प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wt chap. ६ pp. ५०-५९
  • हामी सबैले सामना गर्नुपर्ने विवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हामी सबैले सामना गर्नुपर्ने विवाद
  • एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • इतिहासले के प्रमाणित गरेको छ
  • परमेश्‍वरको नयाँ संसारमा प्रवेश
  • तिनीहरूले यस विवादमा कस्तो प्रतिक्रिया देखाए
  • हामी व्यक्‍तिगत तवरमा कस्तो जवाफ दिन्छौं?
  • सारा सृष्टिले सामना गर्नु पर्ने प्रश्‍न
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • यहोवा हाम्रा सार्वभौम प्रभु हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • परमेश्‍वरले किन दुःखकष्ट आइ पर्न दिनुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिइरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
wt chap. ६ pp. ५०-५९

अध्याय छ

हामी सबैले सामना गर्नुपर्ने विवाद

१, २. (क) शैतानले अदनमा कस्तो विवाद खडा गऱ्‍यो? (ख) त्यो विवाद खडा गरेर शैतानले के भन्‍न खोजिरहेको थियो?

मानिसजातिले सामना गर्नुपरेको सबैभन्दा महत्त्वपूर्ण विवादमा तपाईं मुछिनुभएको छ। यस विवादमा तपाईं कसको पक्षमा खडा हुनुहुनेछ, त्यसमा तपाईंको अनन्त जीवन निर्भर हुनेछ। अदनमा विद्रोह हुँदा यो विवाद खडा भएको थियो। त्यतिबेला शैतानले हव्वालाई यस्तो प्रश्‍न गरेको थियो: “के परमेश्‍वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्‍नुभएको छ?” एउटा रूखबारे परमेश्‍वरले यसो भन्‍नुभयो भनी स्त्रीले जवाफ दिई: “त्यो चाहिं नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ।” त्यसपछि शैतानले ठाडै यहोवाले झूट बोल्नुभएको आरोप लगायो अनि हव्वा र आदम दुवैको जीवन परमेश्‍वरप्रतिको आज्ञाकारितामा निर्भर छैन भन्यो। शैतानले दाबी गरेअनुसार परमेश्‍वरले आफ्ना प्राणीहरूलाई केही असल कुरा अर्थात्‌ जीवनमा आफ्नै स्तर खडा गर्ने क्षमताबाट वञ्चित गरिरहनुभएको थियो। शैतानले यसो भन्यो: “परमेश्‍वर जान्‍नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्‌, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्‍वरजस्तै हुनेछौ।”—उत्पत्ति ३:१-५.

२ वास्तवमा, परमेश्‍वरको नियम पालन गर्नुभन्दा आफै निर्णय गर्नुमा मानिसको भलाइ हुनेछ भनेर शैतानले भनिरहेको थियो। त्यसले परमेश्‍वरको शासन प्रणालीलाई नै चुनौती दिइरहेको थियो। यसले परमेश्‍वरको विश्‍वव्यापी सार्वभौमिकतासम्बन्धी सर्वमहत्त्वपूर्ण विवाद खडा गऱ्‍यो अर्थात्‌ शासन गर्ने परमेश्‍वरको अधिकारलाई चुनौती दियो। यस्तो प्रश्‍न खडा भयो: मानिसहरूको भलाइ केमा हुनेछ, यहोवाको शासन प्रणालीमा वा उहाँबाट स्वाधीन भएर आफै शासन गर्दा? अब, यहोवाले त्यति नै खेर आदम र हव्वालाई नाश गर्न सक्नुहुन्थ्यो। तर त्यसो गर्दा सार्वभौमिकताको विवाद चित्तबुझ्दो ढंगमा समाधान हुने थिएन। मानव समाजलाई लामो समयसम्म रहन दिनुभएर परमेश्‍वर र उहाँका नियमहरूबाट टाढिनुको परिणाम के हुन्छ भनेर उहाँले देखाउन सक्नुहुन्थ्यो।

३. शैतानले उठाएको दोस्रो विवाद के थियो?

३ शासन गर्ने यहोवाको अधिकारमाथि शैतानको आक्रमण अदनको बगैंचामा भएको घटनापछि टुंगिएन। त्यसले अरू प्राणीहरू यहोवाप्रति वफादार रहने सन्दर्भमा पनि शंका उत्पन्‍न गऱ्‍यो। यो पहिलेको विवादसित सम्बन्धित दोस्रो विवाद हुन पुग्यो। त्यसको चुनौतीमा आदम र हव्वाका सन्तानलगायत परमेश्‍वरका सबै आत्मिक प्राणी र यहोवाको एक मात्र प्यारो ज्येष्ठ पुत्रसमेत मुछिनुभयो। उदाहरणका लागि, मानिसहरूले यहोवाको सेवा परमेश्‍वर र उहाँको शासन प्रणालीप्रति प्रेमको कारण नभई आफ्नै स्वार्थपूर्तिको लागि गर्छन्‌ भनेर शैतानले अय्यूबको समयमा औंला ठड्यायो। त्यसले तर्क गरेअनुसार कठिनाइमा पर्दा सबै जना आफ्नै स्वार्थी इच्छाको पछि लाग्नेछन्‌।—अय्यूब २:१-६; प्रकाश १२:१०.

इतिहासले के प्रमाणित गरेको छ

४, ५. मानिसले आफ्नो मार्ग आफै डोऱ्‍याउने सन्दर्भमा इतिहासले के प्रमाणित गरेको छ?

४ सार्वभौमिकताको विवादमा अत्यावश्‍यक बुँदा हो: परमेश्‍वरले मानिसहरूलाई उहाँको शासनबाट स्वाधीन भई बाँचेर सफल हुने गरी सृष्टि गर्नुभएको थिएन। मानिसहरूकै भलाइको लागि उहाँले मानिसहरू उहाँको धार्मिक नियममा निर्भर हुनुपर्ने गरी बनाउनुभएको थियो। अगमवक्‍ता यर्मियाले यसरी मानिलिए: “हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३, २४) त्यसकारण परमेश्‍वरको वचन यस्तो आग्रह गर्छ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌।” (हितोपदेश ३:५) परमेश्‍वरले मानिसजातिलाई जीवित रहन प्राकृतिक नियमहरूको अधीनमा राख्नुभएझैं उहाँले नैतिक नियमहरू पनि बनाउनुभयो अनि यो पालन गरेको खण्डमा मेलमिलापमा रहने समाज सृजना गर्न सम्भव हुने थियो।

५ परमेश्‍वरको शासनविना मानव परिवार कहिल्यै सफल हुन सक्दैन भनेर परमेश्‍वरलाई राम्ररी थाह थियो। परमेश्‍वरको शासनबाट स्वतन्त्र हुने निरर्थक प्रयासमा मानिसहरूले थरिथरिका राजनैतिक, आर्थिक र धार्मिक प्रणाली अपनाएका छन्‌। यी भिन्‍नताहरूले मानिसहरूबीच सधैं मतभेद सृजना गरेको छ। फलस्वरूप हिंसा, युद्ध र मृत्यु व्याप्त भएको छ। “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने” अवस्था भएको छ। (उपदेशक ८:९) मानव इतिहासभरि त्यस्तै भइरहेको छ। परमेश्‍वरको वचनमा भविष्यवाणी गरिएझैं खराब मानिस र ठगाहाहरू “झन्‌ झन्‌ खराब हुँदै” गइरहेका छन्‌। (२ तिमोथी ३:१३) अनि २० औं शताब्दीमा मानिसजातिले वैज्ञानिक र औद्योगिक सफलताको शिखर चुमेका छन्‌ भने, यस शताब्दीमा जत्ति विपत्ति पनि पहिले कहिल्यै भएको थिएन। यर्मिया १०:२३ का शब्दहरू सबै क्षेत्रमा प्रमाणित भएको छ—आफ्नो मार्ग आफै डोऱ्‍याउने क्षमतासहित मानिस सृजिएको थिएन।

६. मानिसहरू परमेश्‍वरबाट स्वाधीन भएको मामिलालाई उहाँले कसरी सुल्झाउनुहुनेछ?

६ परमेश्‍वरबाट स्वाधीन हुँदा मानिसहरूले भोग्ने दुःखद, दीर्घकालीन परिणामले मानिसहरू कहिल्यै सफल हुन सक्दैनन्‌ भनेर प्रमाणित गरिसक्यो। आनन्द, एकता, स्वास्थ्य र जीवन प्राप्त गर्ने एक मात्र तरिका परमेश्‍वरको शासन प्रणाली हो। अनि परमेश्‍वरको वचनले स्वाधीन मानव शासनलाई परमेश्‍वरले अनुमति दिनुहुने समयको अन्त हुनै लागेको छ भनेर देखाउँछ। (मत्ती २४:३-१४; २ तिमोथी ३:१-५) चाँडै, उहाँले पृथ्वीमाथि शासन गर्ने अधिकार देखाउन मानव गतिविधिमा हस्तक्षेप गर्नुहुनेछ। बाइबल भविष्यवाणी यसो भन्छ: “ती [अहिले चलिरहेको मानव शासनका] राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले [स्वर्गमा] एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ [अब उप्रान्त मानिसहरूले पृथ्वीमा शासन गर्नेछैनन्‌]। त्यसले यी सबै [वर्तमान] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४.

परमेश्‍वरको नयाँ संसारमा प्रवेश

७. परमेश्‍वरको शासनले मानिसको शासन अन्त गरेपछि को बच्नेछ?

७ परमेश्‍वरको शासनले मानिसको शासन अन्त गरेपछि को बच्नेछ? बाइबल यस्तो जवाफ दिन्छ: “सोझाहरू [जसले शासन गर्ने परमेश्‍वरको अधिकारलाई समर्थन गर्छन्‌ तिनीहरू] पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू [जसले शासन गर्ने परमेश्‍वरको अधिकारलाई समर्थन गर्दैनन्‌] त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।” (हितोपदेश २:२१, २२) त्यसरी नै, भजन रचयिताले यसो भने: “थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”—भजन ३७:१०, २९.

८. परमेश्‍वरले आफ्नो सार्वभौमिकता कसरी पूर्णतया उच्च पार्नुहुनेछ?

८ शैतानको व्यवस्था खतम पारेपछि परमेश्‍वरले नयाँ संसारको सुरुवात गर्नुहुनेछ र त्यसले मानिसजातिलाई हजारौं वर्षसम्म आफ्नो बन्धनमा जकडिराखेको हिंसा, युद्ध, गरिबी, दुःखकष्ट, बिरामी र मृत्युबाट मुक्‍त गर्नेछ। मानिसजातिले आशा गर्न सक्ने राम्रा कुराहरूबारे बाइबलले यसरी सुन्दर शब्दमा वर्णन गरेको छ: “उहाँले [परमेश्‍वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।” (प्रकाश २१:३, ४) ख्रीष्टको अधीनमा स्वर्गमा स्थापित परमेश्‍वरको राज्य सरकारले सार्वभौम अर्थात्‌ शासक हुने अधिकार उहाँमै निहित छ भनेर प्रमाणित गर्नेछ।—रोमी १६:२०; २ पत्रुस ३:१०-१३; प्रकाश २०:१-६.

तिनीहरूले यस विवादमा कस्तो प्रतिक्रिया देखाए

९. (क) यहोवाप्रति वफादार रहनेहरूले उहाँको वचनप्रति कस्तो दृष्टिकोण राखेका छन्‌? (ख) नूहले आफ्नो वफादारी कसरी प्रमाणित गरे अनि उनको उदाहरणबाट हामी कसरी लाभ उठाउन सक्छौं?

९ इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने, यहोवा नै सार्वभौम हुनुहुन्छ भनेर आफ्नो वफादारी प्रमाणित गर्ने थुप्रै विश्‍वासी पुरुष तथा स्त्रीहरू थिए। तिनीहरूलाई आफ्नो जीवन परमेश्‍वरको कुरा सुन्‍नु र उहाँको आज्ञा पालन गर्नुमा निर्भर छ भनेर थाह थियो। नूह पनि त्यस्तै मानिस थिए। त्यसकारण परमेश्‍वरले नूहलाई यसो भन्‍नुभयो: “सबै प्राणको अन्त्य गर्ने मैले अठोट गरिसकेको छु, . . . एउटा जहाज बनाउनू।” अनि नूहले यहोवाको निर्देशन पालन गरे। चेतावनीको बावजुद त्यतिबेलाका मानिसहरू केही असामान्य कुरा हुनेछैन जस्तो गरी आ-आफ्नै दिनचर्यामा लागे। तर नूहले विशाल जहाज निर्माण गरे अनि यहोवाको धार्मिक मार्गबारे अरूलाई प्रचार गर्ने कार्यमा व्यस्त रहे। विवरण अझ यसो भन्छ: “नूहले त्यसै गरे—परमेश्‍वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।”—उत्पत्ति ६:१३-२२; हिब्रू ११:७; २ पत्रुस २:५.

१०. (क) अब्राहाम र साराले कसरी यहोवाको सार्वभौमिकतालाई उच्च पारे? (ख) हामी अब्राहाम र साराको उदाहरणबाट कसरी लाभ उठाउन सक्छौं?

१० यहोवाको सार्वभौमिकता उच्च पार्दै उहाँले भन्‍नुभएअनुसार सबै कार्य गर्ने असल उदाहरणहरू अब्राहाम र सारा पनि थिए। तिनी कल्दीहरूको संवृद्ध शहर ऊरमा बसोबास गर्थे। तर यहोवाले अब्राहामलाई तिनलाई थाह नभएको अर्को ठाउँमा जान अह्राउनुहुँदा अब्राहाम “परमप्रभुले भन्‍नुभएबमोजिम गइहाले।” निस्सन्देह, साराले आफ्नो घर, साथीभाइ तथा नातेदारहरूसित आरामदायी जीवन बिताइरहेकी थिइन्‌। यद्यपि, उनी यहोवा र आफ्नो पतिको अधीनमा बसेर कनानमा गइन्‌ तर तिनलाई त्यहाँ कस्तो अवस्था हुनेछ भनेर केही थाह थिएन।—उत्पत्ति ११:३१–१२:४; प्रेरित ७:२-४.

११. (क) मोशाले कस्तो अवस्थामा यहोवाको सार्वभौमिकतालाई उच्च पारे? (ख) मोशाको उदाहरणबाट हामी कसरी लाभ उठाउन सक्छौं?

११ यहोवाको सार्वभौमिकतालाई उच्च पार्ने अर्का व्यक्‍ति मोशा थिए। अनि तिनले यो एकदमै कठिन अवस्थामा अर्थात्‌ मिश्रका फिरऊन सम्मुख पर्दा समेत यहोवाको सार्वभौमिकतालाई त्यागेनन्‌। यसको मतलब मोशा आफैमा विश्‍वस्त थिए भन्‍न खोजेको होइन। यसको विपरीत, तिनले राम्ररी बोल्न सकूँला कि नसकूँला भनेर आफ्नो क्षमतामा शंका गरेका थिए। तर तिनले यहोवाको आज्ञा पालन गरे। यहोवाको समर्थन अनि आफ्नो भाइ हारूनको मदत पाएर मोशाले अट्टेरी फिरऊनलाई धेरै चोटि यहोवाको वचन सुनाए। केही इस्राएलीहरूले समेत मोशाको कटु आलोचना गरे। यद्यपि, मोशा वफादार भई यहोवाले भन्‍नुभएबमोजिम सबै गरे अनि तिनीमार्फत नै इस्राएलले मिश्रबाट छुटकारा पायो।—प्रस्थान ७:६; १२:५०, ५१; हिब्रू ११:२४-२७.

१२. (क) यहोवाप्रति वफादार हुनु भनेको परमेश्‍वरले लिखित रूपमा दिनुभएको नियम मात्र पालन गर्नु होइन भनेर कुन कुराले देखाउँछ? (ख) यस्तो प्रकारको वफादारीले हामीलाई १ यूहन्‍ना २:१५ मा दिइएको सल्लाह लागू गर्न कसरी मदत गर्नेछ?

१२ यहोवाका वफादार जनहरूले परमेश्‍वरले लिखित रूपमा दिनुभएको नियम मात्र पालन गरे पुग्छ भन्‍ने तर्क गरेनन्‌। पोतीफरकी श्रीमतीले यूसुफसित अनैतिक सम्बन्ध राख्न खोज्दा परमेश्‍वरले व्यभिचारलाई निषेध गर्ने कुनै लिखित आज्ञा दिनुभएको थिएन। तथापि, यूसुफलाई यहोवाले अदनको बगैंचामा स्थापना गर्नुभएको वैवाहिक प्रबन्धबारे थाह थियो। अर्काकी श्रीमतीसित यौनसम्बन्ध राख्नु परमेश्‍वरको नजरमा अप्रिय कुरा हो भनेर तिनलाई थाह थियो। परमेश्‍वरले तिनलाई कुन हदसम्म मिश्रीहरूजस्तो हुन दिनुहुनेछ भनेर यूसुफ यहोवाको परीक्षा गर्न चाहँदैनथे। तिनले मानिसजातिसित यहोवाको व्यवहारलाई मनन गर्दै र परमेश्‍वरको इच्छा भनी बुझेका नियमहरू पालन गर्न सजग भएर यहोवाको सार्वभौमिकता उच्च पारे।—उत्पत्ति ३९:७-१२; भजन ७७:११, १२.

१३. निम्न व्यक्‍तिहरूको सन्दर्भमा दियाबल कसरी झूटो साबित भयो (क) अय्यूब? (ख) तीन जना हिब्रू केटाहरू?

१३ यहोवालाई राम्ररी चिनेकाहरू एकदमै कठिन परीक्षा भोग्नुपर्दा समेत उहाँबाट तर्किंदैनन्‌। यहोवाले निकै प्रशंसा गर्नुहुने व्यक्‍ति अय्यूबले आफ्नो धनसम्पत्ति वा स्वास्थ्य गुमाएको खण्डमा तिनले परमेश्‍वरलाई त्याग्नेछन्‌ भनेर शैतानले आरोप लगायो। अय्यूबलाई आफूमाथि विपत्तिहरू आउनुको कारण थाह नभए तापनि तिनले दियाबललाई झूटा साबित गरे। (अय्यूब २:९, १०) आफ्नो कुरा प्रमाणित गर्न शैतानले शताब्दीयौंपछि पनि बेबिलोनका आक्रोशित राजालाई चलायो। आफूले स्थापना गरेको मूर्तिको उपासना नगरेको खण्डमा राजाले तीन जना हिब्रू ठिटाहरूलाई आगोको भट्टीमा फ्याँकिदिने धम्की दिन लगायो। राजाप्रति आज्ञाकारी हुने वा मूर्तिपूजाबारे यहोवाको नियम पालन गर्नेबीच एउटा छान्‍न बाध्य तुल्याउँदा समेत तिनीहरूले यहोवाको सेवा गरेर उहाँलाई नै सार्वभौम सत्ताधारी मानेको प्रमाणित गरे। तिनीहरूको लागि आफ्नो वर्तमान जीवनभन्दा यहोवाप्रतिको वफादारी मूल्यवान्‌ थियो।—दानियल ३:१४-१८.

१४. हामी असिद्ध मानिसहरूले आफू यहोवाप्रति वफादार छौं भनेर कसरी देखाउन सक्छौं?

१४ यस्ता उदाहरणहरूबाट यहोवाप्रति वफादार हुन हामी सिद्ध हुनुपर्छ वा गल्ती गर्ने व्यक्‍तिको लागि कुनै आशै छैन भन्‍ने निष्कर्षमा पुग्नु के ठीक होला? पटक्कै हुनेछैन! बाइबलले हामीलाई मोशा पनि कहिलेकाहीं चुकेका थिए भनी बताउँछ। यहोवा अप्रसन्‍न हुनुभए तापनि उहाँले मोशालाई त्याग्नुभएन। येशू ख्रीष्टका प्रेरितहरूको पनि कमीकमजोरीहरू थिए। हाम्रो जन्मजात असिद्धतालाई विचार गर्दै, हामी जानाजानी यहोवाको इच्छा बेवास्ता गर्दैनौं भने उहाँ प्रसन्‍न हुनुहुन्छ। कमीकमजोरीको कारण हामी गलत कार्यमा फस्यौं भने साँचो पश्‍चात्ताप गरेर गल्ती नदोहऱ्‍याउने प्रयास गर्नु महत्त्वपूर्ण छ। यसरी हामी यहोवाले असल ठान्‍नुहुने कुरालाई साँच्चै प्रेम गर्छौं र उहाँले खराब ठान्‍नुहुने कुरालाई घृणा गर्छौं भनेर देखाउँछौं। पाप-प्रायश्‍चित गर्ने येशूको बलिदानमा विश्‍वास राखेर हामी परमेश्‍वरसमक्ष सफा अन्तस्करण लिएर खडा हुन सक्छौं।—आमोस ५:१५; प्रेरित ३:१९; हिब्रू ९:१४.

१५. (क) मानिसहरूमध्ये परमेश्‍वरप्रति पूर्ण निष्ठा कायम गर्ने एक मात्र व्यक्‍ति को हुन्‌ र यसले के प्रमाणित गऱ्‍यो? (ख) येशूले गर्नुभएको कार्यबाट हामी कस्तो मदत पाउँछौं?

१५ तैपनि, मानिसहरू यहोवाको सार्वभौमिकताप्रति पूर्णतया आज्ञाकारी हुनु के बिल्कुलै असम्भव कुरा हो? यो प्रश्‍नको जवाफ लगभग ४,००० वर्षअघि एउटा “[पवित्र] रहस्य” थियो। (१ तिमोथी ३:१६) आदम सिद्ध सृष्टि गरिए तापनि तिनले ईश्‍वरीय भक्‍तिको सिद्ध नमुना बसालेनन्‌। त्यसो भए कसले बसाल्ने थियो त? तिनका कोही पनि पापी सन्तानले गर्न सक्ने थिएनन्‌। यसो गर्न सक्ने एक मात्र पुरुष येशू ख्रीष्ट हुनुहुन्थ्यो। (हिब्रू ४:१५) अनुकूल परिस्थितिमा रहेका आदमले चाहेका भए पूर्णतया निष्ठावान्‌ रहन सक्थे भनी येशूले प्रमाणित गर्नुभयो। परमेश्‍वरको सृजनात्मक कार्यमा कुनै दोष थिएन। त्यसकारण ईश्‍वरीय नियमप्रति पूर्ण आज्ञाकारी हुनुका साथै सार्वभौम सत्ताधारी यहोवाप्रति व्यक्‍तिगत तवरमा निष्ठावान्‌ रहने सन्दर्भमा हामीले अनुकरण गर्नुपर्ने उदाहरण येशू ख्रीष्ट हुनुहुन्छ।—व्यवस्था ३२:४, ५.

हामी व्यक्‍तिगत तवरमा कस्तो जवाफ दिन्छौं?

१६. यहोवाको सार्वभौमिकताप्रति हाम्रो मनोभाव कस्तो छ भनेर हामी किन सधैं सजग हुनुपर्छ?

१६ आज हामी सबै विश्‍वव्यापी सार्वभौमिकताको विवादमा मुछिएका छौं। यहोवाको पक्षमा छौं भनेर हामीले खुलेआम भनेका छौं भने शैतानले हामीलाई तारो बनाउँछ। त्यसले चारैतिरबाट हामीमाथि दबाब ल्याउँछ र यस रीतिरिवाजको अन्तसम्मै त्यसो गरिरहनेछ। हामी हरबखत होसियार रहिरहनुपर्छ। (१ पत्रुस ५:८) यहोवाको सार्वभौमिकतासम्बन्धी सर्वमहत्त्वपूर्ण विवाद तथा परीक्षाको बेला निष्ठा कायम राख्ने दोस्रो विवादमा आफ्नो अडान कस्तो छ भनेर हाम्रो आचरणले देखाउनेछ। संसारमा अवफादारी व्याप्त छ भन्दैमा वफादार रहनुलाई हल्कासित लिन सक्दैनौं। निष्ठा कायम गर्नु भनेको जीवनको हरेक पक्षमा यहोवाका धार्मिक स्तरहरू पालन गर्ने प्रयास गर्नु हो।

१७. झूटो बोल्ने र चोरी गर्ने कार्यको सुरुवातकर्ता को हो भनी थाह पाएपछि हामी किन त्यसबाट टाढै बस्न चाहन्छौं?

१७ उदाहरणका लागि, हामीले “झूटको पिता” शैतानको देखासिकी गर्न मिल्दैन। (यूहन्‍ना ८:४४) हामी आफ्नो सबै व्यवहारमा इमानदार हुनुपर्छ। शैतानको रीतिरिवाजमा जवान मानिसहरू अक्सर आफ्ना आमाबाबुप्रति इमानदार हुँदैनन्‌। तर मसीही युवाहरू यसो गर्दैनन्‌ र परमेश्‍वरका जनहरू परीक्षाको घडीमा निष्ठावान्‌ रहनेछैनन्‌ भन्‍ने शैतानको आरोपलाई झूटा ठहराउँछन्‌। (अय्यूब १:९-११; हितोपदेश ६:१६-१९) अनि सत्यको परमेश्‍वर नभई “झूटको पिता[सित]” सम्बन्धित व्यापारिक प्रचलनहरू पनि छन्‌। यसबाट हामी टाढै बस्छौं। (मीका ६:११, १२) साथै, खाँचोमा पर्दा वा धनी व्यक्‍तिको मालसामान चोर्नु ठीकै हो भनेर कुनै बहाना बनाउन मिल्दैन। (हितोपदेश ६:३०, ३१; १ पत्रुस ४:१५) हामी बसेको ठाउँमा चोरी गर्नु सामान्य कुरा हो वा अरूबाट सानो थोक मात्र लिएका छौं भने पनि यो परमेश्‍वरको नियम विपरीत हो।—लूका १६:१०; रोमी १२:२; एफिसी ४:२८.

१८. (क) ख्रीष्टको हजार वर्षीय शासनको अन्तमा सम्पूर्ण मानवजातिले कस्तो परीक्षा भोग्नेछ? (ख) हामीले अहिलेदेखि कस्तो बानी बसाल्नुपर्छ?

१८ ख्रीष्टको हजार वर्षीय शासनको दौडान शैतान र त्यसका प्रेतहरू अगाध खाँदमा हुनेछन्‌ र मानिसजातिमाथि कुनै प्रभाव पार्न सक्नेछैनन्‌। त्यतिबेला कस्तो हाइसन्चो हुनेछ! तर हजार वर्षपछि तिनीहरूलाई केही समयको लागि छोडिनेछ। यहोवाप्रति निष्ठा कायम गर्ने पुनर्स्थापित मानिसजातिमाथि शैतान र त्यसलाई पछ्याउनेहरूले दबाब दिनेछन्‌। (प्रकाश २०:७-१०) त्यतिबेला हामी जीवित रहने मौका पायौं भने विश्‍वव्यापी सार्वभौमिकताप्रति कस्तो प्रतिक्रिया देखाउनेछौं? त्यतिबेला सम्पूर्ण मानवजाति सिद्ध हुने हुँदा कुनै पनि प्रकारको अवफादारी, जानाजानी गरिएको हुनेछ र अनन्त विनाशको योग्य ठहरिनेछ। यहोवाले आफ्नो वचन वा संगठनमार्फत प्रदान गर्नुहुने जस्तोसुकै निर्देशनप्रति अहिलेदेखि नै आज्ञाकारी हुने बानी बसाल्नु अत्यावश्‍यक छ! त्यसो गर्दा हामीले उहाँ विश्‍वव्यापी सार्वभौम हुनुहुन्छ भनेर साँचो निष्ठा देखाइरहेका हुनेछौं।

पुनरावृत्ति छलफल

• हामी सबैले सामना गर्नुपर्ने ठूलो विवाद के हो? हामी यसमा कसरी मुछिन पुग्यौं?

• पुरातन समयका पुरुष तथा स्त्रीले यहोवाप्रति देखाएको निष्ठाको उल्लेखनीय पक्ष के हो?

• आफ्नो आचारणबाट दिनहुँ यहोवाको आदर गरेको देखाउनु किन अत्यावश्‍यक छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने