अध्याय ८
अरू हामीभन्दा उच्च छन्
तिमी र मभन्दा उच्च अर्थात् महान् र शक्तिशाली अरू कोही छ भन्ने कुरामा तिमी पक्कै सहमत छौ होला। उहाँ को हुनुहुन्छ, भन्न सक्छौ?— उहाँ यहोवा परमेश्वर हुनुहुन्छ। अनि उहाँको छोरा महान् शिक्षकबारे के भन्न सकिन्छ? के उहाँ हामीभन्दा उच्च हुनुहुन्छ?— अवश्य हुनुहुन्छ।
येशू परमेश्वरसित स्वर्गमा बस्नुहुन्थ्यो। उहाँ अदृश्य व्यक्ति अर्थात् स्वर्गदूत हुनुहुन्थ्यो। के परमेश्वरले अरू स्वर्गदूत अर्थात् अदृश्य व्यक्तिहरू बनाउनुभयो?— हो, उहाँले लाखौं स्वर्गदूत बनाउनुभयो। ती स्वर्गदूतहरू पनि हामीभन्दा उच्च र शक्तिशाली छन्।—दानियल ७:१०; हिब्रू १:७.
मरियमसित कुरा गर्ने स्वर्गदूतको नाम के तिमीलाई याद छ?— तिनको नाम गब्रिएल थियो। तिनले मरियमलाई उनले जन्माउने बालक परमेश्वरको छोरा हुनुहुनेछ भनी बताए। परमेश्वरले आफ्नो अदृश्य छोराको जीवन मरियमको गर्भभित्र सार्नुभयो। यसले गर्दा येशू बच्चाको रूपमा यस पृथ्वीमा जन्मन सक्नुभयो।—लूका १:२६, २७.
मरियम र यूसुफले येशूलाई के बताएको हुनुपर्छ?
यो चमत्कारमा के तिमी विश्वास गर्छौ? येशू स्वर्गमा परमेश्वरसित बस्नुहुन्थ्यो भनेर के तिमी विश्वास गर्छौ?— येशूले आफू परमेश्वरसित स्वर्गमा बसेको कुरा बताउनुभयो। येशूलाई यस्ता कुराहरू कसरी थाह भयो? गब्रिएलले भनेका कुराहरू येशू सानो छँदा उहाँलाई मरियमले भनेकी हुनुपर्छ। साथै, उहाँको साँच्चैको बुबा परमेश्वर हुनुहुन्छ भनेर यूसुफले उहाँलाई बताएको हुनुपर्छ।
येशूले बप्तिस्मा गर्दा परमेश्वरले स्वर्गबाट यसोसमेत भन्नुभयो: “यिनी मेरो प्यारो छोरा हुन्।” (मत्ती ३:१७) अनि आफू मर्नुअघिको रात येशूले यसरी प्रार्थना गर्नुभयो: “हे बुबा, संसारको उत्पत्ति हुनुअघि तपाईंसँगसँगै मैले जुन महिमा पाएको थिएँ, त्यही महिमाले अहिले तपाईंसँगै मलाई पनि महिमित पार्नुहोस्।” (यूहन्ना १७:५) परमेश्वरसँग बस्न आफूलाई फेरि स्वर्गमा लैजानुहोस् भनेर येशूले बिन्ती गर्नुभयो। उहाँ कसरी त्यहाँ बस्न सक्नुहुन्थ्यो?— परमेश्वरले उहाँलाई फेरि अदृश्य व्यक्ति अर्थात् स्वर्गदूत बनाउनुभएपछि मात्र उहाँ त्यहाँ बस्न सक्नुहुन्थ्यो।
अब म तिमीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्छु है! के सबै स्वर्गदूत असल छन्? तिमीलाई कस्तो लाग्छ?— हो, कुनै समय तिनीहरू सबै असल थिए। किनकि यहोवाले तिनीहरूलाई बनाउनुभएको थियो र उहाँले बनाउने सबै कुरा असल हुन्छन्। तर पछि एक जना स्वर्गदूत खराब भयो। कसरी?
जवाफ पत्ता लगाउन हामी परमेश्वरले पहिलो लोग्नेमान्छे र स्वास्नीमान्छे, आदम र हव्वालाई बनाएको समयमा फर्कनुपर्ने हुन्छ। तिनीहरूबारे बताइएका कुराहरू काल्पनिक मात्र हुन् भनी कोही-कोही भन्ने गर्छन्। तर महान् शिक्षकलाई ती सबै कुरा साँचो हुन् भनी थाह थियो।
परमेश्वरले आदम र हव्वालाई बनाएर अदन भन्ने एउटा सुन्दर बगैंचामा राख्नुभयो। त्यो एउटा पार्क अर्थात् प्रमोदवन थियो। थुप्रै छोराछोरी जन्माएर आफ्नो ठूलो परिवारसहित तिनीहरू सधैंभरि प्रमोदवनमा बस्न सक्थे। तर तिनीहरूले एउटा महत्त्वपूर्ण पाठ सिक्नुपर्ने थियो। यसबारे हामीले पहिल्यै कुरा गरिसकेका छौं। त्यो सम्झन सक्छौं कि, हेरौं है!
आदम र हव्वाले प्रमोदवनमा सधैंभरि बाँच्न के गर्नुपर्थ्यो?
यहोवाले आदम र हव्वालाई बगैंचामा भएका रूखहरूबाट चाहे जति फलफूल खान सक्छौ भन्नुभयो। तर तिनीहरूले एउटा रूखको फलचाहिं खान हुँदैनथ्यो। तिनीहरूले त्यो रूखको फल खाए भने के हुन्छ परमेश्वरले भन्नुभएको थियो। उहाँले भन्नुभयो: ‘तिमीहरू मर्नेछौ।’ (उत्पत्ति २:१७; ३:३) त्यसोभए आदम र हव्वाले के पाठ सिक्नुपर्थ्यो?—
आज्ञाकारी हुनुपर्छ भन्ने पाठ सिक्नुपर्थ्यो। हो, परमेश्वरप्रति आज्ञाकारी हुँदा जीवन बचाउन सकिन्छ! आदम र हव्वाले मुखले मात्र आज्ञा पालन गर्छु भनेर पुग्दैन थियो, कामबाटै देखाउनुपर्थ्यो। परमेश्वरको आज्ञा पालन गरेको भए तिनीहरूले परमेश्वरलाई प्रेम गरेको र उहाँलाई आफ्नो शासकको रूपमा चाहेको कुरा देखाइरहेका हुन्थे। त्यसपछि तिनीहरू प्रमोदवनमा सधैंभरि बाँच्न सक्थे। तर त्यो रूखको फल खाएमा चाहिं के स्पष्ट हुन्थ्यो?—
परमेश्वरले तिनीहरूलाई दिएका कुराहरूका लागि तिनीहरू उहाँप्रति साँच्चै धन्यवादी नभएको स्पष्ट हुन्थ्यो। तिमी त्यहाँ भएको भए के तिमी यहोवाको आज्ञा पालन गर्थ्यौ? — सुरुमा त आदम र हव्वाले यहोवाको आज्ञा पालन गरे। तर पछि तिनीहरूभन्दा उच्च व्यक्तिले हव्वालाई छक्यायो। त्यसले हव्वालाई यहोवाको आज्ञा नमान्न उक्सायो। त्यो को थियो?—
सर्पलाई कसले हव्वासित बोल्न लगायो?
बाइबलअनुसार एउटा सर्पले हव्वासित कुरा गरेको थियो। तर तिमीलाई थाहै छ, सर्पले बोल्न सक्दैन। त्यसोभए त्यतिबेला त्यो सर्प कसरी बोल्न सक्यो त?— खासमा त्यो सर्प बोलेको थिएन, बोल्ने त एक जना स्वर्गदूत थियो। त्यो स्वर्गदूतले दुष्ट कुरा सोच्न थालेको थियो। आदम र हव्वाले त्यसको उपासना गरेको त्यो चाहन्थ्यो। तिनीहरूले त्यसको आज्ञा पालन गरेको त्यो चाहन्थ्यो। त्यो परमेश्वरको ठाउँ लिन चाहन्थ्यो।
त्यसैले त्यो खराब स्वर्गदूतले हव्वाको मनमा खराब विचार राखिदियो। सर्पलाई प्रयोग गरेर त्यसले हव्वालाई भन्यो: ‘परमेश्वरले तिमीसित झूटो बोल्नुभयो। त्यो रूखको फल खाँदैमा तिमीहरू मर्दैनौ। तिमीहरू परमेश्वरजस्तै बुद्धिमान् हुनेछौ।’ के तिमी भएको भए त्यसको कुरा पत्याउँथ्यौ?—
परमेश्वरले नदिएको कुरा हव्वाले चाहन थालिन्। परमेश्वरले जुन रूखको फल नखानू भन्नुभएको थियो, त्यही रूखको फल तिनले खाइन्। त्यसपछि तिनले आदमलाई पनि खान दिइन्। त्यो सर्पले भनेको कुरा आदमले विश्वास गरेनन्। तर तिनमा परमेश्वरप्रतिको प्रेमभन्दा हव्वासितै बसिरहने इच्छा बढी थियो। त्यसैले आदमले पनि त्यो रूखको फल खाए।—उत्पत्ति ३:१-६; १ तिमोथी २:१४.
अनि के भयो?— आदम र हव्वा त्रुटिपूर्ण भए, बूढाबूढी भए अनि मरे। त्यसैले तिनीहरूका सबै सन्तान पनि त्रुटिपूर्ण भए र उनीहरू पनि पछि गएर बूढाबूढी भए र मरे। परमेश्वरले झूटो बोल्नुभएको थिएन! साँच्चै, परमेश्वरप्रति आज्ञाकारी हुनु-नहुनुमा हाम्रो जीवन भर पर्छ। (रोमी ५:१२) हव्वासित झूटो बोल्ने त्यो स्वर्गदूतलाई सैतान अर्थात् दियाबल भनिन्छ र अरू खराब स्वर्गदूतलाई चाहिं दुष्ट स्वर्गदूत भनिन्छ भनी बाइबल बताउँछ।—याकूब २:१९; प्रकाश १२:९.
परमेश्वरको आज्ञा नमानेपछि आदम र हव्वालाई के भयो?
परमेश्वरले बनाएको असल स्वर्गदूत पछि गएर किन खराब भयो, के तिमीले बुझ्यौ?— किनभने त्यसले खराब कुराहरू सोच्न थाल्यो। त्यो सबैभन्दा ठूलो हुन चाहन्थ्यो। परमेश्वरले आदम र हव्वालाई छोराछोरी जन्माउन आज्ञा दिएको कुरा त्यसलाई थाह थियो र त्यो तिनीहरू सबैले आफ्नो उपासना गरेको चाहन्थ्यो। सबै जनाले यहोवाको आज्ञा नमानोस् भन्ने दियाबल चाहन्छ। त्यसैले, हाम्रो मनमा त्यसले खराब विचारहरू राखिदिन खोज्छ।—याकूब १:१३-१५.
यहोवालाई वास्तवमा कसैले पनि माया गर्दैन भनी दियाबल भन्छ। तिमी र मैले परमेश्वरलाई माया गर्दैनौं र हामी परमेश्वरले भनेको कुरा मनदेखि गर्न चाहँदैनौं भनी त्यसले भन्छ। आफूले चाहेजस्तो भयो भने मात्र हामी यहोवाको आज्ञा पालन गर्छौं भनी त्यसले भन्छ। के दियाबलले भनेको कुरा सही हो? के हामी त्यस्तै छौं?
महान् शिक्षकले दियाबल झूटा हो भन्नुभयो। यहोवालाई साँच्चै माया गर्छु भनेर येशूले प्रमाणित गर्नुभयो। कसरी? उहाँको आज्ञा पालन गरेर। अनि येशूले सजिलो भएको बेलामा मात्रै परमेश्वरको आज्ञा पालन गर्नुभएको होइन। येशूले सधैं आज्ञा पालन गर्नुभयो, अरू मान्छेले एकदमै गाह्रो बनाइदिंदा समेत। मृत्युसम्मै उहाँ यहोवाप्रति वफादार हुनुभयो। त्यसैले त परमेश्वरले उहाँलाई सधैंभरि बाँच्नको लागि पुनर्जीवित पार्नुभयो।
त्यसोभए तिम्रो विचारमा हाम्रो सबैभन्दा ठूलो शत्रु को हो?— ठीक भन्यौ, त्यो शत्रु सैतान अर्थात् दियाबल हो। के तिमी त्यसलाई देख्न सक्छौ?— अहँ, सक्दैनौ। तर त्यो छ अनि त्यो हामीभन्दा उच्च र शक्तिशाली छ भनेर हामीलाई थाह छ। तर दियाबलभन्दा पनि उच्च को हुनुहुन्छ?— यहोवा परमेश्वर। त्यसैले यहोवाले हाम्रो रक्षा गर्न सक्नुहुन्छ भनी हामीलाई थाह छ।
हामीले उपासना गर्नुपर्ने व्यक्तिबारे पढौं है: व्यवस्था ३०:१९, २०; यहोशू २४:१४, १५; हितोपदेश २७:११ अनि मत्ती ४:१०.