प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bt chap. १९ pp. १४८-१५५
  • “चुपचाप नबस बरु बोलिरह”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “चुपचाप नबस बरु बोलिरह”
  • परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “तिनीहरूको पेसा पाल सिलाउने थियो” (प्रेषित १८:१-४)
  • “कोरिन्थीहरूमध्ये धेरै जनाले प्रभुमा विश्‍वास गर्न थाले” (प्रेषित १८:५-८)
  • “यस सहरमा यस्ता मानिस धेरै छन्‌” (प्रेषित १८:९-१७)
  • ‘यहोवाको इच्छा भएमा’ (प्रेषित १८:१८-२२)
  • अक्वीला र प्रिस्किला उदाहरणीय दम्पती
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवाको वचन प्रबल हुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “सबै मानिसको रगतबाट म निर्दोष छु”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • प्रेरितको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
bt chap. १९ pp. १४८-१५५

अध्याय १९

“चुपचाप नबस बरु बोलिरह”

पेटपालाको लागि काम गरे तापनि पावल साक्षीकार्यलाई पहिलो स्थान दिन्छन्‌

प्रेषित १८:१-२२ मा आधारित

१-३. प्रेषित पावल किन कोरिन्थमा आए? तिनीसामु कस्ता चुनौती थिए?

इस्वी संवत्‌ ५० को अन्ततिरको कुरा हो। प्रेषित पावल सम्पन्‍न व्यापारिक सहर कोरिन्थमा छन्‌। त्यहाँ थुप्रै ग्रीक, रोमी र यहुदीहरू छन्‌।a पावल त्यहाँ किनमेल गर्न वा व्यापार गर्न आएका होइनन्‌, तिनी काम खोज्न पनि आएका होइनन्‌। पावल एउटा अत्यन्तै महत्त्वपूर्ण कामले त्यहाँ आएका हुन्‌—परमेश्‍वरको राज्यको साक्षी दिन। तर पावललाई कोरिन्थमा बस्ने ठाउँ चाहिन्छ। तिनले अरूलाई आफ्नो भार नबोकाउने निधो गरेका छन्‌। तिनी आफू साक्षीकार्यमा व्यस्त भएकोले अरूले तिनलाई पालिदिओस्‌ भन्‍ने भान पार्न चाहँदैनन्‌। अब तिनी के गर्छन्‌?

२ पावलसँग एउटा सीप छ—पाल सिलाउने। पाल सिलाउने काम सजिलो छैन तर पेटपालाको लागि तिनी १० नङ्‌ग्रा खियाउन तयार छन्‌। यस्तो व्यस्त सहरमा तिनले काम पाउलान्‌ त? तिनले टाउको ढल्काउने ठाउँ पाउँछन्‌ त? यस्ता चुनौतीहरू आए तापनि पावलले आफ्नो मुख्य काम बिर्सेनन्‌। त्यो काम हो, सुसमाचार सुनाउने।

३ पावलले कोरिन्थमा केही समय बिताए भन्‍ने कुरा बाइबल विवरणबाट बुझिन्छ। तिनले साक्षी दिएको कारण त्यहाँ राम्रो नतिजा निस्कन्छ। पावलले कोरिन्थमा गरेको कामकुराबाट अहिले हाम्रो इलाकामा परमेश्‍वरको राज्यबारे राम्ररी साक्षी दिनको लागि हामी कस्तो पाठ सिक्न सक्छौँ?

कोरिन्थ—दुई समुद्रबीचको सहर

प्राचीन कोरिन्थ ग्रीसको मुख्य भूमि र दक्षिणी प्रायद्वीप पेलोपोनिसको बीचको घाटीमा पर्थ्यो। यो घाटीको सबैभन्दा साँघुरो भागको चौडाइ ६ किलोमिटर थियो। त्यसैले कोरिन्थमा दुई बन्दरगाह थिए। कोरिन्थको खाडी लेकिउमको समुद्री मार्ग पश्‍चिमतिर जान्थ्यो, जहाँ इटाली, सिसिली र स्पेन पर्थ्यो। एजिएन प्रान्त, एसिया माइनर, सिरिया र मिश्रबाट जहाजहरू आउजाउ गर्ने मुख्य ठाउँ सारोनको खाडीमा रहेको सिनक्रिया थियो।

पेलोपोनिसको दक्षिणतिरको अन्तरीपमा (समुद्र नजिकैको जमिनको सानो अंश) हावा एकदमै वेगसित चल्ने र जहाजहरूको लागि खतरा हुने भएकोले नाविकहरू अक्सर कोरिन्थको दुइटा बन्दरगाहमध्ये एउटामा लङ्‌गर खसालेर जहाज अड्याउँथे। अनि जहाजको सामान ओसारेर अर्को बन्दरगाहमा फेरि लोड गर्न लगाउँथे। हलुका खालका जहाजहरू त तानेरै अर्को छेउसम्म पुऱ्‍याउन सकिन्थ्यो। कोरिन्थ सहरको भौगोलिक अवस्थाले गर्दा पूर्व-पश्‍चिमको समुद्री मार्ग र उत्तर-दक्षिणको स्थल मार्गमा यसले अधिकार जमाउन सक्यो। फस्टाउँदो व्यापारको कारण कोरिन्थ धनी त भयो तर त्यससँगै सामान्यतया थुप्रै बन्दरगाहमा देखिने नराम्रा गतिविधिहरू पनि त्यहाँ भित्रियो।

प्रेषित पावलको समयमा कोरिन्थ रोमी प्रान्त अखैयाको राजधानी थियो। यो एउटा महत्त्वपूर्ण प्रशासनिक केन्द्र बन्यो। त्यहाँका मानिसहरूको धार्मिक आस्था फरक-फरक थियो। जस्तै; त्यहाँ रोमी सिजरको उपासनाको लागि एउटा मन्दिर थियो, अनेक किसिमका ग्रीक र मिश्री देवीदेवतालाई समर्पित मन्दिर तथा तीर्थस्थलहरू थिए र यहुदी सभाघर पनि थियो।—प्रेषि. १८:४.

नजिकैको इस्थमियामा हरेक दुई वर्षमा हुने दौड प्रतियोगिता ओलम्पिक खेलपछिको दोस्रो सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता थियो। इस्वी संवत्‌ ५१ मा दौड प्रतियोगिता हुँदा प्रेषित पावल कोरिन्थमै थिए। त्यसैले एउटा बाइबल शब्दकोशमा यस्तो टिप्पणी गरिएको छ: “कोरिन्थीहरूलाई लेखेको पत्रमै पावलले पहिलो चोटि प्रतीकात्मक अर्थमा दौडबारे उल्लेख गर्नु संयोग मात्र त पक्कै हुन सक्दैन।”—१ कोरि. ९:२४-२७.

“तिनीहरूको पेसा पाल सिलाउने थियो” (प्रेषित १८:१-४)

४, ५. (क) कोरिन्थमा छँदा पावल कहाँ बसे? तिनले पेटपालाको लागि के काम गरे? (ख) त्यो काम पावलले कसरी सिकेका हुन सक्छन्‌?

४ कोरिन्थमा आएको केही समयपछि पावलले अक्विला र प्रिस्किला (प्रिस्का) नामका दयालु दम्पतीलाई भेटे। तिनीहरू जन्मजात यहुदी थिए। सिजर क्लौडियसले “सबै यहुदीलाई रोम छाड्‌ने हुकुम दिएकोले” तिनीहरू कोरिन्थमा बसाइँ सरेका थिए। (प्रेषि. १८:१, २) अक्विला र प्रिस्किलाले पावललाई खुसीसाथ बास मात्र दिएनन्‌ बरु सँगै काम गरौँ पनि भने। बाइबलमा यस्तो लेखिएको छ: “एउटै पेसा भएकोले [पावलले] उनीहरूको घरमा बसेर सँगै काम गरे किनकि तिनीहरूको पेसा पाल सिलाउने थियो।” (प्रेषि. १८:३) कोरिन्थमा रहुन्जेल पावल यी मायालु दम्पतीकै घरमा बसे। पावलले केही पत्र अक्विला र प्रिस्किलासँगै बसेको बेला लेखेका पनि हुन सक्छन्‌, जुन पछि बाइबलको भाग बन्यो।b

५ “गमलिएलको चरणमा शिक्षा” पाएका पावलले कसरी पाल सिलाउने काम सिके त? (प्रेषि. २२:३) आफ्ना छोराछोरीले थप शिक्षा हासिल गरेको भए तापनि तिनीहरूलाई कुनै न कुनै किसिमको सीप सिकाउनुलाई प्रथम शताब्दीका यहुदीहरू तुच्छ ठान्दैनथे। पावल सिलिसियाको टार्ससका थिए। त्यो ठाउँ पाल बनाउन प्रयोग गरिने सिलिसियम नामको कपडाको लागि प्रख्यात थियो। जवानै छँदा पावलले पाल बनाउन सिकेका हुन सक्छन्‌। पाल बनाउन के-के गर्नुपर्थ्यो? पालको कपडा बुन्‍नुपर्ने वा हुन सक्छ, त्यो खस्रो कपडा काट्‌दै सिलाउनुपर्थ्यो। जेहोस्‌, त्यो सजिलो काम थिएन।

६, ७. (क) पाल बनाउने पेसालाई पावल कस्तो ठान्थे? अक्विला र प्रिस्किलाको दृष्टिकोण पनि पावलको जस्तै थियो भनेर हामी किन्‍न भन्‍न सक्छौँ? (ख) आजका ख्रिष्टियनहरू कसरी पावल, अक्विला र प्रिस्किलाको उदाहरण पछ्याउँछन्‌?

६ पाल बनाउने कामलाई पावलले आफ्नो मुख्य पेसा सम्झेनन्‌। साक्षीकार्यमा टेवा पुगोस्‌ भनेर मात्र तिनले यो काम गरेका थिए। तिनले “सित्तैँमा” सुसमाचार घोषणा गरे। (२ कोरि. ११:७) अक्विला र प्रिस्किलाको लागि पाल बनाउने काम कत्तिको महत्त्वपूर्ण थियो? ख्रिष्टियन भएकोले निश्‍चय नै तिनीहरू पनि पावलको जस्तै दृष्टिकोण राख्थे। वास्तवमा इस्वी संवत्‌ ५२ मा पावल कोरिन्थबाट एफिसस जाँदा अक्विला र प्रिस्किला पनि आफ्नो काम छोडेर पावल सँगसँगै गए। एफिससमा तिनीहरूको घरमा नै त्यहाँको मण्डली भेला हुने गर्थ्यो। (१ कोरि. १६:१९) पछि तिनीहरू रोम फर्के र फेरि एफिससमा नै गए। यी जोसिला दम्पतीले राज्य गतिविधिलाई प्रथम स्थान दिए र अरूको सेवा गर्न तिनीहरू खुसीसाथ तयार भए। यसैकारण तिनीहरूप्रति “अन्यजातिका सबै मण्डली” कृतज्ञ थिए।—रोमी १६:३-५; २ तिमो. ४:१९.

७ आजका ख्रिष्टियनहरू पनि पावल, अक्विला र प्रिस्किलाको उदाहरण पछ्याउँछन्‌। जोसिला राज्य उद्‌घोषकहरू “कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर” कडा परिश्रम गर्छन्‌। (१ थिस्स. २:९) सबैभन्दा महत्त्वपूर्ण काम अर्थात्‌ साक्षीकार्यमा लागिरहनको लागि पूर्ण-समय सेवामा लागेका थुप्रै साक्षी पार्ट-टाइम काम गर्ने गर्छन्‌ वा सिजनअनुसारको काम गर्ने गर्छन्‌। यो साँच्चै प्रशंसनीय कुरा हो। साथै अक्विला र प्रिस्किलाजस्तै यहोवाका थुप्रै दयालु सेवकहरूले परिभ्रमण निरीक्षकहरूलाई आफ्नो घरमा खुसीसाथ बास दिन्छन्‌। “अतिथि-सत्कार गर्ने बानी” बसालेकाहरूलाई यसो गर्नु कत्ति प्रोत्साहनदायी हुन्छ भन्‍ने कुरा थाह छ।—रोमी १२:१३.

प्रोत्साहन दिने पत्रहरू

इस्वी संवत्‌ ५०-५२ तिर १८ महिना कोरिन्थमा बस्दा प्रेषित पावलले कम्तीमा पनि दुइटा पत्र लेखे। ती पत्रहरू पछि ख्रिष्टियन ग्रीक धर्मशास्त्रका भाग भए। ती हुन्‌: पहिलो र दोस्रो थिस्सलोनिकी। तिनले गलातीहरूलाई पनि त्यही समयमा वा अलि पछि पत्र लेखेका हुन सक्छन्‌।

थिस्सलोनिकीहरूलाई पहिलो पत्र। पावलले यहोवाको प्रेरणा पाएर लेखेको यो सबैभन्दा पहिलो पत्र हो। दोस्रो मिसनरी यात्रामा पावल इस्वी संवत्‌ ५० तिर थिस्सलोनिका गएका थिए। त्यहाँ स्थापना भएको मण्डलीले चाँडै भीषण सतावटको सामना गर्नुपऱ्‍यो, जसको कारण पावल र सिलास त्यो सहर छोड्‌न बाध्य भए। (प्रेषि. १७:१-१०, १३) भर्खरै स्थापना भएको मण्डलीको चिन्ता गरेर पावलले दुई-दुई चोटि त्यहाँ जाने प्रयास गरे तर “सैतानले . . . बाटो छेक्यो।” त्यसकारण पावलले भाइबहिनीहरूलाई सान्त्वना दिन र बलियो बनाउन तिमोथिलाई पठाए। इस्वी संवत्‌ ५० को अन्ततिर तिमोथिले पावललाई कोरिन्थमा भेटे र थिस्सलोनिकी मण्डलीको राम्रो खबर सुनाए। त्यसपछि पावलले पहिलो पत्र लेखे।—१ थिस्स. २:१७–३:७.

थिस्सलोनिकीहरूलाई दोस्रो पत्र। पावलले थिस्सलोनिकीहरूलाई पहिलो पत्र लेखेको केही समयपछि नै सायद इस्वी संवत्‌ ५१ तिर दोस्रो पत्र लेखे। दुवै पत्रमा तिमोथि र सिल्भानसले (प्रेषितको विवरणमा सिलास भनिएको छ) पनि थिस्सलोनिकीहरूलाई अभिवादन पठाएका छन्‌। पावल कोरिन्थबाट गइसकेपछि यी तीन जना भाइहरूको भेट भएको विवरण छैन। (प्रेषि. १८:५, १८; १ थिस्स. १:१; २ थिस्स. १:१) पावलले किन थिस्सलोनिकीहरूलाई दोस्रो पत्र लेखे? पावलको पहिलो पत्र पुऱ्‍याउने व्यक्‍तिले सायद थिस्सलोनिकी मण्डलीबारे अझै धेरै खबर ल्याएका हुन सक्छन्‌। त्यस खबरले गर्दा थिस्सलोनिकीहरूको प्रेम र धीरजको प्रशंसा गर्न मात्र होइन तर प्रभुको उपस्थिति नजिकै छ भन्‍ने सोचाइलाई सच्याउन पनि पावल दोस्रो पत्र लेख्न उत्प्रेरित भए।—२ थिस्स. १:३-१२; २:१, २.

गलातीहरूलाई पत्र। यो पत्र लेख्नुभन्दा अघि कम्तीमा पनि दुई पटक पावलले गलातीका ख्रिष्टियनहरूलाई भेटिसकेका थिए भनेर तिनको पत्रबाट बुझिन्छ। इस्वी संवत्‌ ४७-४८ मा पावल र बर्णाबासले पिसिदियाको एन्टिओक, आइकोनियम, लिस्त्रा र डर्बीको भ्रमण गरेका थिए। यी सबै इलाका रोमी प्रान्त गलातियामा पर्थ्यो। इस्वी संवत्‌ ४९ मा पावल त्यही इलाकामा सिलाससँग फेरि गए। (प्रेषि. १३:१–१४:२३; १६:१-६) पावलले भ्रमण गरेलगत्तै झूटा भाइहरू त्यहाँ गए र ख्रिष्टियनहरूले मोसाको व्यवस्था पालन गर्नुपर्छ र खतना पनि गर्नुपर्छ भनेर सिकाउन थाले। यस्ता झूटा शिक्षाबारे सुन्‍नेबित्तिकै पावलले गलातीहरूलाई पत्र लेखे। यो पत्र तिनले कोरिन्थबाट लेखेका हुन सक्छन्‌। तर तिनी सिरियाको एन्टिओक फर्कँदै गर्दा एफिससमा केही समय रोकिएको बेला वा एन्टिओक पुगिसकेपछि लेखेका पनि हुन सक्छन्‌।—प्रेषि. १८:१८-२३.

“कोरिन्थीहरूमध्ये धेरै जनाले प्रभुमा विश्‍वास गर्न थाले” (प्रेषित १८:५-८)

८, ९. यहुदीहरूले साक्षीकार्यको एकदमै विरोध गर्न थालेपछि पावलले के गरे? त्यसपछि तिनी साक्षी दिन कहाँ गए?

८ पावल पेटपालाको कामलाई साक्षीकार्यमा टेवा पुऱ्‍याउने माध्यमको रूपमा मात्र हेर्थे। यो कुरा सिलास र तिमोथि म्यासिडोनियाबाट प्रशस्तै उपहारहरू लिएर आइपुग्दा प्रस्ट भयो। (२ कोरि. ११:९) तुरुन्तै पावल “वचन प्रचार गर्नमा व्यस्त भए” अथवा अर्को शब्दमा भन्‍ने हो भने साक्षीकार्यमा दत्तचित्तले लागे। (प्रेषि. १८:५) तर यहुदीहरूलाई जोडतोडले साक्षी दिँदा पावलले धेरै विरोधको सामना गर्नुपऱ्‍यो। ख्रिष्टमार्फत जीवन बचाउन सकिन्छ भन्‍ने सन्देश तिनीहरूले स्विकारेनन्‌। त्यसको लागि आफू जिम्मेवार नभएको जनाउँदै पावलले आफ्नो लुगा टकटक्याए र विरोधीहरूलाई यसो भने, “तपाईँहरूको रगत तपाईँहरूकै थाप्लोमा परोस्‌। म निर्दोष छु। अबउसो म अन्यजातिका मानिसहरूकहाँ जानेछु।”—प्रेषि. १८:६; इज. ३:१८, १९.

९ पावल अब कहाँ साक्षी दिन जान्छन्‌? टाइटस जस्तस नाम गरेका व्यक्‍तिको घर सभाघरसँगै जोडिएको थियो। तिनी सम्भवतः धर्म परिवर्तन गरेर यहुदी बनेका थिए। तिनले पावललाई आफ्नो घरमा स्वागत गरे। त्यसैले पावल सभाघरबाट जस्तसको घरमा गए। (प्रेषि. १८:७) कोरिन्थमा हुँदा पावल अक्विला र प्रिस्किलाको घरमै बसे तर जस्तसको घरलाई चाहिँ साक्षी गतिविधिको मुख्य केन्द्र बनाए।

१०. पावलले अन्यजातिकाहरूलाई मात्र साक्षी दिने निधो गरेका थिएनन्‌ भनेर हामी कसरी थाह पाउन सक्छौँ?

१० पावलले अबउसो म अन्यजातिहरूकहाँ जानेछु भन्‍नुको मतलब सुसमाचार सुन्‍न चाहने यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूलाई तिनले अब वास्तै गर्दैनन्‌ भन्‍ने हो? त्यसो त पक्कै होइन। उदाहरणको लागि, “सभाघरका पदाधिकारी क्रिस्पसले अनि उनको घरमा भएकाहरू सबैले प्रभुमा विश्‍वास गरे।” सभाघरका अन्य थुप्रैले पनि क्रिस्पस सँगसँगै प्रभुमा विश्‍वास गर्न थाले। बाइबल यसो भन्छ: “सुसमाचार सुन्‍ने कोरिन्थीहरूमध्ये धेरै जनाले प्रभुमा विश्‍वास गर्न थाले अनि बप्तिस्मा गरे।” (प्रेषि. १८:८) यसरी टाइटस जस्तसको घर भर्खरै स्थापना भएको कोरिन्थ मण्डली भेला हुने ठाउँ बन्यो। प्रेषितको विवरण लुकाको लेखनशैलीअनुसार अर्थात्‌ घटनाक्रमअनुसारै लेखिएको हो भने ती यहुदी र धर्म परिवर्तन गरेर यहुदी बनेकाहरूले पावलले आफ्नो लुगा टकटकाएपछि मात्र प्रभुमा विश्‍वास गरेका थिए। यसबाट पावल परिस्थितिअनुसार छाँटकाँट गर्न कतिसम्म तयार थिए भनेर स्पष्ट हुन्छ।

११. चर्चका मानिसहरूलाई सुसमाचार सुनाउने कोसिस गर्दा यहोवाका साक्षीहरू कसरी पावलको अनुकरण गर्छन्‌?

११ आज पनि थुप्रै मुलुकहरूमा चर्चहरू पहिलेदेखि नै छन्‌। आफ्ना सदस्यहरूमाथि तिनीहरूको एकदमै बलियो पकड छ। संसारभरि थुप्रै ठाउँहरूमा चर्चका मिसनरीहरूले धेरै मानिसहरूलाई धर्म परिवर्तन गराएका छन्‌। ख्रिष्टियन हुँ भनी दाबी गर्ने मानिसहरू प्रथम शताब्दीमा कोरिन्थका यहुदीहरूजस्तै परम्परामा बाँधिएका हुन्छन्‌। तैपनि पावलजस्तै यहोवाका साक्षीहरू जोसका साथ साक्षीकार्यमा भाग लिन्छन्‌ अनि त्यस्ता मानिसहरूसित भेट्‌दा बाइबलबारे तिनीहरूसित जे-जति ज्ञान छ, त्यसकै आधारमा कुराकानी अघि बढाउने कोसिस गर्छन्‌। तिनीहरूले हाम्रो विरोध गरे भने वा तिनीहरूका धर्मगुरुहरूले हाम्रो खोइरो नै खने भने पनि हामी हार मान्दैनौँ। ‘परमेश्‍वरको लागि जोस त भएका तर सही ज्ञानअनुरूप नभएका’ मानिसहरूमध्ये थुप्रै नम्र जनहरू पनि हुन सक्छन्‌। त्यस्ता मानिसलाई हामीले खोज्नुपर्छ र भेट्टाउनुपर्छ।—रोमी १०:२.

“यस सहरमा यस्ता मानिस धेरै छन्‌” (प्रेषित १८:९-१७)

१२. एउटा दर्शनमा पावलले कस्तो आश्‍वासन पाए?

१२ यदि पावललाई कोरिन्थमा साक्षीकार्यलाई निरन्तरता दिने कि नदिने भनेर दोमन भइरहेको थियो भने राती दर्शनमा प्रभु येसुले भन्‍नुभएको यस कुराबाट तिनी पक्कै ढुक्क सके: “नडराऊ। चुपचाप नबस बरु बोलिरह; म तिमीसित छु र कसैले तिमीलाई आक्रमण गरेर हानि पुऱ्‍याउन सक्नेछैन किनकि यस सहरमा यस्ता मानिस धेरै छन्‌, जसले ममाथि विश्‍वास गर्न बाँकी नै छ।” (प्रेषि. १८:९, १०) कस्तो प्रोत्साहनजनक दर्शन! तिनलाई हानि हुनबाट जोगाइनेछ र त्यस सहरमा थुप्रै योग्य जनहरू छन्‌ भनेर प्रभु आफैले तिनलाई आश्‍वासन दिनुभयो। यो दर्शन पाएपछि पावलले के गरे? हामी यस्तो लेखिएको पाउँछौँ: “उनीहरूलाई परमेश्‍वरको वचन सिकाउँदै तिनी एक वर्ष छ महिना त्यहीँ बसे।”—प्रेषि. १८:११.

१३. (क) न्यायासननजिकै आइपुग्दा पावलले कुन घटना सम्झेको हुनुपर्छ? (ख) यस पटक भने नतिजा फरक निस्कनेछ भनेर तिनी किन आशा गर्न सक्थे?

१३ कोरिन्थमा लगभग वर्ष दिन बिताएपछि तिनले प्रभु आफ्नो साथैमा हुनुहुन्छ भन्‍ने कुराको थप प्रमाण पाए। विवरण भन्छ: “यहुदीहरू एक मत भई पावलविरुद्ध खडा भए अनि तिनलाई न्यायासनसामु लगे।” (प्रेषि. १८:१२) कसै-कसैका अनुसार यो न्यायासन कोरिन्थको बजारको मुख्य ठाउँमा राखिएको थियो। यो कुँदिएका निला र सेता पत्थरहरूले बनाइएको मञ्चमा राखिएको थियो। त्यस न्यायासनअगाडि धेरै मानिस अटाउन सक्ने खुला ठाउँ थियो। पुरातात्त्विक प्रमाणअनुसार यो न्यायासन सभाघरको छेवैमा राखिएको हुन सक्छ। त्यसैले त्यो जस्तसको घरसँगै थियो। न्यायासननजिकै आइपुग्दा स्तिफनसलाई ढुङ्‌गाले हानेको घटना पावलले सम्झेको हुनुपर्छ। स्तिफनसलाई पहिलो ख्रिष्टियन सहिद पनि भनिन्छ। त्यतिबेला सावल भनेर चिनिने पावलले उक्‍त “हत्यामा . . . समर्थन” जनाएका थिए। (प्रेषि. ८:१) पावलले पनि त्यस्तै नतिजा भोग्नुपर्ने हो कि? अहँ, होइन! किनभने प्रभुले तिनलाई “कसैले . . . हानि पुऱ्‍याउन सक्नेछैन” भनेर प्रतिज्ञा गर्नुभएको छ।—प्रेषि. १८:१०.

गल्लियो यहुदीहरूको अगाडि पावललाई लगाइएको मुद्दा खारेज गर्छन्‌। रोमी सैनिकहरू रिसले क्रोधित भीडलाई शान्त पार्न खोज्छन्‌।

“यति भनेर तिनले उनीहरूलाई न्यायासनसामुबाट धपाए।”​—प्रेषित १८:१६

१४, १५. (क) यहुदीहरूले पावललाई के आरोप लगाए? गल्लियोले पावलको मुद्दा किन खारेज गरिदिए? (ख) सोस्थेनेसलाई के भयो र नतिजा कस्तो भएको हुन सक्छ?

१४ पावल न्यायासनसामु पुग्दा के भयो? न्यायाधीशको रूपमा अखैयाका प्रान्तीय राज्यपाल गल्लियो न्यायासनमा बसेका थिए। तिनी रोमी दार्शनिक सेनेकाका दाइ थिए। यहुदीहरूले पावललाई यस्तो आरोप लगाए: “यसले मानिसहरूलाई उक्साएर कानुनको उल्लङ्‌घन हुनेगरि परमेश्‍वरको उपासना गर्न लगाउँदै छ।” (प्रेषि. १८:१३) पावलले कानुनविपरीत मानिसहरूको धर्म परिवर्तन गराइरहेका छन्‌ भनेर तिनीहरूले आरोप लगाए। तर गल्लियोको नजरमा पावलले “केही गलत काम वा कुनै गम्भीर अपराध” गरेका थिएनन्‌। (प्रेषि. १८:१४) तिनी यहुदीहरूको विवादमा मुछिन चाहेनन्‌। त्यसैकारण पावलले आफ्नो बचाउमा केही भन्‍नुअघि नै गल्लियोले त्यो मुद्दा खारेज गरिदिए। आरोपीहरू रिसले चूर भए। तिनीहरूले आफ्नो रिस सोस्थेनेसमाथि खन्याए। सायद त्यतिबेला सोस्थेनेस क्रिस्पसको सट्टामा सभाघरको पदाधिकारी भएका थिए। तिनीहरूले सोस्थेनेसलाई समातेर “न्यायासनसामु पिट्‌न थाले।”—प्रेषि. १८:१७.

१५ सोस्थेनेसलाई कुटपिट गरिँदा गल्लियोले किन रोकेनन्‌? पावलविरुद्ध लाग्न भीडलाई उक्साउने सोस्थेनेस नै हो र उसले आफ्नो कामको फल भोगोस्‌ भनेर गल्लियोले सोचेका हुन सक्छन्‌। कुरा जे भए पनि त्यस घटनाको नतिजा भने राम्रो भयो। केही वर्षपछि पावलले कोरिन्थको मण्डलीलाई लेखेको पत्रमा सोस्थेनेस नामका व्यक्‍तिलाई भाइ भनेर सम्बोधन गरेका छन्‌। (१ कोरि. १:१, २) के यी सोस्थेनेस कोरिन्थमा पिटाइ खाएका सोस्थेनेस नै पो थिए कि? यदि त्यसो हो भने ख्रिष्टियन बन्‍न सोस्थेनेसलाई यही दुःखद अनुभवले मदत गरेको हुन सक्छ।

१६. “चुपचाप नबस बरु बोलिरह; म तिमीसित छु” भन्‍ने येसुका शब्दहरूले हाम्रो साक्षीकार्यमा कस्तो प्रभाव पार्छ?

१६ यहुदीहरूलाई साक्षी दिँदा तिनीहरूले अस्वीकार गरेपछि पावललाई येसुले दिनुभएको यो आश्‍वासन नबिर्सनुहोस्‌: “नडराऊ। चुपचाप नबस बरु बोलिरह; म तिमीसित छु।” (प्रेषि. १८:९, १०) विशेषगरि मानिसहरूले हाम्रो सन्देश सुन्‍न अस्वीकार गर्दा हामीले यही कुरा मनमा राख्नुपर्छ। यहोवा मनको कुरा पढ्‌न सक्नुहुन्छ र नम्र मानिसलाई आफूतिर खिच्नुहुन्छ भनेर नबिर्सनुहोस्‌। (१ समु. १६:७; युह. ६:४४) यस कुराले गर्दा साक्षीकार्यमा जोडतोडले लागिरहन हामी कत्ति प्रोत्साहन पाउँछौँ नि, होइन र? हरेक वर्ष लाखौँले बप्तिस्मा गरिरहेका छन्‌, औसतमा हरेक दिन सयौँले। “जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ” भनेर येसुले दिनुभएको यो आज्ञा पालन गर्नेहरूलाई उहाँ यस्तो आश्‍वासन दिनुहुन्छ: “यस युगको आखिरी समयसम्म म सधैँभरि तिमीहरूसितै छु।”—मत्ति २८:१९, २०.

‘यहोवाको इच्छा भएमा’ (प्रेषित १८:१८-२२)

१७, १८. सिनक्रियाबाट एफिसस जाँदा पावलले कस्तो कुरा सम्झेका हुन सक्छन्‌?

१७ पावलका आरोपीहरूप्रति गल्लियोले देखाएको मनोवृत्तिले गर्दा कोरिन्थमा भर्खरै स्थापना भएको मण्डलीका भाइबहिनीलाई केही समयको लागि अलि सजिलो भयो होला भनेर ठोकुवा गर्न त सकिँदैन। तर कोरिन्थका भाइहरूसँग बिदा हुनुअघि पावल “अझै केही दिन त्यहाँ बसे।” तिनले इस्वी संवत्‌ ५२ को वसन्त ऋतुमा कोरिन्थबाट झन्डै ११ किलोमिटर टाढा पर्ने सिनक्रियाको बन्दरगाहबाट सिरिया जाने योजना बनाए। सिनक्रियाबाट निस्कनुअघि “तिनले आफ्नो कपाल ठुटो पारे किनकि तिनले भाकल गरेका थिए।”c (प्रेषि. १८:१८) त्यसपछि तिनले अक्विला र प्रिस्किलालाई सँगै लगे र तिनीहरू एजिएन समुद्र पार गर्दै एसिया माइनरको एफिसस गए।

१८ सिनक्रियाबाट यात्रामा निस्कँदै गर्दा पावलले कोरिन्थमा बिताएका पलहरू सम्झेका हुन सक्छन्‌। तिनले थुप्रै मीठा सम्झना सँगालेका थिए अनि तिनले गहिरो सन्तुष्टि महसुस गर्न सक्ने कारण पनि थियो। कोरिन्थमा १८ महिना साक्षी दिँदा असल नतिजा निस्केको थियो। त्यहाँ पहिलो ख्रिष्टियन मण्डली स्थापना भएको थियो। त्यो मण्डली जस्तसको घरमा भेला हुने गर्थ्यो। जस्तस, क्रिस्पस र तिनको घराना अनि अरू थुप्रै मानिस येसुको चेला भएका थिए। पावलले तिनीहरूलाई ख्रिष्टियन बन्‍न मदत गरेको हुनाले ती नयाँ चेलाहरूलाई पावल एकदम माया गर्थे। पछि ती ख्रिष्टियनहरूलाई पत्र लेख्दा पावलले तिनीहरू आफ्नो मनमा कुँदिएको सिफारिस-पत्र हुन्‌ भनेर वर्णन गरे। साँचो उपासना अँगाल्न हामीले मदत गरेका मानिसहरूप्रति हामी पनि त्यस्तै घनिष्ठ महसुस गर्छौँ। त्यस्ता जीवित “सिफारिस-पत्र” देख्न पाउँदा कत्ति सन्तुष्टि मिल्छ!—२ कोरि. ३:१-३.

१९, २०. एफिससमा आइपुगेपछि पावलले के गरे? आध्यात्मिक लक्ष्य हासिल गर्ने विषयमा पावलबाट हामी के सिक्न सक्छौँ?

१९ एफिससमा आइपुगेपछि आफ्नो मुख्य काम साक्षीकार्यमा पावल लागिहाले। “तिनी सभाघरभित्र पसे र यहुदीहरूसित तर्क गर्न थाले।” (प्रेषि. १८:१९) यतिबेला भने पावल एफिससमा लामो समय बसेनन्‌। अझै बस्न अनुरोध गरिए तापनि “तिनले मानेनन्‌।” त्यहाँबाट बिदा हुने बेला तिनले एफिससका भाइबहिनीलाई यसो भने: “यहोवा परमेश्‍वरको इच्छा भए म फेरि तपाईँहरूकहाँ आउनेछु।” (प्रेषि. १८:२०, २१) एफिससमा अझै साक्षी दिनुपर्छ भनेर पावलले बुझेका थिए भन्‍ने कुरामा कुनै शङ्‌का छैन। ती प्रेषितले फेरि आउने योजना बनाए तर निर्णयचाहिँ यहोवाको हातमा छोडिदिए। हामीले मनमा राख्नुपर्ने कस्तो राम्रो उदाहरण! हो, आध्यात्मिक लक्ष्य हासिल गर्न हामी आफै अघि सर्नुपर्छ। तर हामी सधैँ यहोवाको निर्देशनमा भर पर्नुपर्छ र उहाँको इच्छाअनुसारै गर्ने प्रयास गर्नुपर्छ।—याकु. ४:१५.

२० अक्विला र प्रिस्किलालाई एफिससमा छोडेर पावल जहाजबाट सिजरियातिर लागे। त्यसबीच “यरुसलेम उक्लेर” तिनले मण्डलीलाई अभिवादन गरे। (प्रेषि. १८:२२) त्यसपछि तिनी आफ्नो मिसनरी सेवाको केन्द्र सिरियाको एन्टिओक झरे। तिनको दोस्रो मिसनरी यात्रा सफल भयो। अब तिनको अन्तिम मिसनरी यात्रा पो कस्तो हुने हो!

पावलको भाकल

प्रेषित १८:१८ मा बताइएअनुसार पावल सिनक्रियामा हुँदा “तिनले आफ्नो कपाल ठुटो पारे किनकि तिनले भाकल गरेका थिए।” पावलले के भाकल गरेका थिए?

साधारणतया भाकल भनेको कुनै काम गर्न, केही चढाउन, वा कुनै अवस्थामा प्रवेश गर्न परमेश्‍वरसामु स्वेच्छाले गरिने कबुल हो। कसै-कसैको विचारमा पावलले नाजिरीको भाकल पूरा गर्न आफ्नो कपाल ठुटो पारेका थिए। तर बिर्सन नहुने कुरा के हो भने धर्मशास्त्रअनुसार यहोवाको सेवामा कुनै निश्‍चित समय बिताइसकेपछि नाजिरीले “भेट हुने पालको प्रवेशद्वारमा” गएर आफ्नो कपाल खौरनुपर्थ्यो। यस्तो त यरुसलेममा मात्र गर्न सकिन्थ्यो, सिनक्रियामा होइन।—गन्ती ६:५, १८.

पावलले कहिले भाकल गरेका थिए भनेर प्रेषितको किताबमा बताइएको छैन। सायद तिनले आफू ख्रिष्टियन हुनुअघि नै भाकल गरेका हुन सक्छन्‌। पावलले यहोवासामु कुनै विशेष आग्रह गरेका थिए कि थिएनन्‌, त्यसबारे पनि बाइबल विवरणले केही बताएको छैन। एउटा पुस्तकअनुसार “यहोवाबाट सुरक्षा पाएर कोरिन्थमा मिसनरी भ्रमण पूरा गर्न सफल भएकोले पावलले परमेश्‍वरलाई धन्यवादस्वरूप” कपाल ठुटो पारेका पनि हुन सक्छन्‌।

a पृष्ठ १४९ मा भएको “कोरिन्थ—दुई समुद्रबीचको सहर” शीर्षकको पेटी हेर्नुहोस्‌।

b पृष्ठ १५० मा भएको “प्रोत्साहन दिने पत्रहरू” शीर्षकको पेटी हेर्नुहोस्‌।

c पृष्ठ १५२ मा भएको “पावलको भाकल” शीर्षकको पेटी हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने