अध्याय ४
मण्डलीलाई कसरी सञ्चालन र व्यवस्थापन गरिन्छ?
प्रेषित पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई लेखेको पहिलो पत्रमा परमेश्वरबारे एउटा महत्त्वपूर्ण कुरा बताए। तिनले लेखे: “परमेश्वर गोलमालका परमेश्वर होइन तर शान्तिका परमेश्वर हुनुहुन्छ।” त्यसपछि तिनले मण्डलीका सभाहरूको सन्दर्भमा यसो भने: “सबै कुरा शिष्टतासाथ अनि व्यवस्थित ढङ्गले होस्।”—१ कोरि. १४:३३, ४०.
२ त्यही पत्रको सुरुमै पावलले कोरिन्थ मण्डलीलाई सल्लाह दिए किनभने तिनले त्यस मण्डलीभित्र फूट छ भन्ने रिपोर्ट पाएका थिए। तिनले त्यहाँका ख्रिष्टियन भाइहरूलाई ‘एउटै कुरा बोल्न’ र ‘एउटै सोचाइ र विचार’ राख्न आग्रह गरे। (१ कोरि. १:१०, ११) त्यसपछि तिनले मण्डलीको एकतालाई असर गरिरहेको विभिन्न कुराबारे सल्लाह दिए। तिनले मानव शरीरको उदाहरण दिँदै मण्डलीमा एकता र आपसी सहयोग चाहिन्छ भनेर बताए। मण्डलीमा आफ्नो जे-जस्तो जिम्मेवारी भए तापनि एकअर्काको मायालु हेरचाह गर्न तिनले सबैलाई आग्रह गरे। (१ कोरि. १२:१२-२६) यसरी मण्डलीका भाइबहिनीहरू आपसमा मिलेर बस्दा तिनीहरू व्यवस्थित हुन सक्ने थिए।
३ तर मण्डलीलाई कसरी व्यवस्थित गरिने थियो? कसले व्यवस्थित गर्ने थियो? यसको संरचना कस्तो हुने थियो? मण्डलीका जिम्मेवारीहरू सम्हाल्न कसलाई नियुक्त गरिने थियो? यी प्रश्नहरूको स्पष्ट जवाफ बाइबलमा पाउँछौँ।—१ कोरि. ४:६.
परमेश्वरको निर्देशनअनुसार व्यवस्थित
४ इस्वी संवत् ३३ पेन्तिकोसको दिनमा ख्रिष्टियन मण्डली स्थापना भयो। प्रथम शताब्दीमा स्थापना भएको त्यो मण्डलीलाई परमेश्वरको निर्देशनअनुसार सञ्चालन अनि व्यवस्थित गरिएको थियो। झन्डै २ हजार वर्षअघि यरुसलेममा घटेको घटनाबाट अभिषिक्त ख्रिष्टियनहरूको त्यो मण्डली परमेश्वरले नै स्थापना गर्नुभएको थियो भनेर स्पष्ट हुन्छ। (प्रेषि. २:१-४७) त्यो मण्डली परमेश्वरको भवन अनि घराना थियो। (१ कोरि. ३:९; एफि. २:१९) प्रथम शताब्दीको मण्डलीजस्तै अहिलेको ख्रिष्टियन मण्डलीलाई पनि परमेश्वरको निर्देशनअनुसार सञ्चालन अनि व्यवस्थित गरिएको छ।
प्रथम शताब्दीको मण्डलीजस्तै अहिलेको ख्रिष्टियन मण्डलीलाई पनि परमेश्वरको निर्देशनअनुसार सञ्चालन अनि व्यवस्थित गरिएको छ
५ प्रथम शताब्दीमा स्थापना भएको त्यस मण्डलीमा झन्डै १२० जना चेला थिए। योएल २:२८, २९ मा भविष्यवाणी गरिएझैँ पवित्र शक्ति सबैभन्दा पहिला यिनीहरूमाथि खन्याइयो। (प्रेषि. २:१६-१८) तर त्यही दिन लगभग ३ हजार जनाले बप्तिस्मा गरे र तिनीहरू पनि अभिषिक्त ख्रिष्टियनहरूको मण्डलीको सदस्य बने। तिनीहरूले प्रेषित पत्रुसले ख्रिष्टबारे बताएको वचन स्विकारेका थिए। “तिनीहरू प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे।” त्यसपछि “उद्धार पाउनेहरूलाई यहोवा परमेश्वरले दिनहुँ तिनीहरूको सङ्ख्यामा थप्दै जानुभयो।”—प्रेषि. २:४१, ४२, ४७.
६ यरुसलेमको मण्डलीमा ख्रिष्टियनहरूको सङ्ख्या बढ्दै गयो। यो देखेर प्रधानपुजारीले यसो समेत भने, “तिमीहरूले आफ्नो शिक्षाले सारा यरुसलेम भरिसक्यौ।” अचम्मको कुरा, यरुसलेममा ख्रिष्टका नयाँ चेला बनेकाहरूमध्ये धेरै यहुदी पुजारीहरू पनि थिए। तिनीहरू पनि मण्डलीको भाग बने।—प्रेषि. ५:२७, २८; ६:७.
७ येसुले भन्नुभएको थियो: “यरुसलेमका साथै सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) नभन्दै येसुका यी शब्दहरू पूरा भए। स्तिफनसको हत्यापछि यरुसलेमका ख्रिष्टियनहरूलाई अत्यन्तै खेदो गर्न थालियो। त्यसपछि तिनीहरू यहुदिया र सामरियाका इलाकाभरि तितरबितर भए। तर जहाँ गए पनि तिनीहरूले सुसमाचार प्रचार गर्न र चेला बनाउन छोडेनन्। नयाँ चेला बन्नेहरूमा सामरियालीहरू पनि थिए। (प्रेषि. ८:१-१३) पछि खतना नभएका अन्यजातिलाई सुसमाचार सुनाइयो र तिनीहरू पनि चेला बने। (प्रेषि. १०:१-४८) यस्तो प्रचारकार्यले गर्दा चेलाहरूको सङ्ख्या बढ्दै गयो र यरुसलेमबाहिर पनि मण्डलीहरू स्थापना भए।—प्रेषि. ११:१९-२१; १४:२१-२३.
८ भर्खरै स्थापना भएका मण्डलीहरूलाई परमेश्वरको निर्देशनअनुसार सञ्चालन र व्यवस्थित गर्न कस्ता प्रबन्धहरू गरिए? मण्डलीको रेखदेख गर्न परमेश्वरको पवित्र शक्तिको निर्देशनमा उपगोठालाहरू नियुक्त गरिए। प्रथम मिसनरी यात्राको बेला पावल र बर्णाबासले मण्डलीहरूमा एल्डरहरू नियुक्त गरे। (प्रेषि. १४:२३) पावलले एफिससका एल्डरहरूलाई भेटेको कुरा लुकाले लेखेका छन्। पावलले ती एल्डरहरूलाई यसो भने: “तपाईँहरू आफ्नो विषयमा होसियार हुनुहोस् र पूरै बगालको हेरचाह गर्नुहोस् किनकि परमेश्वरले आफ्नै छोराको रगतद्वारा किन्नुभएको मण्डलीलाई गोठालोले झैँ हेरविचार गर्न पवित्र शक्तिले तपाईँहरूलाई यस बगालमा निरीक्षक नियुक्त गरेको छ।” (प्रेषि. २०:१७, २८) बाइबलमा बताइएका आवश्यकताहरू पूरा गरेकोले तिनीहरू एल्डर नियुक्त भएका थिए। (१ तिमो. ३:१-७) पावलका सहकर्मी तितसलाई क्रेटका मण्डलीहरूमा एल्डरहरू नियुक्त गर्ने अख्तियार दिइएको थियो।—ति. १:५.
९ मण्डलीहरूको सङ्ख्या बढ्दै जाँदा ती मण्डलीहरूको रेखदेख गर्ने जिम्मा मुख्यतया यरुसलेमका प्रेषितहरू र एल्डरहरूले नै सम्हाले। तिनीहरूले त्यतिबेलाको परिचालक निकायको रूपमा सेवा गरे।
१० पवित्र शक्तिको निर्देशनअनुसार चलेमा अनि मण्डलीको शिर येसु ख्रिष्टको अधीनमा रहेर काम गरेमा मण्डलीमा एकता छाउनेछ भनेर प्रेषित पावलले एफिससको मण्डलीलाई लेखेको पत्रमा बताए। तिनले त्यहाँका ख्रिष्टियनहरूलाई नम्र हुन अनि एकअर्कासित शान्तिमय सम्बन्ध राखेर “पवित्र शक्तिद्वारा पाइने एकतामा रहन” आग्रह गरे। (एफि. ४:१-६) त्यसपछि तिनले भजन ६८:१८ उल्लेख गर्दै यहोवाले परिपक्व पुरुषहरूलाई मण्डलीमा प्रेषित, भविष्यवक्ता, प्रचारक, गोठालो र शिक्षकको रूपमा सेवा गर्न नियुक्त गर्नुभएको छ भनेर बताए। यी पुरुषहरू यहोवाले दिनुभएको वरदान थिए। यिनीहरूले नै मण्डलीका सबैलाई आध्यात्मिक रूपमा परिपक्व हुन मदत गर्ने थिए र यहोवाको हृदयलाई प्रसन्न तुल्याउने थिए।—एफि. ४:७-१६.
अहिलेका मण्डलीहरू प्रेषितहरूको अनुकरण गर्छन्
११ यहोवाका साक्षीहरूको मण्डलीको संरचना र प्रथम शताब्दीको मण्डलीको संरचना उस्तै छ। संसारभरिका मण्डलीहरू मिलेर एउटा विश्वव्यापी मण्डली बनेको छ, जसको केन्द्रबिन्दु अभिषिक्त ख्रिष्टियनहरू हुन्। (जक. ८:२३) यो कुरा येसु ख्रिष्टले गर्दा नै सम्भव भएको हो। उहाँले आफ्नो प्रतिज्ञाअनुसारै अभिषिक्त ख्रिष्टियनहरूलाई “यस युगको आखिरी समयसम्म” साथ दिँदै आउनुभएको छ। अहिले मण्डलीमा हरेक दिन मानिसहरू थपिँदै छन्। तिनीहरू सुसमाचार सुन्छन्, आफ्नो जीवन यहोवामा समर्पण गर्छन् र येसु ख्रिष्टको चेला बन्न बप्तिस्मा गर्छन्। (मत्ति २८:१९, २०; मर्कु. १:१४; प्रेषि. २:४१) तिनीहरू “असल गोठालो” येसु ख्रिष्टलाई अभिषिक्त जनहरू र “अरू भेडा” मिलेर बनेको सम्पूर्ण बगालको शिर मान्छन्। (युह. १०:१४, १६; एफि. १:२२, २३) यस “बगाल”-मा एकता छ किनभने यसका सबै भेडा येसु ख्रिष्टप्रति वफादार हुँदै उहाँलाई आफ्नो शिरको रूपमा स्विकार्छन्। अनि सङ्गठन चलाउन ख्रिष्टले नियुक्त गर्नुभएको माध्यम अर्थात् “विश्वासी र बुद्धिमान् दास”-को अधीनमा बस्छन्। त्यसैले यस माध्यममाथि पूरापूर भरोसा राखिरहौँ।—मत्ति २४:४५.
हाम्रा धार्मिक संस्थाहरूको भूमिका
१२ ठीक समयमा आध्यात्मिक भोजनको प्रबन्ध गर्न र यस युगको अन्त आउनुअघि नै राज्यको सुसमाचार प्रचार गर्न केही संस्था कानुनी रूपमा स्थापना गरिएका छन्। यी संस्थाहरूले विभिन्न मुलुकमा कानुनी मान्यता पाएका छन्। यी संस्थाहरू एकअर्कासित मिलेर काम गर्छन्। यसले गर्दा संसारभरि सुसमाचार प्रचार गर्न सजिलो भएको छ।
शाखाको संरचना
१३ कुनै देशमा शाखा कार्यालय स्थापना गरिँदा तीन जना वा सोभन्दा धेरै एल्डरलाई शाखा समितिको सदस्यको रूपमा नियुक्त गरिन्छ। यस समितिले आफ्नो देश वा शाखाअन्तर्गत रहेका अन्य देशको आध्यात्मिक गतिविधिको निरीक्षण गर्छ। यस समितिका एक सदस्यले शाखा समितिको संयोजकको रूपमा सेवा गर्छन्।
१४ प्रत्येक शाखाअन्तर्गत रहेका मण्डलीहरूलाई विभिन्न क्षेत्रमा (सर्किट) बाँडिएको हुन्छ। ती क्षेत्रहरू भौगोलिक बनोट, भाषा र शाखाअन्तर्गत रहेका मण्डलीहरूको सङ्ख्याअनुसार सानो वा ठूलो हुन सक्छ। प्रत्येक क्षेत्रमा रहेका मण्डलीहरूको निरीक्षण गर्न एक जना क्षेत्रीय निरीक्षकलाई खटाइएको हुन्छ। शाखा कार्यालयले क्षेत्रीय निरीक्षकलाई तिनको जिम्मेवारी कसरी पूरा गर्ने भन्नेबारे निर्देशन दिन्छ।
१५ सङ्गठनले सबैको फाइदाको लागि मिलाएका प्रबन्धहरूलाई मण्डलीहरूले स्विकार्छन्। तिनीहरू शाखा, क्षेत्र र मण्डलीहरूको निरीक्षण गर्न नियुक्त भएका एल्डरहरूको नियुक्तिलाई स्विकार्छन्। ठीक समयमा आध्यात्मिक भोजन पाउन तिनीहरू “विश्वासी र बुद्धिमान् दास”-माथि भर पर्छन्। अनि विश्वासी दास पनि येसु ख्रिष्टको अधीनमा बस्छ, बाइबलको सिद्धान्त पालन गर्छ र पवित्र शक्तिको निर्देशनअनुसार चल्छ। यसरी सबै जना मिलेर एकतामा काम गरेकोले हामीले प्रथम शताब्दीका ख्रिष्टियनहरूले जस्तै राम्रो नतिजा हासिल गरेका छौँ, जसबारे प्रेषित १६:५ यसो भन्छ: “मण्डलीमा हुनेहरूको विश्वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गयो।”