प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lr अध्या. २९ पृ. १५२-१५६
  • के सबै भोजले परमेश्‍वरलाई खुसी बनाउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के सबै भोजले परमेश्‍वरलाई खुसी बनाउँछ?
  • महान्‌ शिक्षकबाट सिकौं
  • मिल्दोजुल्दो सामग्री
  • जन्मदिनको भोजमा हत्या
    येसु—बाटो, सत्य र जीवन
  • पाठकहरूका प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाका साक्षीहरू किन जन्मदिन मनाउँदैनन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • जन्मोत्सवको भोजमा हत्या
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
महान्‌ शिक्षकबाट सिकौं
lr अध्या. २९ पृ. १५२-१५६

अध्याय २९

के सबै भोजले परमेश्‍वरलाई खुसी बनाउँछ?

यतिबेला इस्राएलीहरूले रमाइलो गर्दा परमेश्‍वर किन खुसी हुनुभयो?

के तिमीलाई भोजहरूमा जान मनपर्छ?—त्यहाँ धेरै मज्जा हुन्छ नि, हगि! हामी भोजहरूमा गएको महान्‌ शिक्षक चाहनुहुन्छ कि चाहनुहुन्‍न?—भन्‍ने हो भने, उहाँ पनि एउटा विवाह भोजमा जानुभएको थियो। अनि उहाँसँगै केही चेला पनि गएका थिए। यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ। त्यसकारण हामीले असल खालका भोज तथा पार्टीहरूमा गएर रमाइलो गर्दा उहाँ खुसी हुनुहुन्छ।—१ तिमोथी १:११; यूहन्‍ना २:१-११.

इस्राएलीहरू लाल समुद्रपारि जान सकून्‌ भनेर यहोवाले त्यसलाई दुई भाग पार्नुभएको थियो। यसबारे हामीले यस किताबको पृष्ठ २९ मा पढेका थियौं। तिमीलाई याद छ होला होइन?—लाल समुद्र पार गरिसकेपछि इस्राएलीहरूले नाचगान गरे र यहोवालाई धन्यवाद चढाए। त्यो एउटा पार्टीजस्तै थियो। तिनीहरू असाध्यै खुसी थिए। परमेश्‍वर पनि आनन्दित हुनुभयो भन्‍ने कुरामा हामी पक्का हुन सक्छौं।—प्रस्थान १५:१, २०, २१.

त्यसको झन्डै ४० वर्षपछि इस्राएलीहरू अर्को एउटा ठूलो भोजमा गए। यसपटक भने इस्राएलीहरूलाई परमेश्‍वरको उपासना नै नगर्ने मानिसहरूले बोलाए। वास्तवमा भन्‍ने हो भने, तिनीहरूलाई निम्तो दिनेहरू अरू नै देवताहरूको पूजा गर्थे र तिनीहरू आफूले विवाह नगरेका केटा वा केटीसित यौनसम्बन्ध राख्थे। त्यस्तो भोजमा जानु ठीक होला त?—इस्राएलीहरू त्यस्तो भोजमा जाँदा यहोवा खुसी हुनुभएन र उहाँले तिनीहरूलाई सजाय दिनुभयो।—गन्ती २५:१-९; १ कोरिन्थी १०:८.

जन्मदिन मनाउन गरिएको दुइटा भोजबारे पनि बाइबलमा बताइएको छ। एउटा भोज महान्‌ शिक्षकको जन्मदिन मनाउन गरिएको थियो कि?—अहँ, थिएन। ती दुइटै भोज यहोवाको सेवा नगर्ने मानिसहरूको जन्मदिन मनाउन गरिएको थियो। एउटा भोज, राजा हेरोद एन्टिपासको जन्मदिन मनाउन गरिएको थियो। येशू गालील जिल्लामा बस्दा हेरोद त्यहाँका शासक थिए।

राजा हेरोदले थुप्रै खराब काम गरे। तिनले आफ्नी भाउजू हेरोदियासलाई श्रीमती बनाए। परमेश्‍वरका सेवक, बप्तिस्मा गराउने यूहन्‍नाले राजालाई तिनको काम गलत हो भनी बताए। हेरोदलाई यो कुरा मन परेन। त्यसैले तिनले यूहन्‍नालाई झ्यालखानामा हाले।—लूका ३:१९, २०.

यूहन्‍ना झ्यालखानामै हुँदा हेरोदको जन्मदिन आयो। हेरोदले एउटा ठूलो भोज दिए। तिनले नाम चलेका थुप्रै मानिसलाई बोलाए। सबैले खाए-पिए र मोज गरे। त्यसपछि हेरोदियासकी छोरीले नाच देखाई। उसले नाचेको देखेर सबै जना यति खुसी भए कि राजा हेरोदले उसलाई विशेष उपहार दिन चाहे। राजाले उसलाई यसो भने: “तिमीले मसित जे मागे पनि म तिमीलाई दिनेछु, मेरो आधै राज्यसमेत।”

उसले के माग्ने विचार गरी? पैसा? राम्रा-राम्रा लुगा? आफ्नै एउटा महल? उसलाई केही भन्‍नै आएन। त्यसैले, आफ्नी आमा हेरोदियासकहाँ गएर उसले सोधी: “म के मागूँ?”

हेरोदियास बप्तिस्मा गराउने यूहन्‍नालाई अति घृणा गर्थिन्‌। त्यसैले तिनले आफ्नी छोरीलाई यूहन्‍नाको टाउको माग्न भनिन्‌। तिनकी छोरीले राजाकहाँ गएर भनी: “बप्तिस्मा गराउने यूहन्‍नाको टाउको एउटा किस्तीमा राखेर मलाई अहिल्यै दिनुहोस्‌ भन्‍ने मेरो इच्छा छ।”

राजा हेरोद यूहन्‍नालाई मार्न चाहँदैन थिए। किनभने यूहन्‍ना असल व्यक्‍ति हुन्‌ भनेर तिनलाई थाह थियो। तर तिनले कसम खाइसकेका थिए। मन बदल्यो भने भोजमा आएकाहरूले के भन्लान्‌ भनी तिनलाई पीर लागेको थियो। त्यसैले तिनले यूहन्‍नाको टाउको काट्‌न एक जना मान्छेलाई झ्यालखानामा पठाए। त्यो मान्छे तुरुन्तै किस्तीमा यूहन्‍नाको टाउको लिएर फर्क्यो। त्यसले त्यो किस्ती केटीलाई दियो। अनि उसले लगेर आफ्नी आमालाई दिई।—मर्कूस ६:१७-२९.

बाइबलमा बताइएको जन्मदिनको अर्को भोजमा पनि नराम्रो घटना घट्यो। त्यो भोज मिश्रका राजाको लागि गरिएको थियो। त्यो भोजमा पनि राजाले एक जना मान्छेको टाउको काट्‌न लगाए। त्यसपछि चराहरूले खाऊन्‌ भनेर तिनलाई रूखमा झुण्ड्याइदिए। (उत्पत्ति ४०:१९-२२) यी दुवै भोजलाई के परमेश्‍वरले स्वीकार्नुभयो?—के तिमी भए त्यस्ता भोजहरूमा जान्थ्यौ?—

हेरोदको जन्मदिनको भोजमा के भयो?

बाइबलमा जति पनि कुरा छन्‌, ती विनाकारण लेखिएनन्‌ भनेर हामीलाई थाह छ। बाइबलमा जम्मा दुइटा जन्मदिनको भोजबारे लेखिएको छ। अनि ती दुवै भोजमा खराब काम गरिए। त्यसोभए त्यस्ता भोज तथा पार्टीहरूबारे परमेश्‍वर के भन्‍न खोज्दै हुनुहुन्छ जस्तो तिमीलाई लाग्छ? हामीले जन्मदिन मनाएको के परमेश्‍वर चाहनुहुन्छ?—

हुन त हो, आजभोलिका भोज तथा पार्टीहरूमा मानिसको टाउको काटिंदैन। तर कुरा के हो भने, जन्मदिन मनाउने चलन साँचो परमेश्‍वरलाई नमान्‍ने मानिसहरूबाट सुरु भयो। क्याथोलिक विश्‍वकोश (अङ्‌ग्रेजी) नाम गरेको किताबले बाइबलमा बताइएका जन्मदिनको भोजहरूबारे यसो भन्छ: “पापीहरूले मात्र . . . आफ्नो जन्मदिनमा ठूलो रमाहट गर्छन्‌।” के हामी तिनीहरूजस्तै हुन चाहन्छौं?—

महान्‌ शिक्षकले नि? के उहाँले जन्मदिन मनाउनुभयो?—उहाँको जन्मदिन मनाइयो भनेर बाइबलमा कतै पनि बताइएको छैन। वास्तवमा येशूका सुरु-सुरुका चेलाहरूले उहाँको जन्मदिन मनाएनन्‌। तर पछि मानिसहरूले किन डिसेम्बर २५ मा येशूको जन्मदिन मनाउन थाले, तिमीलाई थाह छ?—

यो मिति किन रोजियो भन्‍ने विषयमा द वर्ल्ड बूक इन्साइक्लोपीडिया (अङ्‌ग्रेजी) नाम गरेको एउटा किताब यसो भन्छ, “रोमका बासिन्दाहरू त्यस दिनलाई शनिको उत्सव, अर्थात्‌ सूर्यको जन्म दिवसको रूपमा मनाउँथे।” त्यसैले परमेश्‍वरलाई नमान्‍ने मानिसहरूको बिदा भएकै बेलामा येशूको जन्मदिन मनाउन रोजियो।

येशू डिसेम्बर महिनामा जन्मेको होइन, किन तिमीलाई थाह छ?—किनभने बाइबलमा बताइएअनुसार येशू जन्मँदा गोठालाहरू रातीसम्म पनि बाहिर चौरमै थिए। (लूका २:८-१२) तिनीहरू डिसेम्बरको चिसो अनि पानी पर्ने मौसममा बाहिर बसिरहेका हुन सक्दैनन्‌।

येशूको जन्म किन डिसेम्बर २५ मा भएको होइन?

क्रिसमस येशूको जन्मदिन होइन भनेर धेरैजसो मानिसलाई थाह छ। त्यस दिन परमेश्‍वरलाई नमान्‍ने मानिसहरूले एउटा उत्सव मनाउँथे। त्यस उत्सवसित परमेश्‍वर खुसी हुनुहुन्‍न भनेर समेत तिनीहरूलाई थाह छ। तैपनि मानिसहरू क्रिसमस मनाउँछन्‌। परमेश्‍वर के सोच्नुहुन्छ भनेर पत्ता लगाउनुभन्दा पनि तिनीहरू भोजमै चासो दिन्छन्‌। तर हामी भने यहोवालाई खुसी पार्न चाहन्छौं नि, होइन र?—

त्यसैले भोज तथा पार्टी गर्दा त्यससित यहोवा खुसी हुनुहुन्छ कि हुनुहुन्‍न भनेर हामी पक्का गर्न चाहन्छौं। हामी वर्षको जुनै पनि बेला भोज गर्न सक्छौं। कुनै खास दिन मात्र भोज गर्नुपर्छ भन्‍ने छैन। हामी मीठा-मीठा खाना खान सक्छौं वा विभिन्‍न खेल खेलेर रमाइलो गर्न सक्छौं। के तिमीलाई त्यसो गर्न मनपर्छ?—सायद तिमी आमाबाबुसँग कुरा गर्न सक्छौ र उहाँहरूको मदत लिएर भोजको आयोजना गर्न सक्छौ। यसो गर्दा कत्ति रमाइलो हुन्छ नि, होइन र?—तर भोजको आयोजना गर्नुअघि त्यससित परमेश्‍वर खुसी हुनुहुन्छ कि हुनुहुन्‍न भनेर पक्का गरौं है!

[पृष्ठ १५६-मा भएको चित्र]

हामीले आयोजना गर्ने भोज तथा पार्टीसित परमेश्‍वर खुसी हुनुहुन्छ कि हुनुहुन्‍न, कसरी पक्का गर्न सक्छौं?

सधैं परमेश्‍वरले स्वीकार्ने काम गर्नु कत्ति महत्त्वपूर्ण छ भनेर हितोपदेश १२:२; यूहन्‍ना ८:२९; रोमी १२:२ अनि १ यूहन्‍ना ३:२२ मा बताइएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने