प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १२/१५ pp. २२-२६
  • “मेरो सम्झनामा यो गर्ने गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मेरो सम्झनामा यो गर्ने गर”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्मरणार्थमा प्रयोग गरिने प्रतीकहरू
  • रोटी र दाखमद्यले केलाई सङ्‌केत गर्छ?
  • ख्रीष्टको मृत्युको वार्षिकी कसरी मनाउनुपर्छ?
  • प्रभुको साँझको भोज किन मनाउने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • स्मरणार्थको बेलामा ‘हामी के हौं’ भनेर जाँच्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • हामी किन प्रभुको साँझको भोज मनाउँछौं?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • प्रभुको साँझको भोज—परमेश्‍वरको आदर गर्ने उत्सव
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १२/१५ pp. २२-२६

“मेरो सम्झनामा यो गर्ने गर”

“धन्यवाद चढाएपछि [रोटी] भाँचेर [उहाँले] यसो भन्‍नुभयो: ‘यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो। मेरो सम्झनामा यो गर्नेगर।’”—१ कोरि. ११:२४.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • हरेक वर्ष स्मरणार्थको दिन कसरी तय गरिन्छ?

  • प्रभुको साँझको भोजमा प्रयोग गरिने रोटी र दाखमद्यले केलाई सङ्‌केत गर्छ?

  • हाम्रो आशा जस्तो भए तापनि स्मरणार्थमा उपस्थित हुनु किन महत्त्वपूर्ण छ?

१, २. यरूशलेमको यात्रा सुरु गर्नुअघि प्रेषितहरूको मनमा कस्तो कुरा खेलेको हुनुपर्छ?

‘ओहो! बादलहरू हट्‌दै गए। ऊ . . . चन्द्रमाको रेखी पनि हल्का देखिन थाल्यो। हिजो साँझ यरूशलेमको पहरेदारले पनि यो दृश्‍य पक्कै देखे होलान्‌। यहूदी न्यायपरिषद्‌का सदस्यहरूले यो कुरा थाह पाएपछि तिनीहरूले नयाँ महिना अर्थात्‌ नीसान महिना सुरु भयो भनेर तुरुन्तै घोषणा गरे। आगोको सङ्‌केतद्वारा अनि सन्देशवाहकहरूले यो कुरा चाँडै नै चारैतिर फैलाए। यो सन्देश यतातिर पनि आइपुग्यो। येशू पनि अब निस्तार-चाड मनाउन यरूशलेमतिर जानुहुन्छ होला।’

२ येशूले यरूशलेमको अन्तिम यात्रा सुरु गर्नुअघि उहाँसँगै भएका प्रेषितहरूको मनमा पक्कै पनि यस्ता कुराहरू खेलेको हुनुपर्छ। त्यतिबेला तिनीहरू यर्दन नदीको पारिपट्टी पर्ने पेरिया भन्‍ने ठाउँमा थिए। (मत्ती १९:१; २०:१७, २९; मर्कू. १०:१, ३२, ४६) नीसान १ तारिख थाह पाइसकेपछि यहूदीहरूले त्यसको १३ दिनपछि अर्थात्‌ नीसान १४ तारिखको सूर्यास्तपछि निस्तार-चाड मनाउँथे।

३. ख्रीष्टियनहरू निस्तार-चाड मनाउने मितिबारे किन चासो राख्छन्‌?

३ निस्तार-चाड मनाइने मितिमै अहिले प्रभुको साँझको भोज मनाइन्छ। यसपालि प्रभुको साँझको भोज अप्रिल १४, २०१४ को सूर्यास्तपछि मनाइनेछ। साँचो ख्रीष्टियनहरू अनि चासो दिने अरू व्यक्‍तिहरूका लागि यो दिन एकदमै विशेष दिन हो। किन? किनभने हामी १ कोरिन्थी ११:२३-२५ मा यस्तो लेखिएको पाउँछौं: “येशूले रोटी लिनुभयो र धन्यवाद चढाएपछि भाँचेर यसो भन्‍नुभयो: ‘यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो। मेरो सम्झनामा यो गर्नेगर।’ साँझको खाना खाइसकेपछि उहाँले कचौरा लिएर त्यसै गर्नुभयो।”

४. (क) स्मरणार्थ उत्सवबारे कस्तो-कस्तो प्रश्‍न उठ्‌न सक्छ? (ख) हरेक वर्ष स्मरणार्थको दिन कसरी तय गरिन्छ? (“स्मरणार्थ २०१४” शीर्षकको पेटी हेर्नुहोस्‌)

४ येशूले आफ्ना चेलाहरूलाई मनाउनू भनेर आज्ञा गर्नुभएको एउटै मात्र उत्सव प्रभुको साँझको भोज नै हो। त्यसैले उहाँका अनुयायीहरू हरेक वर्ष यो उत्सव मनाउँछन्‌। पक्कै पनि तपाईं यो दिन उपस्थित हुन चाहनुहुन्छ होला। त्यसभन्दाअघि आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌: ‘म त्यो दिनको लागि कस्तो तयारी गर्न सक्छु? त्यो दिन कस्तो-कस्तो कुरा प्रयोग गरिन्छ? त्यो उत्सव कसरी मनाइन्छ? त्यो उत्सवले अनि त्यसमा प्रयोग गरिने प्रतीकहरूले मेरो लागि कस्तो अर्थ राख्छ?

स्मरणार्थमा प्रयोग गरिने प्रतीकहरू

५. येशूले प्रेषितहरूलाई निस्तार-चाडको लागि कस्तो तयारी गर्नू भन्‍नुभयो?

५ येशूले आफ्ना प्रेषितहरूलाई निस्तार-चाडको लागि कोठा तयार पार्नू भन्‍नुहुँदा एकदमै झकिझकाउ, चाहिनेभन्दा धेरै सजावट गरिएको कोठा खोज्नू भन्‍नुभएको थिएन। उहाँ चिटिक्क परेको, सफा अनि सबै जना अटाउने कोठा चाहनुहुन्थ्यो। (मर्कूस १४:१२-१६ पढ्‌नुहोस्‌) प्रेषितहरूले अखमिरे रोटी अनि रातो दाखमद्य लगायत भोजनको लागि चाहिने सबै कुरा तयार पारे। निस्तार-चाड मनाइसकेपछि येशूले रोटी र दाखमद्यबारे कुरा गर्नुभयो। यो दुइटा चीज नै स्मरणार्थ उत्सवमा प्रतीकको रूपमा चलाइने थियो।

६. (क) निस्तार-चाड मनाइसकेपछि येशूले रोटीबारे के भन्‍नुभयो? (ख) स्मरणार्थको लागि कस्तो रोटी प्रयोग गरिन्छ?

६ त्यो चाड मनाउने बेला प्रेषित मत्ती पनि त्यहीं थिए। तिनले पछि यस्तो लेखे: “येशूले एउटा रोटी लिनुभयो अनि प्रार्थना गरेपछि भाँच्नुभयो र चेलाहरूलाई दिंदै भन्‍नुभयो: ‘लेओ, खाओ।’” (मत्ती २६:२६) येशूले निस्तार-चाड मनाउन प्रयोग गरिने अखमिरे “रोटी” नै प्रभुको साँझको भोजको लागि प्रयोग गर्नुभयो। (प्रस्थ. १२:८; व्यव. १६:३) त्यो रोटी गहुँको पीठो र पानी मात्र मिलाएर बनाइएको थियो। त्यसमा कुनै खमिर, नुन अथवा अरू केही मसला मिसाइएको थिएन। अखमिरे भएकोले त्यो रोटी फुलेको पनि थिएन। त्यो रोटी एकदमै सादा, सुख्खा अनि कुरुम-कुरुम गर्ने खालको र भाँच्न पनि सजिलो थियो। अहिले पनि स्मरणार्थको दिनअघि नै एल्डरहरूले कुनै भाइ वा बहिनीलाई त्यस्तै रोटी बनाउन लगाउँछन्‌। त्यस्तो रोटी गहुँको पीठो र पानी मिलाएर नटाँसिने तावामा पकाइन्छ। (गहुँको पीठो उपलब्ध छैन भने चामल, जौ, मकै वा अरू अन्‍नको पीठो प्रयोग गर्न सकिन्छ)

७. येशूले कस्तो किसिमको दाखमद्यबारे कुरा गर्दै हुनुहुन्थ्यो? आज स्मरणार्थ उत्सवमा कस्तो दाखमद्य प्रयोग गर्न सकिन्छ?

७ मत्ती अझै यसो भन्छन्‌: “[येशूले] कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिंदै भन्‍नुभयो: ‘तिमीहरू सबैले यसबाट पिओ।’” (मत्ती २६:२७, २८) येशूले हातमा लिनुभएको कचौरामा रातो अङ्‌गुरको मद्य थियो। (त्यो ताजा अङ्‌गुरको रस थिएन किनभने अङ्‌गुर टिप्ने समय बितिसकेको थियो) मिश्रमा पहिलो पटक निस्तार-चाड मनाइँदा दाखमद्यको प्रयोग गरिएको थिएन। तैपनि येशूले निस्तार-चाडको बेला दाखमद्य पिउनु गलत हो भन्‍नुभएन। बरु त्यतिबेला भएको दाखमद्य प्रभुको साँझको भोज स्थापना गर्दा उहाँले प्रयोग गर्नुभयो। त्यसैले अहिले पनि ख्रीष्टियनहरू स्मरणार्थ उत्सव मनाउँदा दाखमद्य प्रयोग गर्छन्‌। त्यो दिन कस्तो दाखमद्य प्रयोग गर्नुपर्छ? स्मरणार्थमा प्रयोग गरिने दाखमद्य कुनै ब्रान्डीजस्तो वा मसला मिसाइएको हुनु हुँदैन। येशूको रगतलाई बहुमूल्य बनाउन कुनै कुरा थपथाप गर्नुपरेन। त्यसैले स्मरणार्थको बेला पनि सादा रातो दाखमद्य प्रयोग गरिन्छ। यस्तो दाखमद्य घरमै पनि बनाउन सकिन्छ। अथवा बजारमा पाइने बोजोले, बर्गन्डी अथवा क्लेरेटजस्ता दाखमद्य पनि प्रयोग गर्न सकिन्छ।

रोटी र दाखमद्यले केलाई सङ्‌केत गर्छ?

८. ख्रीष्टियनहरू रोटी र दाखमद्यले सङ्‌केत गर्ने कुराप्रति किन चासो राख्छन्‌?

८ प्रेषित पावलको भनाइबाट प्रेषितहरूले मात्र होइन तर अरू ख्रीष्टियनहरूले पनि प्रभुको साँझको भोज मनाउनुपर्छ भन्‍ने देखिन्छ। तिनले कोरिन्थमा भएका आफ्ना सँगी विश्‍वासीहरूलाई यस्तो लेखे: “प्रभुबाट मैले जे पाएँ, तिमीहरूलाई त्यही सिकाएँ। . . . प्रभु येशूले रोटी लिनुभयो र धन्यवाद चढाएपछि भाँचेर यसो भन्‍नुभयो: ‘यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो। मेरो सम्झनामा यो गर्नेगर।’” (१ कोरि. ११: २३, २४) अहिले पनि ख्रीष्टियनहरूलाई हरेक वर्ष स्मरणार्थ उत्सव मनाउने आज्ञा दिइएकोले उनीहरू पनि रोटी र दाखमद्यले सङ्‌केत गर्ने कुराप्रति उत्तिकै चासो राख्छन्‌।

९. येशूले प्रयोग गर्नुभएको रोटीबारे कसै-कसैले कस्तो धारणा राखेका छन्‌?

९ बाइबलको विभिन्‍न अनुवादहरूमा १ कोरिन्थी ११:२४ लाई यसरी अनुवाद गरिएको छ: “यो . . . मेरो शरीर हो”। यी अनुवादहरू चलाएर चर्च जाने कोही-कोहीले, यस भनाइको शाब्दिक अर्थ लगाएका छन्‌। त्यसैले तिनीहरू चमत्कारपूर्ण तरिकामा येशूको शरीर नै रोटी बन्यो भनेर विश्‍वास गर्छन्‌। तर वास्तविकता त्यो होइन।a येशूको शरीर त प्रेषितहरूको अगाडि नै थियो। अनि रोटी पनि तिनीहरूकै अगाडि थियो। त्यसैले कुरा स्पष्ट छ, येशूले अरू बेलाजस्तै अहिले पनि लाक्षणिक कुरा भनिरहनुभएको थियो।—यूह. २:१९-२१; ४:१३, १४; १०:७; १५:१.

१०. प्रभुको साँझको भोजमा प्रयोग गरिने रोटीले केलाई सङ्‌केत गर्छ?

१० प्रेषितहरूको आँखाअगाडि भएको त्यो रोटीले अर्थात्‌ तिनीहरूले खान लागेको त्यो रोटीले येशूको शरीरलाई सङ्‌केत गर्थ्यो। कुन शरीरलाई? प्रभुको साँझको भोज स्थापना गर्दा येशूले रोटी भाँच्नुभएको थियो तर उहाँको मृत्यु हुँदा उहाँको कुनै पनि हड्डी भाँचिएन। त्यसैले परमेश्‍वरका सेवकहरूले “ख्रीष्टको शरीर”-ले अभिषिक्‍त ख्रीष्टियनहरूको मण्डलीलाई बुझाउँछ भनेर बुझेका थिए। (एफि. ४:१२; रोमी १२:४, ५; १ कोरि. १०:१६, १७; १२:२७) तर थप अनुसन्धान गरिसकेपछि रोटीले येशूको मानव शरीरलाई सङ्‌केत गर्छ भन्‍ने कुरा स्पष्ट भयो। ‘मानिसको रूपमा हुनुहुँदा ख्रीष्टले दुःख भोग्नुभयो’ भनेर बाइबलमा लेखिएको छ। उहाँलाई मार्नको लागि खम्बामा समेत टाँगियो। त्यसैले प्रभुको साँझको भोजमा प्रयोग गरिने रोटीले ‘उहाँले हाम्रा पापहरू बोक्नुभएको’ उहाँको मानव शरीरलाई सङ्‌केत गर्छ।—१ पत्रु. २:२१-२४; ४:१; यूह. १९:३३-३६; हिब्रू १०:५-७.

११, १२. (क) येशूले दाखमद्यबारे के भन्‍नुभयो? (ख) प्रभुको साँझको भोजमा प्रयोग गरिने दाखमद्यले केलाई सङ्‌केत गर्छ?

११ रोटीले सङ्‌केत गर्ने कुरालाई बुझेका छौं भने येशूले दाखमद्यबारे भन्‍नुभएको कुरा पनि हामी बुझ्न सक्छौं। हामी बाइबलमा यस्तो लेखिएको पाउँछौं: “उहाँले कचौरा लिएर त्यसै गर्नुभयो र भन्‍नुभयो: ‘यो कचौरा त्यो नयाँ करारको प्रतीक हो, जो मेरो रगतको आधारमा बाँधिनेछ।’” (१ कोरि. ११:२५) अरू बाइबलमा हेर्ने हो भने यसलाई “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो” भनेर अनुवाद गरिएको पाउँछौं। त्यसको मतलब त्यो कचौरा नै येशूले बाँध्नुभएको नयाँ करार थियो त? अहँ, होइन। वास्तवमा “कचौरा” भन्‍ने शब्दले त्यसमा भएको दाखमद्यलाई सङ्‌केत गर्थ्यो। त्यसोभए दाखमद्यले चाहिं केलाई सङ्‌केत गर्ने थियो? येशूले बगाउनुहुने रगतलाई।

१२ सुसमाचारको पुस्तक मर्कूसमा हामी येशूले यसो भन्‍नुभएको पाउँछौं: “यो ‘करारको मेरो रगतको’ प्रतीक हो, जो थुप्रैका लागि बगाइनेछ।” (मर्कू. १४:२४) हो, येशूको रगत “पापहरूको क्षमा होस्‌ भनेर थुप्रैका लागि” बगाइने थियो। (मत्ती २६:२८) त्यसैले रातो दाखमद्यले येशूको रगतलाई सङ्‌केत गर्नु एकदमै मनासिब छ। उहाँको रगतद्वारा हामी छुटकारा पाउन सक्छौं र “आफ्ना पापहरूको क्षमा” पाउन सक्छौं।—एफिसी १:७ पढ्‌नुहोस्‌।

येशूका प्रेषितहरूले उहाँको रगतलाई सङ्‌केत गर्ने दाखमद्य पिए र नयाँ करारमा सहभागी भए (अनुच्छेद ११, १२ हेर्नुहोस्‌)

ख्रीष्टको मृत्युको वार्षिकी कसरी मनाउनुपर्छ?

१३. ख्रीष्टको मृत्युको वार्षिकी समारोह कस्तो हुन्छ?

१३ तपाईं पहिलो पटक यहोवाका साक्षीहरूसित स्मरणार्थ उत्सवमा उपस्थित हुँदै हुनुहुन्छ होला। त्यो समारोह कस्तो हुनेछ? त्यो समारोह साधारण किसिमको तर सफा ठाउँमा आयोजना गरिनेछ। उपस्थित सबैले कार्यक्रमको आनन्द उठाउन सकोस्‌ भनेर पर्याप्त ठाउँ र बस्ने सिटको प्रबन्ध गरिएको हुनेछ। त्यहाँ हल्का सजावट त हुनेछ तर एकदमै झकिझकाउ, पार्टीको रौनक दिने सजावट भने हुनेछैन। योग्य एल्डरले बाइबलआधारित सुस्पष्ट प्रवचन दिनेछन्‌। येशूले हाम्रो लागि गर्नुभएका कामहरूबारे तिनले स्पष्टसित बताउनेछन्‌। हामी सबैलाई छुटकारा दिन उहाँले आफ्नो ज्यान दिनुभयो। (रोमी ५:८-१० पढ्‌नुहोस्‌) उहाँको बलिदानले गर्दा ख्रीष्टियनहरूले दुइटा आशा राख्न सकेका छन्‌ भनेर वक्‍ताले बताउनेछन्‌। ती के-के हुन्‌?

१४. स्मरणार्थको दिन कुन दुईवटा आशाबारे छलफल गरिनेछ?

१४ एउटा आशा त ख्रीष्टसितै स्वर्गमा शासन गर्ने हो। तर यो आशा निश्‍चित व्यक्‍तिहरूका लागि मात्र हो। उहाँका वफादार प्रेषितहरूलगायत अरू केहीले यस्तो आशा राख्न सक्छन्‌। (लूका १२:३२; २२:१९, २०; प्रका. १४:१) अर्को आशाचाहिं सम्पूर्ण वफादार ख्रीष्टियनहरूका लागि हो। तिनीहरूले यस पृथ्वीमा स्थापित हुने सुन्दर बगैंचामा सधैंभरि जीवन बिताउन सक्नेछन्‌। यस पृथ्वीमा पनि स्वर्गमा जस्तै परमेश्‍वरको इच्छा पूरा हुनेछ। त्यसपछि मात्र ख्रीष्टियनहरूले लामो समयदेखि गरेको प्रार्थनाको जवाफ पूरा हुनेछ। (मत्ती ६:१०) तिनीहरूले सधैंभरि यस पृथ्वीमा कस्तो जीवन बिताउनेछन्‌, बाइबलमा त्यसको व्याख्या गरिएको छ।—यशै. ११:६-९; ३५:५, ६; ६५:२१-२३.

१५, १६. प्रभुको साँझको भोजमा अखमिरे रोटीको प्रयोग कसरी गरिनेछ?

१५ वक्‍ताले प्रवचनको अन्ततिर येशूले प्रभुको साँझको भोजमा जस्तो गर्नुभएको थियो त्यस्तै गर्ने बेला भयो भनेर बताउनेछन्‌। माथि बताइएझैं दुईवटा प्रतीकहरू प्रयोग गरिनेछ: अखमिरे रोटी र रातो दाखमद्य। यी प्रतीकहरू वक्‍ता नजिकै टेबुलमा राखिएको हुन सक्छ। येशूले यो उत्सव सुरु गर्दा जे भन्‍नुभएको थियो अनि जस्तो गर्नुभएको थियो, त्यो कुरा सम्झन वक्‍ताले बाइबलको विवरण पढ्‌नेछन्‌। जस्तै, मत्तीको सुसमाचारको पुस्तकको यो विवरण तिनले पढ्‌न सक्छन्‌: “येशूले एउटा रोटी लिनुभयो अनि प्रार्थना गरेपछि भाँच्नुभयो र चेलाहरूलाई दिंदै भन्‍नुभयो: ‘लेओ, खाओ। यो मेरो शरीरको प्रतीक हो।’” (मत्ती २६:२६) आफ्नो दुवैतर्फ बसेका प्रेषितहरूलाई दिनको लागि येशूले त्यहाँ भएको अखमिरे रोटी भाँच्नुभयो। अप्रिल १४ को दिन हुने स्मरणार्थ उत्सवमा अखमिरे रोटी पहिले नै भाँचेर प्लेटहरूमा राखिएको तपाईंले देख्नुहुनेछ।

१६ रोटी पास गर्न छिटो र व्यवस्थित होस्‌ भनेर पर्याप्त मात्रामा प्लेटहरू राखिएको हुनेछ। रोटी पास गर्दा अपनाउनुपर्ने कुनै खास रीतिथिति छैन। सुरुमा छोटो प्रार्थना गरिनेछ अनि स्थानीय अवस्थाअनुसार व्यावहारिक तरिकामा पास गरिनेछ। सन्‌ २०१३ मा जस्तै यसपालि पनि सायद थोरैले रोटी खानेछन्‌। धेरैजसो मण्डलीमा चाहिं कसैले पनि नखान सक्छन्‌।

१७. स्मरणार्थ उत्सवमा दाखमद्य पास गर्ने बेला येशूले बसाल्नुभएको नमुना कसरी पछ्याइन्छ?

१७ त्यसपछि वक्‍ताले मत्तीले लेखेको यो विवरणमा ध्यान खिच्नेछन्‌: “[येशूले] कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिंदै भन्‍नुभयो: ‘तिमीहरू सबैले यसबाट पिओ; किनकि यो ‘करारको मेरो रगतको’ प्रतीक हो, जो पापहरूको क्षमा होस्‌ भनेर थुप्रैका लागि बगाइनेछ।’” (मत्ती २६:२७, २८) यही नमुनाअनुसारै फेरि एक पटक प्रार्थना गरिनेछ र रातो दाखमद्य राखिएको ‘कचौरा’ उपस्थित सबैलाई पास गरिनेछ।

१८. हाम्रो आशा जस्तो भए तापनि स्मरणार्थमा उपस्थित हुनु किन महत्त्वपूर्ण छ?

१८ स्मरणार्थ उत्सवमा उपस्थित हुने धेरैजसोले त्यहाँ राखिएको रोटी र दाखमद्य खानेछैनन्‌। आफूसँगै स्वर्गमा शासन गर्न छानिएकाहरूले मात्र ती प्रतीकहरू खानेछन्‌ भनेर येशूले भन्‍नुभयो। (लूका २२:२८-३० पढ्‌नुहोस्‌; २ तिमो. ४:१८) त्यस अवसरमा उपस्थित अरूले दर्शकको रूपमा मात्र भाग लिनेछन्‌। तैपनि प्रभुको साँझको भोजमा उपस्थित हुनु तिनीहरूको लागि महत्त्वपूर्ण कुरा हो। त्यहाँ उपस्थित भएर सबैले येशूको बलिदानको कदर गरेको कुरा देखाइरहेका हुन्छन्‌। तिनीहरू येशूले दिनुभएको छुडौतीको बलिदानबाट पाउन सक्ने आशिष्‌बारे स्मरणार्थको समयमा मनन गर्छन्‌। जस्तै: “महासङ्‌कष्ट”-बाट बचेर आएको “ठूलो भीड”-मा आफू पनि समावेश हुने कुरामा। “आ-आफ्नो लुगा थुमाको रगतमा धोएर सेता बनाएका” व्यक्‍तिहरूले मात्र यस्तो आशिष्‌ पाउनेछन्‌।—प्रका. ७:९, १४-१७.

१९. स्मरणार्थको तयारी गर्न र त्यसबाट लाभ उठाउन तपाईं के गर्न सक्नुहुन्छ?

१९ संसारभरि भएका यहोवाका साक्षीहरू यस उत्सवको लागि तयारी गर्छन्‌। केही हप्ता अघिदेखि नै स्मरणार्थमा उपस्थित हुनको लागि हामी धेरैलाई निम्तो दिन थाल्छौं। स्मरणार्थ उत्सव नजिकिंदै जाँदा, इस्वी संवत्‌ ३३ मा येशूले के-कस्तो काम गर्नुभयो र त्यतिबेला के-कस्ता घटना घटे भनेर सम्झन हामी बाइबलका विवरणहरू पढ्‌छौं। स्मरणार्थमा उपस्थित हुन कुनै कुराले बाधा नपुऱ्‍याओस्‌ भनेर हामी व्यक्‍तिगत कामकुराहरू पहिल्यै मिलाउँछौं। हाम्रा पाहुनाहरूलाई स्वागत गर्न र सुरुदेखिको कुनै पनि भाग नछुटाउन त्यस दिन हामी सभामा छिट्टै जान्छौं। वक्‍ताले बाइबल पदहरू पढ्‌दा उपस्थित हाम्रा पाहुनाहरूलाई मदत गर्दै आफ्नो बाइबलमा हेरेका छौं भने धेरै लाभ उठाउन सक्छौं। सबैभन्दा महत्त्वपूर्ण कुरा त स्मरणार्थमा उपस्थित भएर हामीले येशू ख्रीष्टको बलिदानप्रति गहिरो कृतज्ञता देखाइरहेका हुन्छौं। साथै येशूको यो आज्ञा पनि हामीले पालन गरिरहेका हुन्छौं: “मेरो सम्झनामा यो गर्नेगर।”—१ कोरि. ११:२४.

a जर्मन बाइबलविद्‌ हिन्रिक मायरले यसो भने: ‘येशूको शरीर सग्लै थियो। (उहाँ जीवितै हुनुहुन्थ्यो) अनि उहाँको रगत पनि बगेको थिएन। त्यसैले उहाँका पाहुनाहरूलाई [प्रेषितहरूलाई] साँच्चै नै उहाँको शरीर अनि रगत खाइरहेको वा पिइरहेको जस्तो लागेन। अनि येशूले पनि त्यसो भन्‍न खोज्नुभएको थिएन। उहाँले सरल शब्द प्रयोग गर्नुभएको थियो। यसलाई अन्यथा अर्थ लगाएको उहाँ चाहनुहुन्‍नथ्यो।’

स्मरणार्थ २०१४

हरेक महिना चन्द्रमाले पृथ्वीलाई एक फन्को मार्छ। चन्द्रमा महिनाको एक दिनचाहिं पृथ्वी र सूर्यको बीचमा पर्छ। यस्तो अवस्थालाई औंसी भनिन्छ। औंसीको दिन पृथ्वीबाट १८ देखि ३० घण्टासम्म चन्द्रमा देखिंदैन।

यहूदीहरू पनि औंसीलाई नै आधार बनाएर नीसान महिना हिसाब गर्छन्‌। तिनीहरू नीसान महिना गन्ती गर्न हरेक वर्षको वसन्त ऋतु पर्खन्छन्‌। वसन्त ऋतुमा १२ घण्टा उज्यालो र १२ घण्टा अँध्यारो हुने एउटा दिन हुन्छ। त्यसको अघि अथवा पछि पर्ने औंसीपछि पहिलो चोटि चन्द्रमा देखा परेको समयदेखि मात्र नीसान महिना सुरु हुन्छ भनेर यहूदीहरू मान्‍ने गर्छन्‌। त्यसोभए सन्‌ २०१४ को नीसान १ कहिले सुरु हुनेछ? यरूशलेमको मौसमअनुसार सन्‌ २०१४ को वसन्त ऋतुमा दिन र रात बराबर हुने समय मार्च ३० मा पर्छ। त्यो दिन औंसी पर्नेछ। यरूशलेममा त्यो औंसी राती ८:४५ मा सुरु हुन्छ। त्यो औंसीपछिको पहिलो सूर्यास्त २१ घण्टापछि अर्थात्‌ मार्च ३१ मा हुनेछ। तर मार्च ३१ मै नीसान १ सुरु हुनेछैन। किन? माथि बताइएझैं यहूदीहरूको नियमअनुसार उक्‍त औंसीपछि पहिलो चोटि चन्द्रमा देखा परेको समयदेखि मात्र नीसान महिना सुरु हुन्छ। यरूशलेमबाट मार्च ३१ मा होइन तर अप्रिल १ मा मात्र चन्द्रमाको थोरै भाग देखिनेछ। त्यसैले पुरातन समयका यहूदीहरूको तरिकाले हिसाब गर्दा सन्‌ २०१४ को अप्रिल १ तारिखमा मात्र नीसान १ सुरु हुनेछ।

निस्तार-चाड नीसान महिनाको १४ औं दिनको सूर्यास्तपछि मनाइन्थ्यो। त्यसैले सोमबार, अप्रिल १४, २०१४ को सूर्यास्तपछि नीसान १४ सुरु हुन्छ भनेर संसारभरिका यहोवाका साक्षीहरूले यसबाट थाह पाउन सक्छन्‌। त्यतिबेला पूर्णिमा हुनै लागेको हुनेछ।—हरेक वर्षको नीसान १४ यहोवाका साक्षीहरूले कसरी पत्ता लगाउँछन्‌ भन्‍ने विषयमा थप जानकारी चाहनुहुन्छ भने प्रहरीधरहरा (अङ्‌ग्रेजी), जुन १५, १९७७, पृष्ठ ३८३-३८४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने