकौंअघि वा हालसालै मात्र बप्तिस्मा लिएको किन नहोस्, के हामी आफूले तर्कशक्ति र विचारधाराहरूमा उन्नति गरेको स्पष्टै देख्नसक्छौं? निर्णयहरू गर्नुअघि के हामी बाइबल सिद्धान्तहरूबारे विचार गर्छौं? परमेश्वर र मण्डलीसित सम्बन्धित कुराहरूलाई हल्कासित लिनुको साटो के त्यसले हाम्रो जीवनमा सर्वमहत्त्वपूर्ण स्थान लिएको छ? सिद्धतातर्फ अघि बढ्ने सबै तरिका हामी यहाँ बताउन त सक्दैनौं तर दुइटा उदाहरण विचार गर्नुहोस्।
६. यहोवाजस्तै सिद्ध हुन हामीले प्रयास गर्नसक्ने एउटा क्षेत्र कुन हो?
६ पहिलो उदाहरण: मानि लिनुहोस्, हामी कुनै खास जात, राष्ट्रियता वा प्रान्तप्रति पूर्वाग्रह राख्ने वातावरणमा हुर्केका थियौं। परमेश्वर पक्षपाती हुनुहुन्न र हामी पनि त्यस्तो हुनु हुँदैन भनेर हामीलाई थाह छ। (प्रेरित १०:१४, १५, ३४, ३५) हाम्रो मण्डली वा क्षेत्रमा अन्य पृष्ठभूमिका मानिसहरू छन्, त्यसैले हामी तिनीहरूका वरपर छौं। तर त्यस्ता पृष्ठभूमिका मानिसहरूप्रति हामीभित्र कत्तिको नकारात्मक भावना वा शंकाहरू छन्? त्यस्ता पृष्ठभूमिका मानिसहरूले अलिकति गल्ती वा भूल गर्ने बित्तिकै के हामी तिनीहरूप्रति नकारात्मक सोचाइ राखिहाल्छौं? आफैलाई प्रश्न गर्नुहोस्, ‘परमेश्वरको जस्तै निष्पक्ष दृष्टिकोण राख्न मैले केही प्रगति पो गर्नुपरेको छ कि?’
७. मसीहीको हैसियतमा परिपक्व हुने सन्दर्भमा अरूबारे कस्तो विचारधारा राख्नु पनि समावेश छ?
७ दोस्रो उदाहरण: फिलिप्पी २:३ अनुसार हामीले ‘विरोध अथवा फोस्रो घमण्डले केही गर्नु हुँदैन। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठान्नुपर्छ।’ हामीले यस सन्दर्भमा कत्तिको प्रगति गरिरहेका छौं? प्रत्येक मानिसको राम्रो गुण र कमजोरी हुन्छ। विगतमा अरूको कमजोरी औंल्याइहाल्ने हाम्रो बानी थियो भने के हामीले त्यस क्षेत्रमा प्रगति अर्थात् तिनीहरूबाट ‘सिद्धता’ आशा नगर्ने भएका छौं? (याकूब ३:२) आफूभन्दा अरू श्रेष्ठ छन् भनेर के अहिले पहिलेभन्दा स्पष्टसित बुझ्नसक्ने भएका छौं? ‘फलाना बहिनी मभन्दा धेरै धीरजी हुनुहुन्छ भनेर मैले स्वीकार्नैपर्छ।’ ‘फलानाको विश्वास मेरोभन्दा अझ बलियो छ।’ ‘फलाना मभन्दा असल शिक्षक हुनुहुन्छ भन्ने कुरामा कुनै शंका छैन।’ ‘रिस नियन्त्रण गर्ने सन्दर्भमा फलाना मभन्दा बेस हुनुहुन्छ।’ सायद, कलस्सीका कोही कोहीले यस सन्दर्भमा प्रगति गर्नुपरेको थियो। हामीले नि?
८, ९. (क) इप्राफासले कलस्सी मण्डलीकाहरू कुन अर्थमा परिपक्व “होओ” भनी प्रार्थना गरे? (ख) ‘परिपक्व हुनु’ भन्ने अभिव्यक्तिले भविष्यको सन्दर्भमा कस्तो अर्थ राख्छ?
८ इप्राफासले कलस्सी मण्डलीकाहरूलाई “परिपक्व . . होओ” भनेर प्रार्थना गरे। स्पष्टतः इप्राफासले कलस्सी मण्डलीकाहरू जति पाको र पूरा हुर्केका मसीही हुन्छन् त्यति नै “परिपक्व” हुनेछन् भनेर प्रार्थना गरिरहेका थिए।
९ मसीही हुनेजति सबै, परिपक्वहरूसमेत त्यस्तै भइरहनेछन् भनेर हामी अनुमान लगाउन सक्दैनौं। परमेश्वरको एक आत्मिक पुत्र “सत्यमा ठहरेन” भनेर येशूले भन्नुभयो। (यूहन्ना ८:४४) अनि पावलले कोरिन्थीहरूलाई पहिले यहोवाको सेवा गरेका तर अहिले सेवा गर्न छोडेका केही व्यक्तिहरूको सम्झना दिलाए। तिनले आत्मा-अभिषिक्त भाइहरूलाई यस्तो चेताउनी दिए: “म खड़ा छु भन्ने जसले विचार गर्दछ, त्यो होशियार रहोस, नत्रता त्यो लड़छ।” (१ कोरिन्थी १०:१२) कलस्सीहरू ‘परिपक्व होऊन्’ भनी गरिएको प्रार्थना यसै कारणले गर्दा झनै सशक्त छ। तिनीहरू एक चोटि परिपक्व, पूरा पाको भएपछि अघि बढ्नुपर्थ्यो। तर्केर जाने, थकित हुने वा टाढिएर जाने गर्नु हुँदैनथ्यो। (हिब्रू २:१; ३:१२; ६:६; १०:३९; १२:२५) यसप्रकार तिनीहरू अन्तिम जाँच र अनुमोदनको दिन “परिपक्व” ठहर्ने थिए।—२ कोरिन्थी ५:१०; १ पत्रुस २:१२.
१०, ११. (क) प्रार्थनाको सन्दर्भमा इप्राफासले कस्तो नमुना बसाले? (ख) इप्राफासले गरेजस्तै तपाईं कस्तो संकल्प गर्न चाहनुहुन्छ?
१० हामीले अरूको निम्ति तिनीहरूको नाउँ तोकेरै प्रार्थना गर्ने अनि यहोवाले तिनीहरूलाई मदत, सान्त्वना, आशिष् र पवित्र आत्मा दिऊन् भनेर प्रार्थनामा समावेश गर्नुको महत्त्वबारे छलफल गरिसकेका छौं। कलस्सीहरूका निम्ति इप्राफासको प्रार्थना यस्तै प्रकारको थियो। अनि हामीले यहोवालाई प्रार्थनामा भन्नसक्ने कुराबारे इप्राफासको प्रार्थनामा अनमोल सुझाउ पाउनसक्छौं र वास्तवमा हामीले गर्नुपर्ने पनि त्यस्तै हो। निस्सन्देह, हामीले यहोवालाई आफू व्यक्तिगत तवरमा अन्तसम्मै ‘परिपक्व हुन’ सकूँ भनेर मदत माग्नुपर्छ। के तपाईं मदत माग्नुहुन्छ?
११ आफ्नो परिस्थिति प्रार्थनामा उल्लेख गरे कसो होला? तपाईंले “परिपक्व” वा पूरा हुर्केको हुन कुन हदसम्म प्रगति गर्नुभएको छ, परमेश्वरलाई बताउनुहोस्। तपाईंले आध्यात्मिक तवरमा अझै प्रगति गर्नुपर्ने क्षेत्र चिन्ने मदतको निम्ति उहाँलाई बिन्ती गर्नुहोस्। (भजन १७:३; १३९:२३, २४) अवश्य पनि तपाईंले प्रगति गर्नुपर्ने क्षेत्रहरू छन्। अनि यसबारे निरुत्साहित हुनुको साटो यहोवालाई स्पष्टसित ती प्रगति गर्नुपर्ने क्षेत्रहरूबारे बिन्ती गर्नुहोस्। यसरी लगातार प्रार्थना गरिरहनुहोस्। वास्तवमा, भनौं भने, ‘परिपक्व हुन’ आगामी हप्तामै प्रार्थना गर्न कटिबद्ध हुनुभए कसो होला। अनि वार्षिक पदमा जसै गौर गर्दै जानुहुन्छ अझ बढी त्यसरी प्रार्थना गर्ने योजना बनाउनुहोस्। प्रार्थना गर्दा परमेश्वरको सेवा अनि उहाँका जनहरूबाट तर्किने, थकित हुने वा टाढिने जस्ता आफूमा हुनसक्ने झुकाउहरूमा ध्यान दिनुहोस् र त्यसबाट कसरी जोगिन सक्नुहुन्छ भनेर विचार गर्नुहोस्।—एफिसी ६:११, १३, १४, १८.
पूरा निश्चय हुन प्रार्थना गर्नुहोस्
१२. कलस्सीहरू किन विशेष गरी “पूरा निश्चय” हुनुपरेको थियो?
१२ कलस्सी मण्डलीकाहरू परमेश्वरसामु परिपक्व हुने हो भने, अर्को एउटा कुरा पनि महत्त्वपूर्ण थियो र यसबारे पनि इप्राफासले प्रार्थना गरे। यो हाम्रोलागि पनि उत्तिकै महत्त्वपूर्ण छ। त्यो के हो? “परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई बस्न सक” भनी तिनले प्रार्थना गरे। तिनीहरू वरपर धर्मविरोधी तथा भ्रष्ट दर्शनहरू छ्यासछ्यास्ती थियो र तीमध्ये कतिको त साँचो उपासनाको जस्तै छलीपूर्ण बाहिरी रूप थियो। उदाहरणका लागि, यहूदी उपासकहरूले तिनीहरूलाई विशेष दिनहरूमा बर्त बस्न वा भोज गर्न दबाउ दिन्थे। स्वर्गदूतहरू अर्थात् शक्तिशाली आत्माहरूद्वारा मोशालाई व्यवस्था दिइएको थियो र झूटा शिक्षकहरूले त्यस्ता स्वर्गदूतहरूमै ध्यानकेन्द्रित गरे। त्यस्तो दबाउको सामना गर्न कत्ति गाह्रो भयो होला, कल्पना गर्नुहोस् त! आपसमा मेल नखाने धारणाहरू प्रशस्त थिए।—गलाती ३:१९; कलस्सी २:८, १६-१८.
१३. कुन कुरा स्वीकारेको खण्डमा कलस्सीहरूलाई मदतकारी साबित हुनसक्थ्यो र त्यसले हामीलाई कसरी मदत गर्नसक्छ?
१३ पावलले येशू ख्रीष्टको भूमिकामाथि जोड दिंदै त्यसको खण्डन गरे र यस्तो भने: “जसरी प्रभु येशू ख्रीष्टलाई ग्रहण गऱ्यौं, त्यसैगरी उहाँमा जरा हालेका र बनिएका भएर, औ तिमीहरूलाई सिकाएबमोजिम तिमीहरूको विश्वासमा दृढ़ भएर, . . . उहाँकै चालमा चल।” हो, परमेश्वरको उद्देश्य अनि हाम्रो जीवनमा ख्रीष्टले खेल्नुभएको भूमिकाबारे (कलस्सीहरू अनि हामी) पूरा निश्चय हुनु आवश्यक थियो। पावलले अझ यसो भने: “उहाँमा ईश्वरत्वको सारा परिपूर्णता शारीरिक रूपमै बास गर्दछ, र उहाँमानै तिमीहरू परिपूर्ण पारिएका छौ, जो सबै प्रधानता र शक्तिका शिर हुनुहुन्छ।”—कलस्सी २:६-१०.
१४. कलस्सी मण्डलीको निम्ति आशा किन वास्तविक थियो?
१४ कलस्सीहरू आत्मा-अभिषिक्त मसीहीहरू थिए। तिनीहरूसित छुट्टै अर्थात् स्वर्गीय जीवनको आशा थियो र त्यो आशालाई उज्ज्वल राखिरहन तिनीहरूसित हर जायज कारण थियो। (कलस्सी १:५) तिनीहरूको आशाको निश्चिततामा विश्वस्त होऊन् भन्ने “परमेश्वरका . . . इच्छा” थियो। के तिनीहरूमध्ये कसैले त्यस आशामा शंका गर्ने ठाउँ थियो? अहँ, थिएन! त्यसोभए, पार्थिव प्रमोदवनमा ईश्वरप्रदत्त जीवनको प्रत्याशा हुनेहरू सबैले पनि के शंका गर्ने कुनै ठाउँ छ त? अहँ, छैन! त्यो ठोस आशा निश्चय पनि “परमेश्वरका सारा इच्छा[को]” अंश हो। अब यी प्रश्नहरूमा गौर गर्नुहोस्: तपाईंले “महा संकष्ट[बाट]” बाँच्ने “ठूलो भीड़[को]” भाग हुने कोसिस गरिरहनुभएको छ भने तपाईंलाई त्यो आशा कत्तिको वास्तविक लाग्छ? (प्रकाश ७:९, १४) के तपाईं पनि “परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क” हुन कटिबद्ध हुनुहुन्छ?
१५. आशा समावेश भएको कस्ता श्रृंखलाहरू पावलले औंल्याए?
१५ “आशा” भन्नाले हामी कुनै अस्पष्ट इच्छा वा दिवास्वप्न भन्ने अर्थ बुझ्दैनौं। यो कुरा हामी रोमीहरूलाई पावलले पहिला प्रस्तुत गरेका बुँदाहरूबाट बुझ्नसक्छौं। त्यस श्रृंखलामा उल्लेख गरिएको हरेक कुरा अर्को कुरासित जोडिएको वा सम्बन्धित थियो। “आशा[लाई]” पावलले आफ्नो तर्कमा कुन स्थान दिन्छन्, ध्यान दिनुहोस्: “संकष्टले धीरज उत्पन्न गराउँछ भनी जानेर, हामी संकष्टहरूमा पनि आनन्दित होऔं, औ धीरजले सदाचार, र सदाचारले आशा, औ आशाले निराश गराउँदैन, किनभने हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।”—रोमी ५:३-५.
१६. तपाईंले बाइबल सत्य सिकेपछि कस्तो आशा पाउनुभयो?
१६ यहोवाका साक्षीहरूले पहिलो चोटि तपाईंलाई बाइबल सन्देश सुनाउँदा सत्यको कुनै खास पक्ष जस्तै, मरेकाहरूको अवस्था वा पुनरुत्थानले तपाईंको ध्यान खिचेको थियो होला। थुप्रैले आफ्नो आशा बाइबल आधारित पार्थिव प्रमोदवनमा जीवन रहेछ भन्ने नयाँ कुरा थाह पाए। त्यो शिक्षा तपाईंले पहिलो चोटि सुन्नुभएको समयलाई सम्झनुहोस्। कस्तो अद्भुत आशा—बिमारी र बुढ्यौली हुनेछैन, आफ्नो परिश्रमको फलको आनन्द उठाउँदै जीवन बिताउन सक्नुहुन्छ र पशुहरूसित मेलमिलाप हुनेछ! (उपदेशक ९:५, १०; यशैया ६५:१७-२५; यूहन्ना ५:२८, २९; प्रकाश २१:३, ४) तपाईंले साँच्चै अद्भुत आशा प्राप्त गर्नुभएको छ!
१७, १८. (क) पावलले रोमीहरूलाई प्रस्तुत गरेका बुँदाहरूले कसरी आशातर्फ डोऱ्याउँछ? (ख) रोमी ५:४, ५ मा कस्तो प्रकारको आशाबारे भनिएको हो अनि के तपाईंको पनि त्यस्तै आशा छ?
१७ समयको अन्तरालमा तपाईंले विरोध वा सतावटको सामना गर्नुपऱ्यो होला। (मत्ती १०:३४-३९; २४:९) वर्तमान समयमा पनि विभिन्न मुलुकका साक्षीहरूको घर लुटिएको छ वा शरणार्थी हुनु परेको छ। कसै कसैले शारीरिक यातना भोग्नुपरेको छ, बाइबल साहित्य खोसिएको छ वा सञ्चारमाध्यमका झूटो समाचारको सिकार भएका छन्। तपाईंले जस्तोसुकै प्रकारको सतावट भोग्नु परेको भए तापनि रोमी ५:३ ले भनेझैं तपाईं संकष्टमा पनि आनन्दित हुनसक्नुभयो र त्यसको परिणाम राम्रो भयो। पावलले लेखेझैं तपाईंमा यसले धीरज उत्पन्न गऱ्यो। अनि धीरजले सदाचारतर्फ डोऱ्यायो। परमेश्वरको इच्छाअनुसार तपाईंले सही कुरा गरिरहनुभएको छ भनेर तपाईंलाई थाह भयो। त्यसैले, तपाईंलाई परमेश्वरबाट अनुमोदन पाएको कुरा पक्का भयो। पावलकै शब्दमा भन्ने हो भने, तपाईंले “सदाचार” महसुस गर्नुभयो। अनि पावलले अझ यस्तो पनि लेखे: “सदाचारले आशा” उत्पन्न गर्छ। यो कुरा तपाईंलाई अलि अनौठो लाग्ला। पावलले किन “आशा” त्यति पछि मात्र उल्लेख गरे? सुसमाचार पहिलो चोटि सुन्ने बित्तिकै के तपाईंमा आशा उत्पन्न भएको थिएन र?
१८ स्पष्टतः पावलले यहाँ सुरुमा हामीले सिद्ध जीवनबारे सुन्दा जस्तो आशा हामीमा जागेको थियो त्यसबारे बताइरहेका थिएनन्। तिनले त्योभन्दा पनि अझ गहिरो, उत्प्रेरणादायी कुरालाई संकेत गरिरहेका थिए। हामीले विश्वासीपूर्वक धीरज धारण गर्दा परेश्वरको अनुमोदन पाउनेछौं भनेर बुझ्दा त्यसले हाम्रो सुरुको आशा बलियो बनाउँछ। हाम्रो आशा झनै वास्तविक, ठोस र आत्मीय हुन्छ। यो गहिरो आशा झनै उज्ज्वल हुन्छ। यसले हामीलाई हर तरिकामा असर गर्छ र जीवनको अभिन्न भाग बन्छ। “आशाले निराश गराउँदैन, किनभने हामीलाई दिएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ।”
१९. तपाईंको आशा कसरी तपाईंको नियमित प्रार्थनाको भाग हुनुपर्छ?
१९ इप्राफासको निष्कपट प्रार्थनाले कलस्सीका भाइबहिनीहरू प्रभावित भए र “परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई” पछि आउने कुरामा विश्वस्त भए। हामी प्रत्येकले पनि परमेश्वरलाई आफ्नो आशाबारे त्यसरी नै नियमित तवरमा बिन्ती गरौं। तपाईंको व्यक्तिगत प्रार्थनामा नयाँ संसारको आशा पनि समावेश गर्नुहोस्। यहोवालाई तपाईं त्यसको कत्ति चाहना गर्नुहुन्छ अनि कत्तिको दृढ हुनुहुन्छ भनेर बताउनुहोस्। तपाईंको विश्वास अझ गहिरो र फराकिलो बनाउन मदतको निम्ति उहाँसँग बिन्ती गर्नुहोस्। कलस्सीहरू “परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क” होस् भनेर इप्राफासले प्रार्थना गरेझैं तपाईंले पनि गर्नुहोस्। धेरै चोटि गर्नुहोस्।
२०. तुलनात्मक ढंगमा कमै मसीही मार्गबाट तर्किंदा त्यो हाम्रोनिम्ति किन हतोत्साहको स्रोत हुनु हुँदैन?
२० सबै जना परिपक्व र सारा इच्छामा निर्धक्क नहुने भएकाले तपाईं अलमलमा पर्नुपर्दैन वा हतोत्साहित हुनुपर्दैन। कोही असफल होलान्, कोही तर्केर जालान् वा हरेस खालान्। येशूका सबैभन्दा घनिष्ठ व्यक्तिहरू अर्थात् उहाँका प्रेरितहरूलाई पनि यस्तै भएको थियो। तर जब यहूदा धोकेबाज भए के अरू प्रेरितहरू सुस्ताए वा तर्किए? अहँ! यहूदाको स्थान अर्को व्यक्तिले लिनेछ भनेर पत्रुसले भजन १०९:८ स्पष्ट पारिदिए। त्यो स्थानमा अर्कोलाई छानियो र परमेश्वरका वफादार जनहरूले सक्रियतासाथ आफ्नो प्रचार कार्य गरिरहे। (प्रेरित १:१५-२६) पूरा निश्चयका साथ परिपक्व हुन तिनीहरू कटिबद्ध थिए।
२१, २२. कुन अर्थमा तपाईं सारा इच्छामा परिपक्व र निर्धक्क भएको याद गरिनेछ?
२१ परिपक्व भएर परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भएको पक्कै बिर्सनेछैन भनी तपाईं विश्वस्त हुन सक्नुहुन्छ। यो याद गरिनुका साथै कदर पनि गरिनेछ। तर कसले?
२२ तपाईंलाई चिन्ने र माया गर्ने भाइबहिनीहरूले। थुप्रैले मुखले नभने तापनि यसका प्रभावहरूचाहिं १ थिस्सलोनिकी १:२-६ मा भनिएझैं हुनेछ। यस्तो लेखिएको छ: “हाम्रो प्रार्थनामा तिमीहरूको सम्झना गर्दै, हामी सधैं परमेश्वरलाई तिमीहरू सबैका निम्ति धन्यवाद चढ़ाउँछौं। हाम्रा परमेश्वर र पिताको सामने हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा तिमीहरूको विश्वासको काम र प्रेमको परिश्रम, र आशाको धीरज निरन्तर सम्झँदै, . . . हाम्रो सुसमाचार केवल वचनमा मात्र होइन, तर शक्तिमा पनि, र पवित्र आत्मामा, र ज्यादै आत्मविश्वासमा तिमीहरूकहाँ आएको हो, . . . र प्रभुको देखा-सिकी गर्ने भयौ।” तपाईं वरपरका मसीहीहरूले पनि तपाईं ‘परिपक्व भई परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भएको’ देख्दा त्यस्तै महसुस गर्नेछन्।—कलस्सी १:२३.
२३. आगामी वर्षमा तपाईंको कस्तो कटिबद्धता हुनुपर्छ?
२३ अनि अवश्य पनि हाम्रो स्वर्गमा हुनुहुने पिताले देख्नुहुनेछ र आनन्दित हुनुहुनेछ। त्यसबारे निर्धक्क हुनुहोस्। किन? किनभने तपाईं “परमेश्वरका सारा इच्छामा” परिपक्व र पूरा निश्चयका साथ खडा हुनुभएको छ। कलस्सीहरू “प्रभुको योग्य चालमा” चलिरहेकाले पावलले त्यसबारे प्रोत्साहनदायी कुरा लेखे। (कलस्सी १:१०) हो, असिद्ध मानवहरूले पनि उहाँलाई पूर्णतया आनन्दित तुल्याउनसक्छन्। कलस्सी मण्डलीका तपाईंका भाइबहिनीहरूले त्यसै गरे। तपाईं वरपरका मसीहीहरूले पनि अहिले त्यसै गरिरहेका छन्। अनि तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ! तसर्थ, आगामी वर्षको दौडान तपाईंको दैनिक प्रार्थना र कामले तपाईं “परिपक्व . . . र परमेश्वरका सारा इच्छामा सम्पूर्ण रूपले निर्धक्क भई” बस्न कटिबद्ध हुनुहुन्छ भनेर देखाउनुहोस्।
के तपाईंले सम्झनुभएको छ ?
• तपाईं “परिपक्व” हुनुमा के समावेश छ?
• प्रार्थनामा तपाईंले आफूबारे कस्ता कुराहरू पनि समावेश गर्नुपर्छ?
• रोमी ५:४, ५ मा बताएझैं तपाईं कस्तो प्रकारको आशा राख्न चाहनुहुन्छ?
• हाम्रो यस अध्ययनले हामीलाई आउँदो वर्षको दौडान कस्तो लक्ष्य राख्न उत्प्रेरित गर्नुपर्छ?
[पृष्ठ २०-मा भएको चित्र]
इप्राफासले आफ्ना भाइहरू ख्रीष्टमाथि पूरा विश्वास र आशा भएका परिपक्व व्यक्तिहरू होऊन् भनेर प्रार्थना गरे
[पृष्ठ २३-मा भएका चित्रहरू]
तपाईंको जस्तै अन्य लाखौंको पनि दृढ विश्वास र आशा छ