पाठ १५
एल्डरहरूले मण्डलीको लागि के-के गर्छन्?
फिनल्याण्ड
सिकाउँदै
गोठालो भेट गर्दै
प्रचार गर्दै
हाम्रो सङ्गठनमा तलब लिएर सेवा गर्ने पास्टरहरू छैनन्। तर सुरु-सुरुका ख्रिष्टियन मण्डलीमा जस्तै ‘परमेश्वरको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न’ योग्य निरीक्षकहरू नियुक्त गरिएका छन्। (प्रेषित २०:२८) यी निरीक्षकहरू अर्थात् एल्डरहरू परमेश्वरसित बलियो सम्बन्ध गाँसेका परिपक्व पुरुषहरू हुन्। यिनीहरू “करमा परेर होइन तर स्वेच्छाले; बेइमानीद्वारा धन कमाउने लोभले होइन तर तत्परतासाथ” मण्डलीमा नेतृत्व लिन्छन् र गोठालोले झैँ सेवा गर्छन्। (१ पत्रुस ५:१-३) एल्डरहरूले हाम्रो लागि के-के गर्छन्?
हाम्रो ख्याल राख्छन् र सुरक्षा गर्छन्। एल्डरहरूले बाइबलबाट निर्देशन दिन्छन् अनि मण्डलीलाई यहोवासित घनिष्ठ रहिरहन मदत गर्छन्। यहोवाले सुम्पनुभएको यस जिम्मेवारीलाई एल्डरहरू गम्भीरतापूर्वक लिन्छन्। त्यसैले तिनीहरू हामीमाथि हैकम जमाउन खोज्दैनन्, बरु हाम्रो हित हुने र हामीलाई आनन्द दिने कुरामा ध्यान दिन्छन्। (२ कोरिन्थी १:२४) गोठालोले आफ्नो एक-एक भेडाको ख्याल राख्न निकै मेहनत गरेजस्तै एल्डरहरू पनि मण्डलीका एक-एक सदस्यलाई राम्ररी चिन्ने प्रयास गर्छन्।—हितोपदेश २७:२३.
हामीलाई परमेश्वरको इच्छाअनुसार चल्न सिकाउँछन्। हाम्रो विश्वासलाई बलियो बनाउन एल्डरहरू हरेक हप्ता मण्डलीका सभाहरूमा नेतृत्व लिन्छन्। (प्रेषित १५:३२) यी विश्वासी पुरुषहरू प्रचारकार्यमा पनि नेतृत्व लिन्छन्। प्रचारकार्यको विभिन्न पक्षमा तिनीहरू हामीसँगसँगै भाग लिन्छन् र हामीलाई तालिम दिन्छन्।
हामीलाई व्यक्तिगत तवरमा प्रोत्साहन दिन्छन्। यहोवासितको हाम्रो सम्बन्धलाई अझ घनिष्ठ बनाउन एल्डरहरू निकै प्रयास गर्छन्। हामीलाई राज्यभवनमा भेटेर वा हाम्रो घरमै आएर तिनीहरू हामीलाई बाइबलबाट मदत र सान्त्वना दिन्छन्।—याकुब ५:१४, १५.
धेरैजसो एल्डरले मण्डलीको कामकुरामा मात्र नभई जागिरमा र पारिवारिक दायित्व पूरा गर्नमा पनि आफ्नो समय र शक्ति खर्च गर्नुपर्ने हुन्छ। त्यसैले यी मेहनती एल्डरहरू हाम्रो आदर पाउन योग्य छन्।—१ थिस्सलोनिकी ५:१२, १३.
मण्डलीका एल्डरहरूले हाम्रो लागि के-के गर्छन्?
एल्डरहरूले कसरी हामी प्रत्येकलाई चासो देखाउँछन्?