प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • od chap. १० pp. १०५-११५
  • सेवाको काम विस्तार गर्ने तरिकाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेवाको काम विस्तार गर्ने तरिकाहरू
  • यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रकाशकको रूपमा सेवा गर्नुहोस्‌
  • आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्नुहोस्‌
  • अर्को भाषामा प्रचार गर्नुहोस्‌
  • अग्रगामी सेवा
  • मिसनरी
  • क्षेत्रीय निरीक्षक
  • ख्रिष्टियन स्कुलहरू
  • बेथेल सेवा
  • निर्माण सेवा
  • तपाईँले कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ?
  • पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवाको आदर गर्न के तपाईं अझ बढी केही गर्न सक्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९३
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ?
    युवाहरू हो—तपाईं आफ्नो जीवनबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
od chap. १० pp. १०५-११५

अध्याय १०

सेवाको काम विस्तार गर्ने तरिकाहरू

येसुले आफ्ना चेलाहरूलाई राज्यको सुसमाचार प्रचार गर्न पठाउनुअघि यसो भन्‍नुभयो: “फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्‌।” प्रचार गर्नुपर्ने ठाउँ धेरै बाँकी भएकोले उहाँले अझै यसो भन्‍नुभयो: “फसलका मालिकलाई उहाँको बाली काट्‌न खेतालाहरू पठाइदिनुहोस्‌ भनेर बिन्ती गर।” (मत्ति ९:३७, ३८) येसुले चेलाहरूलाई प्रचार गर्ने तरिका सिकाउनुभयो। जोडतोडले प्रचार गर्नु कति जरुरी छ भन्‍ने कुरा येसुले भन्‍नुभएको यस कुराबाट स्पष्ट हुन्छ: “मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिध्याइसकेका हुनेछैनौ।”—मत्ति १०:२३.

२ आज पनि धेरै ठाउँहरूमा प्रचार गर्न बाँकी नै छ। अन्त आउनुअघि सारा संसारभरि राज्यको सुसमाचार प्रचार गरिनुपर्छ र समय थोरै मात्र बाँकी छ। (मर्कु. १३:१०) हामी पनि येसु र उहाँका चेलाहरूजस्तै खेताला हौँ। हाम्रो लागि यो पूरै संसार खेत हो। त्यसैले हामीले गर्नुपर्ने काम अझ धेरै छ। हामीले प्रचार गर्नुपर्ने मानिस अरबौँ छन्‌। तिनीहरूको तुलनामा हामी थोरै छौँ। तर यहोवाले हामीलाई मदत गर्नुहुन्छ भन्‍ने कुरामा हामी ढुक्क छौँ। राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ र यहोवाले तोक्नुभएकै समयमा अन्त आउनेछ। त्यसोभए के हामीले सेवाको काम राम्ररी पूरा गर्न परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहेका छौँ? यसो गर्न हामी कस्ता लक्ष्यहरू राख्न सक्छौँ?

३ यहोवा आफ्ना सेवकहरूले के गरेको चाहनुहुन्छ, त्यसबारे येसुले यसो भन्‍नुभयो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।” (मर्कु. १२:३०) यहोवा परमेश्‍वर हामीले आफ्नो सारा ज्यानले उहाँको सेवा गरेको चाहनुहुन्छ। भन्‍नुको मतलब, हामीले यहोवाको सेवामा सक्दो गरेर मनैदेखि उहाँको भक्‍ति गर्छौँ र साँच्चै उहाँप्रति समर्पित छौँ भनेर देखाउनुपर्छ। (२ तिमो. २:१५) हामी प्रत्येकसामु आफ्नो परिस्थिति र क्षमताअनुसार यहोवाको सेवा गर्ने थुप्रै मौका छ। यी मौकाहरू के-के हुन्‌ र सेवाको काम पूरा गर्न तपाईँ कस्तो लक्ष्य राख्न सक्नुहुन्छ, विचार गरौँ।

प्रकाशकको रूपमा सेवा गर्नुहोस्‌

४ बाइबलको सत्य स्विकार्ने सबैले सुसमाचार प्रचार गर्ने विशेष सुअवसर पाएका छन्‌। येसुले आफ्ना चेलाहरूलाई दिनुभएको मुख्य काम यही हो। (मत्ति २४:१४; २८:१९, २०) येसुको चेला बन्‍न चाहने व्यक्‍तिले सुसमाचार सुन्‍नेबित्तिकै अक्सर त्यसबारे अरूलाई बताउन थाल्छन्‌। अन्द्रियास, फिलिप, कर्निलियस र अरू चेलाहरूले त्यसै गरे। (युह. १:४०, ४१, ४३-४५; प्रेषि. १०:१, २, २४; १६:१४, १५, २५-३४) के यसको अर्थ कसैले बप्तिस्मा गर्नुअघि नै सुसमाचार प्रचार गर्न सक्छन्‌? सक्छन्‌। बप्तिस्मा नगरेका प्रकाशकको रूपमा सेवा गर्न योग्य हुनेबित्तिकै तिनी घरघरको प्रचारकार्यमा जान सक्छन्‌। तिनले आफ्नो क्षमता र परिस्थितिअनुसार प्रचारकार्यको अन्य पक्षमा पनि भाग लिन सक्छन्‌।

५ कुनै प्रकाशकले बप्तिस्मा गरेपछि तिनी पक्कै पनि अरूलाई सुसमाचार सुनाउन सक्दो गर्न चाहन्छन्‌। सुसमाचार प्रचार गर्ने यस्तो विशेष सुअवसर महिला तथा पुरुष सबैले पाएका छन्‌। परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउने काममा अलिकति भए पनि योगदान पुऱ्‍याउन पाएकोमा हामी धेरै खुसी छौँ। सेवाका थप सुअवसर पाउन आफ्नो सेवाको कामलाई विस्तार गर्नेहरू कहिल्यै पछुताउनु पर्दैन।

आवश्‍यकता धेरै भएको ठाउँमा सेवा गर्नुहोस्‌

६ तपाईँको मण्डलीको इलाकामा धेरै पटक प्रचार भइसकेको छ होला र मानिसहरूले पनि राम्ररी साक्षी पाइसकेका छन्‌ होला। त्यसो हो भने आवश्‍यकता धेरै भएको ठाउँमा बसाइँ सरेर आफ्नो सेवा विस्तार गर्न सकिन्छ कि जस्तो तपाईँलाई लागिरहेको छ होला। (प्रेषि. १६:९) तपाईँ एल्डर अथवा सहायक सेवक हुनुहुन्छ भने अर्को मण्डलीलाई तपाईँको मदत चाहिएको हुन सक्छ। तपाईँ आफ्नै क्षेत्रको (सर्किटको) आवश्‍यकता धेरै भएको कुनै मण्डलीमा सेवा गर्न चाहनुहुन्छ भने क्षेत्रीय निरीक्षकसित कुरा गर्नुहोस्‌। तिनले तपाईँलाई आवश्‍यक सल्लाह-सुझाव दिनेछन्‌। तपाईँ आफ्नो देशको अर्कै भागमा सेवा गर्न चाहनुहुन्छ भने शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्‌। त्यहाँबाट तपाईँले मदतकारी जानकारी पाउनुहुनेछ।

७ के तपाईँ अर्कै देशमा गएर सेवा गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने बसाइँ सर्नुअघि सबै कुरा राम्ररी विचार गर्नुहोस्‌। यसबारे मण्डलीका एल्डरहरूसित कुरा गर्नुहोस्‌। बसाइँ सर्दा तपाईँ र तपाईँसँगै बसाइँ सर्नेहरूले धेरै छाँटकाँट गर्नुपर्ने हुन्छ। (लुका १४:२८) तर विदेशी भूमिमा लामो समय बस्ने योजना छैन भने आफ्नै देशको कुनै इलाकामा सेवा गर्नु नै बेस हो।

८ कुनै-कुनै देशका निरीक्षकहरू तुलनात्मक रूपमा कम अनुभवी हुन सक्छन्‌। यी नम्र भाइहरू आफ्नो मण्डलीमा सरेर आएका अनुभवी एल्डरहरूले अगुवाइ लिँदा खुसीसाथ स्विकार्छन्‌। यदि तपाईँ एल्डर हुनुहुन्छ र एल्डरहरूको आवश्‍यकता भएको देशमा बसाइँ सर्दै हुनुहुन्छ भने यो कुरा मनमा राख्नुहोस्‌: तपाईँ स्थानीय भाइहरूको सट्टामा सेवा गर्न होइन बरु तिनीहरूसँगै सेवा गर्न जाँदै हुनुहुन्छ। ती भाइहरूलाई अघि बढ्‌न र मण्डलीका जिम्मेवारीहरू सम्हाल्न प्रोत्साहन दिनुहोस्‌। (१ तिमो. ३:१) कुनै काम तपाईँको देशमा जसरी गरिन्थ्यो, त्यहाँका भाइहरूले त्यसरी गरेनन्‌ भने धैर्य गर्नुहोस्‌। एल्डरको रूपमा सेवा गरेर आफूले बटुलेको अनुभवबाट ती भाइहरूलाई सिकाउनुहोस्‌। यसो गर्दा पछि केही गरी तपाईँ आफ्नो देश फर्कनुपऱ्‍यो भने पनि ती एल्डरहरू मण्डलीको राम्ररी ख्याल राख्न सक्षम हुनेछन्‌।

९ नबिर्सनुहोस्‌, तपाईँको मण्डलीको सेवा समितिले शाखा कार्यालयलाई सिफारिस पत्र पठाएपछि मात्र शाखा कार्यालयले तपाईँले सहयोग गर्न सक्ने मण्डलीहरूको सूची दिनेछ। आवश्‍यकता धेरै भएको ठाउँमा सर्न एल्डर, सहायक सेवक, अग्रगामी सेवक वा प्रकाशक सबैलाई सिफारिस पत्र चाहिन्छ। मण्डलीको सेवा समितिले तपाईँले लेखेको सोधपुछ पत्र र सिफारिस पत्र तपाईँले सेवा गर्न चाहनुभएको देशको शाखा कार्यालयमा पठाउनेछ।

अर्को भाषामा प्रचार गर्नुहोस्‌

१० तपाईँ आफ्नो सेवाको काम विस्तार गर्न चाहनुहुन्छ भने साङ्‌केतिक भाषालगायत अन्य भाषा पनि सिक्न सक्नुहुन्छ। अर्को भाषामा प्रचार गर्ने लक्ष्य राख्नुभएको छ भने यसबारे एल्डरहरू र क्षेत्रीय निरीक्षकसित कुरा गर्नुभए कसो होला? उनीहरूले तपाईँलाई चाहिने सल्लाह र प्रोत्साहन दिन सक्छन्‌। अर्को भाषामा प्रचार गर्न चाहने प्रकाशक तथा अग्रगामी सेवकहरूलाई प्रशिक्षण दिन कुनै-कुनै क्षेत्रमा शाखा कार्यालयको निर्देशनमा भाषा सिकाउने कक्षाहरू सञ्चालन गरिएको छ।

अग्रगामी सेवा

११ सहायक, नियमित अनि विशेष अग्रगामी सेवालगायत सबै किसिमको पूर्ण-समय सेवा गर्न चाहनेहरूले कस्तो आवश्‍यकता पूरा गर्नुपर्छ भनेर सबै प्रकाशकले बुझेको हुनुपर्छ। अग्रगामी सेवा गर्न चाहने भाइ अथवा बहिनी बप्तिस्मा गरेका उदाहरणीय प्रकाशक हुनुपर्छ र अग्रगामी सेवकहरूको लागि तोकिएको घण्टा बुझाउन सक्ने हुनुपर्छ। सहायक तथा नियमित अग्रगामी सेवा गर्न चाहनेहरूको फाराम मण्डलीको सेवा समितिले सदर गर्छ। विशेष अग्रगामी सेवकहरूलाई चाहिँ शाखा कार्यालयले नियुक्‍त गर्छ।

१२ सहायक अग्रगामी सेवा कम्तीमा एक महिना अथवा परिस्थितिअनुसार लगातार केही महिना वा लामो समयसम्म हरेक महिना गर्न सकिन्छ। थुप्रै राज्य प्रकाशकहरूले केही खास अवसर, जस्तै: स्मरणार्थ उत्सव पर्ने महिना वा क्षेत्रीय निरीक्षकको भ्रमण हुने बेला सहायक अग्रगामी सेवा गर्छन्‌। केहीले भने बिदाको समयमा सहायक अग्रगामी सेवा गर्छन्‌। स्कुलमा पढ्‌दै गरेका बप्तिस्मा गरेका प्रकाशकहरूले भने लामो बिदा हुँदा सहायक अग्रगामी सेवा गर्न सक्छन्‌। मार्च, अप्रिल र क्षेत्रीय निरीक्षकको भ्रमणको महिनामा सहायक अग्रगामी सेवा गर्न चाहनेहरूको लागि विशेष प्रबन्ध गरिएको हुन्छ। यी महिनाहरूमा सहायक अग्रगामी सेवकहरूले बुझाउनुपर्ने घण्टामा कटौती गरिएको हुन्छ। परिस्थिति जस्तोसुकै होस्‌, यदि तपाईँको आनीबानी राम्रो छ, तपाईँ नैतिक तवरमा स्वच्छ हुनुहुन्छ, तोकिएको घण्टा पुऱ्‍याउन सक्नुहुन्छ र कम्तीमा एक महिना वा सोभन्दा धेरै महिना सहायक अग्रगामी सेवा गर्न सक्नुहुन्छ भने तपाईँको आवेदन स्विकार्न एल्डरहरू खुसी हुनेछन्‌।

१३ नियमित अग्रगामी सेवा गर्न चाहनुहुन्छ भने तपाईँ नियमित अग्रगामी सेवकले एक वर्षमा बुझाउनुपर्ने कुल घण्टा पुऱ्‍याउन सक्ने अवस्थामा हुनुपर्छ। नियमित अग्रगामी सेवकले मण्डलीका दाजुभाइ दिदीबहिनीसित मिलेर काम गर्नुपर्छ। जोसिला अग्रगामी सेवकहरू मण्डलीका लागि आशिष्‌ हुन्‌। किनभने उनीहरू अरूलाई प्रचारमा जान र अग्रगामी सेवा सुरु गर्न प्रोत्साहन दिन्छन्‌। नियमित अग्रगामी सेवाको लागि आवेदन दिन तपाईँले बप्तिस्मा गरेको छ महिना भइसकेको हुनुपर्छ र तपाईँ उदाहरणीय प्रकाशक हुनुपर्छ।

१४ विशेष अग्रगामी सेवकहरू प्रायजसो प्रचार गर्न सिपालु नियमित अग्रगामी सेवकहरूबाट छानिन्छन्‌। तिनीहरू शाखा कार्यालयले जहाँ खटाउँछ, त्यहाँ सेवा गर्न सक्ने हुनुपर्छ। विशेष अग्रगामी सेवकहरूलाई अक्सर दुर्गम क्षेत्रहरूमा खटाइन्छ। त्यहाँ तिनीहरूले चासो दिने मानिसहरू भेट्टाउन र नयाँ मण्डलीहरू स्थापना गर्न सक्नेछन्‌। कहिलेकाहीँ विशेष अग्रगामी सेवकहरूलाई इलाका ढाक्न मदत चाहिएको मण्डलीहरूमा पनि खटाइन्छ। कुनै-कुनै साना मण्डलीहरूमा अझ धेरै प्रचारकको आवश्‍यकता नहुन सक्छ तैपनि यस्ता मण्डलीहरूलाई मदत गर्न एल्डरको रूपमा सेवा गरिरहेका विशेष अग्रगामी सेवकहरूलाई खटाइन्छ। विशेष अग्रगामी सेवकहरूलाई उनीहरूको आधारभूत आवश्‍यकता पूरा गर्न थोरै पैसा दिइन्छ। कसै-कसैलाई अस्थायी विशेष अग्रगामी सेवकको रूपमा पनि नियुक्‍त गरिन्छ।

मिसनरी

१५ परिचालक निकायको सेवा समितिले मिसनरीहरू नियुक्‍त गर्छ। त्यसपछि स्थानीय शाखा कार्यालयले तिनीहरूलाई धेरै जनसङ्‌ख्या भएको इलाकामा सेवा गर्न खटाउँछ। तिनीहरूले प्रचारकार्यलाई र मण्डलीलाई व्यवस्थित पार्न र बलियो बनाउन मदत गर्छन्‌। प्रायजसो मिसनरीहरूले राज्य प्रचारकहरूका लागि स्कुलबाट प्रशिक्षण पाएका हुन्छन्‌। तिनीहरूलाई घरभाडा र अन्य आधारभूत आवश्‍यकता पूरा गर्न थोरै पैसा दिइन्छ।

क्षेत्रीय निरीक्षक

१६ क्षेत्रीय निरीक्षकहरू परिचालक निकायद्वारा नियुक्‍त हुन्छन्‌। नियुक्‍त हुनुअघि तिनीहरूले कार्यवाहक क्षेत्रीय निरीक्षकको रूपमा सेवा गरेर प्रशिक्षण पाउँछन्‌ र अनुभव बटुल्छन्‌। क्षेत्रीय निरीक्षकहरू प्रचारकार्यमा जोसिलो अनि ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई माया गर्ने हुनुपर्छ। जोसिलो भई अग्रगामी सेवा गर्ने, बाइबलको गहिरो अध्ययन गर्ने अनि प्रभावकारी तरिकामा भाषण दिने र सिकाउनेहरूले क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न सक्छन्‌। तिनीहरूले पवित्र शक्‍तिको फलका विभिन्‍न पक्षहरू देखाउने सन्दर्भमा राम्रो उदाहरण बसालेको हुनुपर्छ। अनि सन्तुलित, व्यावहारिक र समझदार हुनुपर्छ। तिनी विवाहित हुन्‌ भने तिनकी अग्रगामी पत्नी अरूसित राम्रो व्यवहार गर्ने र असल आचरण भएकी हुनुपर्छ। साथै प्रभावकारी तरिकामा प्रचार गर्न सक्ने हुनुपर्छ। उनी आफ्नो शिरको अधीनमा बस्नुपर्छ। त्यसैले आफ्नो पतिको तर्फबाट बोल्ने वा पतिलाई बोल्नै नदिई आफू मात्र बोल्ने गर्नु हुँदैन। क्षेत्रीय निरीक्षक र तिनकी पत्नी यहोवाको सेवामा एकदम व्यस्त हुन्छन्‌। त्यसैले यस सेवाको लागि अघि बढिरहेकाहरूको स्वास्थ्य राम्रो हुनुपर्छ। क्षेत्रीय निरीक्षक बन्‍न चाहने अग्रगामी सेवकहरूले आफूखुसी आवेदन फाराम भर्नु हुँदैन। बरु पहिला आफ्नो इच्छाबारे क्षेत्रीय निरीक्षकलाई बताउनुपर्छ। तिनले नै तिनीहरूलाई आवश्‍यक सुझाव दिनेछन्‌।

ख्रिष्टियन स्कुलहरू

१७ राज्य प्रचारकहरूका लागि स्कुल: कहिलेकाहीँ मात्र प्रचार गरिएका इलाकामा प्रचार गर्न र मण्डलीलाई आध्यात्मिक रूपमा बलियो बनाउन राज्य प्रचारकहरूको अहिले तड्‌कारो खाँचो छ। त्यसैले अविवाहित दाजुभाइ दिदीबहिनी र विवाहित दम्पतीले राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिन सक्छन्‌। स्कुलबाट प्रशिक्षण पाएकाहरूलाई तिनीहरूकै देशको आवश्‍यकता धेरै भएको ठाउँमा नियमित अग्रगामी सेवा गर्न खटाइन्छ। तर परिस्थितिले दिन्छ भने कसै-कसैलाई तिनीहरूकै देशमा वा अर्को देशमा अन्य जिम्मेवारी दिइन सक्छ। कसै-कसैलाई भने अस्थायी वा स्थायी विशेष अग्रगामी सेवकको रूपमा सेवा गर्न खटाइन्छ। यस स्कुलमा बस्न इच्छुक अग्रगामी सेवकहरूको लागि अधिवेशनमा एउटा सभाको आयोजना गरिन्छ। यस सभामा तिनीहरूले यस स्कुलमा बस्न कस्ता आवश्‍यकताहरू पूरा गर्नुपर्छ भनेर बुझ्न सक्छन्‌।

१८ गिलियड स्कुल: यस स्कुलमा भाग लिन छानिएका अविवाहित दाजुभाइ दिदीबहिनी र विवाहित दम्पती अङ्‌ग्रेजी भाषा बोल्न सक्ने हुनुपर्छ र तिनीहरूले विशेष पूर्ण-समय सेवकको रूपमा सेवा गरिरहेको हुनुपर्छ। तिनीहरू प्रचारकार्यलाई वा शाखा कार्यालयमा सेवा गरेर सङ्‌गठनलाई बलियो र व्यवस्थित पार्न सक्ने हुनुपर्छ। तिनीहरूले आनन्दित भई आफ्ना दाजुभाइ दिदीबहिनीको सेवा गरेको हुनुपर्छ। अनि बाइबल र सङ्‌गठनको निर्देशन पालन गर्न अरूलाई मायालु भई मदत गर्न सक्ने हुनुपर्छ। यस्ता योग्यता पूरा गरेकाहरूलाई स्थानीय शाखा कार्यालयले आवेदन फाराम भर्न आग्रह गर्छ। यस स्कुलमा प्रशिक्षण पाएकाहरूलाई उनीहरूकै देश अथवा अर्कै देशमा प्रचार गर्न अथवा उनीहरूकै देश वा अर्कै देशको शाखा कार्यालयमा सेवा गर्न खटाइन्छ।

बेथेल सेवा

१९ बेथेल सेवा गर्न पाउनु एउटा विशेष सुअवसर हो। बेथेलको अर्थ “परमेश्‍वरको घर” हो। यो नाम एकदमै सुहाउँदो छ किनभने यहाँ परमेश्‍वरको राज्यसम्बन्धी गतिविधि अघि बढाउने काम गरिन्छ। बेथेलमा सेवा गर्ने दाजुभाइ दिदीबहिनीले बाइबलमा आधारित प्रकाशनहरू अनुवाद गर्ने, छाप्ने र वितरण गर्ने जस्ता महत्त्वपूर्ण कामहरू गर्छन्‌। संसारभरिका मण्डलीहरूको निरीक्षण गर्ने र आवश्‍यक निर्देशन दिने परिचालक निकाय यी सेवकहरूको यस्तो अमूल्य सेवाको निकै कदर गर्छ। धेरैजसो अनुवादक आफूले जुन भाषामा अनुवाद गर्ने हो, त्यही भाषा बोलिने इलाकामा बस्छन्‌। यसले गर्दा तिनीहरूले मानिसहरू बोलीचालीमा कस्तो भाषा प्रयोग गर्छन्‌ भनेर बुझ्न पाउँछन्‌। अनि आफूले अनुवाद गरेको कुरा मानिसहरूले बुझ्छन्‌ कि बुझ्दैनन्‌ भनेर पनि थाह पाउन सक्छन्‌।

२० बेथेलमा शारीरिक बल लगाएर गर्नुपर्ने काम धेरै हुन्छ। त्यसैले बेथेलमा सेवा गर्न अक्सर बप्तिस्मा गरेका जवान, बलिया र स्वस्थ भाइहरूलाई निम्तो दिइन्छ। यदि तपाईँको देशको रेखदेख गर्ने शाखामा बेथेल सेवकहरूको खाँचो छ र तपाईँ बेथेल सेवा गर्न चाहनुहुन्छ भने बेथेल सेवा गर्न के-कस्ता आवश्‍यकताहरू पूरा गर्नुपर्छ भनेर तपाईँको मण्डलीका एल्डरहरूलाई सोध्न सक्नुहुन्छ।

निर्माण सेवा

२१ राज्यसम्बन्धी गतिविधिको लागि विभिन्‍न भवन निर्माण गर्नु पनि पवित्र सेवाको भाग हो। अहिले भइरहेको निर्माणकार्यलाई सुलेमानको पालामा भएको मन्दिर निर्माणकार्यसित तुलना गर्न सकिन्छ। (१ राजा ८:१३-१८) थुप्रै जोसिला दाजुभाइ दिदीबहिनीले स्वेच्छाले आफ्नो समय र सम्पत्ति खर्च गरेर निर्माणकार्यमा सघाइरहेका छन्‌।

२२ तपाईँ पनि निर्माणकार्यमा सघाउन सक्नुहुन्छ कि? यदि तपाईँ बप्तिस्मा गरेको प्रकाशक हुनुहुन्छ र निर्माणकार्यमा भाग लिन चाहनुहुन्छ भने तपाईँको इलाकामा निर्माणकार्यको निरीक्षण गरिरहेका भाइहरूसित मिलेर काम गर्न सक्नुहुन्छ। तपाईँसित कुनै खास सीप छैन भने पनि ती भाइहरूले तपाईँलाई आवश्‍यक तालिम दिनेछन्‌। निर्माणकार्यमा भाग लिन चाहनुहुन्छ भने एल्डरहरूसित कुरा गर्नुहोस्‌। बप्तिस्मा गरेका केही प्रकाशकले अन्य मुलुकमा राज्यसम्बन्धी गतिविधिको लागि भवनहरू निर्माण गर्ने सुअवसर पनि पाएका छन्‌।

२३ हामी विभिन्‍न तरिकामा निर्माणकार्यलाई सघाउन सक्छौँ। मण्डलीमा राम्रो नाम कमाएका अनि बप्तिस्मा गरेका प्रकाशकले आफ्नो घरनजिकै भइरहेको निर्माण परियोजनामा सघाउन सक्छन्‌। तिनीसित केही हदसम्म निर्माणसम्बन्धी सीप हुनुपर्छ। यसरी निर्माणकार्यमा मदत गर्नेहरूलाई स्थानीय डिजाइन/निर्माण स्वयंसेवक भनिन्छ। कसै-कसैले भने आफ्नो घरबाट टाढा पर्ने इलाकामा गएर निर्माणकार्यमा सघाउन सक्छन्‌। यसरी सघाउनेहरूलाई निर्माण स्वयंसेवक भनिन्छ। शाखा कार्यालयले उनीहरूलाई दुई हप्तादेखि तीन महिनाको लागि खटाउँछ। लामो समयसम्म निर्माणकार्यमा सघाउनेहरूलाई निर्माण सेवक भनिन्छ। विदेशमा सेवा गर्ने निर्माण सेवकलाई विदेशी भूमिमा सेवा गर्ने निर्माण सेवक भनिन्छ। निर्माण सेवक तथा निर्माण स्वयंसेवकहरू मिलेर बनेको निर्माण समूह-ले सबै निर्माण परियोजनाको नेतृत्व लिन्छ। त्यस समूहलाई स्थानीय डिजाइन/निर्माण स्वयंसेवक अनि स्थानीय मण्डलीका स्वयंसेवकहरूले सघाउँछन्‌। यस समूहका दाजुभाइ दिदीबहिनीहरू निर्माण परियोजनाको सिलसिलामा शाखाको मातहतमा पर्ने विभिन्‍न इलाकामा जान्छन्‌।

तपाईँले कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ?

२४ तपाईँले आफ्नो जीवन यहोवालाई समर्पण गरिसक्नुभएको छ भने तपाईँ सधैँभरि उहाँको सेवा गर्न चाहनुहुन्छ होला। तर यहोवाको सेवामा तपाईँले कस्ता आध्यात्मिक लक्ष्यहरू राख्नुभएको छ? आध्यात्मिक लक्ष्यहरू राख्नुभयो भने तपाईँले आफ्नो शक्‍ति अनि स्रोतसाधन बुद्धिमानी तरिकामा प्रयोग गर्न सक्नुहुनेछ। (१ कोरि. ९:२६) साथै आध्यात्मिक रूपमा उन्‍नति गर्न र अझ महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन पनि मदत पाउनुहुनेछ।—फिलि. १:१०; १ तिमो. ४:१५, १६.

२५ यहोवाको सेवा गर्ने सन्दर्भमा प्रेषित पावलले राम्रो नमुना बसालेका छन्‌। (१ कोरि. ११:१) पावलले तनमनले यहोवाको सेवा गरे। यहोवाले तिनलाई उहाँको सेवा गर्ने थुप्रै मौका दिनुभएको छ भनेर तिनले राम्ररी बुझे। त्यसैले त कोरिन्थका भाइहरूलाई पावलले यस्तो लेखे: “सेवा गर्ने मौकाको ठूलो ढोका मेरो निम्ति खुलेको छ।” के हामी पनि त्यस्तै महसुस गर्छौँ? हामीसित मण्डलीका दाजुभाइ दिदीबहिनीसँग मिलेर यहोवाको सेवा गर्ने थुप्रै मौका छन्‌, विशेषगरि सुसमाचार प्रचार गर्ने। तर यो “ठूलो ढोका”-भित्र पस्दा पावलले जस्तै हामीले पनि “विरोध गर्नेहरू”-सित सङ्‌घर्ष गर्नुपर्ने हुन्छ। (१ कोरि. १६:९) पावल आफैलाई अनुशासनमा राख्न तयार थिए। तिनले यसो भने: “म आफ्नो शरीरलाई कुट्‌छु अनि पिट्‌छु र त्यसलाई दास बनाएर राख्छु।” (१ कोरि. ९:२४-२७) के हामी पनि त्यस्तै मनोभाव राख्छौँ?

आध्यात्मिक लक्ष्यहरू राख्नुभयो भने तपाईँले आफ्नो शक्‍ति अनि स्रोतसाधन बुद्धिमानी तरिकामा प्रयोग गर्न सक्नुहुनेछ

२६ आफ्नो परिस्थितिअनुसार आध्यात्मिक लक्ष्यहरू राख्न र ती लक्ष्य हासिल गर्ने उद्देश्‍यले अघि बढ्‌न सबैलाई प्रोत्साहन दिइएको छ। थुप्रै दाजुभाइ दिदीबहिनीले कलिलै उमेरमा लक्ष्य राखेकोले अहिले पूर्ण-समय सेवामा लाग्न सकेका छन्‌। सानो छँदादेखि नै तिनीहरूलाई आमाबुबा र अरूले आध्यात्मिक लक्ष्य राख्न प्रोत्साहन दिएका थिए। त्यसैले अहिले तिनीहरू आनन्दित भई यहोवाको सेवा गर्दै छन्‌। आफूले गरेको निर्णयमा तिनीहरूलाई कुनै पछुतो छैन। (हितो. १०:२२) हामी अरू लक्ष्य पनि राख्न सक्छौँ। जस्तै: हरेक हप्ता प्रचारमा जाने, बाइबल अध्ययन सुरु गर्ने अनि सञ्चालन गर्ने, सभाहरूको लागि अझ राम्ररी तयारी गर्ने आदि। तपाईँको लक्ष्य जस्तोसुकै होस्‌, वफादार भएर सेवाको काम राम्ररी पूरा गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसो गर्नुभयो भने यहोवा परमेश्‍वरको आदर हुनेछ र तपाईँको सबैभन्दा ठूलो लक्ष्य अर्थात्‌ सधैँभरि उहाँको सेवा गर्ने लक्ष्य पनि हासिल गर्न सक्नुहुनेछ।—लुका १३:२४; १ तिमो. ४:७ख, ८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने