व्यावहारिकता खेती गर्नुहोस्
“तिमीहरूको सहनशीलता [व्यावहारिकता, न्यु व.] सबै मानिसहरूलाई थाह होस्। प्रभु नजीकै हुनुहुन्छ।”—फिलिप्पी ४:५.
“व्यावहारिक मानिस”—त्यस्तो मानिस कथाहरूमा मात्र पाइन्छ भनी बेलाइती पत्रकार सर एलन प्याट्रिक हबर्टले भने। निस्सन्देह, यस कलहग्रस्त संसारमा कहिलेकाहीं त्यस्ता व्यावहारिक मानिसहरू छँदै छैनन् जस्तो देखिन सक्छ। यी डरलाग्दो “आखिरी दिनमा” मानिसहरू “निष्ठूर,” “उत्ताउला,” र “खुशी नहुने” हुनेछन् भनी बाइबलमा भविष्यवाणी गरिएको थियो। अर्को शब्दमा भन्ने हो भने, मानिसहरू पटक्कै व्यावहारिक हुनेछैनन्। (२ तिमोथी ३:१-५) तापनि, साँचो मसीहीहरूले व्यावहारिकतालाई उच्च मूल्यको ठान्छन् किनभने त्यो ईश्वरीय बुद्धिको चिनारी हो भनी तिनीहरूलाई थाहा छ। (याकूब ३:१७) अव्यावहारिक संसारमा व्यावहारिक हुनु हामीलाई असम्भव जस्तो लाग्दैन। बरु, प्रेरित पावलले फिलिप्पी ४:५ मा प्रदान गरेको चुनौतीलाई विना हिचकिचाहट स्वीकार्छौं। त्यहाँ यसो भनिएको छ: “तिमीहरूको सहनशीलता [व्यावहारिकता, न्यु व.] सबै मानिसहरूलाई थाह होस्।”
२ हामी व्यावहारिक छौं कि छैनौं भनी जाँच्न पावलका शब्दहरूले कसरी मदत दिन्छ, ध्यान दिनुहोस्। हामीले आफूलाई कुन दृष्टिकोणले हेर्छौं, त्यो महत्त्वपूर्ण होइन; तर महत्त्वपूर्ण यो हो, अरूले हामीलाई कुन दृष्टिकोणले हेर्छ र हामी कसरी चिनिन्छौं। फिलिप्स्को अनुवादले यो पदलाई यसरी लेख्छ: “व्यावहारिक हुनाको नाउँ कमाऊ।” प्रत्येकले आफूलाई यो सोध्नु ठीक हुनेछ, ‘म कसरी चिनिन्छु? व्यावहारिक, कोमल, मृदुल भनेर के मैले नाउँ कमाएको छु? अथवा के म कडा, कठोर र जर्कटो भनी चिनिन्छु?’
३ यस सन्दर्भमा हामीले कमाएको नाउँले हामी कुन हदसम्म येशू ख्रीष्टको अनुकरण गर्छौं भनी देखाउँछ। (१ कोरिन्थी ११:१) पृथ्वीमा हुनुहुँदा येशूले व्यावहारिकतासम्बन्धी आफ्नो पिताको महान उदाहरण पूर्णतया प्रतिबिम्बित गर्नुभयो। (यूहन्ना १४:९) वास्तवमा, पावलले “ख्रीष्टको नम्रता र कोमलता” बारे लेख्दा कोमलता बुझाउन प्रयोग गरेका युनानी शब्दको (एपिकियास) अर्थ “व्यावहारिकता” अर्थात् शाब्दिक अर्थमा कोमलता पनि हो। (२ कोरिन्थी १०:१) दी एक्सपोजिटर्स बाइबल कमेन्टरी ले यसलाई “नयाँ नियममा चरित्र वर्णन गर्न चलाइएका महान शब्दहरूमध्ये एक हो” भनेका छन्। यो गुण असाध्यै घतलाग्दो हुनाले एक शास्त्रज्ञले यसलाई “रूचिकर व्यावहारिकता” भनेका छन्। तसर्थ, आफ्नो पिता यहोवाले जस्तै तीन किसिमले येशूले प्रदर्शन गर्नुभएको व्यावहारिकतालाई छलफल गरौं।—१ पत्रुस २:२१.
“क्षमा गर्न तयार”
४ आफ्नो पिताझैं, धेरै पटक “क्षमा गर्न तयार” हुनुभएर येशूले व्यावहारिकता देखाउनुभयो। (भजनसंग्रह ८६:५) येशूको गिरफ्तार र पुर्पक्ष हुँदा आफ्नो घनिष्ठ मित्र, पत्रुसले उहाँलाई तीन पटक इन्कार गरेको घडीलाई ध्यान दिनुहोस्। येशूले पहिले यसो भनिसक्नुभएको थियो: “हरेक जसले मलाई मानिसहरूको सामु इन्कार गर्छ, म पनि उसलाई मेरा स्वर्गमा हुने पिताको सामु इन्कार गर्नेछु।” (मत्ती १०:३३) के येशूले कडा र निर्दयतासाथ यो नियम पत्रुसमाथि लागू गर्नुभयो? अहँ गर्नुभएन; आफ्नो पुनरुत्थानपश्चात् येशूले पत्रुसलाई व्यक्तिगत तवरमा भेट्न जानुभयो। निस्सन्देह, यसरी जानुको कारण पश्चातापी, मन भाँचिएको प्रेरितलाई सान्त्वना र आश्वासन दिनु थियो। (लूका २४:३४; १ कोरिन्थी १५:५) त्यसको केही समयपश्चात् येशूले पत्रुसलाई ठूलो जिम्मेवारी दिनुभयो। (प्रेरित २:१-४१) रूचिकर व्यावहारिकता प्रदर्शन गर्ने योभन्दा सर्वोत्तम तरिका अरू के नै हुन सक्थ्यो र! सारा मानवजातिको न्यायकर्त्ताको रूपमा यहोवाले येशूलाई नियुक्त गर्नु के सान्त्वनादायी कुरा होइन र?—यशैया ११:१-४; यूहन्ना ५:२२.
५ मण्डलीमा प्राचीनहरूले न्यायकर्त्ताको हैसियतमा काम गर्दा येशूको उदाहरण अनुसरण गर्ने प्रयास गर्छन्। आफू दण्ड दिने व्यक्तिहरू भनी भेडाहरू डराएको तिनीहरू चाहँदैनन्। बरु, आफूलाई मायालु गोठालाहरू सम्झी भेडाहरूले सुरक्षित महसुस गरोस् भनेर येशूको अनुकरण गर्न खोज्छन्। न्यायिक मामिलाहरू हुँदा व्यावहारिक अनि क्षमा गर्न तयार हुन तिनीहरूले यथासक्दो प्रयास गर्छन्। त्यस्तो मामिला केरकार गर्नुअघि केही प्राचीनहरूले अक्टोबर १, १९९२ को प्रहरीधरहरा मा “यहोवा, पक्षपात रहित ‘सारा पृथ्वीका न्यायकर्त्ता’” र “प्राचीनहरू, धार्मिकताका साथ न्याय गर्नुहोस्” शीर्षकका लेखहरू पुनरावृत्ति गर्नु मदतकारी पाएका छन्। यसप्रकार तिनीहरूले यहोवाको न्याय प्रणालीको निचोड मनमा राख्छन्: “आवश्यक परेमा दृढता तर यथासम्भव दया।” न्याय गर्दा व्यावहारिक आधार भएमा दयावन्त हुनु गलत होइन। (मत्ती १२:७) कठोर अनि निर्दयी हुनु गम्भीर भूल हो। (इजकिएल ३४:४) तसर्थ, न्यायको परिधिभित्र जोडतोडका साथ यथासम्भव सबैभन्दा मायालु र दयालु मार्ग पछ्याएर प्राचीनहरू गल्ती गर्नुदेखि अलग बस्छन्।—तुलना गर्नुहोस् मत्ती २३:२३; याकूब २:१३.
परिवर्तनीय परिस्थितिमा लचकदार
६ यहोवाले जस्तै निर्णय बदल्न अथवा परिस्थितिहरू परिवर्तन हुँदा त्यसैअनुसार व्यवहार गर्न येशू छरितो साबित हुनुभयो। एक पटक एउटी अन्यजाति स्त्रीले भूतले सताएको आफ्नी छोरीलाई निको पार्न उहाँलाई आग्रह गरिन्। तिनलाई मदत गर्नुहुनेछैन भनी येशूले तीन बेग्लाबेग्लै ढङ्गमा सुरुमै सङ्केत दिनुभयो—प्रथम, तिनलाई जवाफ नदिनु भएर; दोस्रो, उहाँ अन्यजातिहरूको निम्ति नभई यहूदीहरूको लागि पठाइएको भनी सोझै भन्नुभएर; तेस्रो, दयालु ढङ्गमा त्यही कुरा बताउन उखान चलाउनु भएर। तर यी सबैको बावजूद त्यस स्त्रीले बिन्ती गरी नै रहिन् र आफ्नो असाधारण विश्वास प्रदर्शन गरिन्। यो परिस्थितिलाई ध्यानमा राख्दा यो कुनै सामान्य नियम लागू गराउने समय नभई उच्च सिद्धान्तहरूको निम्ति लचकदार हुने समय हो भनी येशूलाई थाहा थियो।a तसर्थ, आफूले तीन पटकसम्म जे गर्दिन भन्नुभएको थियो, उहाँले त्यही गर्नुभयो। उहाँले त्यस स्त्रीकी छोरीलाई निको पार्नुभयो।—मत्ती १५:२१-२८.
७ त्यस्तैगरि, उचित अवसरहरूमा लचकदार हुने हाम्रो इच्छुकताको लागि के हामीले नाउँ कमाएका छौं? आमाबाबुहरूले त्यस्तो व्यावहारिकता निकै पटक देखाउनुपर्छ। प्रत्येक बच्चा भिन्नै हुने हुनाले एउटाको लागि उपयुक्त तरिका अर्कोको निम्ति अनुपयुक्त हुन सक्छ। यसबाहेक, बच्चाहरू हुर्कंदै जाँदा तिनीहरूका आवश्यकताहरू पनि बदलिन्छन्। बच्चाहरू घरमा आइसक्नु पर्ने समयमा छाँटकाँट पो गर्नु परेको छ कि? अझ जीवन्त किसिमले पारिवारिक अध्ययन गरेमा फाइदाजनक हुने थियो कि? सानो गल्तीलाई पनि आमाबाबुले ठूलो बनाउँदा के तिनी नम्र भएर मामिला सुल्झाउन इच्छुक छन्? यसरी कोमल हुँदा आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई अनावश्यक रीस उठाउन र यहोवाबाट टाढा लग्नदेखि जोगिन्छन्।—एफिसी ६:४.
८ प्राचीनहरूले पनि नयाँ परिस्थितिहरू सृजना हुँदा त्यस परिस्थिति अनुकूल व्यवहार गर्नुपर्छ तर कहिल्यै पनि परमेश्वरको विशिष्ट नियमहरूमाथि सम्झौता भने गर्नुहुँदैन। प्रचार-कार्यको सुपरिवेक्षण गर्दा इलाकाका परिवर्तनहरूप्रति के तपाईं सजग हुनुहुन्छ? आफ्नो छिमेकमा मानिसहरूको जीवनशैली परिवर्तन हुँदा शायद सन्ध्याकालीन साक्षी, सडक साक्षी अथवा टेलिफोन साक्षी दिन जोड दिनु पर्ला। त्यस्ता परिस्थितिअनुरूप परिवर्तन गर्नाले प्रचार-कार्यलाई बढी प्रभावकारितासाथ पूरा गर्न हामी मदत पाउँछौं। (मत्ती २८:१९, २०; १ कोरिन्थी ९:२६) सेवकाईमा सबै प्रकारका मानिसहरूसित घुलमिल हुन पनि पावलले भने। उदाहरणको लागि, मानिसहरूलाई मदत दिन स्थानीय धर्म र संस्कृतिबारे यथेष्ट कुराहरू सिकेर के हामी पनि त्यस्तै गर्छौं?—१ कोरिन्थी ९:१९-२३.
९ आखिरी दिन झन् झन् कठिन हुँदै जाँदा आफ्नो बगाललाई अत्याउने समस्याहरूको जटिलता र अप्रियताप्रति पनि गोठालाहरूले अनुकूल व्यवहार गर्नु आवश्यक छ। (२ तिमोथी ३:१) प्राचीनहरू हो, यो कडा हुने समय होइन! आफ्नो कार्यशैली गत अनुभवबाट अप्रभावकारी साबित भएको अथवा “विश्वासी र बुद्धिमान दास” ले त्यस सम्बन्धमा नयाँ विषयवस्तु प्रकाशित गर्न उपयुक्त देखेको छ भने निस्सन्देह प्राचीनले एकोहोरो जिद्दी गर्नेछैन। (मत्ती २४:४५; तुलना गर्नुहोस् उपदेशक ७:१०; १ कोरिन्थी ७:३१) राम्ररी सुनिदिने विश्वासपात्रको नितान्त आवश्यक भएकी निराश बहिनीलाई एक विश्वासी प्राचीनले साँचो मनले मदत गर्ने प्रयास गरे। तर उनले त्यस बहिनीको निराशालाई हल्का ठाने र साधारण समाधानहरू दिए। पछि वाच टावर सोसाइटीले उनकै समस्यासित सम्बन्धित विषयमा बाइबल-आधारित जानकारी प्रकाशित गऱ्यो। यस पटक नयाँ विषयवस्तु चलाएर त्यस बहिनीको अवस्थाप्रति समानुभूति देखाउँदै उनीसित पुनः कुरा गर्ने प्राचीनले निश्चय गरे। (१ थिस्सलोनिकी ५:१४, १५ तुलना गर्नुहोस्) व्यावहारिकताको कस्तो राम्रो उदाहरण!
१० प्राचीनहरूले एकअर्काप्रति पनि कोमल मनोवृत्ति देखाउनुपर्छ। प्राचीनहरूको समूह एकसाथ भेला हुँदा कामकुराहरूमा कुनै प्राचीनले प्रभुता नजमाउनु कति महत्त्वपूर्ण छ! (लूका ९:४८) विशेषगरि अध्यक्षता गर्ने व्यक्तिले आफूलाई यस सम्बन्धमा नियन्त्रणमा राख्नुपर्छ। प्राचीनहरूको समूहमा एक या दुई जना प्राचीन कुनै निर्णयप्रति असहमत भएमा आफूले भनेजस्तो गर्न तिनीहरूले जिद्दी गर्नेछैनन्। बरु, कुनै शास्त्रीय सिद्धान्तहरू भङ्ग नभएसम्म प्राचीनहरूबाट व्यावहारिकता माग गरिएको हुन्छ भन्ने सम्झेर तिनीहरू कोमल हुनेछन्। (१ तिमोथी ३:२, ३) अर्कोतिर, आफूलाई “मुख्य प्रेरितहरू” ठान्ने ‘मूर्खहरूलाई सहँदा’ पावलले कोरिन्थी मण्डलीलाई दिनुभएको ताडना पनि प्राचीनहरूको समूहले बिर्सनु हुँदैन। (२ कोरिन्थी ११:५, १९, २०) अतः जिद्दी, अव्यावहारिक व्यवहार गर्ने सङ्गी प्राचीनलाई सल्लाह दिन तिनीहरू इच्छुक हुनुपर्छ तर सल्लाह दिंदा तिनीहरू स्वयं कोमल र दयालु हुनुपर्छ।—गलाती ६:१.
अख्तियार प्रयोग गर्दा व्यावहारिकता
११ येशू यस पृथ्वीमा हुनुहुँदा उहाँले आफ्नो ईश्वर-प्रदत्त अख्तियार प्रयोग गर्नु भएको ढङ्गमा निस्सन्देह उहाँको व्यावहारिकता झल्किन्थ्यो। समकालीन धार्मिक नेताहरूभन्दा उहाँ कति भिन्न हुनुहुन्थ्यो! एउटा उदाहरणलाई ध्यान दिनुहोस्। विश्रामको दिनमा दाउरा बटुल्ने लगायत कुनै पनि कार्य गर्न परमेश्वरको व्यवस्थाले मनाही गरेको थियो। (प्रस्थान २०:१०; गन्ती १५:३२-३६) मानिसहरूले त्यो व्यवस्था कसरी पालन गर्नेछन् भनेर नियन्त्रण गर्न मात्र ती धार्मिक नेताहरू चाहन्थे। अतः विश्रामको दिनमा मानिसहरूले के के मात्र उचाल्न सक्थे भनेर तिनीहरू आफैले नियम बनाउने जिम्मा लिए। तिनीहरूको नियम थियो: दुईटा सुकेको नेभाराभन्दा गह्रौं कुरा उचाल्न नहुने। किला ठोकिएका चप्पलहरू लगाउँदा किलाहरूको थप भार बोक्नु काम गरे सरह हुन्थ्यो भनेर तिनीहरूले त्यस्ता चप्पलहरू लगाउन समेत निषेध गरे! भनिन्छ, परमेश्वरले दिनुभएको व्यवस्थाअनुसार विश्राम दिनको नियममा धर्मगुरुहरूले जम्माजम्मी ३९ वटा नियम थपे र ती नियमहरूमा अनगिन्ती थपथाप गरे। तर अर्कोतर्फ, प्रतिबन्धित नियमहरू अथवा कडा, असम्भव स्तर माग गरेर येशूले मानिसहरूलाई दोषी तुल्याउन खोज्नु भएन।—मत्ती २३:२-४; यूहन्ना ७:४७-४९.
१२ उसोभए, येशूले परमेश्वरका धार्मिक स्तरहरू दृढतापूर्वक पालन गर्नु भएन भनेर हामीले अनुमान लगाउने हो? उहाँले निश्चय नै परमेश्वरका स्तरहरू पालन गर्नुभयो! ती नियमहरूमा लुकेका सिद्धान्तहरूलाई मानिसहरूले हृदयङ्गम गर्दा सबैभन्दा प्रभावकारी हुन्छ भनेर उहाँलाई थाहा थियो। फरिसीहरूले अनगिन्ती नियमहरूद्वारा मानिसहरूलाई बन्धनमा पार्न खोज्दा येशूले तिनीहरूको हृदय छुने कोसिस गर्नुभयो। उदाहरणको लागि, “व्यभिचारदेखि अलग रहो” भन्ने ईश्वरीय नियमको कुरा आउँदा कोमल हुने कुरै उठ्दैन भनी उहाँलाई राम्ररी थाहा थियो। (१ कोरिन्थी ६:१८) अतः अनैतिकतातर्फ डोऱ्याउन सक्ने विचारहरू विरूद्ध येशूले मानिसहरूलाई चेताउनी दिनुभयो। (मत्ती ५:२८) कडा सूत्रीय नियमहरूमाभन्दा त्यस्ता शिक्षाहरूमा निकै बुद्धि र विवेक पाइन्थ्यो।
१३ आज पनि जिम्मेवार भाइहरू हृदयसम्म पुग्न उत्तिकै इच्छुक छन्। तसर्थ, तिनीहरू स्वेच्छाचारी, अरट्ठो नियमहरू बनाउन अथवा आफ्ना व्यक्तिगत दृष्टिकोण र विचारधारालाई व्यवस्था बनाउनदेखि अलग बस्छन्। (दानियल ६:७-१६ तुलना गर्नुहोस्।) समय समयमा पहिरन र वेशभूषा जस्ता विषयहरूमा दयापूर्ण सम्झौटाहरू उपयुक्त अनि समयसापेक्ष हुनसक्छन्। तर त्यस्ता विषयहरूमा एकोहोरो जिद्दी गरिरहेमा अथवा आफ्नो व्यक्तिगत रूचि लागू गराउन खोजेमा व्यावहारिक मानिस भनी आफूले कमाएको नाउँ सङ्कटमा पर्न सक्छ। वास्तवमा, मण्डलीमा सबैजना एक अर्कालाई नियन्त्रण गर्नदेखि अलग बस्नुपर्छ।—तुलना गर्नुहोस् २ कोरिन्थी १:२४; फिलिप्पी २:१२.
१४ अर्को विषयमा पनि प्राचीनहरूले आफूलाई केलाउनु पर्न सक्छ: ‘अरूबाट केही आशा गर्दा के म व्यावहारिक छु?’ येशू अवश्य हुनुहुन्थ्यो। उहाँले आफ्ना अनुयायीहरूले गरेको तनमनको प्रयासबाहेक अरू आशा गर्नुहुन्न र ती अति मूल्यवान ठान्नुहुन्छ भनी निरन्तर देखाउनुभयो। दुइ पैसा चढाउने गरीब विधवाको उहाँले प्रशंसा गर्नुभयो। (मर्कूस १२:४२, ४३) मरियमको बहुमूल्य भेटलाई चेलाहरूले आलोचना गर्दा उहाँले तिनीहरूलाई हप्काउनु भयो। उहाँले यसो भन्नुभयो: “भइगयो नि, . . . त्यसले जे गर्न सक्थी त्यही गरेकी छ।” (मर्कूस १४:६, ८) आफ्ना अनुयायीहरूले निराश तुल्याउँदा पनि उहाँ व्यावहारिक हुनुहुन्थ्यो। जस्तै, आफू गिरफ्तार हुने रातमा आफ्ना तीन जना घनिष्ठ प्रेरितहरूलाई जागा रहन र सतर्क रहन आग्रह गर्नुहुँदा तिनीहरूले बारम्बार निदाएर येशूलाई निराशित तुल्याए। यद्यपि, सहानुभूतिपूर्वक उहाँले यसो भन्दै टिप्पणी गर्नुभयो: “आत्मा ता साँच्चै तयार छ, तर शरीर कमजोर छ।”—मर्कूस १४:३४-३८.
१५ हो, येशूले आफ्ना अनुयायीहरूलाई “कडा [न्यु व.] प्रयत्न” गर्न प्रोत्साहन दिनुभयो। (लूका १३:२४) तर त्यसो गर्न उहाँले कहिल्यै दबाब भने दिनु भएन! उहाँले तिनीहरूलाई उत्प्रेरित गर्नुभयो, उदाहरण बसाल्नुभयो, अगुवाइ गर्नुभयो र तिनीहरूको हृदय छुने प्रयास गर्नुभयो। बाँकि काम उहाँले यहोवाको आत्माको हातमा छाड्नुभयो। त्यस्तैगरि आज पनि सम्पूर्ण मनतनले यहोवाको सेवा गर्न प्राचीनहरूले बगाललाई प्रोत्साहन दिनुपर्छ। तर अहिले तिनीहरूले यहोवालाई चढाएको सेवा अपर्याप्त अथवा अस्वीकार्य छ भनेर दोषी ठहऱ्याउन अथवा लज्जित तुल्याएर धम्क्याउनदेखि अलग बस्नुपर्छ। आफूले यथासक्दो गरिरहेकाहरूलाई “अझ बढी गर, अझ बढी गर, अझ बढी गर” भन्ने कठोर आग्रहले हतोत्साहित पार्न सक्छ। एक जना प्राचीनले “खुशी पार्न गाह्रो” [न्यु व.] भन्ने नाउँ कमायो भने त्यो कति दुःखदायी अनि व्यावहारिकताभन्दा भिन्न हुनेछ!—१ पत्रुस २:१८.
१६ अरूबाट माग गर्दा पनि हामी सबै जना व्यावहारिक हुनुपर्छ! आफ्नी बिरामी आमाको स्याहार गर्न एउटी बहिनी र उनको पतिले मिसनरी सेवा छोडिसकेपछि यो लेखिन्: “मण्डलीमा हामी प्रकाशकहरूलाई यो साँच्चै नै कठिन समय हो। क्षेत्र र जिल्लाको परिभ्रमण कार्यमा समय बिताइसकेको हुँदा हामी थुप्रै दबाबहरूबाट मुक्त थियौं। तर अहिले अचानक र पीडादायी ढङ्गमा यी कुराहरू स्वीकार गरिरहनु परेको छ। जस्तै, मैले सोच्ने गर्थें, ‘त्यो बहिनीले यस महिनामा दिनुपर्ने सही साहित्य किन प्रस्तुत गर्दैनन्? के तिनी राज्य सेवकाई पढ्दैनन्?’ अब भने मलाई थाहा भयो। केहीको निम्ति तिनीहरूले [सेवकाईमा] गर्न सक्ने यथासक्य कुरा नै त्यति रहेछ।” हाम्रा भाइहरूले नगर्ने कामको न्याय गर्नुभन्दा तिनीहरूले गर्ने कामको सराहना गर्नु कति बेस हुनेछ!
१७ येशूले कसरी आफ्नो अख्तियार व्यावहारिक ढङ्गमा प्रयोग गर्नुहुन्छ भन्ने एउटा अन्तिम उदाहरणलाई ध्यान दिनुहोस्। आफ्नो पिताले जस्तै येशूले डाही भएर आफ्नो अख्तियारलाई घेरा लगाउनु हुन्न। अरूलाई कार्यभार बाँड्ने सम्बन्धमा उहाँ पनि सर्वोत्तम हुनुहुन्छ। त्यसैकारण त उहाँले यस पृथ्वीको “सारा सम्पत्ति” हेरचाह गर्न विश्वासी दासवर्ग नियुक्त गर्नुभएको छ। (मत्ती २४:४५-४७) अनि अरूको विचारहरू सुन्न उहाँ डराउनु हुन्न। उहाँले धेरै चोटि आफ्ना स्रोताहरूलाई यो प्रश्न गर्नुभयो: “तिमी के विचार गर्छौ?” (मत्ती १७:२५; १८:१२; २१:२८; २२:४२) आज ख्रीष्टका सारा अनुयायीहरू पनि त्यस्तै हुनुपर्छ। जतिसुकै अख्तियार भए तापनि तिनीहरू सुन्न इच्छुक हुनुपर्छ। आमाबाबु हो, सुन्नुहोस्! पतिहरू हो, सुन्नुहोस्! प्राचीनहरू हो, सुन्नुहोस्!
१८ निस्सन्देह, हामी सबैजना “व्यावहारिक हुनाको नाउँ कमाउन” चाहन्छौं। (फिलिप्पी ४:५, फिलिप्स्) तर हामीले त्यस्तो नाउँ कमाएका छौं कि छैनौं भनी कसरी थाहा पाउन सक्छौं? मानिसहरूले उहाँबारे के भनिरहेका छन् भनी जान्न कौतुहल हुँदा येशूले आफ्ना भरोसायोग्य सङ्गीहरूलाई सोध्नुभयो। (मत्ती १६:१३) तपाईंले पनि उहाँको उदाहरण पछ्याउनु भए कसो होला? निष्कपटतासाथ बताउने व्यक्तिलाई तपाईं व्यावहारिक, कोमल व्यक्ति हुनुहुन्छ कि हुनुहुन्न भनेर सोध्न सक्नुहुन्छ। व्यावहारिकतासम्बन्धी येशूको सिद्ध उदाहरण अझ राम्ररी अनुकरण गर्न हामी प्रत्येकले गर्न सक्ने थुप्रै कुराहरू छन्! विशेषगरि अरूमाथि हाम्रो बढी अख्तियार छ भने हामी सदैव यहोवा र येशूको उदाहरण अनुकरण गर्दै व्यावहारिक ढङ्गमा कोमल हुन तयार होऔं। उपयुक्त भएमा क्षमा गर्न, झुक्न अथवा कोमल हुन सधैं तत्पर होऔं। अवश्य नै, हामी प्रत्येक जना “व्यावहारिक” हुन प्रयत्नशील होऔं!—तितस ३:२, न्यु व. (w94 8/1)
[फुटनोटहरू]
a द न्यु टेस्टामेन्ट वर्डस् पुस्तकले यस्तो टिप्पणी गर्छ: “कहिलेकाहीं कानूनी तवरमा पूर्णतया उचित भएतापनि नैतिक तवरमा सोह्रै आना गलत परिस्थितिहरू हुन सक्छन् भनेर [व्यावहारिक] एपिकेस मानिसलाई थाहा हुन्छ। व्यवस्थाभन्दा उच्च र महान शक्तिको बाध्यतामा कानूनलाई कहिले फुक्का गर्नुपर्छ भनी एपिकेस मानिसलाई थाहा हुन्छ।”
तपाईंले कसरी जवाफ दिनु हुनेछ?
▫ मसीहीहरू व्यावहारिक हुन किन चाहनुपर्छ?
▫ क्षमा गर्न तयार हुने सम्बन्धमा प्राचीनहरूले कसरी येशूको अनुकरण गर्न सक्छन्?
▫ येशू जस्तै लचकदार हुन हामीले किन प्रयास गर्नुपर्छ?
▫ हामीले अख्तियार प्रयोग गर्ने ढङ्गमा कसरी व्यावहारिकता देखाउन सक्छौं?
▫ हामी साँच्चै नै व्यावहारिक छौं कि छैनौं भनेर आफूलाई कसरी जाँच्न सक्छौं?
[अध्ययनका लागि प्रश्नहरू]
१. आजको संसारमा व्यावहारिक हुनु किन चुनौती हो?
२. हामी व्यावहारिक छौं कि छैनौं भनी निश्चित गर्न फिलिप्पी ४:५ मा प्रेरित पावलका शब्दहरूले कसरी मदत गर्छ?
३. (क) “व्यावहारिक” भनी अनुवाद गरिएको युनानी शब्दको अर्थ के हो र यो गुण किन रूचिकर छ? (ख) अझ बढी व्यावहारिक हुन एक जना मसीहीले कसरी सिक्न सक्छ?
४. आफू “क्षमा गर्न तयार” हुनुहुन्छ भनी येशूले कसरी देखाउनुभयो?
५. (क) भेडाहरूको बीचमा प्राचीनहरूले कस्तो नाउँ कमाएको हुनुपर्छ? (ख) न्यायिक मामिलाहरू सञ्चालन गर्नुअघि प्राचीनहरूले कुन विषयवस्तु पुनरावलोकन गर्न सक्छन् र किन?
६. छोरीलाई भूतात्माले सताएको अन्यजाति स्त्रीप्रति येशूले व्यावहारिकता कसरी प्रदर्शन गर्नुभयो?
७. आमाबाबुहरूले कुन कुन ढङ्गमा व्यावहारिकता देखाउन सक्छन् र किन?
८. इलाकाको आवश्यकतानुसार व्यवहार गर्न मण्डलीका प्राचीनहरू कसरी अग्रसर हुन सक्छन्?
९. एक जना प्राचीनले किन आफूले पहिले गर्ने गरेकै ढङ्गमा सधैं समस्याहरू सुल्झाउन ढिपी कस्नु हुँदैन?
१०. (क) प्राचीनहरूले एकअर्का र प्राचीनहरूको समूहप्रति कसरी कोमल मनोवृत्ति देखाउनुपर्छ? (ख) प्राचीनहरूको समूहले अव्यावहारिकता देखाउनेहरूलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?
११. येशूको समयका यहूदी धर्मगुरुहरू र येशूले अख्तियार प्रयोग गर्नु भएको ढङ्गमा कस्तो भिन्नता थियो?
१२. यहोवाको धार्मिक स्तरहरूको कुरा उठ्दा येशू डगमगाउनु भएन भनेर हामी किन भन्न सक्छौं?
१३. (क) अरट्ठो नियम कानूनहरू बनाउनदेखि प्राचीनहरू किन अलग बस्नुपर्छ? (ख) व्यक्तिविशेषको अन्तस्करणलाई आदर गर्नु पर्ने महत्त्वपूर्ण क्षेत्रहरू कुन कुन हुन्?
१४. अरूबाट माग गर्ने सिलसिलामा येशूले व्यावहारिकता कसरी देखाउनुभयो?
१५, १६. (क) बगाललाई दबाब दिन अथवा धम्क्याउनदेखि प्राचीनहरू किन होशियार हुनुपर्छ? (ख) अरूबाट आशा गर्ने कुराको सम्बन्धमा एक विश्वासी बहिनीले कस्तो छाँटकाँट गरिन्?
१७. व्यावहारिकताको सन्दर्भमा येशूले हाम्रो लागि कसरी उदाहरण बसाल्नुभयो?
१८. (क) व्यावहारिक व्यक्ति भनेर नाउँ कमाएका छौं कि छैनौं भनी हामीले कसरी थाहा पाउन सक्छौं? (ख) हामी सबैले कस्तो सङ्कल्प गर्नु बेस हुनेछ?
[पृष्ठ १४-मा भएको चित्र]
येशूले कुनै हिचकिचाहट विना पश्चातापी पत्रुसलाई क्षमा दिनुभयो
[पृष्ठ १५-मा भएको चित्र]
एउटी स्त्रीले असामान्य विश्वास देखाउँदा यो कुनै साघारण नियम लागू गर्ने समय होइन भनेर येशूले बुझ्नुभयो
[पृष्ठ १७-मा भएको चित्र]
आमाबाबु हो, सुन्नुहोस्!
[पृष्ठ १७-मा भएको चित्र]
पतिहरू हो, सुन्नुहोस्!
[पृष्ठ १७-मा भएको चित्र]
प्राचीनहरू हो, सुन्नहोस्!