पाठ १४
अग्रगामीहरूको लागि कस्तो तालिम उपलब्ध छ?
अमेरिका
गिलियड स्कुल, प्याटर्सन, न्यु योर्क
पानामा
यहोवाको सङ्गठनले ईश्वरतान्त्रिक शिक्षा दिँदै आएको वर्षौँ भइसक्यो। पूर्ण-समय प्रचार गर्नेहरूको लागि विशेष तालिमको प्रबन्ध गरिन्छ। यस तालिमले तिनीहरूलाई “सेवाको काम राम्ररी पूरा” गर्न मदत गर्छ।—२ तिमोथि ४:५.
अग्रगामी सेवा स्कुल। नियमित अग्रगामीको रूपमा सेवा गरेको पहिलो वर्ष बितेपछि अग्रगामीहरूलाई छ दिने तालिम दिइन्छ। यो तालिम नजिकैको राज्यभवनमा दिइन्छ। यस तालिमको उद्देश्य अग्रगामीहरूलाई यहोवासितको सम्बन्ध अझै बलियो बनाउन, प्रचारकार्यको विभिन्न पक्षमा अझै सिपालु हुन र यहोवाको सेवामा जोसका साथ लागिरहन मदत गर्नु हो।
राज्य प्रचारकहरूका लागि स्कुल। यो तालिम दुई महिनाको हुन्छ। आत्मत्यागी मनोभाव देखाउँदै आवश्यकता बढी भएको ठाउँमा जान इच्छुक अनुभवी अग्रगामीहरूको लागि यो तालिमको प्रबन्ध गरिएको हो। तिनीहरूले सबैभन्दा महान् प्रचारक येसु ख्रिष्टको अनुकरण गर्दै “म हाजिर छु। मलाई पठाउनुहोस्” भनिरहेका हुन्छन्। (यसैया ६:८; युहन्ना ७:२९) आफ्नो घर छोडेर टाढा बस्दा सरल जीवन बिताउनुपर्ने हुन सक्छ। नयाँ ठाउँको रहनसहन, हावा-पानी र खाना आफूलाई बानी परेको भन्दा बिलकुलै फरक हुन सक्छ। नयाँ भाषासमेत सिक्नुपर्ने हुन सक्छ। अविवाहित भाइ, बहिनी वा विवाहित जोडी, जो २३ देखि ६५ वर्षबीचका छन्, तिनीहरूले यस तालिममा भाग लिन सक्छन्। यस तालिमले आफ्नो जिम्मेवारी पूरा गर्न चाहिने आध्यात्मिक गुणहरू खेती गर्न अनि यहोवा र उहाँको सङ्गठनको लागि अझै उपयोगी हुने सीपहरू विकास गर्न मदत गर्छ।
गिलियड स्कुल। हिब्रू भाषामा “गिलियड” शब्दको अर्थ हो, “साक्षीको थुप्रो।” सन् १९४३ मा गिलियड स्कुल सुरु भएदेखि यसबाट तालिमप्राप्त ८ हजारभन्दा धेरै प्रचारकहरू मिसनरीको रूपमा “पृथ्वीको कुनाकुनासम्म” पठाइएका छन् र तिनीहरूले निकै सफलता हासिल गरेका छन्। (प्रेषित १३:४७) पेरूमा मिसनरीहरू आउनुअघि एउटा पनि मण्डली थिएन। तर अहिले त्यहाँ एक हजारभन्दा धेरै मण्डली छन्। जापानमा मिसनरीहरूले सेवा गर्न थाल्दा त्यहाँ यहोवाका साक्षीहरू दस जना पनि थिएनन्। अहिले त्यहाँ २ लाखभन्दा धेरै यहोवाका साक्षीहरू छन्। गिलियड स्कुलमा पाँच महिनासम्म बाइबलको गहिरो अध्ययन गरिन्छ। विशेष अग्रगामी, मिसनरी, शाखा कार्यालयमा सेवा गर्नेहरू र क्षेत्रीय निरीक्षकहरूलाई यस स्कुलमा भाग लिन निम्तो दिइन्छ। यसबाट तिनीहरूले संसारभरि भइरहेको ईश्वरतान्त्रिक गतिविधिलाई टेवा पुऱ्याउन चाहिने विस्तृत तालिम पाउँछन्।
अग्रगामी सेवा स्कुलको उद्देश्य के हो?
राज्य प्रचारकहरूका लागि स्कुलबाट क-कसले तालिम पाउन सक्छन्?