अध्याय २५
म हस्तमैथुन गर्ने बानी कसरी त्याग्न सक्छु?
“मैले आठ वर्षको हुँदादेखि हस्तमैथुन गर्न थालेँ। पछि मैले यस विषयमा यहोवाको दृष्टिकोण बुझेँ। हरेक पटक चुक्दा मलाई एकदमै नराम्रो लाग्थ्यो। म आफैलाई सोध्ने गर्थेँ: ‘परमेश्वरले मजस्तो मान्छेलाई पनि प्रेम गर्नुहोला र?’”—लुइज।
यौवनावस्थामा पुगेपछि तपाईँको यौनइच्छा एकदमै प्रबल हुन्छ। नतिजास्वरूप तपाईँलाई हस्तमैथुन गर्ने बानी लाग्न सक्छ।a धेरैले यसलाई खासै गम्भीर कुरा ठान्दैनन्। तिनीहरू भन्ने गर्छन्: “यसले कसैलाई हानि पुऱ्याउँदैन।” तैपनि यस्तो बानी त्याग्नुपर्ने कारणहरू छन्। प्रेषित पावलले लेखे: “तिमीहरूको शरीरका ती अङ्गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्: . . . अनियन्त्रित कामवासना।” (कलस्सी ३:५) हस्तमैथुनले कामवासनालाई नियन्त्रणमा राख्दैन बरु झन् बढाउँछ। निम्न कुराहरू पनि विचार गर्नुहोस्:
● हस्तमैथुनले स्वार्थी मनोभावलाई बढावा दिन्छ। उदाहरणको लागि, हस्तमैथुन गर्ने व्यक्ति आफ्नै शारीरिक कुइच्छामा डुबेको हुन्छ।
● हस्तमैथुन गर्ने बानीले विपरीत लिङ्गका व्यक्तिहरूलाई आफ्नो इच्छा पूरा गर्ने साधन ठान्न लगाउँछ।
● हस्तमैथुन गर्ने बानीले स्वार्थी झुकावलाई बढावा दिने भएकोले यसो गर्ने व्यक्तिलाई वैवाहिक जीवनमा यौनसम्बन्धबाट आनन्द उठाउन गाह्रो हुन्छ।
यौन उत्तेजनालाई शान्त पार्न हस्तमैथुन गर्नुको सट्टा आफ्नो शरीरलाई वशमा राख्ने प्रयास गर्नुहोस्। (१ थिस्सलोनिकी ४:४, ५) यसो गर्नको लागि यौन उत्तेजना जगाउने परिस्थितिहरूदेखि टाढा रहन बाइबलले सल्लाह दिन्छ। (हितोपदेश ५:८, ९) तर हस्तमैथुन गर्ने बानी बसिसकेको छ भने नि? तपाईँले जत्ति प्रयास गरे पनि यो बानी त्याग्न सफल हुनुभएको छैन होला। तपाईँलाई ‘म यो बानी त्याग्न सक्दिनँ’ वा ‘म परमेश्वरको स्तरअनुसार चल्न सक्दिनँ’ जस्तो लाग्न सक्छ। पेड्रो नाम गरेका केटा पनि आफूबारे यस्तै सोचाइ राख्थे। तिनी भन्छन्: “हरेक पटक चुक्दा मलाई साह्रै नराम्रो लाग्थ्यो। मैले परमेश्वरबाट कहिल्यै क्षमा पाउन सक्दिनँ भनेर सोच्थेँ। मलाई प्रार्थना गर्न पनि अप्ठ्यारो लाग्थ्यो।”
तपाईँलाई पनि त्यस्तै लाग्छ भने निराश नहुनुहोस्। तपाईँसित अझै मौका छ। थुप्रै युवा र वयस्कहरू हस्तमैथुन गर्ने बानी त्याग्न सफल भएका छन्। त्यसैले तपाईँ पनि सफल हुन सक्नुहुन्छ।
दोषी भावनाको सामना गर्नुपर्दा
यसअघि छलफल गरिएझैँ हस्तमैथुन गर्ने बानी बसेकाहरूलाई दोषी भावनाले सताउँछ। “परमेश्वरको इच्छाअनुसार दुःखी” हुनुभयो भने तपाईँ यो बानी त्याग्न उत्प्रेरित हुनुहुनेछ। (२ कोरिन्थी ७:११) तर ज्यादै दोषी महसुस गर्दा आफैलाई हानि पुग्छ। यसले तपाईँलाई प्रयास गर्नै छोड्ने हदसम्म निराश बनाउन सक्छ।—हितोपदेश २४:१०.
त्यसैले सन्तुलित हुने कोसिस गर्नुहोस्। हस्तमैथुन एक किसिमको अशुद्धपन हो। यसले तपाईँलाई “विभिन्न कुइच्छा र सुखविलासको दासत्वमा” पार्नुका साथै तपाईँमा नराम्रो मनोभाव पैदा गर्छ। (तितस ३:३) तर हस्तमैथुन घोर अवैध यौनसम्बन्धजस्तो भने होइन। (यहुदा ७) यदि तपाईँले हस्तमैथुन गर्नुभएको छ भने आफूले कहिल्यै क्षमा नपाउने पाप गरेको छु भनेर सोच्नुपर्दैन। तपाईँले गर्नुपर्ने मुख्य कुरा भनेको कुइच्छालाई वशमा राख्नु अनि हरेस नखाई कोसिस गरिरहनु हो।
सक्दो प्रयास गर्दा पनि चुक्नुभयो भने त्यसले तपाईँलाई निराश बनाउन सक्छ। त्यतिबेला हितोपदेश २४:२६ मा बताइएको यो कुरा मनमा राख्नुहोस्: “धर्मी मानिस सात पल्ट लड्यो भने पनि फेरि उठ्नेछ तर दुष्टचाहिँ विपत्ति आइपर्दा लड्नेछ।” तपाईँ चुक्नुभयो भने आफूलाई दुष्ट मानिस ठान्नुपर्दैन। त्यसैले हार नमान्नुहोस्। बरु तपाईँ चुक्नुको कारण पत्ता लगाउनुहोस् र फेरि एउटै गल्ती नदोहोऱ्याउने कोसिस गर्नुहोस्।
परमेश्वरको प्रेम र कृपाबारे मनन गर्नुहोस्। व्यक्तिगत कमीकमजोरीको सामना गरेका भजनरचयिता दाउदले लेखे: “जसरी बुबाले आफ्नो छोरामाथि कृपा देखाउँछ, त्यसैगरि उहाँले आफ्नो भय मान्नेहरूमाथि कृपा देखाउनुभएको छ। किनकि हामी कसरी बनिएका हौँ, उहाँ राम्ररी जान्नुहुन्छ; हामी धुलोको कण मात्र हौँ भनी उहाँ बुझ्नुहुन्छ।” (भजन १०३:१३, १४) यहोवा हाम्रा कमीकमजोरी बुझ्नुहुन्छ र हामीलाई “क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।” (भजन ८६:५) अर्कोतर्फ, उहाँ हामीले गलत काम त्याग्न कोसिस गरेको पनि चाहनुहुन्छ। त्यसोभए तपाईँ यो बानी त्याग्न कस्ता कदमहरू चाल्न सक्नुहुन्छ?
होसियारीपूर्वक मनोरञ्जन छान्नुहोस्। के तपाईँ यौन उत्तेजना जगाउने किसिमको फिल्म, टिभी कार्यक्रम वा वेबसाइट हेर्ने गर्नुहुन्छ? भजनरचयिताले परमेश्वरलाई यसरी प्रार्थना गरे: “व्यर्थका कुरा हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्।”b—भजन ११९:३७.
आफ्नो ध्यान अरू कुरातर्फ मोड्नुहोस्। विलियम नाम गरेका ख्रिष्टियन यस्तो सुझाव दिन्छन्: “सुत्नुअघि कुनै बाइबलआधारित प्रकाशन पढ्नुहोस्। दिनको अन्तमा आध्यात्मिक कुराहरूबारे विचार गर्नु निकै महत्त्वपूर्ण छ।”—फिलिप्पी ४:८.
आफ्नो यस्तो बानीबारे कसैलाई बताउनुहोस्। अरूले के सोच्लान् भन्ने चिन्ताले यसबारे अरूलाई बताउन तपाईँलाई गाह्रो लाग्ला। तैपनि यसो गर्दा तपाईँले यो बानी त्याग्न मदत पाउन सक्नुहुन्छ। डेभिड नाम गरेका एक ख्रिष्टियनले पनि त्यस्तै अनुभव गरे। तिनी भन्छन्: “मैले एकान्तमा बुबासित यसबारे कुरा गरेँ। उहाँले भन्नुभएको कुरा म कहिल्यै बिर्सन सक्दिनँ। उहाँले मुस्कुराउँदै यसो भन्नुभयो: ‘म तिमीदेखि धेरै खुसी छु।’ आफ्नो कुरा पोख्न मलाई कत्ति साहस चाहिएको थियो भनेर उहाँले बुझ्नुभएको थियो। उहाँले भन्नुभएको कुराबाट मैले जुन प्रोत्साहन र बल पाएँ, त्यो त अरू कुनै कुराले दिन सक्दैनथ्यो।
“त्यसपछि बुबाले केही बाइबल पदहरू देखाउँदै म परिवर्तन हुन सक्छु भनेर बुझ्न मदत दिनुभयो अनि यो बानीले कत्तिको गम्भीर नतिजा ल्याउन सक्छ भनेर बुझाउन थप बाइबल पदहरू देखाउनुभयो। त्यसपछि उहाँले मलाई केही समयपछि यस विषयमा फेरि कुरा गरौँ भन्नुभयो। साथै त्यतिन्जेल आफूलाई काबूमा राख्न सक्दो कोसिस गर भन्नुभयो। उहाँले मलाई यदि म चुकेँ भने पनि हरेस खानुको सट्टा अर्को पटक अझ लामो समयसम्म आफूलाई काबूमा राख्न कोसिस गर्ने सल्लाह दिनुभयो।” डेभिडले कुन कुरा बुझे? तिनी भन्छन्: “कसैलाई आफ्नो समस्याबारे बताउँदा र तिनीबाट मदत पाउँदा मैले धेरै लाभ उठाएको छु।”c
अर्को अध्यायमा
रमाइलोको लागि मात्र राखिने यौनसम्बन्धले कुनै हानि गर्छ कि गर्दैन, थाह पाउनुहोस्।
[फुटनोटहरू]
a हस्तमैथुन आफूले नचाहे तापनि जाग्ने यौन उत्तेजनाभन्दा फरक छ। उदाहरणको लागि, एक जना केटा बिहान उठ्दा उसमा यौन उत्तेजना जागेको वा उसको वीर्य निस्किएको हुन सक्छ। त्यसरी नै, केही केटीमा आफूले नचाहे तापनि यौन उत्तेजना जाग्न सक्छ। विशेषगरि, महिनावारी हुनुअघि वा पछि यस्तो हुन सक्छ। तर हस्तमैथुन गर्नुमा भने जानाजानी आफूमा यौन उत्तेजना जगाउनु समावेश छ।
b थप जानकारीको लागि खण्ड २, अध्याय ३३ हेर्नुहोस्।
c थप जानकारीको लागि खण्ड २, पृष्ठ २३९-२४१ हेर्नुहोस्।
[मुख्य शास्त्रपद]
“त्यसैले युवावस्थामा उत्पन्न हुने इच्छाहरूदेखि भाग र स्वच्छ हृदयले प्रभुलाई पुकार्ने मानिसहरूसँगै तिमी पनि धार्मिकता, विश्वास, प्रेम र शान्तिको पछि लाग।”—२ तिमोथि २:२२.
सुझाव
यौनइच्छा तीव्र हुनुअघि नै प्रार्थना गर्नुहोस्। प्रलोभनलाई तिरस्कार गर्न यहोवालाई प्रार्थना गरेर “असाधारण शक्ति” माग्नुहोस्।—२ कोरिन्थी ४:७.
के तपाईँलाई थाह थियो . . .?
कमजोर व्यक्तिहरू आफ्ना यौनइच्छाहरूको वशमा पर्छन्। तर परिपक्व पुरुष र स्त्रीले मात्र एक्लै हुँदा समेत आफूलाई वशमा राख्न सक्छन्।
योजना बनाऔँ!
चोखा कुराहरूमा ध्यान दिन म यसो गर्नेछु ․․․․․
कुइच्छाको वशमा पर्नुको साटो म यसो गर्नेछु ․․․․․
हस्तमैथुन गर्ने बानीबारे म आमाबुबालाई यी कुराहरू सोध्न चाहन्छु ․․․․․
तपाईँलाई कस्तो लाग्छ?
● यहोवा “क्षमा गर्न सधैँ तयार हुनुहुन्छ” भनेर सम्झनु किन महत्त्वपूर्ण छ?—भजन ८६:५.
● तपाईँलाई यौनइच्छासहित सृष्टि गर्नुहुने परमेश्वरले नै तपाईँलाई आत्मसंयम विकास गर्नुपर्छ भन्नुभएको छ। त्यसो हो भने तपाईँले के गर्न सक्नुहुन्छ भन्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ?
[ठूलो अक्षरको क्याप्सन]
यो नराम्रो बानी त्याग्दा मैले यहोवासामु सफा अन्तस्करण कायम राख्न सकेकी छु र म यसलाई कुनै पनि हालतमा गुमाउन चाहँदिनँ।”—सारा
[ठूलो अक्षरको क्याप्सन]
तपाईँ दौडँदै गर्दा लड्नुभयो भने यसको अर्थ तपाईँ सुरुदेखि दौडन थाल्नुपर्छ भन्ने होइन। त्यसैगरि तपाईँ चुक्नुको अर्थ हस्तमैथुन गर्ने बानी त्याग्न तपाईँले अहिलेसम्म गर्नुभएको उन्नति खेर गयो भन्ने होइन