अध्याय ३७
यहोवा र उहाँको छोरालाई सम्झौं
कसैले तिमीलाई एकदमै राम्रो उपहार दियो भने के गर्छौ?—धन्यवाद त भन्छौ तर उपहार दिने मानिसलाई चटक्कै बिर्सन्छौ कि? अथवा त्यो मानिस र उसले तिम्रो लागि गरेको कुरा सम्झिरहन्छौ?—
यहोवा परमेश्वरले हामीलाई एउटा एकदमै राम्रो उपहार दिनुभएको छ। उहाँले हाम्रो लागि भनेर आफ्नो छोरा पृथ्वीमा मर्न पठाउनुभयो। येशू हाम्रो लागि किन मर्नुपऱ्यो, तिमीलाई थाह छ?—यो हामीले बुझ्नै पर्ने कुरा हो।
अध्याय २३ मा सिकेझैं आदमले परमेश्वरको त्रुटिरहित नियम तोडेर पाप गऱ्यो। अनि ऊ हामी सबैको बुबा हो। त्यसैले हामीले उसबाट पाप पायौं। त्यसोभए हामीलाई केको आवश्यकता पऱ्यो?—भन्ने हो भने हामीलाई पृथ्वीमा त्रुटिरहित जीवन बिताउने एक जना नयाँ बुबाको आवश्यकता पऱ्यो। त्यस्तो जीवन बिताउन सक्ने बुबा को होला?—हो, येशू ख्रीष्ट।
आदमको सट्टा येशू हाम्रो बुबा हुन सकोस् भनेर यहोवाले उहाँलाई पृथ्वीमा पठाउनुभयो। बाइबल भन्छ: “ ‘पहिलो आदम जीवित मानिस भयो।’ अन्तिम आदमचाहिं जीवन दिने व्यक्ति भए।” पहिलो आदम को थियो?—ऊ त्यही हो जसलाई परमेश्वरले यस पृथ्वीको माटोबाट बनाउनुभयो। दोस्रो आदम को हुनुहुन्छ?—येशू ख्रीष्ट। यो कुरा बाइबलमा यसरी स्पष्ट पारिएको छ: “पहिलो मानिस [आदम] पृथ्वीको हो र माटोले बनेको हो; दोस्रो मानिस [येशूचाहिं] स्वर्गका हुन्।”—१ कोरिन्थी १५:४५, ४७; उत्पत्ति २:७.
परमेश्वरले स्वर्गमा जीवन बिताइरहनुभएको येशूको जीवन मरियमको गर्भमा सार्नुभयो। त्यसैले येशूले आदमबाट कुनै पाप पाउनुभएन। यसरी येशू त्रुटिरहित मानिस हुनुभयो। (लूका १:३०-३५) त्यसैकारण त येशू जन्मँदा एक जना स्वर्गदूतले गोठालाहरूलाई यसो भने: ‘आज तिमीहरूको उद्धारकको जन्म भएको छ।’ (लूका २:११) तर हाम्रो उद्धारक बन्न येशू पहिले वयस्क हुनुपर्थ्यो नि, होइन र?—उहाँ आदमजस्तै वयस्क हुनुपर्थ्यो। त्यसपछि मात्र ‘दोस्रो आदम’ बन्न सक्नुहुन्थ्यो।
हाम्रा उद्धारक येशू हाम्रा “सनातनका पिता” पनि बन्नुहुनेछ। उहाँलाई बाइबलमा त्यो नाम दिइएको छ। (यशैया ९:६, ७) हो, पाप गरेर त्रुटिपूर्ण भएको आदमको सट्टा त्रुटिरहित येशू हाम्रो बुबा बन्न सक्नुहुन्छ। त्यसैले ‘दोस्रो आदमलाई’ हामी आफ्नो बुबाको रूपमा चुन्न सक्छौं। वास्तवमा, येशू आफै पनि यहोवा परमेश्वरको छोरा हुनुहुन्छ।
आदम र येशू कसरी समान थिए अनि त्यसो हुनु किन आवश्यक थियो?
येशूबारे सिकेर हामी उहाँलाई आफ्नो उद्धारकको रूपमा स्वीकार्न सक्छौं। हामीलाई केबाट बचाइनुपर्छ, तिमीलाई याद छ?—हो, आदमबाट जन्मजात पाएको पाप र मृत्युबाट। येशूले वयस्क भएपछि चढाउनुभएको उहाँको त्रुटिरहित जीवनलाई फिरौती भनिन्छ। हाम्रो पाप क्षमा गर्न सकियोस् भनेर यहोवाले फिरौतीको प्रबन्ध मिलाउनुभयो।—मत्ती २०:२८; रोमी ५:८; ६:२३.
परमेश्वर र उहाँको छोराले हाम्रो लागि जे गर्नुभयो, त्यो हामी अवश्य बिर्सन चाहँदैनौं नि, होइन र?—येशूले उहाँको कामलाई सम्झन मदत गर्ने एउटा विशेष तरिका चेलाहरूलाई सिकाउनुभयो। हामी त्यसबारे कुरा गरौं है!
कल्पना गर, तिमी यरूशलेमको घरको माथिल्लो तलामा छौ। रात परिसकेको छ। येशू र उहाँका प्रेषितहरू टेबुलमा बसिरहनुभएको छ। त्यो टेबुलमा भेडाको पाठोको पोलेको मासु, रोटी अनि दाखमद्य अर्थात् रातो अङ्गुरबाट बनेको मद्य छ। उहाँहरू विशेष भोज खाँदै हुनुहुन्छ। किन, तिमीलाई थाह छ?—
सयौं वर्षअघि यहोवा परमेश्वरले आफ्ना मानिसहरू अर्थात् इस्राएलीहरू मिश्र देशमा दास छँदा जे गर्नुभएको थियो, त्यसको सम्झनामा तिनीहरूले त्यो भोज मनाउने गर्थे। त्यतिबेला यहोवाले आफ्ना मानिसहरूलाई यसो भन्नुभएको थियो: ‘एक-एक परिवारको निम्ति एक-एक भेडाको पाठो मार्नू र त्यसको रगत ढोकाको खामाहरूमा लाउनू।’ त्यसपछि उहाँले यसो भन्नुभयो: ‘घरभित्र जानू र त्यो पाठोको मासु खानू।’
भेडाको पाठोको रगतले इस्राएलीहरूलाई कसरी बचायो?
इस्राएलीहरूले त्यसै गरे। अनि त्यसै रात परमेश्वरका स्वर्गदूत मिश्रको बाटो भएर गए। ती स्वर्गदूतले धेरैजसो घरका जेठो सन्तानलाई मारे। तर तिनले जुन घरको ढोकाको खामामा पाठोको रगत देख्थे, ती घरहरूचाहिं छोडिदिन्थे। ती घरका कोही पनि सन्तान मरेनन्। यहोवाको स्वर्गदूतको काम देखेर मिश्रका राजा फारो डराए। त्यसैले उनले इस्राएलीहरूलाई यसो भने: ‘तिमीहरू जान सक्छौ। मिश्रबाट निक्लेर गइहाल।’ त्यसपछि इस्राएलीहरूले आफ्नो सबै सामान ऊँट अनि गधाहरूमा बाँधे र त्यहाँबाट हिंडे।
यहोवाले आफ्ना मानिसहरूलाई कसरी छुटकारा दिनुभयो, त्यो तिनीहरूले बिर्सेको उहाँ चाहनुहुन्न थियो। त्यसैले उहाँले यसो भन्नुभयो: ‘आजजस्तै तिमीहरूले हरेक वर्ष यस्तै भोज खानुपर्छ।’ यो विशेष भोजलाई तिनीहरू निस्तार-चाड भन्थे।—प्रस्थान १२:१-१३, २४-२७, ३१.
येशू र उहाँका प्रेषितहरूले निस्तार-चाडको भोज खाँदा यही कुरा सम्झिरहेका छन्। यसपछि येशूले एउटा एकदमै महत्त्वपूर्ण काम गर्नुहुन्छ। तर त्योभन्दा अघि धोकेबाज प्रेषित यहूदालाई बाहिर पठाइन्छ। त्यसपछि येशूले एउटा रोटी लिनुहुन्छ। प्रार्थना गरेपछि त्यो रोटी भाँचेर चेलाहरूलाई दिंदै उहाँ यसो भन्नुहुन्छ: “लेओ, खाओ।” त्यसपछि अझै यसो भन्नुहुन्छ: ‘यो रोटी तिमीहरूका लागि मरेर मैले दिने शरीरको प्रतीक हो।’
त्यसपछि येशूले दाखमद्यको कचौरा लिनुहुन्छ। अनि दोस्रो चोटि प्रार्थना चढाएपछि तिनीहरूलाई त्यो कचौरा दिंदै यसो भन्नुहुन्छ: “तिमीहरू सबैले यसबाट पिओ।” साथै उहाँ यसो पनि भन्नुहुन्छ: ‘यो कचौरा मेरो रगतको प्रतीक हो। तिमीहरूलाई पापबाट छुटाउन अब म छिट्टै रगत बगाउँदैछु। मेरो सम्झनामा यो गर्नेगर।’—मत्ती २६:२६-२८; १ कोरिन्थी ११:२३-२६.
येशूले दाखमद्यसित तुलना गर्नुभएको उहाँको रगतले हाम्रो लागि के गर्न सक्छ?
येशूको सम्झनामा चेलाहरूले यो गरिरहनुपर्छ भनेर उहाँले भन्नुभएको के तिमीले याद गऱ्यौ?—तिनीहरूले अबदेखि निस्तार-चाड मनाउनु पर्दैनथ्यो। बरु, येशू र उहाँको मृत्युको सम्झना गर्न तिनीहरूले हरेक वर्ष यो विशेष भोज गर्नुपर्थ्यो। यो भोजलाई प्रभुको साँझको भोज भनिन्छ। यस भोजलाई आज हामी अक्सर स्मरणार्थ उत्सव भन्ने गर्छौं। किन?—किनभने त्यसले येशू र उहाँको बुबा यहोवा परमेश्वरले हाम्रो लागि गरेको कुराको सम्झना गराउँछ।
रोटीले हामीलाई येशूको शरीरको सम्झना गराउँछ। हामीले अनन्त जीवन पाओस् भनेर उहाँ आफ्नो शरीर दिन इच्छुक हुनुभयो। अनि दाखमद्यले केलाई बुझाउँछ?—यसले येशूको रगतको मोलको सम्झना गराउँछ। मिश्रमा निस्तार-चाडको दिन मारिने भेडाको रगतभन्दा उहाँको रगत धेरै बहुमूल्य छ। किन, तिमीलाई थाह छ?—येशूको रगतले गर्दा हाम्रो पापको क्षमा हुन सक्छ भनेर बाइबल बताउँछ। अनि सबै पापबाट मुक्त भएपछि हामी बिरामी पर्नेछैनौं, बूढाबूढी हुनेछैनौं र मर्नेछैनौं। स्मरणार्थमा उपस्थित हुँदा हामीले त्यो कुरा सम्झनुपर्छ।
के सबैले स्मरणार्थमा रोटी खानु र दाखमद्य पिउनु हुन्छ?—त्यो रोटी खाने र दाखमद्य पिउनेहरूलाई येशूले यसो भन्नुभएको थियो: ‘तिमीहरूले मेरो राज्यमा भाग पाउनेछौ र स्वर्गमा मसँगै सिंहासनहरूमा बस्नेछौ।’ (लूका २२:१९, २०, ३०) यसको अर्थ तिनीहरू येशूसँगै राजा हुन स्वर्ग जाने थिए। त्यसैले स्वर्गमा येशूसँगै शासन गर्ने आशा भएकाहरूले मात्र त्यो रोटी खानु र दाखमद्य पिउनु हुन्छ।
तर त्यो रोटी नखाने र दाखमद्य नपिउनेहरू पनि स्मरणार्थमा उपस्थित हुनुपर्छ। किन, तिमीलाई थाह छ?—किनभने येशूले आफ्नो जीवन हाम्रो लागि पनि दिनुभयो। स्मरणार्थमा उपस्थित भएर हामीले त्यो कुरा बिर्सेका छैनौं भनी देखाइरहेका हुन्छौं। परमेश्वरले दिएको एकदमै राम्रो उपहारको हामी सम्झना गर्छौं।
येशूको फिरौतीको महत्त्वलाई १ कोरिन्थी ५:७; एफिसी १:७; १ तिमोथी २:५, ६ अनि १ पत्रुस १:१८, १९ ले पनि स्पष्ट पार्छ।