अध्याय ३९
परमेश्वर आफ्नो छोरालाई सम्झनुहुन्छ
आफ्नो साथी लाजरसको मृत्यु हुँदा येशू रुनुभयो। येशूले दुःख भोगेर मर्नुहुँदा के यहोवालाई नराम्रो लाग्यो होला?—कुनै नराम्रो कुरा हुँदा त्यसले परमेश्वरलाई “दुःखित” तुल्याउन सक्छ भनी बाइबल बताउँछ।—भजन ७८:४०; यूहन्ना ११:३५.
आफ्नो प्यारो छोरा मरेको देख्दा यहोवालाई कत्ति चोट पऱ्यो होला, के तिमी कल्पना गर्न सक्छौ?—परमेश्वरले आफूलाई बिर्सनुहुन्न भनेर येशू ढुक्क हुनुहुन्थ्यो। त्यसैले आफ्नो मृत्युअघि येशूको अन्तिम वाक्य यस्तो थियो: “हे बुबा, म आफ्नो [जीवन] तपाईंको हातमा सुम्पिन्छु।”—लूका २३:४६.
पुनर्जीवन पाउनेछु अर्थात् आफूलाई “पातालमा” वा चिहानमा छोडिनेछैन भनी येशू पक्का हुनुहुन्थ्यो। येशूले पुनर्जीवन पाएपछि प्रेषित पत्रुसले उहाँबारे बाइबलमा पहिल्यै लेखिएको अंश दोहोऱ्याउँदै यसो भने: “उहाँ न पातालमा छोडिनुभयो, नता उहाँको शरीरनै कुह्यो।” (प्रेरित २:३१, पवित्र बाइबल; भजन १६:१०) हो, येशूको शरीर चिहानमा कुहिन र गन्हाउन पाएन।
पृथ्वीमा हुँदा आफू धेरै लामो समयसम्म मृत अवस्थामा नरहने कुरासमेत येशूले आफ्ना चेलाहरूलाई बताउनुभयो। आफूलाई ‘मारिनेछ र तेस्रो दिनमा ब्यूँताइनेछ’ भनेर उहाँले तिनीहरूलाई बुझाउनुभयो। (लूका ९:२२) त्यसैले साँच्चै भन्ने हो भने, येशूले पुनर्जीवन पाउँदा चेलाहरू छक्क मान्नुपर्दैन थियो। तर के तिनीहरू छक्क परे?—हामी हेरौं है त!
महान् शिक्षकको यातनाको खम्बामा मृत्यु हुँदा शुक्रबारको दिउँसो झन्डै तीन बजेको थियो। महासभाका यूसुफ नाम गरेका धनी सदस्यले येशूमा विश्वास गर्थे तर सबैसामु तिनले यो कुरा स्वीकारेका थिएनन्। येशूको मृत्यु भएको कुरा सुनेपछि तिनी रोमी राज्यपाल पिलातसकहाँ जान्छन्। येशूको शरीर खम्बाबाट झारेर गाड्नको लागि लैजान सक्छु कि भनेर तिनले सोध्छन्। त्यसपछि यूसुफले येशूको शरीर बगैंचामा रहेको चिहान अर्थात् लास गाड्ने ठाउँमा लैजान्छन्।
उहाँको लास चिहानमा राखिसकेपछि चिहानको मुखमा ढुङ्गा गुडाएर राखिन्छ। यसरी चिहानको मुख बन्द गरिन्छ। अब तेस्रो दिन भयो जुन आइतबारको दिन हो। घाम झुल्किएको छैन, अझै अँध्यारो छ। सिपाहीहरू चिहानमा पहरा दिइरहेका छन्। मुख्य पुजारीहरूले उनीहरूलाई त्यहाँ पठाएका हुन्। किन, तिमीलाई थाह छ?—
येशूले आफू पुनर्जीवित हुनेछु भनेको कुरा पुजारीहरूले पनि सुनेका थिए। त्यसैले उहाँका चेलाहरूले लास नचोरून् र ‘येशू ब्यूँतनुभयो’ भन्न नपाऊन् भनेर तिनीहरूले सिपाहीहरूलाई चिहानमा पहरा दिन राखेका हुन्। अचानक ठूलो भूकम्प आउँछ। घोर अन्धकारमा बिजुलीजस्तै केही चम्किन्छ। ती यहोवाका स्वर्गदूत हुन्! तिनलाई देखेर सिपाहीहरू डरले मुर्दासरी हुन्छन्। ती स्वर्गदूत चिहानमा जान्छन् र त्यहाँबाट ढुङ्गा हटाउँछन्। चिहान रित्तो छ!
चिहान किन रित्तो छ? के भएको थियो?
हो, प्रेषित पत्रुसले पछि भनेझैं ‘येशूलाई परमेश्वरले ब्यूँताउनुभएको थियो।’ (प्रेषित २:३२) येशू पृथ्वीमा आउनुअघि उहाँको जस्तो शरीर थियो, त्यस्तै शरीरमा परमेश्वरले उहाँलाई ब्यूँताउनुभयो। उहाँलाई स्वर्गदूतहरूको जस्तै अदृश्य शरीरमा पुनर्जीवित पारियो। (१ पत्रुस ३:१८) तर मानिसहरूले येशूलाई देख्ने हो भने उहाँले हाड र मासुको शरीर धारण गर्नै पर्थ्यो। के उहाँले त्यसो गर्नुभयो?—हेरौं है त!
अब घाम झुल्किन्छ। सिपाहीहरू गइसकेका छन्। येशूको चेला बनेका मरियम मग्दलिनी र अरू स्त्री चिहानतिर जाँदैछन्। तिनीहरू आपसमा यसो भन्दैछन्: “हाम्रो निम्ति कसले चिहानको ढोकाको ढुङ्गा गुडाइदिने होला?” (मर्कूस १६:३) तर तिनीहरू चिहानमा पुग्दा त्यहाँको ढुङ्गा हटाइसकेको हुन्छ। चिहान रित्तो छ! येशूको लास त्यहाँ छैन! तुरुन्तै मरियम मग्दलिनी येशूका केही प्रेषितलाई खोज्न दौडेर जान्छिन्।
अरू स्त्री चिहानमै बसिरहन्छन्। ‘येशूको लास कहाँ गयो होला?’ भनी तिनीहरू अचम्म मानिरहेका छन्। अचानक चम्किलो लुगा लगाएका दुई व्यक्ति देखा पर्छन्। तिनीहरू स्वर्गदूत हुन्! तिनीहरूले ती स्त्रीहरूलाई यसो भन्छन्: ‘तिमीहरू येशूलाई किन यहाँ खोज्दैछौ? उहाँ ब्यूँतिसक्नुभयो। तुरुन्तै गएर उहाँका चेलाहरूलाई बताइदेओ।’ ती स्त्रीहरू कत्ति छिटो दौडे होलान्, कल्पना गर त! बाटोमा एक जना मानिसले तिनीहरूलाई भेट्छन्। ती को हुन्, के तिमीलाई थाह छ?—
उहाँ हाड र मासुको शरीर धारण गर्नुभएको येशू हुनुहुन्छ! उहाँले ती स्त्रीहरूलाई यसो भन्नुहुन्छ: ‘मेरा चेलाहरूलाई खबर गरिदेओ।’ ती स्त्रीहरू उत्साहित हुन्छन्। तिनीहरू चेलाहरूलाई भेट्न जान्छन् र भन्छन्: ‘येशू ब्यूँतनुभयो! हामीले उहाँलाई देख्यौं!’ मरियमले पत्रुस र यूहन्नालाई रित्तो चिहानबारे बताइसकेकी छिन्। अब तिनीहरू आफै चिहान हेर्न जान्छन् र यो तिमीले चित्रमा देख्न सक्छौ। तिनीहरू येशूलाई बेह्रिएको कपडा लिएर हेर्छन्, तर के भयो ठम्याउनै सक्दैनन्। तिनीहरू येशू ब्यूँतनुभयो भनेर विश्वास गर्न चाहन्छन्, तर त्यो पत्याउनै नसकिने कुरा थियो।
पत्रुस र यूहन्ना के सोच्दै होलान्?
सोही आइतबार, पछि येशू आफ्ना दुई चेलाकहाँ देखा पर्नुहुन्छ। ती चेलाहरू इम्माउस गाउँतिर जाँदै थिए। येशू तिनीहरूसँग हिंड्नुहुन्छ र कुरा गर्नुहुन्छ। तर उहाँको बाहिरी रूप पहिलाको भन्दा फरक भएकोले तिनीहरू उहाँलाई चिन्न सक्दैनन्। उहाँले तिनीहरूसँगै बसेर खाइसकेपछि र प्रार्थना गरिसकेपछि मात्र तिनीहरूले उहाँलाई चिन्छन्। तिनीहरू यत्ति उत्साहित हुन्छन् कि धेरै किलोमिटर टाढा रहेको यरूशलेमको यात्रा तुरुन्तै सुरु गर्छन्। सायद यसको केही समयपछि आफू जीवित छु भनेर देखाउन येशू पत्रुसकहाँ देखा परेको हुनुपर्छ।
त्यो आइतबारको साँझ थुप्रै चेला एउटा कोठामा भेला भएका छन्। ढोका बन्द छ। अचानक येशू तिनीहरूमाझ देखा पर्नुहुन्छ! महान् शिक्षक साँच्चै नै जीवित हुनुभएको छ भनेर तिनीहरूले अब थाह पाउँछन्। तिनीहरू कत्ति खुसी भए होलान्, कल्पना गर त!—मत्ती २८:१-१५; लूका २४:१-४९; यूहन्ना १९:३८–२०:२१.
आफू जीवित छु भनेर देखाउन येशू विभिन्न शरीर धारण गरेर ४० दिनसम्म चेलाहरूकहाँ देखा पर्नुहुन्छ। त्यसपछि उहाँ पृथ्वी छोडेर स्वर्गमा आफ्नो बुबाकहाँ फर्कनुहुन्छ। (प्रेषित १:९-११) परमेश्वरले येशूलाई मृत्युबाट ब्यूँताउनुभयो भनेर चाँडै नै चेलाहरूले सबैलाई बताउन थाल्छन्। पुजारीहरूले पिटे पनि अनि केहीलाई मारे पनि चेलाहरूले प्रचार गरी नै रहन्छन्। यदि मऱ्यो नै भने पनि परमेश्वरले आफ्नो छोरालाई जस्तै आफूहरूलाई पनि सम्झनुहुनेछ भनी तिनीहरूलाई थाह छ।
येशू पुनर्जीवित हुनुभएको दिन थुप्रै मानिस केबारे सोच्ने गर्छन्? तर तिमी केबारे सोच्छौ?
आजका थुप्रै मानिसभन्दा येशूका ती चेलाहरू कत्ति फरक हगि! संसारको कुनै-कुनै ठाउँका मानिसहरू येशू पुनर्जीवित भएको दिनमा इस्टर भन्ने चाड मनाउने गर्छन्। तिनीहरू त्यो चाडमा प्रयोग गरिने इस्टर खरायो वा रङ्गाइएको इस्टर अण्डाबारे मात्र सोच्ने गर्छन्। तर बाइबलले इस्टर खरायो वा इस्टर अण्डाबारे केही पनि बताउँदैन। बाइबलले परमेश्वरको सेवा गर्ने विषयमा बताउँछ।
आफ्नो छोरालाई पुनर्जीवित पार्ने बेलामा परमेश्वरले अचम्मका कामहरू गर्नुभयो भनेर हामी मानिसहरूलाई बताउन सक्छौं। यसरी हामी उहाँका चेलाहरूको नक्कल गर्न सक्छौं। मानिसहरूले हामीलाई मार्ने धम्की दिए पनि हामी डराउनुपर्दैन। यदि मऱ्यौं नै भने पनि यहोवाले येशूलाई जस्तै हामीलाई पनि सम्झेर पुनर्जीवित पार्नुहुनेछ।
परमेश्वरले आफ्नो सेवा गर्नेहरूलाई सम्झनुहुनेछ र तिनीहरूलाई पुनर्जीवनसमेत दिनुहुनेछ भनेर थाह पाउँदा के हामी खुसी छैनौं र?—यी कुराहरू थाह पाएपछि हामी परमेश्वरलाई कसरी खुसी पार्न सक्छौं भनेर बुझ्न इच्छुक हुनुपर्ने हो। हामी परमेश्वरलाई साँच्चै खुसी पार्न सक्छौं भनेर के तिमीलाई थाह छ?—अब अर्को लेखमा यही विषयमा चर्चा गरौं है!
येशू पुनर्जीवित हुनुभएको कुराप्रतिको विश्वासले हाम्रो आशा र आस्थालाई बलियो बनाउनुपर्छ। प्रेषित २:२२-३६; ४:१८-२० अनि १ कोरिन्थी १५:३-८, २०-२३ पढौं।