प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lf प्रश्‍न ४ पृ. २२-२९
  • के सबै जीवको पुर्खा एउटै हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के सबै जीवको पुर्खा एउटै हो?
  • जीवनको सुरुवातबारे—पाँच महत्त्वपूर्ण प्रश्‍न
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • डार्विनको रूख ढालियो
  • जीवावशेषहरूले के देखाउँछ?
  • कमजोर “प्रमाण”
  • “फिल्म”-को वास्तविक कथा
  • के क्रमविकास तथ्य हो?
    ब्यूँझनुहोस्‌!—२००६
  • विकासवादी सिद्धान्त पुर्पक्षमा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
जीवनको सुरुवातबारे—पाँच महत्त्वपूर्ण प्रश्‍न
lf प्रश्‍न ४ पृ. २२-२९

प्रश्‍न ४

के सबै जीवको पुर्खा एउटै हो?

एउटै पुर्खा भएको प्रजातिहरूलाई चित्रण गर्ने चार्ल्स डार्विनको जीवनको रूख

डार्विन सबै जीवको पुर्खा एउटै हुनुपर्छ भनी सोच्थे। तिनले पृथ्वीमा जीवनको सुरुवातलाई एउटा ठूलो रूखसित तुलना गरे। पछि अरूले पनि यस कुरालाई समर्थन गर्दै “जीवनको रूख” एउटा मूल काण्ड अर्थात्‌ एउटा सरल कोषबाट सुरु भयो भन्‍न थाले। यस धारणाअनुसार मूल काण्डबाट नयाँ जीवहरू बनिन थाले। यसका हाँगाहरूबाट वनस्पति र जन्तु जगत्‌ छुट्टियो। यसपछि अहिले संसारमा भएका सबै वनस्पति र जीवजन्तुको आ-आफ्नै हाँगाहरू छुट्टिन थाल्यो। के साँच्चै यस्तै भएको थियो?

थुप्रै वैज्ञानिक कस्तो दाबी गर्छन्‌? सबै जीवको पुर्खा एउटै हो भन्‍ने कुरालाई जीवावशेषहरूले प्रमाणित गर्छ भनेर थुप्रै वैज्ञानिक सिकाउने गर्छन्‌। साथै सबै जीवहरूमा डिएनए हुने भएकोले सबै जीवको पुर्खा एउटै हुनुपर्छ भनेर पनि तिनीहरू दाबी गर्छन्‌।

बाइबल के भन्छ? उत्त्पत्तिको किताबमा “जातजातका” बोटबिरुवा, जलचर, थलचर र चराचुरुङ्‌गीहरू सृष्टि गरिए भनेर बताइएको छ। (उत्पत्ति १:१२, २०-२५) “जातजातका” भन्‍ने अभिव्यक्‍तिबाट फरक-फरक जातहरू छन्‌ तर एउटै जातमा पनि विविधता छ भन्‍ने कुरा बुझ्न सक्छौँ। सृष्टिसम्बन्धी बाइबलको विवरण सही हो भने नयाँ प्रकारका जीवजन्तुहरू बिस्तारै-बिस्तारै गरी नभई एकैचोटि अस्तित्वमा आएका थिए भनेर जीवावशेषहरूबाट प्रमाणित हुनुपर्छ।

प्रमाणहरूले के देखाउँछ? प्रमाणहरूले बाइबलको विवरणलाई समर्थन गर्छ वा डार्विनको शिक्षालाई? विगत १५० वर्षमा भेटिएका प्रमाणहरूले के देखाउँछ?

डार्विनको रूख ढालियो

हालैका वर्षहरूमा वैज्ञानिकहरूले थुप्रै एक कोषीय जीवहरूमा अनि बोटबिरुवा र पशुहरूमा पाइने आनुवंशिक कोडहरूलाई तुलना गरेर हेरेका छन्‌। यस्ता तुलनाहरूले डार्विनले अघि सारेको “जीवनको रूख”-को शिक्षालाई समर्थन गर्छ होला भनेर तिनीहरूले सोचेका थिए। तर प्रमाणहरूले यो कुरालाई समर्थन गर्दैन।

अनुसन्धानबाट के कुरा पत्ता लागेको छ? सन्‌ १९९९ मा जीवशास्त्री म्यालकम एस. गोर्डनले यस्तो लेखे: “जीवनको सुरुवात विभिन्‍न स्रोतबाट भएको हुनुपर्छ। सबै जीवको सुरुवात एउटै जराबाट भएको होइन जस्तो देखिन्छ।” डार्विनले विश्‍वास गरेजस्तै जीवनको रूखका सबै मुख्य हाँगाहरू मूल काण्डमा जोडिएका छन्‌ भन्‍ने कुराको के कुनै प्रमाण छ? गोर्डन अझ यसो भन्छन्‌: “वनस्पति र जीवजन्तुबारे अहिले जे-जति कुरा पत्ता लागेको छ त्यसबाट सबै जीवको पुर्खा एउटै हो भन्‍ने शिक्षा प्रमाणित हुँदैन। यो शिक्षा कुनै-कुनै फाइलममा त लागू होला तर फाइलमको सबै वर्गमा त पक्कै लागू हुँदैन।”२९a

हालको अनुसन्धानले पनि सबैको पुर्खा एउटै हो भन्‍ने डार्विनको शिक्षालाई समर्थन गर्दैन। उदाहरणको लागि, सन्‌ २००९ मा एउटा पत्रिकाको (New Scientist) लेखमा क्रमविकासका समर्थक वैज्ञानिक एरिक बापटेस्टले भनेको कुरा यसरी उद्धरण गरिएको थियो: “जीवनको रूख एउटा वास्तविकता हो भनेर प्रमाणित गर्न सक्ने कुनै आधार हामीसित छैन।”३० सोही लेखमा क्रमविकासका समर्थक माइकल रोजको भनाइ पनि यसरी उद्धरण गरिएको थियो: “जीवनको रूखको शिक्षालाई बिस्तारै हटाइँदै छ भनेर हामी सबैलाई थाह छ। तर यसो गर्दा जीवविज्ञानबारे आफ्नो धारणा पूरै परिवर्तन गर्नुपर्ने भएकोले धेरै वैज्ञानिकलाई यो कुरा स्विकार्न गाह्रो भइरहेको छ।”३१b

जीवावशेषहरूले के देखाउँछ?

सबै जीव एउटै पुर्खाबाट आएको हो भन्‍ने धारणालाई जीवावशेषले समर्थन गर्छ भनेर धेरै वैज्ञानिक दाबी गर्छन्‌। उदाहरणको लागि, माछाबाट उभयचर अर्थात्‌ जल र थल दुवैमा बस्ने जीवहरू बने अनि घस्रने जन्तुहरूचाहिँ स्तनपायी जीवहरू बने भनेर जीवावशेषहरूले प्रमाणित गर्छ भनेर वैज्ञानिकहरू भन्‍ने गर्छन्‌। तर जीवावशेषहरूले के देखाउँछ?

क्रमविकासका समर्थक जीवावशेष विशेषज्ञ डेभिड एम. राउप यसो भन्छन्‌: “जीवनको सुरुवात बिस्तारै भयो भन्‍ने कुराको प्रमाण पाउनु त परै जाओस्‌, डार्विनको समयको र अहिलेको समयका भूगर्भविद्‌हरूले पत्ता लगाएका कुराहरूमा धेरै भिन्‍नता छ। मतलब प्रजातिहरू एउटा क्रममा अचानक देखा पर्छन्‌ र तिनीहरू अस्तित्वमा रहेसम्म तिनीहरूमा खासै केही परिवर्तन देखिँदैन र तिनीहरू अचानक लोप हुन्छन्‌।”३२

वास्तवमा धेरै जीवावशेषहरूको जाँच गरेर हेर्दा फरक-फरक जातका जीवहरूमा लामो समय बित्दा पनि कुनै परिवर्तन भएको देखिँदैन। प्रमाणहरूले तिनीहरू एक किसिमको जीवबाट अर्को किसिमको जीवमा परिवर्तन भएको देखाउँदैन। फरक-फरक प्रकारका जीवहरू अचानक देखा पर्छन्‌ र तिनीहरूको शारीरिक बनौट एक-अर्काको भन्दा फरक हुन्छ। उदाहरणको लागि, चमेराहरूमा तरङ्‌ग र आवाजको मदतले आफ्नो बाटो पत्ता लगाउने क्षमता हुन्छ। तर तिनीहरूभन्दा पहिलेका जीवहरूसित चमेराहरूको कुनै समानता भेटिँदैन।

वास्तवमा भन्‍ने हो भने जन्तु जगत्‌का मुख्य प्रजातिहरूमध्ये आधाभन्दा धेरै प्रजाति तुलनात्मक रूपमा थोरै समयको अन्तरमा देखा परेजस्तो देखिन्छ। जीवावशेषहरूको रेकर्ड हेर्दा नयाँ र फरक प्रकारको जीव अचानक देखा परेकोले जीवावशेष विशेषज्ञहरूले यस समयावधिलाई “क्याम्ब्रियन विष्फोटन” भन्‍ने नाम दिएका छन्‌। क्याम्ब्रियन विष्फोटन कहिलेदेखि सुरु भयो?

मानिलिनुहोस्‌, ती अनुसन्धानकर्ताहरूको अनुमान सही छ। त्यसो हो भने पृथ्वीको इतिहासलाई बुझ्न हामीलाई (१) फुटबल मैदानको लम्बाइ बराबरको समयरेखा चाहिन्छ। (२) अनि तपाईँले त्यस मैदानको लम्बाइलाई आठ भाग लगाएर त्यसको सात भाग हिँडेर पार गर्नुभयो भने मात्र तपाईँ जीवावशेष विशेषज्ञहरूले भनेको क्याम्ब्रियन समयावधिमा आइपुग्नुहुन्छ। जीवावशेषहरूको जाँच गरेर हेर्दा यो छोटो क्याम्ब्रियन समयावधिमा जन्तु जगत्‌को मुख्य-मुख्य प्रजातिहरू देखा पर्छन्‌। तिनीहरू कसरी अचानक देखा पर्छन्‌? क्याम्ब्रियन समयावधिमा तपाईँले एक पाइला चाल्न नपाउँदै यी विभिन्‍न प्रजातिका जन्तुहरू अचानक देखा पर्न थाल्छन्‌।

फुटबल मैदानको लम्बाइ बराबरको समयरेखाले पृथ्वीको सुरुवातदेखि कथित क्याम्ब्रियन विष्फोटनसम्मको समयलाई देखाउँछ

यसरी विभिन्‍न प्रजातिका जन्तुहरू तुलनात्मक रूपमा छोटो समयमा देखा परेको कारण क्रमविकासका केही अनुसन्धानकर्ताहरू डार्विनको शिक्षामाथि प्रश्‍न उठाउन बाध्य भएका छन्‌। उदाहरणको लागि, सन्‌ २००८ मा क्रमविकासका समर्थक जीवशास्त्री स्टुवार्ट न्युम्यानले एउटा अन्तरवार्तामा नयाँ प्रकारका जीवहरू अचानक देखा परेको कुरालाई बुझाउन क्रमविकासको नयाँ सिद्धान्त बनाउनु आवश्‍यक छ भनेर चर्चा गरे। तिनले यसो भने: “क्रमविकासको दौडान जीवहरूमा देखिएका ठूलठूला परिवर्तनलाई बुझाउन डार्विनको शिक्षा मात्र पर्याप्त देखिँदैन। मेरो विचारमा क्रमविकासको दौडान जीवहरूमा भएका ठूलठूला परिवर्तनलाई बुझाउन थप अरू सिद्धान्तको खाँचो पर्छ र यसमा डार्विनको शिक्षालाई समावेश गरे तापनि यसको खासै महत्त्व हुँदैन।”३३

कमजोर “प्रमाण”

कुनै-कुनै पाठ्यपुस्तकमा देखाइएको जीवावशेषहरूको क्रम

कुनै-कुनै पाठ्यपुस्तकमा जीवजन्तु यस क्रममा विकास भए भनेर देखाइन्छ तर ती जीवावशेषहरूको साइज किन फेरबदल गरिन्छ?

कुनै-कुनै पाठ्यपुस्तकमा देखाइएअनुसार

तुलनात्मक रूपमा वास्तविक साइज

माछाहरू उभयचर जन्तुहरूमा अनि जमिनमा घस्रने जन्तुहरू स्तनपायी जन्तुहरूमा परिवर्तन भएको देखाउन चलाइने जीवावशेषहरूबारे चाहिँ के भन्‍न सकिन्छ? के यसले तिनीहरू क्रमविकासबाटै आएका हुन्‌ भनेर ठोस प्रमाण दिन्छ? नजिकैबाट हेऱ्‍यौँ भने नमिल्ने कुरा छर्लङ्‌गै देखिन्छ।

पहिलो, जमिनमा घस्रने जीवहरू स्तनपायी जीवहरूमा परिवर्तन भए भनेर बुझाउन पाठ्यपुस्तकहरूमा जुन चित्रहरू राखिन्छन्‌, त्यसको सही साइज देखाइँदैन। पाठ्यपुस्तकमा सबै जीवावशेषहरूको साइज एउटै देखाइन्छ तर वास्तवमा तिनीहरू केही ठूला हुन्छन्‌ त केही साना।

दोस्रो प्रमाण अझै कमजोर छ किनभने ती जीवजन्तुहरूबीच कुनै सम्बन्ध देखिँदैन। अनुसन्धानकर्ताहरूअनुसार क्रमविकासको नमुनाको रूपमा चलाइने प्रजातिहरूबीच लाखौँ वर्षको भिन्‍नता छ। ती जीवावशेषहरूको समयावधिबारे जीवशास्त्री हेन्रि जी यसो भन्छन्‌: “फरक-फरक जीवावशेषहरूबीचको समय अन्तराल यति फराकिलो छ कि तिनीहरूको पुर्खा र तिनीहरूको सन्तानबीचको सम्बन्धबारे केही कुरा ठोकुवा गरेर भन्‍न सकिँदैन।”३४c

माछा र उभयचरहरूका जे-जति जीवावशेषहरू भेट्टिए, ती “प्राचीन समयमा अस्तित्वमा भएका विविध प्रजातिहरूमध्ये” सानो सङ्‌ख्याको मात्र नमुना हुन सक्छ भनेर जीवशास्त्री म्यालकम एस. गोर्डनले बताए। तिनी अझ यसो भन्छन्‌: “जीवहरू साँच्चै क्रमिक रूपमा विकास भएका हुन्‌ भने पनि तिनीहरू कुन पुर्खाबाट विकास भएका हुन्‌ अथवा तिनीहरूबीच कस्तो सम्बन्ध थियो भनेर पत्ता लगाउनु असम्भव छ।”३५d

फरक-फरक किसिमको जनावरहरूबीच कथित सम्बन्ध देखाउने ग्राफ

“फिल्म”-को वास्तविक कथा

सन्‌ २००४ मा एउटा पत्रिकामा (National Geographic) प्रकाशित एउटा लेखमा जीवावशेषहरूको रेकर्डलाई “क्रमविकासको फिल्म”-सित तुलना गरिएको थियो। त्यस लेखअनुसार “क्रमविकास एउटा यस्तो फिल्म हो, जसको १,००० वटा नेगेटिभमध्ये ९९९ वटा नेगेटिभ फिल्म छाँटकाँट गर्ने क्रममा हराए।”३६ यस उदाहरणबाट हामी के कुरा बुझ्न सक्छौँ?

फिल्मको चक्का र त्यसको केही नेगेटिभ

जीवावशेषका “९५ वटा नेगेटिभ”-ले एउटा जीवबाट अर्को जीव विकास भएका होइनन्‌ भनेर देखाउँछ भने जीवावशेष विशेषज्ञहरू क्रमविकासलाई प्रमाणित गर्न किन बाँकी “५ वटा नेगेटिभ”-को क्रम मिलाउने कोसिस गर्छन्‌?

कल्पना गर्नुहोस्‌, तपाईँले १ लाख नेगेटिभ भएको फिल्मको १०० वटा नेगेटिभ मात्र भेट्टाउनुभयो। यस्तो अवस्थामा तपाईँ फिल्मको कथावस्तु कसरी बुझ्न सक्नुहुन्छ? फिल्मको कथावस्तुबारे तपाईँले अनुमान लगाइसक्नुभएको हुन्छ होला तर तपाईँले भेट्टाउनुभएको १०० वटा नेगेटिभमध्ये ५ वटा मात्र तपाईँले सोचेको कथावस्तुसित मिल्दो पाउनुभयो र बाँकी ९५ वटा नेगेटिभ बिलकुलै फरक पाउनुभयो भने नि? त्यो ५ वटा नेगेटिभको आधारमा तपाईँले पहिला सोच्नुभएको कथावस्तु नै सही हो भनेर ठोकुवा गर्न मिल्छ र? आफूले सोचेको कथावस्तुअनुसार तपाईँले ती ५ वटा नेगेटिभको क्रम मिलाउनुभएको पो हो कि? बाँकी ९५ वटा नेगेटिभको आधारमा तपाईँले आफ्नो दृष्टिकोण परिवर्तन गर्नु बुद्धिमानी होइन र?

यो उदाहरण क्रमविकासका समर्थकहरूले जीवावशेषको रेकर्डबारे राख्ने दृष्टिकोणसित कसरी सम्बन्धित छ? ९५ वटा नेगेटिभ अर्थात्‌ धेरैजसो जीवावशेषहरूले प्रजातिहरूमा खासै ठूलो परिवर्तन भएन भनेर प्रमाणित गरे तापनि वर्षौँसम्म अनुसन्धानकर्ताहरूले यस कुरालाई मानिलिएनन्‌। यस्तो महत्त्वपूर्ण विषयमा तिनीहरू किन चुप लागेर बसे? लेखक रिचर्ड मोरिस्‌ यसो भन्छन्‌: “अनुसन्धानले बिलकुलै फरक कुरा प्रमाणित गरे तापनि जीवावशेष विशेषज्ञहरूले जीवहरू बिस्तारै विकास हुँदै आएको हो भन्‍ने पहिलेदेखि राख्दै आएको विचारलाई नै समातिराखे। सबैले मानिलिएको क्रमविकासको शिक्षामै तिनीहरूले जीवावशेषहरूबाट पत्ता लागेको कुरालाई गाभ्न खोजे।”३७

“जीवावशेषहरूलाई एउटा क्रममा राखेर तिनीहरू एउटाबाट अर्को विकास हुँदै आएका हुन्‌ भनेर दाबी गर्नुलाई पक्कै पनि वैज्ञानिक प्रमाण भन्‍न मिल्दैन। त्यसो गर्नु भनेको त केटाकेटीलाई राती सुताउनको लागि सुनाउने कथाजस्तो मात्र हो। त्यो कथा चाखलाग्दो हुन्छ र केही शिक्षामूलक पनि हुन्छ तर त्यस्तो कथाको कुनै वैज्ञानिक आधार हुँदैन।”—In Search of Deep Time—Beyond the Fossil Record to a New History of Life, हेन्रि जी, पृष्ठ ११६-११७

आजका क्रमविकासका समर्थकहरूबारे के भन्‍न सकिन्छ? आज पनि जीवावशेषलाई जुन क्रममा राखिएको छ, त्यो जीवावशेष र आनुवंशिक प्रमाणको आधारमा नभई क्रमविकासको शिक्षालाई समर्थन गर्नको लागि मात्र त्यहीअनुसार मिलाएर राखिएको हो कि?e

तपाईँको विचार कस्तो छ? प्रमाणहरूको आधारमा कस्तो निष्कर्षमा पुग्नु मनासिब देखिन्छ? हामीले अहिलेसम्म चर्चा गरेका तथ्यहरूलाई विचार गर्नुहोस्‌।

  • पृथ्वीको सबैभन्दा पहिलो जीव “सरल” थिएन।

  • कोषका तत्त्वहरू आफसेआफ बन्‍ने सम्भावना अत्यन्तै न्यून छ।

  • कोषमा हुने डिएनए अर्थात्‌ “कम्प्युटर प्रोग्राम” एकदमै जटिल छ र जानकारी सङ्‌कलन गर्न मानिसले बनाएको कुनै पनि प्रोग्रामसित यसको तुलना गर्न सकिँदैन। यसले यस्तो जटिल कोष बनाउनुहुने कोही बुद्धिमान्‌ व्यक्‍ति हुनुपर्छ भनेर प्रमाणित गर्छ।

  • आनुवंशिक अनुसन्धानले सबै जीवको पुर्खा एउटै होइन भनेर प्रमाणित गर्छ। यसबाहेक जीवावशेष रेकर्डमा जन्तु जगत्‌का मुख्य प्रजातिहरू अचानक देखा पर्छन्‌।

यी सबै कुरालाई विचार गर्दा जीवनको सुरुवातबारे बाइबलको विवरण प्रमाणहरूसित मेल खान्छ भन्‍ने निष्कर्षमा पुग्नु व्यावहारिक छैन र? तर धेरैजसो मानिस सृष्टिबारे बाइबलको विवरण विज्ञानसित मेल खाँदैन भन्छन्‌। के यो साँचो हो? बाइबलले वास्तवमा के भन्छ?

a जीवविज्ञानमा प्रयोग हुने “फाइलम” भन्‍ने शब्दले उस्तै प्रकारको शारीरिक बनौट भएको जनावरहरूको ठूलो समूहलाई बुझाउँछ। वैज्ञानिकहरूले सबै जीवलाई सात वटा श्रेणीमा वर्गीकरण गरेका छन्‌। पहिलो श्रेणी जगत्‌ हो र यसले सबैभन्दा ठूलो घेरा ढाक्छ। त्यसपछिका श्रेणीहरू क्रमशः यसप्रकार छन्‌: फाइलम, वर्ग, गण, परिवार, वंश र प्रजाति। उदाहरणको लागि, घोडालाई यसरी वर्गीकरण गरिन्छ—जगत्‌: जन्तु जगत्‌; फाइलम: कोरडेटा; वर्ग: म्यामलिया; गण: पेरिसोडेक्टिला; परिवार: इक्विडी; वंश: इक्कस; प्रजाति: काबालस।

b याद गर्नुहोस्‌, उक्‍त पत्रिका (New Scientist), बापटेस्ट र रोज कसैले पनि क्रमविकासको शिक्षा गलत हो भनेका छैनन्‌। तिनीहरूले केवल डार्विनको शिक्षाको प्रमुख आधार जीवनको रूखलाई प्रमाणहरूले समर्थन गर्दैन भनेर औँल्याएका छन्‌। यी वैज्ञानिकहरू क्रमविकास सही हो भनेर प्रमाणित गर्न अझै पनि लागिपरेका छन्‌।

c हेन्रि जीले क्रमविकासको शिक्षा गलत हो भनेनन्‌। बरु तिनले जीवावशेषहरू जाँचेर पत्ता लगाउन सक्ने कुरा कति सीमित छ भनेर बताए।

d म्यालकम एस. गोर्डन क्रमविकास शिक्षाको समर्थक हुन्‌।

e उदाहरणको लागि, “मानव क्रमविकासबारे के भन्‍न सकिन्छ?” भन्‍ने शीर्षकको पेटी हेर्नुहोस्‌।

तथ्य र त्यसमाथि उठेको प्रश्‍न

  • तथ्य: क्रमविकासका मुख्य दुई वटा सिद्धान्त छन्‌। पहिलो, सबै जीवको पुर्खा एउटै हो र दोस्रो, पहिले नै अस्तित्वमा भएका जीवहरूमा बिस्तारै स-सानो परिवर्तन आएर नयाँ जीवहरू बन्छन्‌। सृष्टिसम्बन्धी बाइबलको विवरणसित सहमत नहुने अनुसन्धानकर्ताहरूले पनि यी सिद्धान्तहरूमाथि प्रश्‍न उठाएका छन्‌।

    प्रश्‍न: डार्विनका यी दुई मुख्य सिद्धान्तमा उठेका विवादहरूलाई विचार गर्दा के तिनको यस शिक्षालाई वैज्ञानिक तथ्यको रूपमा लिन सकिन्छ?

  • तथ्य: सबै जीवमा एउटै किसिमको डिएनए पाइन्छ र यसले कोष वा कोषहरूको आकार र काम निर्धारण गर्छ।

    प्रश्‍न: यस्ता समानताहरू हुनुको कारण ती जीवहरूको पुर्खा एउटै भएकोले हो वा तिनीहरूलाई बनाउने व्यक्‍ति एकै जना भएकोले?

मानव क्रमविकासबारे के भन्‍न सकिन्छ?

खप्पर

तपाईँले मानव क्रमविकासको बारेमा लेखिएका पाठ्यपुस्तकहरू र इन्साइक्लोपिडिया हेर्नुभयो भने यस्ता चित्रहरू देख्नुहुनेछ—सुरुमा एउटा कुप्रो परेको वनमान्छे बिस्तारै ठाडो पर्दै गएको र टाउकोको आकार पनि ठूलो हुँदै गएको। अनि त्यस चित्रको अन्तमा एक जना आधुनिक पुरुष हुन्छ। साथै वनमान्छे र मानिसहरूबीच थुप्रै कुरा मेल खान्छ भन्‍ने कुरालाई सञ्चार माध्यमले पनि सनसनीपूर्ण तरिकामा प्रस्तुत गर्छ। के यी दाबीहरूको ठोस प्रमाण छ? क्रमविकासका अनुसन्धानकर्ताहरू यस विषयमा के भन्छन्‌, विचार गर्नुहोस्‌।f

जीवावशेषले वास्तवमा के देखाउँछ?

तथ्य: बीसौँ शताब्दीको सुरुतिर, मानिस र वनमान्छेको पुर्खा एउटै हो भन्‍ने सिद्धान्तलाई समर्थन गर्ने जीवावशेषहरू बिलयार्ड टेबुलमा अटाउँथे। पछि ती जीवावशेषहरूको सङ्‌ख्या बिस्तारै वृद्धि हुँदै गयो। अहिले ती जीवावशेषहरूले मालवाहक रेलको एउटा डिब्बा नै भर्छ भन्‍ने दाबी गरिन्छ।३८ तर धेरैजसो जीवावशेष शरीरको एउटा हड्डी वा दाँतको मात्र हुन्छ। सिङ्‌गो खप्पर एकदमै थोरै भेटिएको छ र पूरै अस्थिपञ्जर त अहिलेसम्म भेटिएकै छैन।३९

प्रश्‍न: थुप्रै जीवावशेषहरूले मानिस वनमान्छेबाट आएको हो भन्‍ने कुराको प्रमाण दिन्छ भनेर दाबी गरिन्छ। त्यसोभए के क्रमविकासका समर्थकहरूले मानिस कहिले र कसरी वनमान्छेबाट आयो भन्‍ने कुराको पुष्टि गर्न सकेका छन्‌ त?

जवाफ: वास्तवमा भन्‍ने हो भने उनीहरूले त्यसो गर्न सकेका छैनन्‌। जीवावशेषको वर्गीकरण गर्ने सन्दर्भमा अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्‍वविद्यालयका रबिन डेरिकोर्टले सन्‌ २००९ मा यस्तो लेखे: “अहिले हामी सबै जना सहमत भएको एउटै कुरा भनेको हामी कुनै कुरामा सहमत छैनौँ।”४० सन्‌ २००७ मा विज्ञानसम्बन्धी पत्रिकामा (Nature) प्रकाशित एउटा लेखमा अनुसन्धानकर्ताहरूले क्रमविकासको रूखको अर्को एउटा कडी पत्ता लगाएको दाबी गरे। त्यस लेखमा वनमान्छेबाट मानिस कहिले र कसरी विकास भयो भन्‍नेबारे अहिलेसम्म कुनै कुरा पत्ता लागेको छैन भनेर बताइएको थियो।४१ हङ्‌गेरीको इट्‌भोइस लोराण्ड विश्‍वविद्यालयका जैविक मानवविज्ञान विभागका अनुसन्धानकर्ता ड्युला डेनिसले सन्‌ २००२ मा यस्तो लेखे: “होमिनिड जीवावशेषको वर्गीकरण र क्रमविकासमा यसलाई कुन ठाउँमा राख्ने भन्‍ने विवाद सुल्झिएको छैन।”g अहिलेसम्म भेटिएका जीवावशेषका प्रमाणहरूबाट मानिस वनमान्छेबाट कहिले, कहाँ र कसरी विकास भयो भनेर थाह पाउन सकिएको छैन भनेर पनि तिनले बताए।४२

“छुटेको कडी”-को समाचार

तथ्य: सञ्चार माध्यमले “छुटेको कडी” भेटिएको समाचार जोडतोडले प्रचारप्रसार गर्छ। उदाहरणको लागि, सन्‌ २००९ मा एउटा जीवावशेष भेटिएको र त्यसलाई ‘आइडा’ नाम दिइएको कुरा एउटा पत्रिकामा प्रकाशित गरियो। साथै त्यस पत्रिकामा यसको धेरै प्रचारप्रसार भएको कुरा बताइएको थियो।४३ बेलायतको एउटा अखबारले (The Guardian) पनि यस्तो शीर्षक राखेर समाचार प्रकाशित गऱ्‍यो: “आइडा जीवावशेष: मानव क्रमविकासको उत्कृष्ट खोज।”४४ तर त्यसको केही दिनपछि बेलायतको अर्को पत्रिकामा (New Scientist) यस्तो लेखियो: “आइडा मानव क्रमविकासमा ‘छुटेको कडी’ होइन।”४५

प्रश्‍न: सञ्चार माध्यमले “छुटेको कडी” भेटिएको कुराको चाहिँ जोडतोडले प्रचारप्रसार गर्छ तर कुनै जीवावशेषलाई क्रमविकासको प्रमाणको सूचीबाट हटाइएको कुराबारे चाहिँ किन मौन बस्छ?

जीवावशेष

जवाफ: पहिला पनि उल्लेख गरिएको रबिन डेरिकोर्ट यस्ता कुराहरू पत्ता लगाउनेहरूबारे यसो भन्छन्‌: “पत्ता लागेको कुरा एकदमै विशेष हो भनेर अनुसन्धान टोलीको नाइकेले प्रचारप्रसार गर्नुको कारण थप अनुसन्धानको लागि अन्य सङ्‌घ-संस्थाबाट आर्थिक सहयोग हासिल गर्नु हुन सक्छ। सनसनीपूर्ण समाचारको खोजीमा रहेका अखबार, टिभीजस्ता सञ्चार माध्यमहरूले यस कामलाई बढावा नदिने त कुरै भएन।”४६

पाठ्यपुस्तकमा वनमान्छेको चित्र र नमुना

तथ्य: पाठ्यपुस्तक र सङ्‌ग्रहालयहरूमा मानिसको पुर्खा भनेर अक्सर खास किसिमको अनुहार, छालाको रङ र केश भएको जीवलाई देखाइन्छ। यी चित्रहरूमा मानिसको पुरानो “पुर्खा”-लाई बाँदरजस्तो देखाइन्छ भने मानिसको नयाँ पुर्खालाई बिस्तारै-बिस्तारै विकास हुँदै गइरहेको मानिसको रूपमा देखाइन्छ, जसको अनुहार, छालाको रङ र केश आधुनिक मानिसको जस्तै हुन्छ।

प्रश्‍न: के वैज्ञानिकहरूले आफूले भेट्टाएका जीवावशेषहरूका आधारमा त्यस्तै अनुहार, छाला र केशको विशेषताहरू भएको जीवको नमुना फेरि बनाउन सक्छन्‌?

जवाफ: सक्दैनन्‌। अष्ट्रेलियाको आडेलेड विश्‍वविद्यालयको शरीर रचना विज्ञान विभागमा कार्यरत फोरेन्सिक विशेषज्ञ कार्ल एन. स्टिफनले सन्‌ २००३ मा यस्तो लेखे: “मानव पुर्खाको जस्तै अनुहार न बनाउन सकिन्छ न त मानव पुर्खाको जस्तै अनुहार छ कि छैन भनेर जाँच्न नै सकिन्छ।” बाँदरलाई आधार मानेर त्यसो गर्न खोज्नु “घोर अन्याय, सरासर गलत र अवैधानिक हुनेछ” भनी तिनी बताउँछन्‌। तिनको निष्कर्ष यस्तो छ, “पुराना होमिनिडहरूको अनुहारको जति पनि ‘नमुनाहरू’ बनाइएका छन्‌, त्यसले हामीलाई झुक्क्याउन सक्छ।”४७

मस्तिष्कको आकार र बुद्धिबीच कुनै सम्बन्ध छ?

तथ्य: मानिसको पुर्खा भनिएको जीवको मस्तिष्कको आकारको आधारमा क्रमविकासका समर्थकहरूले कुनै जीव र मानिसबीचको समानता वा भिन्‍नता पत्ता लगाउने कोसिस गर्छन्‌।

प्रश्‍न: कुनै जीव कत्तिको बुद्धिमान्‌ छ भनेर के मस्तिष्कको आकारले निर्धारण गर्छ?

मानिस र वनमान्छेको खप्पर

जवाफ: गर्दैन। अनुसन्धानकर्ताहरूको एउटा टोलीले लोप भइसकेको कुनचाहिँ जीव र मानिसबीच धेरै समानता पाइन्छ भनेर मस्तिष्कको आकारको आधारमा पत्ता लगाउने कोसिस गरे। तर तिनीहरू “कुनै ठोस निष्कर्षमा पुग्न नसकेको” कुरा मानिलिन्छन्‌।४८ किन? सन्‌ २००८ को एउटा किताबमा (Scientific American Mind) भनिएको यो कुरा विचार गर्नुहोस्‌: “वैज्ञानिकहरूले मानिस र अन्य जीवहरूको मस्तिष्कको आकार र बुद्धिबीचको सम्बन्ध पत्ता लगाउन सकेका छैनन्‌। न त बुद्धि र मस्तिष्कको कुनै खास भागको आकारबीचको सम्बन्ध नै पत्ता लगाउन सकेका छन्‌। तिनीहरूलाई ब्रोका भनिने मस्तिष्कको एउटा भागबारे मात्र थाह छ, जसले मानिसहरूलाई बोल्न मदत गर्छ।”४९

तपाईँको विचार कस्तो छ? मस्तिष्कको आकारको आधारमा बुद्धिको मापन गर्न मिल्दैन भनेर वैज्ञानिकहरूले बुझिसके। तैपनि “मानिस वनमान्छेबाट आएको हो” भन्‍ने शिक्षालाई प्रमाणित गर्न तिनीहरूले जीवावशेषहरूलाई मस्तिष्कको आकारको आधारमा किन एउटै क्रममा राखे? के तिनीहरू आफ्नो शिक्षालाई सही साबित गर्न प्रमाणहरूलाई जबरजस्ती बङ्‌ग्याउन खोज्दै छन्‌? अनि कुन जीवावशेषलाई मानिसको पुर्खाको श्रेणीमा राख्ने भनेर अनुसन्धानकर्ताहरू किन बारम्बार बहस गर्दै छन्‌? तिनीहरूले अध्ययन गरेका जीवावशेषहरू लोप भएका वनमान्छेको जस्तै देखिन्छन्‌ भन्दैमा त्यसलाई वनमान्छेकै जीवावशेष भन्‍न मिल्छ?

निएन्डरथल्स नाम गरेको जीवावशेष, जुन मानिसको जीवावशेषजस्तै देखिन्छ, त्यसलाई मानिसजस्तै देखिने वनमान्छे अस्तित्वमा थियो भनेर साबित गर्न प्रमाणको रूपमा चलाइन्छ। यसबारे के भन्‍न सकिन्छ? अनुसन्धानकर्ताहरूले अहिले यस विषयमा आफ्नो धारणा बदल्दै छन्‌। सन्‌ २००९ मा मिल्फर्ड एच. वलपोफले पत्रिकामा (American Journal of Physical Anthropology) यस्तो लेखे: “निएन्डरथल्स वास्तवमा एउटा मानव प्रजाति हुन सक्छ।”५०

निष्पक्ष भई इमानदारीपूर्वक अवलोकन गर्ने मानिसहरूले के याद गरेका छन्‌ भने मानिसहरूले आफ्नो घमन्डको कारण अनि पैसा कमाउन र सञ्चार माध्यमको ध्यानाकर्षण पाउन क्रमविकासलाई जबरजस्ती “प्रमाण”-को रूपमा पेस गरेका छन्‌। के तपाईँ त्यस्ता प्रमाणहरूमा विश्‍वास गर्न तयार हुनुहुन्छ?

f नोट: यस पेटीमा उल्लेख गरिएका अनुसन्धानकर्ताहरू बाइबलमा पाइने सृष्टिको विवरणमा विश्‍वास गर्दैनन्‌। सबै जना क्रमविकासको शिक्षाका समर्थकहरू हुन्‌।

g मानिसहरू र प्राचीन समयको मानिसहरूजस्तै देखिने प्रजातिलाई बुझाउन क्रमविकासका अनुसन्धानकर्ताहरू “होमिनिड” शब्द चलाउँछन्‌।

यो चित्रमा के गलत छ?

क्रमविकासको शिक्षाअनुसार वनमान्छेदेखि मान्छे बनेको क्रम
  • यस्ता चित्रहरू सत्य-तथ्यमा आधारित नभई अनुसन्धानकर्ताहरू र चित्रकारहरूको अनुमान र उनीहरूको सोचाइमा आधारित हुन्छन्‌।५१

  • दाँतको जीवावशेष

    धेरैजसो यस्ता चित्रहरू खप्परको केही भाग र कुनै दाँतको जीवावशेषको आधारमा बनाइएका हुन्छन्‌। सिङ्‌गो खप्पर एकदमै थोरै भेटिएको छ र पूरै अस्थिपञ्जर त अहिलेसम्म भेटिएकै छैन।

  • अनुसन्धानकर्ताहरू विभिन्‍न जीवको जीवावशेषलाई कसरी वर्गीकरण गर्ने भनेर बारम्बार बहस गरिरहन्छन्‌।

  • चित्रकारले कल्पना गर्दै बनाएको लोप भइसकेको जीवको अनुहार, छालाको रङ्‌ग र केशको चित्र

    चित्रकारहरूले लोप भइसकेका जीवहरूको अनुहार, छालाको रङ र केशको चित्र सही तरिकामा बनाउन सक्दैनन्‌।

  • मानिस क्रमिक रूपमा विकास भएको हो भनेर प्रमाणित गर्न हरेक जीवलाई तिनीहरूको मस्तिष्कको आकारको आधारमा क्रम मिलाएर राखिएको छ। बुद्धिको मापन मस्तिष्कको आकारको आधारमा गर्न मिल्दैन भन्‍ने कुराको प्रमाण हुँदाहुँदै यसो गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने