प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w07 ५/१ pp. ८-१२
  • मण्डलीले यहोवाको प्रशंसा गरोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मण्डलीले यहोवाको प्रशंसा गरोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको अभिषिक्‍त मण्डली
  • अन्य अर्थमा “मण्डली”
  • मण्डलीहरूले यहोवाको प्रशंसा गर्छन्‌
  • मण्डली सुदृढ होओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • मण्डलीलाई कसरी सञ्चालन र व्यवस्थापन गरिन्छ?
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • यहोवाको मण्डलीमा तपाईँको स्थान छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मण्डलीमा आफ्नो स्थानको कदर गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
w07 ५/१ pp. ८-१२

मण्डलीले यहोवाको प्रशंसा गरोस्‌

“मेरा भाइहरूलाई तपाईंको नाउँ म बयान गर्नेछु, सभाको [“मण्डली,” NW] बीचमा म तपाईंको प्रशंसा गाउनेछु।”—हिब्रू २:१२.

१, २. मण्डली किन लाभदायी छ र यसको मुख्य काम के हो?

मानव इतिहास हेर्ने हो भने, मानिसहरूले परिवारभित्र संगति र सुरक्षा पाएका छन्‌। तर बाइबलले अर्को खाले परिवारबारे पनि बताउँछ जसमा आज संसारभरि अनगिन्ती मानिसहरूले विशेष प्रकारको संगति र सुरक्षा पाइरहेका छन्‌। त्यो परिवार मसीही मण्डली हो।a तपाईंको परिवार सहयोगी र एक आपसमा घनिष्ठ होलान्‌ या त तपाईंको परिवार त्यसको ठीक उल्टो होला। तपाईंको परिवार जस्तोसुकै भए पनि, मण्डली मार्फत परमेश्‍वरले प्रबन्ध गर्नुभएका कुराहरूको तपाईं मोल गर्न सक्नुहुन्छ र तपाईंले मोल गर्नु पनि पर्छ। निस्सन्देह, यहोवाका साक्षीहरूको कुनै मण्डलीसित संगत गरी सक्नुभएको छ भने, त्यहाँ महसुस गर्नुभएको न्यानोपन र सुरक्षाबारे तपाईं बताउन सक्नुहुन्छ होला।

२ मण्डली भनेको केवल एउटा सामाजिक समूह होइन। यो, एकै पृष्ठभूमिका वा खेलकूद वा सोखबारे एकै खाले रुचि भएका मानिसहरू भेला हुने क्लब पनि होइन। बरु, मण्डलीको प्रमुख उद्देश्‍य त यहोवा परमेश्‍वरको प्रशंसा गर्नु हो। प्रशंसा गर्ने काम अहिले मात्र होइन, धेरै अघिदेखि भएको हो भनेर भजनको पुस्तकले जोड दिन्छ। भजन ३५:१८ मा यस्तो लेखिएको पाउँछौं: “ठूलो समुदायमा [“मण्डली,” NW] म तपाईंमा धन्यवाद चढाउनेछु। धेरै मानिसहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु।” त्यसै गरी, भजन १०७:३१, ३२ मा हामीलाई यस्तो प्रोत्साहन दिइएको छ: “मानिसहरूले परमप्रभुको करूणाको निम्ति र मानिसका सन्तानहरूप्रति उहाँका आश्‍चर्यकामहरूका निम्ति उहाँको प्रशंसा गरून्‌। तिनीहरूले सभामा [“मण्डली,” NW] पनि उहाँको सह्रनी गरून्‌।”

३. पावलले बताएअनुसार मण्डलीले के गर्छ?

३ प्रेरित पावलले ‘परमेश्‍वरको घर जीवित परमेश्‍वरको मण्डली, सत्यको खामा र जग’ हो भनी उल्लेख गर्दा मण्डलीको अर्को अत्यावश्‍यक भूमिकालाई जोड दिए। (१ तिमोथी ३:१५) पावलले कुन चाहिं मण्डलीबारे कुरा गरिरहेका थिए? बाइबलले “मण्डली” शब्दलाई कुन-कुन तरिकामा प्रयोग गर्छ? हाम्रो जीवन र भावी प्रत्याशाहरूमा यसले कस्तो प्रभाव पार्नुपर्छ? यी प्रश्‍नको जवाफ पाउन “मण्डली” शब्दलाई परमेश्‍वरको वचनमा कसरी प्रयोग गरिएको छ, पहिला जाँचेर हेरौं।

४. हिब्रू धर्मशास्त्रमा “मण्डली” शब्दलाई धेरैजसो कुन अर्थमा प्रयोग गरिएको छ?

४ “मण्डली” भनी अनुवाद गरिएको हिब्रू शब्दको मूल अर्थ “एकसाथ बोलाउनु” वा “भेला गर्नु” हो। (व्यवस्था ४:१०; ९:१०) भजनरचयिताले “सभा” अर्थात्‌ मण्डली शब्दलाई स्वर्गदूतहरूको सन्दर्भमा चलाए। यसलाई कुकर्मीहरूको समूह बुझाउन पनि प्रयोग गर्न सकिन्छ। (भजन २६:५; ८९:५-७) तर हिब्रू धर्मशास्त्रमा मण्डली शब्द इस्राएलीलाई बुझाउन धेरैजसो प्रयोग गरिएको छ। उदाहरणका लागि, याकूब “जातिहरूका एक समुदाय” हुनेछ भनेर परमेश्‍वरले संकेत गर्नुभयो र त्यस्तै भयो पनि। (उत्पत्ति २८:३; ३५:११; ४८:४) त्यसै गरी, इस्राएलीहरूलाई “परमप्रभुको समुदाय” अर्थात्‌ “[साँचो] परमेश्‍वरको सभा” हुन बोलाइयो वा छानियो।—गन्ती २०:४; नहेम्याह १३:१; यहोशू ८:३५; १ शमूएल १७:४७; मीका २:५.

५. “मण्डली” भनी अनुवाद गरिएको युनानी शब्द कुन हो र त्यस शब्दलाई कुन अर्थमा प्रयोग गर्न सकिन्छ?

५ मण्डली भनी अनुवाद गरिएको युनानी शब्द एकलेसिया हो अनि यो “बाहिर” र “बोलाउनु” अर्थ लाग्ने दुई वटा शब्दहरू मिलेर बनेको छ। यसलाई, गैरधार्मिक उद्देश्‍यको लागि भेला गराइएको समूह बुझाउन पनि प्रयोग गर्न सकिन्छ। डेमेत्रियस भन्‍ने व्यक्‍तिले पावलको विरुद्ध एफिससमा भेला गरेको “भीड” यस्तै किसिमको थियो। (प्रेरित १९:३२, ३९, ४१) तर बाइबलमा यो शब्द मुख्यतः मसीही मण्डलीलाई बुझाउन प्रयोग गरिएको छ। केही बाइबल अनुवादहरूमा यसलाई “चर्च” भनेर अनुवाद गरिएको छ। तर एउटा बाइबल शब्दकोशअनुसार ( दि इम्पिरियल बाइबल डिक्शनरी) यस शब्दले “इसाईहरू उपासना गर्न भेला हुने चर्च वा भवनलाई कहिल्यै बुझाउँदैन।” चाखलाग्दो कुरा, मसीही युनानी धर्मशास्त्रमा “मण्डली” शब्दलाई कम्तीमा पनि चार तरिकामा प्रयोग गरिएको पाउँछौं।

परमेश्‍वरको अभिषिक्‍त मण्डली

६. येशू र दाऊदले मण्डलीमा के गरे?

६ भजन २२:२२ का दाऊदका शब्दहरू येशूमा प्रयोग गर्दै प्रेरित पावलले यस्तो लेखे: “मेरा भाइहरूलाई तपाईंको नाउँ म बयान गर्नेछु, सभाको [“मण्डली,” NW] बीचमा म तपाईंको प्रशंसा गाउनेछु। यसकारण मानिसहरूका पापको प्रायश्‍चित गर्नलाई परमेश्‍वर[सितको] सम्बन्धको कुरामा येशू कृपालु र विश्‍वासयोग्य प्रधान पूजाहारी हुनलाई, सबै कुरामा आफ्ना भाइहरूजस्तै उहाँलाई [येशू] बनिनुपऱ्‍यो।” (हिब्रू २:१२, १७) दाऊदले प्राचीन इस्राएलको मण्डलीको बीचमा परमेश्‍वरको प्रशंसा गरेका थिए। (भजन ४०:९) तर, “मण्डलीको बीचमा” येशूले परमेश्‍वरको प्रशंसा गर्नुभयो भन्दा पावलले कुन मण्डलीबारे कुरा गरिरहेका थिए?

७. कुन मुख्य अर्थमा मसीही युनानी धर्मशास्त्रले “मण्डली” शब्दलाई प्रयोग गर्छ?

७ हिब्रू २:१२, १७ मा लेखिएको कुरा एकदमै महत्त्वपूर्ण छ। यस पदले विस्तृत अर्थमा के देखाउँछ भने, ख्रीष्ट मण्डलीको सदस्य हुनुहुन्थ्यो जहाँ उहाँले आफ्ना भाइहरूलाई परमेश्‍वरको नाउँ घोषणा गर्नुभयो। ती भाइहरू को थिए? तिनीहरू ‘अब्राहामका सन्तानका’ भाग अर्थात्‌ “स्वर्गीय बोलावटका सह-भागी” ख्रीष्टका आत्मा-अभिषिक्‍त भाइहरू थिए। (हिब्रू २:१६–३:१; मत्ती २५:४०) हो, मसीही युनानी धर्मशास्त्रमा “मण्डली” शब्दको मुख्य अर्थ ख्रीष्टका आत्मा-अभिषिक्‍त अनुयायीहरूको समूह हो। “स्वर्गमा नाउँ दर्ता भएका पहिला गनिएकाहरूको . . . मण्डली” यी १,४४,००० जना अभिषिक्‍त जनहरूद्वारा बनिएको छ।—हिब्रू १२:२३.

८. मसीही मण्डलीको स्थापनाबारे येशूले कसरी पहिल्यै संकेत गर्नुभयो?

८ यो मसीही “मण्डली” स्थापना हुनेछ भनेर येशूले संकेत गर्नुभयो। यसबारे आफ्नो मृत्यु हुनुभन्दा लगभग एक वर्षअघि उहाँले प्रेरित पत्रुसलाई यसो भन्‍नुभयो: “तिमी पत्रुस हौ। म यस पत्थरमाथि आफ्नो मण्डली स्थापित गर्नेछु, र मृत्यु त्यसमाथि विजयी हुनेछैन।” (मत्ती १६:१८) भविष्यवाणी गरिएको त्यो पत्थर येशू आफै हुनुहुन्थ्यो भनेर पत्रुस र पावलले ठीकसित बुझेका थिए। ती पत्थर अर्थात्‌ ख्रीष्टमाथि बनिएको आध्यात्मिक घरका ‘जीवित पत्थरहरू’ तिनीहरूलाई बोलाउनुहुनेको ‘सर्वश्रेष्ठता देखाउने निजी प्रजा’ थिए भनी पत्रुसले लेखे।—१ पत्रुस २:४-९; भजन ११८:२२; यशैया ८:१४; १ कोरिन्थी १०:१-४.

९. परमेश्‍वरको मण्डली कहिलेदेखि बनिन थाल्यो?

९ यो ‘निजी प्रजाद्वारा’ कहिलेदेखि मसीही मण्डली बनिन थाल्यो? इस्वी संवत्‌ ३३ पेन्तिकोसमा यरूशलेममा भेला भएका चेलाहरूमाथि परमेश्‍वरले पवित्र आत्मा खन्याउनु भएदेखि। त्यसपछि त्यही दिन, पत्रुसले यहूदी र धर्म परिवर्तन गरेर यहूदी बनेकाहरूको भीडलाई प्रभावशाली भाषण दिए। येशूको मृत्युको कुराले धेरैको हृदय छोयो र तिनीहरूले पश्‍चात्ताप गरेर बप्तिस्मा लिए। त्यसरी बप्तिस्मा लिनेहरू जम्मा तीन हजार थिए भनेर बाइबल विवरण बताउँछ। त्यसपछि तुरुन्तै तिनीहरू नयाँ र बढ्‌दै गइरहेको परमेश्‍वरको मण्डलीका सदस्य भए। (प्रेरित २:१-४, १४, ३७-४७) मण्डलीको वृद्धि हुनुको कारण थियो—धेरैभन्दा धेरै यहूदी र धर्म परिवर्तन गरेर यहूदी धर्म अँगालेकाहरूले इस्राएल राष्ट्र अबउसो परमेश्‍वरको मण्डली रहेनन्‌ भन्‍ने कुरा स्वीकारेकोले गर्दा। तिनीहरूको सट्टा अभिषिक्‍त मसीहीहरू परमेश्‍वरको साँचो मण्डली भए जसद्वारा ‘परमेश्‍वरको आत्मिक इस्राएल’ बनेको थियो।—गलाती ६:१६; प्रेरित २०:२८.

१०. परमेश्‍वरको मण्डलीसित येशूको कस्तो सम्बन्ध छ?

१० बाइबलले अक्सर येशू र अभिषिक्‍त जनबीच भिन्‍नता देखाउँछ। उदाहरणका लागि, “ख्रीष्ट र मण्डलीको सम्बन्धमा” भन्‍ने वाक्यांशमा त्यो भिन्‍नता देख्न सकिन्छ। आत्मा-अभिषिक्‍त मसीहीहरूको मण्डलीका शिर येशू हुनुहुन्छ। परमेश्‍वरले “[येशूलाई] सबै कुराको शिर हुनालाई मण्डलीलाई दिनुभयो, जो उहाँको शरीर हो” भनी पावलले लेखे। (एफिसी १:२२, २३; ५:२३, ३२; कलस्सी १:१८, २४) आज, त्यस मण्डलीका अभिषिक्‍त सदस्यहरू कम संख्यामा मात्र पृथ्वीमा छन्‌। तर तिनीहरूका शिर येशूले तिनीहरूलाई माया गर्नुहुन्छ भनेर हामी पक्का हुन सक्छौं। उहाँले तिनीहरूलाई कत्तिको माया गर्नुहुन्छ, त्यसबारे एफिसी ५:२५ मा यसरी बताइएको छ: “ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो।” येशूले तिनीहरूलाई माया गर्नुहुन्छ किनभने पृथ्वीमा छँदा उहाँले जस्तै तिनीहरूले पनि जोसका साथ परमेश्‍वरको ‘स्तुतिको बलिदान चढाउँछन्‌ जो उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।’—हिब्रू १३:१५.

अन्य अर्थमा “मण्डली”

११. कुन दोस्रो अर्थमा मसीही युनानी धर्मशास्त्रले “मण्डली” शब्दलाई प्रयोग गर्छ?

११ कहिलेकाहीं बाइबलले “मण्डली” शब्दलाई “परमेश्‍वरको मण्डली” अर्थात्‌ १,४४,००० जना अभिषिक्‍त जनहरूको सम्पूर्ण समूह बुझाउन प्रयोग नगरी सीमित वा भिन्‍नै अर्थमा चलाउँछ। उदाहरणका लागि, मसीहीहरूको एक समूहलाई पावलले यस्तो लेखे: “यहूदीहरू अथवा ग्रीकहरू, या परमेश्‍वरको मण्डलीलाई कुनै किसिमको बाधा पार्ने मौका नदेओ।” (१ कोरिन्थी १०:३२) स्पष्ट छ, प्राचीन कोरिन्थमा कुनै मसीहीले अनुचित काम गरेमा कसै-कसैको लागि ठोकरको कारण बन्‍न सक्थ्यो। तर के त्यो अनुचित कामले सबै ग्रीक, यहूदी वा पावलको समयदेखि अहिलेसम्मका सबै अभिषिक्‍त जनलाई ठोकर पुऱ्‍याउने सम्भावना थियो? थिएन। त्यसैले, यहाँ चलाइएको “परमेश्‍वरको मण्डली” भन्‍ने पदावलीले एक निश्‍चित समय अवधिका मसीहीहरूलाई बुझाएको देखिन्छ। त्यही कारण, परमेश्‍वरले मण्डलीलाई डोऱ्‍याइ, मदत र आशिष्‌ दिनुभयो भन्‍नुको मतलब निश्‍चित समय अवधि र जुनसुकै ठाउँका सम्पूर्ण मसीहीहरूलाई नै ती कुरा दिनुभएको हो। साथै, आज परमेश्‍वरको मण्डलीमा खुसी र शान्ति छाएको छ भन्‍नुको मतलब पनि विश्‍वव्यापी मसीही भ्रातृत्वमा नै खुसी र शान्ति छाउनु हो।

१२. बाइबलले कुन तेस्रो अर्थमा “मण्डली” शब्दलाई प्रयोग गरेको छ?

१२ बाइबलले “मण्डली” शब्दलाई प्रयोग गरेको तेस्रो अर्थ हो, एउटा भौगोलिक क्षेत्रका सम्पूर्ण मसीहीहरूलाई बुझाउन। हामी यस्तो लेखिएको पाउँछौं: “सारा यहूदिया, गालील र सामरियाभरि मण्डलीमा शान्ति भयो।” (प्रेरित ९:३१, NW) त्यस ठूलो क्षेत्रमा मसीहीहरूको एकभन्दा बढी समूह थिए, तर यहूदिया, गालील र सामरियाका सबै मसीही समूहलाई समेटेर यहाँ “मण्डली” भनिएको छ। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा र त्यसपछि बप्तिस्मा लिनेहरूको संख्यालाई विचार गर्दा, यरूशलेमको क्षेत्रमा नियमित रूपले भेला हुने समूह पनि एकभन्दा बढी नै हुनुपर्छ। (प्रेरित २:४१, ४६, ४७; ४:४; ६:१, ७) हेरोद अग्रिपा प्रथमले इस्वी संवत्‌ ४४ मा आफ्नो मृत्यु नभइन्जेल यहूदियामा शासन गरे। पहिलो थिस्सलोनिकी २:१४ बाट यो स्पष्ट हुन्छ कि इस्वी संवत्‌ ५० अघि नै यहूदियामा थुप्रै मण्डलीहरू भइसकेका थिए। त्यसैले, हेरोद राजाले “मण्डलीका कुनै कुनैलाई अत्याचार गर्नालाई . . . हात बढाए” भन्‍ने वाक्यले यरूशलेममा भेला हुने एकभन्दा बढी मण्डलीहरूलाई बुझाउन सक्छ।—प्रेरित १२:१.

१३. बाइबलले “मण्डली” शब्दलाई प्रयोग गरेको चौथो र प्रचलित अर्थ के हो?

१३ बाइबलले “मण्डली” शब्दलाई प्रयोग गरेको चौथो तरिका झन्‌ सीमित र प्रचलित अर्थमा छ। मतलब, “मण्डली” शब्दले एउटा स्थानीय मण्डलीलाई बुझाउँछ र यो घरमा हुने मण्डली पनि हुन सक्छ। पावलले ‘गलातियाका मण्डलीहरूबारे’ उल्लेख गरे। त्यो ठूलो रोमी प्रान्तमा एकभन्दा बढी त्यस्ता मण्डलीहरू थिए। पावलले गलातियाको सन्दर्भमा दुई पटक “मण्डलीहरू” भनेर बहुवचन चलाए जसमा एन्टिओक, डर्बी, लिस्त्रा र आइकोनियमका मण्डलीहरू समावेश थिए। ती स्थानीय मण्डलीहरूको रेखदेख गर्न योग्य अनि परिपक्व धर्मगुरुहरू वा निरीक्षकहरू नियुक्‍त गरिए। (१ कोरिन्थी १६:१; गलाती १:२; प्रेरित १४:१९-२३) बाइबलमा बताइएअनुसार, ती जम्मै मण्डलीहरू “परमेश्‍वरका मण्डली” थिए।—१ कोरिन्थी ११:१६; २ थिस्सलोनिकी १:४.

१४. केही बाइबल पदहरूमा प्रयोग गरिएको “मण्डली” शब्दबाट हामी कस्तो निचोडमा पुग्न सक्छौं?

१४ कुनै-कुनै अवस्थामा मसीही सभाहरूको निम्ति भेला हुने समूहहरू निजी घरको कोठामै अटाउने खालका पनि भएको हुनुपर्छ। त्यस्ता साना समूहहरू बुझाउन पनि “मण्डली” शब्द प्रयोग गरिन्थ्यो। हामीलाई थाह भएको अक्वीला तथा प्रिस्का अनि निम्फस र फिलेमोनका घरमा भएका मण्डलीहरू पनि त्यस्तै थिए। (रोमी १६:३-५; कलस्सी ४:१५; फिलेमोन २) यो कुरा, आज पनि निजी घरमा नियमित रूपमा सभा गर्ने स-साना मण्डलीहरूका लागि प्रोत्साहनको स्रोत हुनुपर्ने हो। जसरी प्रथम शताब्दीमा स-साना मण्डलीहरूलाई यहोवाले स्वीकार्नुभयो त्यसै गरी आजका मण्डलीहरूलाई पनि उहाँले पवित्र आत्माद्वारा आशिष्‌ दिएर स्वीकार्नुहुन्छ।

मण्डलीहरूले यहोवाको प्रशंसा गर्छन्‌

१५. प्रथम शताब्दीका केही मण्डलीमा पवित्र आत्माले काम गरेको कसरी देखियो?

१५ माथि बताइएअनुसार भजन २२:२२ को पूर्तिमा येशूले मण्डलीको बीचमा परमेश्‍वरको प्रशंसा गर्नुभयो। (हिब्रू २:१२, NW) उहाँका विश्‍वासी अनुयायीहरूले पनि त्यसै गर्नुपर्थ्यो। प्रथम शताब्दीमा साँचो मसीहीहरूलाई परमेश्‍वरका पुत्र र ख्रीष्टका भाइ हुन पवित्र आत्माद्वारा अभिषिक्‍त गरिंदा तिनीहरूमध्ये केहीले पवित्र आत्माबाट थप विशेष शक्‍ति पाए। तिनीहरूले पवित्र आत्माद्वारा चमत्कारी काम गर्न सक्ने वरदान पाए। तिनीहरूले गरेका ती चमत्कारका काममध्ये यी केही हुन्‌: बुद्धि र ज्ञानको कुरा बोल्नु, निको पार्नु र भविष्यवाणी गर्नु अनि आफूले नजानेको भाषा समेत बोल्न सक्नु।—१ कोरिन्थी १२:४-११.

१६. पवित्र आत्माद्वारा चमत्कारी वरदान पाउनुको एउटा लक्ष्य के थियो?

१६ अन्य भाषा बोल्ने सन्दर्भमा पावलले यसो भने: “म आत्माले स्तुति गर्दा समझले पनि स्तुति गर्नेछु।” (१ कोरिन्थी १४:१५) अरूलाई सिकाउन आफूले बोलेको कुरा तिनीहरूले बुझ्नु महत्त्वपूर्ण छ भनी पावलले बुझेका थिए। पावलको लक्ष्य भनेको मण्डलीमा यहोवाको प्रशंसा गर्नु थियो। पवित्र आत्माको वरदान पाएकाहरूलाई तिनले यस्तो आग्रह गरे: “मण्डलीको सुधारको निम्ति प्रशस्त हुनालाई प्रयत्न गर।” यहाँ मण्डली भन्‍नाले स्थानीय मण्डलीलाई बुझाउँछ जहाँ तिनीहरूले चमत्कारी वरदान प्रदर्शित गरे। (१ कोरिन्थी १४:४, ५, १२, २३) स्पष्ट छ, पावलले स्थानीय मण्डलीहरूमा चासो लिन्थे यो जानेर कि त्यहाँ मसीहीहरूले परमेश्‍वरको प्रशंसा गर्ने मौका पाउने थिए।

१७. आज स्थानीय मण्डलीहरूको सन्दर्भमा हामी कुन कुराबारे निश्‍चित हुन सक्छौं?

१७ यहोवाले आफ्नो मण्डलीलाई प्रयोग र समर्थन गर्न अझै छोड्‌नुभएको छैन। उहाँले आज पृथ्वीमा रहेका अभिषिक्‍त मसीहीहरूको समूहलाई आशिष्‌ दिइरहनुभएको छ। यसको प्रमाण, परमेश्‍वरका जनहरूले पाइरहेको प्रशस्त आध्यात्मिक भोजन हो। (लूका १२:४२) उहाँले हाम्रो विश्‍वव्यापी भाइचारामाथि आशिष्‌ खन्याइरहनुभएको छ। अनि उहाँले स्थानीय मण्डलीहरूलाई पनि आशिष्‌ दिइरहनुभएको छ जहाँ हामी आफ्नो काम र उत्थानदायी आध्यात्मिक टिप्पणीद्वारा हाम्रो सृष्टिकर्ताको प्रशंसा गर्छौं। त्यहाँ हामी शिक्षा र प्रशिक्षण पाउँछौं जसले गर्दा मण्डलीमा उपस्थित नभएको बेला पनि परमेश्‍वरको प्रशंसा गर्न सक्छौं।

१८, १९. स्थानीय मण्डलीका निष्कपट मसीहीहरू के गर्न चाहन्छन्‌?

१८ म्यासिडोनियाको फिलिप्पीमा भएको मण्डलीका मसीहीहरूलाई प्रेरित पावलले गरेको आग्रहलाई सम्झनुहोस्‌। तिनले यस्तो आग्रह गरे: “म यही प्रार्थना गर्दछु कि [तिमीहरू] परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्टद्वारा हुने धार्मिकताका फलले भरिपूर हुँदैजाओ।” त्यस आग्रहमा येशूप्रतिको आफ्नो विश्‍वास र अद्‌भुत आशाबारे अरूलाई बताउने कुरा समावेश थियो। (फिलिप्पी १:९-११; ३:८-११) त्यही कारण त पावलले सँगी मसीहीहरूलाई यस्तो आग्रह गरे: “[येशूद्वारा] नै हामी निरन्तर स्तुतिको बलिदान परमेश्‍वरलाई चढाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।”—हिब्रू १३:१५.

१९ के तपाईंलाई येशूले जस्तै “मण्डलीको बीचमा” र आजसम्म यहोवालाई नचिनेका र महिमा नगरेकाहरूको अघि उहाँको प्रशंसा गर्नुमा आनन्द लाग्छ? (हिब्रू २:१२; रोमी १५:९-११) केही हदसम्म यस प्रश्‍नप्रतिको हाम्रो जवाफ परमेश्‍वरको उद्देश्‍य पूरा गर्नुमा स्थानीय मण्डलीले खेल्ने भूमिकाबारे हाम्रो सोचाइमा भर पर्छ। यहोवाले हाम्रो स्थानीय मण्डलीलाई कसरी डोऱ्‍याइरहनुभएको र चलाइरहनुभएको छ अनि हाम्रो जीवनमा यसको भूमिका कस्तो हुनुपर्छ भन्‍नेबारे अर्को लेखमा विचार गर्नेछौं। (w 07 4/15)

[फुटनोटहरू]

a हिब्रू र युनानी भाषामा “मण्डली” अर्थ बुझाउने शब्दलाई नेपाली बाइबलमा विभिन्‍न शब्दहरू चलाएर अनुवाद गरिएको छ। जस्तै: सभा, भीड, समुदाय, समाज, भेला, मण्डली आदि। यस लेखमा, एउटा खास उद्देश्‍यको लागि एकसाथ भेला भएका मानिसहरूको समूह बुझाउने हिब्रू शब्दमा ध्यान दिइएको छ।

के तपाईंलाई याद छ?

• अभिषिक्‍त मसीहीहरूद्वारा बनेको “परमेश्‍वरको मण्डली” कसरी अस्तित्वमा आयो?

• बाइबलले “मण्डली” शब्दलाई अरू कुन तीन अर्थमा प्रयोग गरेको छ?

• मण्डलीको सन्दर्भमा दाऊद, येशू र प्रथम शताब्दीका मसीहीहरूले के गर्न चाहे र यसले हामीलाई कस्तो असर पार्नुपर्ने हो?

[पृष्ठ ९-मा भएको चित्र]

येशू कुन चाहिं मण्डलीको जग हुनुहुन्थ्यो?

[पृष्ठ १२-मा भएको चित्र]

बेनिनका मसीहीहरू जस्तै हामी पनि एकसाथ भेला भएर यहोवाको प्रशंसा गर्न सक्छौं

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने