अध्याय ४८
तार्किक ढङ्गमा प्रस्तुत गर्नुहोस्
परमेश्वरको वचनले हाम्रो जीवनमा आमूल परिवर्तन ल्याएकोमा हामी औधी खुसी छौं र यही खुसी हामी अरूसित पनि बाँड्न चाहन्छौं। मानिसहरूले सुसमाचारप्रति कस्तो प्रतिक्रिया देखाउँछन्, त्यसले नै तिनीहरूको भविष्य निर्धारण गर्छ भन्ने कुरा पनि हामीले बुझेका छौं। (मत्ती ७:१३, १४; यूह. १२:४८) तिनीहरूले बाइबल सत्य स्वीकारेको हामी मनदेखि नै चाहन्छौं। तर सकेसम्म राम्रो नतिजा हासिल गर्न हामीले विश्वस्त भएर अनि जोसिलो भएर अरूलाई सुसमाचार सुनाएर मात्र पुग्दैन, सुझबुझ पनि चलाउनुपर्छ।
अरूले श्रद्धा गर्दै आइरहेको विश्वासलाई हामीले ठाडै झूटो हो भन्यौं र हाम्रो कुरालाई समर्थन गर्न थुप्रै शास्त्रपद चलायौं भने पनि साधारणतया मानिसहरूले यसलाई खुसीसाथ स्वीकार्दैनन्। उदाहरणका लागि कुनै लोकप्रिय चाडपर्वहरू मूर्तिपूजक धर्मबाट सुरु भएका हुन् भनेर निन्दा गर्दैमा यसप्रति मानिसहरूको सोचाइ परिवर्तन होला भन्न सकिंदैन। तर्कपूर्ण कुराकानी गर्दा अक्सर धेरै सफलता प्राप्त हुन्छ। व्यावहारिक हुनुमा के-के समावेश छ?
“माथिबाट आउने बुद्धि . . . शान्तिप्रिय, व्यावहारिक” हुन्छ भनी बाइबल हामीलाई बताउँछ। (याकू. ३:१७) कुनै-कुनै बाइबलमा “व्यावहारिक” शब्दलाई कोमल, विचारशील, तर्क सङ्गति इत्यादि भनेर पनि अनुवाद गरिएको छ। याद गर्नुहोस्, व्यावहारिक हुनु शान्तिप्रिय हुनुसित सम्बन्धित छ। तीतस ३:२ मा व्यावहारिक भन्ने शब्दलाई नम्रता देखाउनु सँगसँगै उल्लेख गरिएको छ र झगडालुको ठीक उल्टो गुणको रूपमा चलाइएको छ। फिलिप्पी ४:५ ले हामीलाई आफ्नो “व्यावहारिकता” सबै मानिसहरूलाई थाह दिन आग्रह गरेको छ। व्यावहारिक मान्छेले अरूसित कुरा गर्ने बेला उसको पृष्ठभूमि, अवस्था अनि भावना सबै याद गर्छ। उचित छ भने तिनी लचकदार हुन पनि राजी हुन्छन्। अरूसित यसरी व्यवहार गऱ्यौं भने तिनीहरू हाम्रो कुरा सुन्न तयार हुनेछन् र हामीले बाइबलबाट तर्क गर्दा तिनीहरू अझै चासो दिएर सुन्न इच्छुक हुनेछन्।
कहाँबाट सुरु गर्ने? प्रेषित पावलले थिस्सलोनिकामा छँदा धर्मशास्त्रको प्रयोग गरेर नै “ख्रीष्टले दुःख भोग्नु र मृत्युबाट ब्यूँतनु आवश्यक छ भनेर बुझाउनुका साथै धर्मशास्त्रका विभिन्न वचनहरूबाट प्रमाण दिए” भनी इतिहासकार लूका बताउँछन्। (प्रेषि. १७:२, ३) पावलले यो काम यहूदीहरूको सभाघरमा गएर गरेका थिए भन्ने कुरा साँच्चै नै रोचक छ। तिनको कुरा सुन्ने मानिसहरू हिब्रू धर्मशास्त्रलाई आधिकारिक स्रोतको रूपमा लिन्थे। त्यसकारण ती मानिसहरूले स्वीकार्ने विषयलाई नै लिएर पावलले कुरा सुरु गर्नु उपयुक्त थियो।
तर एथेन्सको अरियोपागसमा ग्रीकहरूसित कुरा गर्दा पावलले सुरुमै धर्मशास्त्रको प्रयोग गरेनन्। बरु तिनले ती मानिसहरूलाई थाह भएको अनि तिनीहरूले स्वीकार्ने विषयलाई लिएर कुरा सुरु गरे। त्यसकै आधारमा तिनले सृष्टिकर्ता अनि उहाँका उद्देश्यतर्फ तिनीहरूको ध्यान खिचे।—प्रेषि. १७:२२-३१.
आज अरबौं मानिस बाइबललाई आधिकारिक स्रोतको रूपमा मानिलिंदैनन्। तर अहिलेको यस दुष्ट संसारमा कोही पनि मानिस दुःख-कष्टबाट अछुतो छैन। तिनीहरू सबै नै राम्रो संसारमा बस्न चाहन्छन्। तिनीहरूसित कुरा गर्दा सुरुमा तिनीहरूले भोगिरहेको समस्याप्रति चिन्ता व्यक्त गर्नुभयो र त्यसपछि बाइबलमा त्यसबारे के लेखिएको छ, देखाउनुभयो भने व्यावहारिक हुनेछ। यसरी व्यावहारिक हुँदा मानिसजातिको लागि परमेश्वरको उद्देश्यबारे बाइबलमा लेखिएको कुरा सुन्न तिनीहरू उत्सुक हुनेछन्।
बाइबल विद्यार्थीलाई तिनका आमाबाबुले पितापुर्खाले मान्दै आएको धर्म अनि रीतिथिति सिकाएका थिए होलान्। तर त्यो धर्म अनि रीतिथितिदेखि परमेश्वर खुसी हुनुहुन्न भन्ने कुरा बुझिसकेपछि तिनले ती सबै त्यागेर बाइबलमा सिकाइएको कुराअनुसार जीवन बिताउन थाल्छन्। तिनले आफ्नो यो निर्णयबारे आमाबाबुलाई कसरी बताउन सक्छन्? तिनले पितापुर्खादेखि मान्दै आएको धर्म त्याग्दा आमाबाबुले उनीहरूलाई नै त्यागेको महसुस गर्न सक्छन्। त्यसकारण आमाबाबुलाई आफ्नो निर्णयबारे बाइबलबाटै देखाउनुको साटो पहिला उनीहरूलाई माया गरेको अनि आदर गरेको कुरामा विश्वस्त पार्नु आवश्यक छ भन्ने निष्कर्षमा उक्त बाइबल विद्यार्थी पुग्न सक्छन्।
कहिले व्यावहारिक हुने? यहोवासित अरूलाई आदेश दिने पूरापूर अख्तियार छ। तैपनि व्यावहारिक हुने सन्दर्भमा उहाँले उल्लेखनीय उदाहरण बसाल्नुभएको छ। उदाहरणको लागि, लूत र तिनको परिवारलाई सदोमबाट छुटकारा दिने बेला यहोवाको स्वर्गदूतले यस्तो जोड गरेका थिए: “पहाडतिर भाग, नत्रता भस्म हुनेछौ।” तर लूतले तिनलाई भने, “हजुर हो, त्यसो नहोस्।” तिनले सोअरतिर भाग्न दिनुहोस् भनी बिन्ती गरे। यहोवाले तिनलाई त्यसै गर्न दिएर तिनीप्रति विचारशील हुनुभयो र अरू सहरलाई नाश गर्दा सोअरलाई नाश गर्नुभएन। तर पछि लूत यहोवाले सुरुमा भागेर जान आदेश दिएको ठाउँमा नै भागे र पहाडी इलाकातिर लागे। (उत्प. १९:१७-३०) आफूले सुरुमा भनेको कुरा नै सही थियो भनेर यहोवालाई थाह थियो। तैपनि लूत आफैले त्यो कुरा महसुस नगरेसम्म यहोवाले धैर्य धारण गर्दै तिनीप्रति विचारशील हुनुभयो।
अरूसित राम्रो व्यवहार गर्ने हो भने हामी व्यावहारिक हुनै पर्छ। अर्को व्यक्तिले भनेको कुरा गलत हो भन्ने कुरामा हामी पक्का छौं होला। त्यसको ठोस प्रमाण पनि हामीसित छ होला। तर कहिलेकाहीं त्यस्तो विषयमा उक्त व्यक्ति गलत हो भनेर स्वीकार्न नलगाउनु नै बेस। व्यावहारिक हुनुको मतलब हामीले यहोवाका स्तरमा सम्झौता गर्नुपर्छ भन्ने होइन। अर्को व्यक्तिले आफ्नो मनको कुरा व्यक्त गर्दा धन्यवाद भन्नु अथवा तिनले गलत कुरा भन्दा जवाफ नफर्काउनु नै राम्रो हुन्छ। यसो गर्नुभयो भने राम्रो नतिजा हासिल हुने छलफलतर्फ आफ्नो कुरा मोड्न सक्नुहुन्छ। तिनले तपाईंको विश्वासको खिल्ली उडाउन चाहिने नचाहिने कुरा भने पनि आवेशमा नआउनुहोस्। तिनलाई किन त्यस्तो लागेको हो, सोध्नुहोस्। तिनको जवाफ ध्यान दिएर सुन्नुहोस्। यसो गर्दा तिनलाई किन त्यस्तो लागेको रहेछ भन्ने कुरा तपाईंले ठम्याउन सक्नुहुनेछ। सायद भविष्यमा राम्रो कुराकानी थाल्न पनि यसले बाटो खोल्नेछ।—हितो. १६:२३; १९:११.
यहोवाले सबै मानिसलाई छनौट गर्ने क्षमता दिनुभएको छ। तिनीहरूले यो क्षमताको सही सदुपयोग गरे पनि नगरे पनि उहाँले यो क्षमता तिनीहरूलाई दिनुभएको छ। यहोवाको तर्फबाट बोल्ने व्यक्ति यहोशूले इस्राएलीहरूलाई परमेश्वरले तिनीहरूसित कस्तो व्यवहार गर्नुभयो भनेर याद गराए। तर त्यसपछि यहोशूले यसो भने: “यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने, आजै तिमीहरूले रोज। तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदीपारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेका देशको एमोरीहरूका देवताहरू? तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” (यहो. २४:१५) अहिले हामीले अरूलाई “साक्षी” दिने जिम्मेवारी पाएका छौं र हामी विश्वस्त भई साक्षी दिन्छौं। त्यसो भन्दैमा हामी अरूलाई जबरजस्ती आफ्नो कुरा सुन्न लगाउँदैनौं। (मत्ती २४:१४) हाम्रो कुरा सुन्ने कि नसुन्ने, त्यो छनौट तिनीहरूकै हो। तिनीहरूको यो अधिकारको हामी कदर गर्छौं।
प्रश्नहरू सोध्नुहोस्। मानिसहरूसित तर्क गर्ने सन्दर्भमा येशूले उत्कृष्ट उदाहरण बसाल्नुभएको छ। उहाँ तिनीहरूको पृष्ठभूमि ध्यान दिनुहुन्थ्यो र तिनीहरूले सहजै स्वीकार्ने दृष्टान्तहरू बताउनुहुन्थ्यो। उहाँ प्रभावकारी तरिकामा प्रश्नहरू पनि सोध्नुहुन्थ्यो। यसो गर्दा अरूले आफ्नो कुरा खुलेर व्यक्त गर्ने मौका पाउँथे र तिनीहरूको मनमा के थियो, त्यो प्रस्ट हुन्थ्यो। छलफल गरिएको विषयमा तर्क गर्न पनि तिनीहरूले प्रोत्साहन पाउँथे।
व्यवस्थामा पोख्त एक जना मानिसले एकपटक येशूलाई यस्तो प्रश्न सोधे: “गुरुज्यू, के गरें भने म अनन्त जीवनको हकदार हुनेछु?” हुन त येशू तिनलाई तुरुन्तै जवाफ दिन सक्नुहुन्थ्यो, तर उहाँले ती मानिसलाई नै जवाफ दिन लगाउनुभयो। उहाँले यस्तो प्रश्न सोध्नुभयो: “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढेका छौ?” ती मानिसले सही उत्तर दिए। के कुरा त्यत्तिकैमा टुङ्गियो? अहँ, टुङ्गिएन। येशूले ती मानिसलाई अझै बोल्न दिनुभयो। तिनले सोधेको अर्को प्रश्नले तिनी आफूलाई परमेश्वरको नजरमा असल साबित गर्न खोजिरहेका थिए भनेर देखियो। तिनले यस्तो प्रश्न सोधे: “वास्तवमा मेरो छिमेकी को हो?” येशूले “छिमेकी” शब्दको अर्थ खुलाउनुभएन। किनभने त्यतिबेला गैर-यहूदी अनि सामरीहरूबारे यहूदीहरूबीच व्याप्त मनोवृत्तिले गर्दा ती मानिसले विवाद खडा गर्न सक्थे। त्यसकारण येशूले एउटा दृष्टान्त बताएर ती मानिसलाई त्यसमाथि तर्क गर्न लगाउनुभयो। डाँकुहरूले कुट्नसम्म कुटेर छोडेका एक जना यात्रीलाई मदत गर्ने मदतगार सामरीको दृष्टान्त येशूले बताउनुभयो। तर पुजारी अनि लेवीले ती यात्रीलाई वास्तै गरेका थिएनन्। अन्तमा उहाँले एउटा साधारण प्रश्न सोधेर ती मानिसलाई मुख्य कुरो बुझ्न मदत गर्नुभयो। येशूले तर्क प्रस्तुत गरेको तरिकाबाट ती मानिसले “छिमेकी” शब्दको अर्थ कहिल्यै नसोचेको तरिकाले बुझ्न सके। (लूका १०:२५-३७) अनुकरण गर्नुपर्ने कस्तो राम्रो उदाहरण! घरधनीको सोचाइबारे अनुमान लगाएर आफू मात्रै बोलेको बोल्यै नगर्नुहोस्। बरु घरधनीलाई नै सोच्न लगाउनेगरि कौशलतासाथ प्रश्नहरू सोध्न र दृष्टान्त चलाउन सिक्नुहोस्।
कारण बताउनुहोस्। थिस्सलोनिकाको सभाघरमा बोल्दा प्रेषित पावलले श्रोताले आधिकारिक स्रोतको रूपमा स्वीकार्ने शास्त्रबाट सरसरती मात्र पढेनन्। तिनले पढेको कुराको व्याख्या गरे, प्रमाण दिए अनि लागू हुने बुँदा पनि बताए भनी लूका बताउँछन्। फलस्वरूप “केही मानिसहरू येशूको अनुयायी बने अनि पावल र सिलाससित सङ्गत गर्न थाले।”—प्रेषि. १७:१-४.
जस्तोसुकै श्रोतासामु बोलिरहेको किन नहोस्, तपाईंले यसरी तार्किक ढङ्गमा आफ्नो कुरा प्रस्तुत गर्नुभयो भने नतिजा पक्कै राम्रो हुनेछ। नातेदारसित, सहकर्मीसित, सहपाठीसित कुरा गर्दा र प्रचारमा अपरिचित व्यक्तिसित कुरा गर्दा अनि बाइबल अध्ययन सञ्चालन गर्दा वा मण्डलीमा भाषण दिंदा पनि यही कुरा लागू हुन्छ। तपाईंलाई कुनै पद पढ्दा त्यसको अर्थ तुरुन्तै दिमागमा आउँछ होला तर अरूलाई त्यही कुरा बुझ्न भने गाह्रो भइरहेको हुन सक्छ। तपाईंले कुनै पद व्याख्या गर्दा वा त्यसबाट लागू गर्न सकिने बुँदा बताउँदा अरूलाई तपाईंले आफ्नो विचार थोपरेको जस्तो लाग्न सक्छ। त्यसो भए बाइबल पदमा भएको मुख्य-मुख्य शब्द छुट्ट्याएर त्यसको अर्थ बताउनु फाइदाजनक हुन्छ कि? के तपाईं आफ्नो विषयलाई समर्थन गर्ने प्रमाण त्यही पदको प्रसङ्गबाट वा अरू पदबाट दिन सक्नुहुन्छ? तपाईंले भनेको कुरा व्यावहारिक छ भनेर कुनै दृष्टान्तले प्रस्ट्याउँछ कि? छलफल गरिएको विषयमा तर्क गर्न श्रोताहरूलाई प्रश्न पो सोध्न सकिन्छ कि? यसरी तार्किक ढङ्गमा प्रस्तुत गर्दा अरूमा राम्रो प्रभाव पर्छ। उनीहरू पनि तपाईंले भनेको कुरा गहिरिएर सोच्छन्।