प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 १०/१५ pp. ३०-३१
  • पाठकहरूका प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका साक्षीहरू किन जन्मदिन मनाउँदैनन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • के सबै भोजले परमेश्‍वरलाई खुसी बनाउँछ?
    महान्‌ शिक्षकबाट सिकौं
  • १३. के सबै किसिमको चाडपर्व तथा उत्सव परमेश्‍वरलाई स्वीकार्य छ?
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने उत्सव तथा पर्वहरू
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 १०/१५ pp. ३०-३१

पाठकहरूका प्रश्‍न

यहोवाका थुप्रै साक्षीहरू विवाहको वार्षिकोत्सव मनाउँछन्‌। जन्मदिन पनि त तपाईं जन्मनु भएको दिनको वार्षिकोत्सव हो। अतः विवाहको वार्षिकोत्सव मनाउन हुने तर जन्मदिन मनाउन नहुने त्यस्तो के कारण छ?

कुरा नलुकाई भन्‍ने हो भने, मसीहीले विवाहको वार्षिकोत्सव र जन्मदिन दुवै मनाउनु आवश्‍यक छैन। तथापि, त्यसो भन्दैमा विवाहको वार्षिकोत्सव मनाउनु र जन्मदिन मनाउनु उस्तै कुरा हो भन्‍ने होइन नता मसीहीहरूले त्यसलाई (विवाहको वार्षिकोत्सव मनाउनुलाई) जन्मदिन मनाउनुसहर ठान्‍नुहुन्छ।

वास्तवमा, दुवै उत्सव वार्षिकोत्सव हुन्‌ किनभने “वार्षिकोत्सव” भनेको ‘कुनै खास घटना भएको दिनलाई हरेक वर्ष सम्झनु हो।’ वार्षिकोत्सव जे को पनि हुनसक्छ। जस्तै, तपाईंको गाडी दुर्घटना भएको दिन, चन्द्रग्रहण लागेको दिन, सपरिवार पौडी खेल्न गएको दिन र त्यस्तै अरू। स्पष्टतः मसीहीहरू हरेक “वार्षिकोत्सवलाई” विशेष दिन ठान्‍ने वा उक्‍त दिन भोज लगाएर रमाइलो गर्ने गर्दैनन्‌। कुनै पनि व्यक्‍तिले हर पक्षको विचार गर्नुपर्छ र सुहाउँदो के छ, निर्णय गर्नुपर्छ।

उदाहरणका लागि, सा.यु.पू. १५१३ मा परमेश्‍वरले मिश्र देशमा इस्राएलीहरूको घर भएर स्वर्गदूतले गरेको निस्तार र त्यसपछि इस्राएलीहरूको प्रस्थानलाई वर्षेनी सम्झनू भनेर तोकेरै निर्देशन दिनुभएको थियो। (प्रस्थान १२:१४) येशूलगायत यहूदीहरूले वर्षेनी परमेश्‍वरले भन्‍नुभएझैं गरे। तर तिनीहरू त्यस दिन कुनै भोजभतेर गर्ने वा उपहार लिनेदिने गर्दैनथे। यहूदीहरू मन्दिर पुनःसमर्पण गरेको दिनलाई पनि विशेष वार्षिकोत्सवको रूपमा मान्थे। हुन त यो ऐतिहासिक घटना मनाउने आदेश बाइबलमा कतै पनि दिइएको छैन, तापनि येशूले कहिल्यै त्यसको आलोचना गर्नुभएन भनेर यूहन्‍ना १०:२२, २३ ले बताउँछ। अनि मसीहीहरू परमेश्‍वरको वचनमा दिइएको सुस्पष्ट निर्देशनअनुरूप वर्षेनी येशूको मृत्युको वार्षिकोत्सव मनाउन विशेष सभाको आयोजना गर्छन्‌।—लूका २२:१९, २०.

अनि विवाहको वार्षिकोत्सवबारे चाहिं के भन्‍न सकिन्छ? कुनै कुनै मुलुकमा लोग्नेस्वास्नीले परमेश्‍वरले सुरु गर्नुभएको प्रबन्ध अर्थात्‌ आफ्नो विवाहको दिन सम्झेर वार्षिकोत्सव मनाउने सामान्य प्रचलन छ। (उत्पत्ति २:१८-२४; मत्ती १९:४-६) बाइबलले विवाहलाई गलत ठान्दैन। येशू पनि विवाह भोजमा जानुभएको थियो र त्यस अवसरमा आनन्दित हुने कारण पनि हुनुभयो।—यूहन्‍ना २:१-११.

अतः लोग्नेस्वास्नीले आफ्नो विवाहको वार्षिकोत्सव मनाएर त्यस मौकाको आनन्द उठाउनु अनि भविष्यमा अझ सफल दम्पतीको रूपमा बाँच्ने निर्णय गर्नु अनौठो कुरा होइन। लोग्नेस्वास्नी दुई जना मात्र मिलेर सुखद्‌ अवसरको आनन्द उठाउने हो वा दुई चार जना नातेदार वा घनिष्ठ मित्रहरूलाई बोलाएर मनाउने हो, त्यो लोग्नेस्वास्नीको व्यक्‍तिगत कुरा हो। निस्सन्देह, सुखद्‌ अवसर भन्दैमा नियन्त्रण गर्न नसकिने संख्यामा मानिसहरू बोलाएर रमझम गर्नुपर्छ भन्‍ने होइन। मसीहीहरूले दिनहुँ व्यवहारमा उतार्नुपर्ने सिद्धान्तहरू त्यस दिन पनि व्यवहारमा उतार्न चाहन्छन्‌। अतः विवाहको वार्षिकोत्सव मनाउने वा नमनाउने पूर्णतया व्यक्‍तिगत कुरा हो।—रोमी १३:१३, १४.

त्यसोभए, जन्मदिन मनाउने सन्दर्भमा के भन्‍न सकिन्छ? बाइबलमा कसैले आफू जन्मेको दिनको वार्षिकोत्सव मनाएको संकेत छ?

हुन त, यसै शताब्दीको सुरु सुरुतिर बाइबल स्टुडेन्ट्‌स भनेर चिनिने यहोवाका साक्षीहरू जन्मदिन मनाउने गर्थे। तिनीहरूमध्ये प्रायजसोसित दैनिक स्वर्गीय मन्‍न (अंग्रेजी) भन्‍ने सानो किताब हुन्थ्यो। त्यसमा हरेक दिनको निम्ति बाइबलको एउटा पद हुन्थ्यो र थुप्रै मसीहीहरूले त्यसमा सँगी बाइबल स्टुडेन्ट्‌सको जन्मदिन सम्झन दैनिक पदसँगै सानो फोटो राखेका हुन्थे। यसबाहेक, ज्याक्सनभाइल, फ्लोरिडा, सं.रा.अ.-मा सम्मेलन हुँदा सोसाइटीका तत्कालीन अध्यक्ष, भाइ रसललाई मञ्चमा लगियो भनी फेब्रुअरी १५, १९०९ को द वाच टावर-मा बताइएको छ। किन? किनभने तिनलाई जन्मदिनको अप्रत्याशित तर रमाइलो उपहार अर्थात्‌ केही बाकस भोगटे, भैंकटहर र सुन्तलाहरू दिइयो। यस शताब्दीको सुरु सुरुतिर कस्तो वातावरण थियो, त्यो बुझ्न यस घटनाले हामीलाई मदत गर्छ। अर्को उल्लेखनीय कुरा के छ भने, त्यसै समयतिर बाइबल स्टुडेन्ट्‌सले डिसेम्बर २५ मा येशूको जन्मोत्सव वा जन्मदिन पनि मनाउँथे। ब्रूकलिन बेथेलमा क्रिसमसको साँझ भोजसमेत लगाउने चलन थियो।

निस्सन्देह, त्यसबेलादेखि यता परमेश्‍वरका जनहरू आध्यात्मिकताका थुप्रै पक्षहरूमा निकै हुर्किसकेका छन्‌। सन्‌ १९२० मा सत्यको अझ चहकिलो ज्योति प्रकट हुँदा भाइहरूले निम्न कुराहरू बुझ्नसके:

येशू डिसेम्बर २५ मा जन्मनुभएको होइन र डिसेम्बर २५ गैरमसीही धर्मसँग सम्बन्धित छ। बाइबलले हामी येशूको मृत्युको दिनको सम्झने निर्देशन दिन्छ, उहाँ वा कसैको जन्मदिन होइन। यसो गर्नु उपदेशक ७:१ अनि विश्‍वासी व्यक्‍ति जन्मेको दिनभन्दा उसको जीवन कसरी बित्यो, त्यो महत्त्वपूर्ण हुन्छ भन्‍ने तथ्यअनुरूप छ। परमेश्‍वरका विश्‍वासी सेवकले आफ्नो जन्मदिन मनाएका थिए भन्‍ने रिपोर्ट बाइबलमा कतै पाइँदैन। बरु बाइबलमा उल्लिखित जति पनि जन्मदिनका घटनाहरू छन्‌, ती सबै मूर्तिपूजकहरूका जन्मदिन हुन्‌ र त्यस दिन क्रूर घटनाहरू भएको बाइबल उल्लेख गर्छ। मनाइएका यी जन्मदिनहरूमा के भए, आउनुहोस्‌, जाँचौं।

पहिलो जन्मदिन चाहिं युसुफको समयमा फिरऊनले मनाएको जन्मदिन हो। (उत्पत्ति ४०:२०-२३) यससम्बन्धमा ह्‍यास्टिङको इन्साइक्लोपिडिया अफ रिलिजन एण्ड इथिक्स जन्मदिनबारे यसो भन्छ: “जन्मदिन मनाउने प्रचलन आफू जन्मेको दिन गन्ती गर्ने परम्परासँग सम्बन्धित छन्‌ भने त्यसका कुनै कुनै प्रचलनहरू पुरातन धार्मिक विधिहरूसँग मुछिएका छन्‌।” उक्‍त इन्साइक्लोपिडियाले मिस्री पुरातात्विक कुराहरूको अध्ययन गर्ने सर जे. गार्डनर विल्किन्सलको यो लेखोटलाई उद्धरण पनि गरेको छ: “प्रत्येक मिश्रीहरू आफू जन्मेको दिन र घण्टासमेतलाई महत्त्वपूर्ण ठान्थे। सायद, तिनीहरूले फारसमा जस्तै धुमधाम रमाइलो गरेर, साथीभाइ बोलाएर मनोरञ्जन गरेर अनि थरिथरिका परिकारहरूको भोज लगाएर जन्मदिन मनाउँथे होलान्‌।”

बाइबलमा जन्मदिन मनाउने अर्को व्यक्‍ति हेरोद थिए र त्यतिखेर बप्तिस्मा दिने यूहन्‍नाको शिरच्छेदन गरिएको थियो। (मत्ती १४:६-१०) दी इन्टरनेशनल स्टाण्डर्ड बाइबल इन्साइक्लोपीडिया (१९७९ संस्करण) यस्तो अन्तरदृष्टि पेश गर्छ: “हेलिनिस्टिक अघिका युनानीहरूले देवीदेवता तथा गण्यमान्य व्यक्‍तिहरूको जन्मदिन मनाउँथे। यु[नानी] जेनेथ्लिया-ले यिनै उत्सवहरू बुझाउँथ्यो भने जेनेसिया-को अर्थ मरिसकेका गण्यमान्य व्यक्‍तिहरूको जन्मोत्सव थियो। दोस्रो मक्क[बीज] ६:७ मा अन्तिओकस चौथोको मासिक जेनेथ्लिया मनाइएको र त्यतिबेला यहूदीहरूलाई जबरजस्ती ‘बलिदानहरूमा सहभागी हुन’ लगाइएको संकेत पाउँछौं। . . . हेरोदले आफ्नो जन्मदिन मनाउँदा यी हेलिनिस्टिक रीतिअनुसार चल्दैथे। हेलिनिस्टिक अघि इस्राएलमा जन्मदिन मनाइएको प्रमाण छैन।”

आज साँचो मसीहीहरू प्रत्येक चलन वा रीति को मूल तथा त्यससित कुनै धार्मिक सम्बन्ध छ कि भन्दै नाटीकुटि गर्दै चिन्तित हुँदैनन्‌। तथापि, तिनीहरूमा परमेश्‍वरको वचनमा प्रस्टै देखिने संकेतहरू इन्कार गर्ने झुकाउ छन्‌ भनेर पनि मान्‍नैपर्छ। यसमा जन्मदिन मनाइएकोबारे मात्र उल्लेख गरिएका बाइबल रेकर्ड गैरमसीही हुनुका साथै ती अवसरहरू क्रूर घटनाहरूसित सम्बन्धित हुनु समावेश छन्‌। यसप्रकार, धर्मशास्त्रले जन्मदिन मनाउनुलाई पूर्णतया तिरस्कार गर्छ जुन तथ्य निष्कपट मसीहीहरू बेवास्ता गर्दैनन्‌।

अतः मसीहीहरूले आफ्नो विवाहको वार्षिकोत्सव मनाउने विचार गर्छन्‌ भने, त्यो पूर्णतया व्यक्‍तिगत मामिला हो। तथापि, परिपक्व मसीहीहरू जन्मदिन मनाउनदेखि परै रहनुका मनासिब कारणहरू छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने