अध्याय ६
सहायक सेवकहरू बहुमूल्य सेवा चढाउँछन्
फिलिप्पिमा भएको मण्डलीलाई प्रेषित पावलले यस्तो लेखे: “ख्रिष्ट येसुका दास हामी पावल र तिमोथि फिलिप्पिमा बस्ने ती सबै पवित्र जन, जो ख्रिष्ट येसुसित एकतामा छन्, उनीहरूका साथै निरीक्षकहरू र सहायक सेवकहरूलाई लेख्दै छौँ।” (फिलि. १:१) याद गर्नुहोस्, तिनले सहायक सेवकहरूलाई पनि अभिवादन गरे। स्पष्ट छ, यी पुरुषहरूले त्यतिबेलाको मण्डलीका एल्डरहरूलाई सघाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। वर्तमान समयमा पनि सहायक सेवकहरूको भूमिकाबारे यसै भन्न सकिन्छ। तिनीहरूले गर्ने सेवाले गर्दा निरीक्षकहरूलाई मदत पुग्छ र यसले मण्डलीलाई व्यवस्थित पार्न सघाउ पुऱ्याउँछ।
२ के तपाईँ आफ्नो मण्डलीका सहायक सेवकहरूलाई चिन्नुहुन्छ? तपाईँ र सम्पूर्ण मण्डलीको हितको लागि उनीहरूले गर्ने कामबारे के तपाईँलाई थाह छ? यी पुरुषहरूले गरेको प्रयासको यहोवा साँच्चै कदर गर्नुहुन्छ। पावलले यस्तो लेखे: “राम्ररी सेवा गर्ने पुरुषहरूले असल नाम कमाउँछन् र तिनीहरूले निर्धक्क भई साहसका साथ ख्रिष्ट येसुमा भएको विश्वासबारे बोल्न सक्छन्।”—१ तिमो. ३:१३.
सहायक सेवक हुन पूरा गर्नुपर्ने धर्मशास्त्रीय योग्यता
३ सहायक सेवकहरू नैतिक रूपमा स्वच्छ, भरोसायोग्य र आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्ने हुनुपर्छ। यो कुरा पावलले तिमोथिलाई सहायक सेवक हुन पूरा गर्नुपर्ने योग्यताबारे लेखेको कुराबाट प्रस्ट हुन्छ। तिनले यसो भने: “त्यसैगरि सहायक सेवक गम्भीर हुनुपर्छ, दुईजिब्रे हुनु हुँदैन, तिनले धेरै मद्यपान गर्नु हुँदैन र बेइमानीद्वारा केही पाउने लोभ गर्नु हुँदैन, तिनले सफा अन्तस्करणले विश्वास अर्थात् पवित्र रहस्यलाई पक्रनुपर्छ। यसबाहेक पहिले तिनीहरूको योग्यता जाँच्नुपर्छ र दोषरहित पाइएपछि तिनीहरूलाई सेवकको रूपमा सेवा गर्न दिनुपर्छ। सहायक सेवकहरू एकै जना स्त्रीको पति होऊन् अनि तिनीहरूले आफ्ना छोराछोरी र घरपरिवारको राम्ररी अगुवाइ लिऊन्।” (१ तिमो. ३:८-१०, १२) सहायक सेवकहरू बाइबलले उनीहरूका लागि तोकेको उच्च स्तरअनुरूप चल्नुपर्छ। यसो गरेमा मण्डलीमा विशेष जिम्मेवारी सम्हाल्ने यी पुरुषहरूमाथि कसैले प्रश्न खडा गर्न पाउनेछैन।
४ चाहे जवान होऊन् या वृद्ध, सहायक सेवकहरू प्रत्येक महिना प्रचारकार्यमा सक्रिय भई लाग्नुपर्छ। येसुको अनुकरण गर्दै तिनीहरू सेवाको काममा जोसिलो हुनुपर्छ। तिनीहरूको यस्तो जोसले यहोवा मानिसहरूको उद्धार गर्न कत्ति इच्छुक हुनुहुन्छ भनेर देखाउँछ।—यसै. ९:७.
५ सहायक सेवकहरू पहिरन, कोरीबाटी, बोलीचाली, मनोवृत्ति र आचरणमा पनि उदाहरणीय हुनुपर्छ। तिनीहरू सुझबुझ चलाउन सक्ने हुनुपर्छ। यसरी सुझबुझ चलाउने भाइहरूले अरूबाट आदर कमाएका हुन्छन्। साथै तिनीहरूले यहोवासितको आफ्नो सम्बन्ध र मण्डलीमा आफूले पाएको सुअवसरलाई गम्भीरतासाथ लिनुपर्छ।—ति. २:२, ६-८.
६ सहायक सेवकको रूपमा नियुक्त हुनुअघि नै यी भाइहरूको ‘योग्यता जाँच’ भइसकेको हुन्छ। भन्नुको मतलब, तिनीहरूले आफ्नो समर्पणअनुरूप जीवन बिताइरहेका हुन्छन्। तिनीहरूले राज्य गतिविधिलाई जीवनमा पहिलो स्थान दिएका हुन्छन् र सेवाको सुअवसरहरूको लागि अघि बढिरहेका हुन्छन्। साँच्चै, तिनीहरू मण्डलीका दाजुभाइ दिदीबहिनीको लागि उदाहरण हुन्।—१ तिमो. ३:१०.
सहायक सेवकको जिम्मेवारी
७ सहायक सेवकहरू मण्डलीका दाजुभाइ दिदीबहिनीको सेवा गर्न विभिन्न जिम्मेवारी पूरा गर्छन्, जसले गर्दा निरीक्षकहरूले बगाललाई सिकाउने र गोठालोले झैँ हेरचाह गर्ने काममा अझ धेरै समय दिन पाउँछन्। सहायक सेवकहरूलाई जिम्मेवारीहरू दिनुअघि एल्डरहरूको निकायले मण्डलीको आवश्यकता र ती सहायक सेवकहरूको क्षमता विचार गर्छ।
सहायक सेवकहरू विभिन्न जिम्मेवारी पूरा गर्छन्, जसले गर्दा निरीक्षकहरूले बगाललाई सिकाउने र गोठालोले झैँ हेरचाह गर्ने काममा अझ धेरै समय दिन पाउँछन्
८ सहायक सेवकहरूको केही जिम्मेवारी विचार गर्नुहोस्। एक जना सहायक सेवकलाई साहित्यको रेखदेख गर्ने जिम्मेवारी दिइएको हुन सक्छ। तिनको यस्तो कामले गर्दा हामीले आफ्नो लागि र प्रचारकार्यको लागि प्रकाशनहरू सजिलै पाउन सक्छौँ। अरू सहायक सेवकलाई भने मण्डलीको लेखा वा इलाकाको रेकर्ड राख्ने जिम्मेवारी सुम्पिइएको हुन सक्छ। अरू कसैलाई चाहिँ मञ्च र टिप्पणीको लागि माइक मिलाउने, साउन्ड सिस्टम चलाउने र परिचारकको सेवा गर्ने जिम्मेवारी सुम्पिइएको हुन्छ। साथै एल्डरहरूलाई मदत गर्न अरू विभिन्न जिम्मेवारी पनि सुम्पिइएको हुन्छ। सभाभवनको स्याहारसम्भार गर्न र यसलाई सफा-सुग्घर राख्न धेरै काम गर्नुपर्ने हुन्छ। त्यसकारण यी कामहरूको हेरविचार गर्न साधारणतया सहायक सेवकहरूको मदत लिने गरिन्छ।
९ सहायक सेवकको सङ्ख्या धेरै भएको मण्डलीमा हरेकलाई भिन्नाभिन्नै जिम्मेवारी दिन सकिन्छ। अरू मण्डलीमा चाहिँ एकै जना सहायक सेवकले धेरै जिम्मेवारी सम्हाल्नुपर्ने हुन सक्छ। कुनै-कुनै अवस्थामा एउटै जिम्मेवारी एकभन्दा धेरै सहायक सेवकले सम्हाल्छन्। मण्डलीमा सहायक सेवकहरू थोरै छन् भने एल्डरहरूको निकायले यी जिम्मेवारीहरू सम्हाल्न बप्तिस्मा गरेका उदाहरणीय भाइहरूलाई खटाउन सक्छ। यसो गर्दा तिनीहरूले अनुभव बटुल्नेछन् र पछि सहायक सेवक नियुक्त हुँदा त्यो अनुभव उपयोगी साबित हुनेछ। मण्डलीमा भाइहरू छैनन् भने कुनै-कुनै कामको लागि उदाहरणीय बहिनीहरूको सहयोग माग्न सकिन्छ। तर पक्कै पनि उनीहरू सहायक सेवकको रूपमा नियुक्त भने हुँदैनन्। कुनै भाइ वा बहिनीको आचरण र विश्वास अनुकरण गर्न लायकको छ भने तिनलाई उदाहरणीय भन्न सकिन्छ। तिनी सभा र प्रचारकार्यको उपस्थिति, पारिवारिक जीवन, मनोरञ्जन, पहिरन तथा कोरीबाटीजस्ता क्षेत्रहरूमा अरूको लागि असल उदाहरण हुन्छन्।
१० थोरै एल्डर भएका मण्डलीहरूमा परिपक्व सहायक सेवकहरूलाई बप्तिस्मा गर्न लागेका व्यक्तिहरूसित बाइबलका शिक्षाहरूबारे सोधिएका प्रश्नहरू छलफल गर्ने जिम्मेवारी दिन सकिन्छ। ती प्रश्नहरू अतिरिक्त लेखको “भाग १: ख्रिष्टियन विश्वास”-मा पाइन्छ। तर “भाग २: ख्रिष्टियन जीवन”-मा व्यक्तिगत र संवेदनशील विषयहरू भएकोले यसलाई एल्डरले मात्र छलफल गर्नुपर्छ।
११ आवश्यक परेमा मण्डलीको हितको लागि एल्डरहरूको निकायले कहिलेकाहीँ सहायक सेवकहरूको जिम्मेवारीमा केही छाँटकाँट गर्न सक्छ। तर कुनै जिम्मेवारी लामो समयसम्म एकै जना भाइलाई दिनु बेस हो किनभने यसो गर्दा ती भाइ त्यस काममा अनुभवी र दक्ष हुनेछन्।
१२ आफ्नो “प्रगति सबै मानिससामु स्पष्टै” देखाएका सहायक सेवकहरूलाई स्थानीय मण्डलीको आवश्यकताअनुसार अरू जिम्मेवारी पनि दिन सकिन्छ। (१ तिमो. ४:१५) एल्डरहरू थोरै छन् भने सहायक सेवकलाई समूह निरीक्षकको सहायकको रूपमा सेवा गर्न खटाउन सकिन्छ। अथवा समूह सेवकको रूपमा पनि खटाउन सकिन्छ। समूह सेवकले एल्डरहरूको निर्देशनअनुसार काम गर्नुपर्छ। सहायक सेवकहरूलाई जीवन र सेवा सभामा कुनै-कुनै भाग प्रस्तुत गर्न दिन सकिन्छ। साथै जनभाषण दिने र आवश्यक परेमा मण्डली बाइबल अध्ययन सञ्चालन गर्ने जिम्मेवारी पनि दिन सकिन्छ। आवश्यकताअनुसार केही सहायक सेवकलाई अरू जिम्मेवारी पनि दिन सकिन्छ। यसको लागि तिनीसित उक्त जिम्मेवारी सम्हाल्न सक्ने योग्यता हुनुपर्छ। (१ पत्रु. ४:१०) सहायक सेवकहरूले एल्डरहरूलाई राजीखुसीले मदत गर्नुपर्छ।
१३ हुनत सहायक सेवकहरूको काम एल्डरहरूको भन्दा फरक हुन्छ। तैपनि तिनीहरूको काम परमेश्वरलाई चढाइने पवित्र सेवाको उत्तिकै महत्त्वपूर्ण भाग हो र यसले मण्डलीलाई व्यवस्थित राख्न सघाउँछ। सहायक सेवकहरू आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्छन् अनि मण्डलीमा गोठालो र शिक्षकको रूपमा सेवा गर्ने योग्यता हासिल गरेका छन् भने समयको दौडान तिनीहरूलाई एल्डरको रूपमा सेवा गर्न सिफारिस गर्न सकिन्छ।
१४ तपाईँ किशोरावस्थाको अथवा भर्खरै बप्तिस्मा गरेको भाइ हुनुहुन्छ भने के तपाईँ सहायक सेवक बन्न अघि बढ्दै हुनुहुन्छ? (१ तिमो. ३:१) प्रत्येक वर्ष लाखौँ मानिसले बप्तिस्मा गर्छन्। त्यसैले मण्डलीका जिम्मेवारीहरू सम्हाल्न आध्यात्मिक रूपमा परिपक्व भाइहरूको खाँचो पनि बढ्दै छ। अरूलाई मदत गर्ने इच्छा विकास गरेर तपाईँ सहायक सेवक बन्नको लागि अघि बढ्न सक्नुहुन्छ। त्यस्तो इच्छा विकास गर्ने एउटा तरिका येसुले बसाल्नुभएको उत्कृष्ट उदाहरणमा मनन गरेर हो। (मत्ति २०:२८; युह. ४:६, ७; १३:४, ५) अरूलाई मदत गर्दा तपाईँ आनन्दित हुनुहुनेछ र यस्तो आनन्दले अरूको सेवा गर्ने इच्छा झनै बढ्नेछ। (प्रेषि. २०:३५) त्यसैले अरूलाई मदत गर्न अनि सभाभवनको मर्मतसम्भार गर्न अग्रसर हुनुहोस्। साथै जीवन र सेवा सभामा विद्यार्थीको असाइनमेन्ट पाएका कोही उपस्थित हुन सकेनन् भने तिनलाई दिइएको भाग पूरा गर्न तयार हुनुहोस्। अघि बढ्ने अर्को तरिका भनेको नियमित रूपमा व्यक्तिगत अध्ययन गर्ने बानी बसालेर आध्यात्मिक गुणहरू विकास गर्नु पनि हो। (भज. १:१, २; गला. ५:२२, २३) साथै अघि बढिरहेका भाइले मण्डलीमा आफूले पाएको जिम्मेवारी पूरा गर्दा आफूलाई भरपर्दो र विश्वासयोग्य साबित गर्छन्।—१ कोरि. ४:२.
१५ सहायक सेवकहरू मण्डलीको हितको लागि पवित्र शक्तिद्वारा नियुक्त हुन्छन्। सहायक सेवकहरूले आफ्नो जिम्मेवारी पूरा गर्दा उनीहरूलाई सक्दो सहयोग गरेर हामी उनीहरूको मेहनतको कदर गरेको देखाउन सक्छौँ। यसो गरेर यहोवाले आफ्नो सङ्गठनलाई व्यवस्थित पार्न गर्नुभएको प्रबन्धप्रति आभारी भएको देखाउन सक्छौँ।—गला. ६:१०.