अक्वीला र प्रिस्किला उदाहरणीय दम्पती
“प्रिस्का र अक्वीला, ख्रीष्ट येशूमा मेरा सहकर्मीहरूलाई सलाम भनिदेओ, जसले मेरो प्राणको निम्ति तिनीहरूका आफ्ना गर्दन दिए। तिनीहरूलाई मैले मात्र होइन, तर अन्यजातिहरूका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्।”—रोमी १६:३, ४.
प्रेरित पावलले रोमको मसीही मण्डलीलाई लेखेका यी शब्दहरूद्वारा के प्रकट हुन्छ भने, ती विवाहित दम्पतीलाई पावल अगाध आदर र श्रद्धा गर्थे। पावलले ती दम्पतीको मण्डलीलाई पत्र लेख्दा तिनीहरूको नाउँ नछुटोस् भनी निश्चित गरे। तर पावलका यी दुइ “सहकर्मीहरू” को थिए र तिनीहरू पावल र मण्डलीहरूका निम्ति किन यति प्रिय थिए?—२ तिमोथी ४:१९.
अक्वीला उत्तरी एसिया माइनरको एक प्रान्त पोन्टसका विस्थापित यहूदी (छरपस्ट भएका यहूदीहरू) थिए। तिनी र तिनकी पत्नी प्रिस्किला (प्रिस्का) रोममा बसोबास गर्न थालेका थिए। सा.यु.पू. ६३ पेन्तिकोसमा पोम्पीले यरूशलेमलाई कब्जा गरेर थुप्रै कैदीहरूलाई रोममा दास बनाएर लगेको समयदेखि यता त्यस शहरमा यहूदी समुदाय ठूलै भएको थियो। वास्तवमा, त्यस पुरातन शहरमा बाह्रवटा वा त्योभन्दा धेरै सभाघरहरू थिए भनेर रोमी शिलालेखहरूले देखाउँछन्। सा.यु. ३३ पेन्तिकोसमा रोमबाट यरूशलेम आएका थुप्रै यहूदीहरूले सुसमाचार सुने। सम्भवतः त्यसैले पहिला रोमी साम्राज्यको राजधानीमा मसीही सन्देश पुग्यो।—प्रेरित २:१०.
तथापि, सा.यु. ५० को प्रारम्भतिर वा ४९ मा सम्राट क्लौडियसको आज्ञाअनुसार रोमबाट यहूदीहरूलाई निष्कासन गरियो। त्यसैले प्रेरित पावलले अक्वीला र प्रिस्किलालाई कोरिन्थको युनानी शहरमा भेटे। पावल कोरिन्थमा आइपुगेपछि अक्वीला र प्रिस्किलाले स्नेहपूर्वक तिनको अतिथि सत्कार गर्नुका साथै एकै पेशाको हुनाले सँगसँगै पाल बनाउने कामको प्रस्ताव राखे।—प्रेरित १८:२, ३.
पाल बनाउनेहरू
पाल बनाउने काम सजिलो थिएन। यो काम गर्दा कडा खस्रो कपडा वा छालाका टुक्राहरू एकैसाथ काट्नु र सिलाउनु पर्थ्यो। इतिहासकार फेर्नान्डो बेआअनुसार “यात्राको दौडान घाम पानीबाट बच्न पाल सिलाउँदा वा जहाजमा सामानहरू पोको पार्दा प्रयोग गरिने खस्रो र कडा कपडाहरूबाट” पाल बनाउँदा ती बनाउनेहरू “निपुण र होशियार हुनु आवश्यक थियो।”
एउटा प्रश्न खडा हुन्छ। भविष्यमा उच्च ओहदाको लागि तयार हुन आफूले ‘गमलीयलका चरणमा . . . शिक्षा पाएको’ भनेर पावलले भनेका थिएनन् र? (प्रेरित २२:३) हो, भनेका थिए तर कुनै ठिटोले उच्च शिक्षा हासिल गर्ने भए तापनि तिनलाई पेशागत शिक्षा दिनु प्रथम शताब्दीका यहूदीहरूले प्रतिष्ठित ठान्थे। तसर्थ, अक्वीला र पावल दुवैले केटाकेटी छँदै पाल बनाउन सिकेका थिए होलान्। त्यो पेशा पछि गएर असाध्यै उपयोगी साबित भयो। तर तिनीहरूले मसीहीहरूको हैसियतमा त्यस्तो पेशालाई मुख्य कुरा ठानेनन्। पावलले कोरिन्थमा अक्वीला र प्रिस्किलासित गरेको काम तिनको मुख्य क्रियाकलापलाई सहयोग गर्ने साधन मात्र थियो भनेर बताए। त्यो क्रियाकलाप के थियो भने, ‘कसैलाई भार नबोकाई’ सुसमाचार घोषणा गर्नु।—२ थिस्सलोनिकी ३:८; १ कोरिन्थी ९:१८; २ कोरिन्थी ११:७.
स्पष्टतया, पावलको मिसनरी सेवामा यथाशक्य टेवा पुऱ्याउन अक्वीला र प्रिस्किला खुशी थिए। ग्राहक वा बटुवाहरूलाई अनौपचारिक साक्षी दिन यी तीन मित्रहरूले कति पटक आफ्नो काम रोके, कसलाई के थाह! तिनीहरूको पाल बनाउने काम निम्न कोटीको र थकाइलाग्दो भए तापनि परमेश्वरको राज्यसम्बन्धी गतिविधिहरूलाई टेवा पुऱ्याउन तिनीहरू त्यो काम “रात-दिन गर्न” समेत खुशी थिए। त्यस्तैगरि आधुनिक समयका मसीहीहरूले पनि मानिसहरूलाई सुसमाचार सुनाउन यथासक्दो समय बिताउन सकियोस् भनी आंशिक वा कहिलेकाहीं पाइने काम गर्छन्।—१ थिस्सलोनिकी २:९; मत्ती २४:१४; १ तिमोथी ६:६.
अतिथि सत्कारका उदाहरणहरू
सम्भवतः पावलले कोरिन्थमा आफ्नो १८ महिने मिसनरी क्रियाकलापको दौडान अक्वीलाको घरलाई आध्यात्मिकताको केन्द्र बनाए। (प्रेरित १८:३, ११) त्यसपछि म्यासिडोनियाबाट आएका सिलास (सिल्भानस) र तिमोथीको अतिथि सत्कार गर्न पाउँदा अक्वीला र प्रिस्किला आनन्दित भए होलान्। (प्रेरित १८:५) पावलले अक्वीला र प्रिस्किलासित समय बिताउँदा थिस्सलोनिकीहरूलाई दुइटा पत्र लेखे, जुन पछि गएर बाइबलको भाग भए।
त्यस समय प्रिस्किला र अक्वीलाको घर ईश्वरतान्त्रिक क्रियाकलापको केन्द्र थियो भनेर सहजै अनुमान लगाउन सकिन्छ। सम्भवतः त्यहाँ थुप्रै प्रिय मित्रहरू आइरहन्थे। जस्तो कि—पावलले बप्तिस्मा दिएका अखैया प्रान्तका प्रथम मसीहीहरू स्तिफनस र तिनको परिवार; भाषणको लागि पावललाई आफ्नो घर प्रयोग गर्न दिने जस्तस टाइटस र आफ्नो सम्पूर्ण परिवारको साथ सत्य स्वीकार्ने सभाघरको अध्यक्ष क्रिस्पस। (प्रेरित १८:७, ८; १ कोरिन्थी १:१६) त्यसबाहेक फोर्टुनाटस र अखाइकस; गायस, जसको घर मण्डली सभाहरूका लागि प्रयोग गरिएको हुनसक्छ; शहरको भण्डारे इरास्तस; पावलले रोमीहरूलाई पत्र लेख्न चलाएको सचिव तर्तियस र नजीकै मण्डली किंक्रियाको विश्वासी बहिनी फिबी, जसले सम्भवतः कोरिन्थबाट रोममा पत्र पुऱ्याएकी थिइन्।—रोमी १६:१, २२, २३; १ कोरिन्थी १६:१७.
परिभ्रमण सेवकलाई अतिथि सत्कार देखाउने अवसर पाएका यहोवाका आधुनिक सेवकहरूले अतिथि सत्कार देखाउनु कस्तो प्रोत्साहनदायी र स्मरणीय हुन्छ भनेर बुझेका छन्। यस्ता अवसरहरूमा प्राप्त हुने उत्थानदायी अनुभवहरू सबैको लागि आध्यात्मिक स्फूर्तिको वास्तविक स्रोत हुनसक्छ। (रोमी १:११, १२) अक्वीला र प्रिस्किलाले जस्तै सभाहरू र सम्भवतः मण्डली पुस्तक अध्ययनको लागि आफ्नो घर उपलब्ध गराउनेहरूले यसरी साँचो उपासनाको वृद्धिमा योगदान पुऱ्याउन सक्षम भएर आनन्द र सन्तुष्टि प्राप्त गर्छन्।
पावलसित अक्वीला र प्रिस्किलाको कति गहिरो मित्रता थियो भने, सा.यु. ५२ को वसन्त ऋतुमा पावल कोरिन्थबाट जाँदा तिनीसित एफिसससम्म अक्वीला र प्रिस्किला गए। (प्रेरित १८:१८-२१) तिनीहरू त्यस शहरमा बसेर प्रेरितहरूको अर्को भ्रमणको तयारीको निम्ति जग बसाले। यहीं नै यी सुसमाचारका शिक्षकहरूले वाक्पटु अपोल्लसलाई “आफूहरूकहाँ ल्याए” र तिनलाई “परमेश्वरको मार्गको अर्थ झन् प्रष्टसँग” बुझ्न मदत दिन पाउँदा आनन्दित भए। (प्रेरित १८:२४-२६) सा.यु. ५२/५३ को जाडो महिनातिर पावलले पुनः एफिससमा तेस्रो मिसनरी यात्रा गर्दा यी सक्रिय दम्पतीले छरेको सत्यका बीउहरू कटनी गर्ने समय भइसकेको थियो। लगभग तीन वर्षसम्म पावलले एफिससमा ‘मार्गबारे’ प्रचार गरे र सिकाए। त्यतिबेला एफिसी मण्डलीका सभाहरू अक्वीलाको घरमा सञ्चालन गरिन्थ्यो।—प्रेरित १९:१-२०, २६; २०:३१; १ कोरिन्थी १६:८, १९.
पछि, पावलका यी दुइ मित्रहरू रोम फर्के र आफ्नो घरमा मसीही सभाहरू सञ्चालन गर्न दिएर तिनीहरूले “अतिथि-सत्कार कायम” राखे।—रोमी १२:१३; १६:३-५.
पावलको निम्ति तिनीहरूले ‘आफ्नो गर्दन’ खतरामा पारे
पावल पनि एफिससमा छँदा सम्भवतः अक्वीला र प्रिस्किलासँगै बसे। चाँदीका शिल्पकारहरूले हल्ला मच्चाएको समय के पावल तिनीहरूसितै बसेका थिए? प्रेरित १९:२३-३१ को विवरणअनुसार सुसमाचारको प्रचार विरुद्ध कारीगरहरूले विद्रोह गर्दा भाइहरूले पावललाई उत्तेजित भीडअघि जानदेखि रोक्नुपऱ्यो। त्यो परिस्थिति कतिसम्म खतरनाक थियो भने पावलले ‘आफ्नो जीवन अनिश्चित समेत’ ठाने अनि अक्वीला र प्रिस्किलाले ‘आफ्नो गर्दन’ खतरामा पारेर केही तरिकामा तिनलाई बचाए।’—२ कोरिन्थी १:८; रोमी १६:३, ४.
“खैलाबैला थामिएपछि” पावलले शहर छाडेर बुद्धिमत्तापूर्ण पाइला चाले। (प्रेरित २०:१) निस्सन्देह, अक्वीला र प्रिस्किलाले पनि विरोध र उपहासको सामना गरे। के यस्तो स्थितिले तिनीहरूलाई खिन्न बनायो? अहँ, यसको विपरीत, अक्वीला र प्रिस्किलाले साहसपूर्वक मसीही क्रियाकलापहरू कायमै राखे।
घनिष्ठ दम्पती
क्लौडियसको शासन अन्त भएपछि अक्वीला र प्रिस्किला रोम फर्के। (रोमी १६:३-१५) तथापि, बाइबलमा तिनीहरूबारे अन्तिम पटक उल्लेख हुँदा तिनीहरू एफिसस फर्किसकेका थिए। (२ तिमोथी ४:१९) त्यसबाहेक, धर्मशास्त्रका अन्य सबै उद्धरणहरूमा जस्तै यी पतिपत्नीलाई सँगसँगै उल्लेख गरिएको छ। कति घनिष्ठ र एकताबद्ध दम्पती! पावलले प्रिय भाइ अक्वीलालाई सम्झँदा तिनकी पत्नीको इमानदारपूर्ण सहयोगलाई भुल्न सकेनन्। आजका मसीही दम्पतीहरूका लागि कत्ति उत्तम उदाहरण! किनभने समर्पित पति वा पत्नीको वफादार सहयोगले कुनै व्यक्ति “प्रभुको काममा” प्रशस्त हुनुका साथै कहिलेकाहीं अविवाहित व्यक्तिले गर्नसक्ने भन्दा धेरै गर्न सक्षम हुन्छन्।—१ कोरिन्थी १५:५८.
अक्वीला र प्रिस्किलाले थुप्रै मण्डलीहरूमा सेवा गरे। तिनीहरूजस्तै आधुनिक समयका थुप्रै जोसिला मसीहीहरू आवश्यकता बढी भएको ठाउँमा बसाइँ सरेका छन्। तिनीहरू पनि परमेश्वरको राज्यसम्बन्धी क्रियाकलापको वृद्धि देखेर अनि अति न्यानो तथा अमूल्य मसीही मित्रता गाँस्न सक्षम भएर प्राप्त हुने आनन्द र सन्तुष्टि महसुस गर्छन्।
अक्वीला र प्रिस्किलाले मसीही प्रेमको उत्कृष्ट उदाहरण बसालेर पावल र अरूबाट मूल्यांकन पाए। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त तिनीहरूले यहोवासमक्ष असल नाउँ कमाए। धर्मशास्त्रले हामीलाई यस्तो आश्वासन दिन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनालाई परमेश्वर अधर्मी हुनुहुन्न।”—हिब्रू ६:१०.
अक्वीला र प्रिस्किलाले पाएको जस्तो अवसर हामीसित नहोला। यद्यपि, हामी प्रत्येकले तिनीहरूको सर्वोत्कृष्ट उदाहरण अनुसरण गर्नसक्छौं। हामीले पवित्र सेवामा आफ्नो शक्ति र जीवन अर्पण गर्दा अपार सन्तुष्टि पाउनेछौं। “भलाइ गर्न र सहयोगी हुन” कहिल्यै नबिर्सौं “किनकि यस्तै बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।”—हिब्रू १३:१५, १६.