अध्याय ७
“प्रेम र सुकर्म गर्न उत्साहित” बनाउने सभाहरू
धेरै पहिलेदेखि यहोवाका जनहरू व्यवस्थित रूपमा भेला हुँदै आएका छन्। प्राचीन इस्राएलमा सबै पुरुष वर्षको तीन पटक ठूलठूला चाड मनाउन यरुसलेम जान्थे। (व्यव. १६:१६) प्रथम शताब्दीमा पनि ख्रिष्टियनहरू नियमित रूपमा भेला हुन्थे। प्रायजसो तिनीहरू कसैको घरमा भेला हुन्थे। (फिले. १, २) आज हामी पनि सभा, सम्मेलन र अधिवेशनमा भेला हुन पाउँदा रमाउँछौँ। परमेश्वरका सेवकहरू किन एक ठाउँमा भेला हुन्छन्? किनभने यो हाम्रो उपासनाको एउटा महत्त्वपूर्ण भाग हो।—भज. ९५:६; कल. ३:१६.
२ सभाहरूमा उपस्थित भएर सबैले लाभ उठाउन सक्छन्। सात वर्षको एक चोटि मनाइने झुप्रोबासको चाडबारे इस्राएलीहरूलाई यसो भनिएको थियो: “त्यहाँ पुरुष, स्त्री, तिमीहरूका छोराछोरी र तिमीहरूको सहरमा बस्ने विदेशी सबैलाई भेला गराउनू। तिनीहरूले यहोवा परमेश्वरबारे सुनून्, सिकून् र उहाँको डर मानून् अनि यस व्यवस्थामा लेखिएका सबै कुरा पालन गरून्।” (व्यव. ३१:१२) हामी एक ठाउँमा भेला हुनुको एउटा महत्त्वपूर्ण कारण ‘यहोवाबाट शिक्षा पाउन’ हो। (यसै. ५४:१३) साथै सभाहरूमा एकअर्कालाई राम्ररी चिन्ने र प्रोत्साहन आदानप्रदान गर्ने मौका पाउँछौँ अनि एकअर्कासित सङ्गत गरेर बल पाउँछौँ।
मण्डलीका सभाहरू
३ इस्वी संवत् ३३ पेन्तिकोसपछि एकसाथ भेला भएका ख्रिष्टियनहरू प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे र “एउटै उद्देश्य लिएर तिनीहरू दिनहुँ मन्दिरमा भेला हुन्थे।” (प्रेषि. २:४२, ४६) पछि ख्रिष्टियनहरू उपासना गर्न एक ठाउँमा भेला हुँदा परमेश्वरको प्रेरणाद्वारा लेखिएका लेखोटहरू पढ्ने गर्थे, जसमा प्रेषित र अरू चेलाहरूले लेखेका पत्रहरू पनि पर्थे। (१ कोरि. १:१, २; कल. ४:१६; १ थिस्स. १:१; याकु. १:१) त्यतिबेला मण्डलीमा एकसाथ प्रार्थना पनि गरिन्थ्यो। (प्रेषि. ४:२४-२९; २०:३६) समय-समयमा मिसनरीहरूले प्रचारकार्यमा बटुलेका अनुभवहरू सुनाउँथे। (प्रेषि. ११:५-१८; १४:२७, २८) बाइबलको शिक्षा र भविष्यवाणीहरूको पूर्तिबारे छलफल गरिन्थ्यो। ख्रिष्टियनहरूको आचरण कस्तो हुनुपर्छ र परमेश्वरको भक्ति कसरी गर्नुपर्छ भनेर सल्लाह-सुझाव दिइन्थ्यो। सबैलाई जोसिलो भएर सुसमाचार प्रचार गर्न प्रोत्साहन दिइन्थ्यो।—रोमी १०:९, १०; १ कोरि. ११:२३-२६; १५:५८; एफि. ५:१-३३.
अन्तको दिनमा बाँचिरहेकोले हामीलाई सभाहरूमा एकसाथ भेला हुँदा पाइने थप प्रोत्साहनको खाँचो छ
४ आज हामी पनि प्रेषितहरूको समयका सभाहरूको नमुना पछ्याउँछौँ। हामी हिब्रू १०:२४, २५ मा पाइने यो सल्लाह पालन गर्छौँ: ‘आपसमा गहिरो चासो राखौँ। कसै-कसैलाई एकसाथ भेला हुन छोड्ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ, बरु एकअर्कालाई प्रोत्साहन दिइरहौँ अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन् बढी त्यसो गरिरहौँ।’ अन्तको दिनमा बाँचिरहेकोले हामीलाई सभाहरूमा एकसाथ भेला हुँदा पाइने थप प्रोत्साहनको खाँचो छ। सभाहरूमा नियमित रूपमा भेला हुँदा हामी परमेश्वरसितको सम्बन्ध बलियो बनाइराख्न र आफ्नो निष्ठा कायम राख्न मदत पाउँछौँ। (रोमी १:११, १२) हामी ख्रिष्टियनहरू टेढो र बेइमान पुस्ताबीच बाँचिरहेका छौँ। तर हामीले यस युगको भक्तिहीनता र सांसारिक इच्छाहरू त्यागेका छौँ। (फिलि. २:१५, १६; ति. २:१२-१४) त्यसैले यस कठिन समयमा यहोवाका मानिसहरूमाझ हुन पाउनुभन्दा उत्तम कुरा अरू के होला र? (भज. ८४:१०) साथै परमेश्वरको वचन अध्ययन गर्नु र त्यसबाट छलफल गर्नुभन्दा लाभदायी कुरा अरू के होला र? हाम्रो हितको लागि प्रबन्ध गरिएका विभिन्न सभाबारे विचार गरौँ।
सप्ताहन्तको सभा
५ सप्ताहन्तको सभाको पहिलो भागमा जनसाधारणलाई ध्यानमा राखेर बाइबलमा आधारित भाषण दिइन्छ। तिनीहरूमध्ये कोही-कोही पहिलो पटक आएका व्यक्तिहरू हुन सक्छन्। जनभाषणले मण्डलीका प्रकाशकहरूको अनि भर्खरै सभामा आउन थालेका व्यक्तिहरूको आध्यात्मिक आवश्यकता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।—प्रेषि. १८:४; १९:९, १०.
६ ख्रिष्ट येसु, उहाँका प्रेषितहरू र तिनीहरूका सहयोगीहरूले पनि आज यहोवाका मानिसहरूको मण्डलीले जस्तै जनसभा सञ्चालन गर्नुहुन्थ्यो। येसु अहिलेसम्मकै सबैभन्दा प्रभावशाली वक्ता हुनुहुन्छ भन्ने कुरामा कुनै शङ्का छैन। उहाँको विषयमा मानिसहरूले यसो भने: “यो मानिसले जस्तो त कसैले बोलेको छैन।” (युह. ७:४६) येसु अख्तियार पाएको व्यक्तिले जस्तो गरी सिकाउनुहुन्थ्यो। त्यसैले मानिसहरू उहाँको सिकाउने तरिका देखेर छक्क पर्थे। (मत्ति ७:२८, २९) उहाँको शिक्षालाई मनैदेखि स्विकार्ने मानिसहरूले थुप्रै लाभ उठाए। (मत्ति १३:१६, १७) प्रेषितहरूले येसुको उदाहरण अनुकरण गरे। प्रेषित २:१४-३६ मा पत्रुसले इस्वी संवत् ३३ पेन्तिकोसमा जोडदार भाषण दिएको विवरण पाउँछौँ। तिनको कुरा सुनेर हजारौँ मानिस बप्तिस्मा गर्न उत्प्रेरित भए। त्यसको केही समयपछि पावलले एथेन्समा दिएको भाषण सुनेर मानिसहरू येसुको चेला बने।—प्रेषि. १७:२२-३४.
७ त्यसैगरि आज हाम्रो समयमा पनि मण्डलीहरूमा हरेक हप्ता दिइने जनभाषणका साथै सम्मेलन तथा अधिवेशनहरूमा दिइने जनभाषणहरूबाट लाखौँ मानिसले लाभ उठाएका छन्। यी भाषणहरूले हामीलाई बाइबलको शिक्षामा ध्यान दिइरहन र राज्य गतिविधिमा स्थिर भएर लागिरहन मदत दिन्छ। हामी जिज्ञासु व्यक्तिहरूलाई अनि अरू मानिसहरूलाई यस सभामा निम्तो दिन्छौँ। यसो गरेर हामीले तिनीहरूलाई बाइबलका आधारभूत शिक्षा सिक्न मदत गरिरहेका हुन्छौँ।
८ जनभाषणहरू विभिन्न विषयमा दिइन्छ। जस्तै: बाइबलको शिक्षा र भविष्यवाणी, पारिवारिक जीवन र वैवाहिक सम्बन्धमा लागू हुने बाइबलका सिद्धान्त र सल्लाहहरू, युवाहरूले सामना गर्ने चुनौतीहरू र ख्रिष्टियनहरूले पालन गर्नुपर्ने नैतिक स्तरहरू। यहोवाको आश्चर्यजनक सृष्टिबारे पनि भाषण दिइन्छ। कहिलेकाहीँ भने बाइबलका पात्रहरूले देखाएको विश्वास, साहस र निष्ठामा जोड दिइन्छ र उनीहरूबाट कस्तो पाठ सिक्न सकिन्छ भनेर चर्चा गरिन्छ।
९ जनभाषणबाट पूरापूर लाभ उठाउन हामीले ध्यान दिएर भाषण सुन्नु अनि वक्ताले बाइबल पद पढ्दा र त्यसको व्याख्या गर्दा तिनीसँगसँगै बाइबल खोलेर हेर्नु महत्त्वपूर्ण छ। (लुका ८:१८) छलफल गरिएको कुरालाई यसरी जाँच्दा हामी आफूले सिकेका कुराहरूलाई पक्रिराख्न र ती आफ्नो जीवनमा लागू गर्न मदत पाउँछौँ।—१ थिस्स. ५:२१.
१० जनभाषण दिने भाइहरू उपलब्ध छन् भने हरेक हप्ता जनभाषण दिने प्रबन्ध मिलाउनुपर्छ। यसको लागि नजिकैको मण्डलीबाट अतिथि वक्ता बोलाउन सकिन्छ। वक्ताहरू थोरै छन् भने पनि सम्भव भएसम्म जनभाषण दिने प्रबन्ध मिलाउनुपर्छ।
११ सप्ताहन्तको सभाको दोस्रो भाग प्रहरीधरहरा अध्ययन हो। यस सभामा प्रहरीधरहरा-को अध्ययन संस्करणमा छापिएका लेखहरूलाई प्रश्न-उत्तर गर्दै छलफल गरिन्छ। यहोवा हामीलाई प्रहरीधरहरा-मार्फत ठीक समयमा आध्यात्मिक भोजन दिनुहुन्छ।
१२ प्रहरीधरहरा-का अध्ययन लेखहरूमा बाइबलका सिद्धान्तहरू दैनिक जीवनमा कसरी लागू गर्नुपर्छ भनेर बताइएको हुन्छ। यसले ख्रिष्टियनहरूलाई “संसारको मनोभाव”-को प्रतिरोध गर्न र अशुद्ध आचरणबाट अलग रहन बल दिन्छ। (१ कोरि. २:१२) प्रहरीधरहरा-मार्फत यहोवाले बाइबलको शिक्षा र भविष्यवाणीको पूर्ति बुझ्न हामीलाई थप ज्योति दिनुहुन्छ। यसले गर्दा हाम्रो बुझाइमा गरिएका छाँटकाँटबारे थाह पाउन र धर्मीको बाटोमा हिँडिरहन सक्छौँ। (भज. ९७:११; हितो. ४:१८) प्रहरीधरहरा अध्ययनको सभामा उपस्थित भएर छलफलमा भाग लिँदा यहोवाले प्रतिज्ञा गर्नुभएको धार्मिक नयाँ संसारको आशामा रमाउन सक्नेछौँ। (रोमी १२:१२; २ पत्रु. ३:१३) ख्रिष्टियनहरूसितको सरसङ्गतिले हामीलाई पवित्र शक्तिको फलका विभिन्न पक्ष विकास गर्न र जोसिलो भई यहोवाको सेवा गर्ने इच्छालाई बलियो बनाउन मदत गर्छ। (गला. ५:२२, २३) साथै हामीलाई परीक्षाहरूको सामना गर्ने बल दिन्छ अनि ‘भविष्यको लागि राम्रो जग बसाल्न’ मदत गर्छ, जसले गर्दा हामी “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न” सक्छौँ।—१ तिमो. ६:१९; १ पत्रु. १:६, ७.
१३ हामीलाई आध्यात्मिक भोजन खुवाउन यहोवाले गर्नुभएको यस प्रबन्धबाट पूरापूर लाभ उठाउन के गर्न सक्छौँ? हामीले परिवारसँगै वा व्यक्तिगत रूपमा प्रहरीधरहरा-को अध्ययन लेख पहिल्यै तयारी गर्नुपर्छ, लेखमा उल्लेख गरिएका शास्त्रपदहरू पढ्नुपर्छ अनि सभामा आफ्नै शब्दमा टिप्पणी दिनुपर्छ। यसो गऱ्यौँ भने बाइबलको शिक्षा हाम्रो मनमा ठप्प बस्छ। अनि टिप्पणीद्वारा हामीले आफ्नो विश्वास व्यक्त गरेको सुनेर अरूले पनि लाभ उठाउँछन्। साथै हामीले अरूका टिप्पणीहरू ध्यान दिएर सुन्दा प्रहरीधरहरा अध्ययनबाट हरेक हप्ता लाभ उठाउन सक्छौँ।
मध्यहप्ताको सभा
१४ हरेक हप्ता मण्डलीका दाजुभाइ दिदीबहिनी हाम्रो ख्रिष्टियन जीवन र सेवा सभाको लागि सभाभवनमा भेला हुन्छन्। तीन भाग भएको यो सभाको उद्देश्य हामीलाई परमेश्वरको “योग्य” सेवक बन्न मदत गर्नु हो। (२ कोरि. ३:५, ६) हाम्रो ख्रिष्टियन जीवन र सेवा–अभ्यास पुस्तिका-मा महिनाभरि हुने सभाको तालिका अनि विषयवस्तु दिइएको हुन्छ। यस पुस्तिकामा प्रचारकार्यको लागि नमुना कुराकानी पनि दिइएको हुन्छ।
१५ जीवन र सेवा सभाको पहिलो भागलाई बाइबलमा पाइने अनमोल धन भनिन्छ। यस भागले हामीलाई बाइबल विवरणको सन्दर्भ अनि पृष्ठभूमिसित परिचित हुन र ती कुराहरू कसरी लागू गर्न सकिन्छ भनेर बुझ्न मदत गर्छ। यस भागमा भाषण, बाइबल पढाइ अनि साप्ताहिक बाइबल पढाइमा आधारित छलफल हुन्छ। जीवन र सेवा अभ्यास पुस्तिका-मा भएका चित्रहरू अनि अभ्यास सामग्रीले बाइबलका पाठहरू बुझ्न मदत गर्छ। यसरी बाइबलको गहिरो अध्ययन गर्दा परमेश्वरको स्तरअनुसार जीवन बिताउन मदत पाउँछौँ र हाम्रो सिकाउने कला पनि तिखारिन्छ। यसले हामीलाई “पूर्णतया योग्य र हरेक असल कामका लागि पूर्ण रूपमा तयार बनाउँछ।”—२ तिमो. ३:१६, १७.
१६ सभाको दोस्रो भाग कुराकानी गर्ने सीप तिखारौँ-बाट सबैले प्रचारकार्यको लागि अभ्यास गर्ने अनि प्रचार गर्ने र सिकाउने क्षमता तिखार्ने मौका पाउँछन्। यस भागमा विद्यार्थीको असाइनमेन्टका साथै नमुना कुराकानीको भिडियो पनि देखाइन्छ र छलफल गरिन्छ। यस भागले हामीलाई “तालिम पाएको जिब्रो” हासिल गर्न मदत गर्छ, जसको कारण हामी ‘थाकेकाहरूले स्फूर्ति पाउनेगरि जवाफ दिन’ सक्छौँ।—यसै. ५०:४.
१७ सभाको तेस्रो भाग ख्रिष्टियन जीवन-मा दैनिक जीवनमा बाइबलका सिद्धान्तहरू कसरी लागू गर्न सक्छौँ, त्यसबारे छलफल गरिन्छ। (भज. ११९:१०५) यस भागको मुख्य कार्यक्रम मण्डली बाइबल अध्ययन हो। प्रहरीधरहरा अध्ययनजस्तै मण्डली बाइबल अध्ययन पनि प्रश्न-उत्तर गर्दै सञ्चालन गरिन्छ।
१८ हरेक महिना जीवन र सेवा अभ्यास पुस्तिका पाएपछि एल्डरहरूको निकायको संयोजकले अथवा तिनलाई सहयोग गर्ने एल्डरले पुस्तिकाको विषयवस्तु राम्ररी हेरेर तालिका बनाउनुपर्छ। एल्डरहरूको निकायले छानेका एल्डरहरूमध्ये हरेक हप्ता एक जनाले चेयरम्यानको भूमिका निर्वाह गर्छन्। चेयरम्यान सिकाउनमा सिपालु हुनुपर्छ। तिनले सभा समयमै सुरु र अन्त भयो कि भएन, पक्का गर्नुपर्छ; विद्यार्थीहरूको प्रशंसा गर्नुका साथै तिनीहरूलाई आवश्यक सल्लाह पनि दिनुपर्छ।
१९ जीवन र सेवा सभाको लागि नियमित रूपमा तयारी गर्दा, त्यसमा उपस्थित हुँदा अनि भाग लिँदा बाइबलबाट धेरै कुरा सिक्न सक्छौँ, बाइबलका सिद्धान्तहरू बुझ्न सक्छौँ, प्रचारमा निर्धक्क भई बोल्न सक्छौँ अनि चेला बनाउने सीप तिखार्न सक्छौँ। बप्तिस्मा नगरेकाहरूले समेत न्यानो सङ्गति अनि उत्थानदायी छलफलबाट लाभ उठाउँछन्। हामीले यो र अरू सभाको तयारी गर्न वाचटावर लाइब्रेरी (अङ्ग्रेजी), JW लाइब्रेरी, प्रहरीधरहरा अनलाइन पुस्तकालय (आफ्नो भाषामा उपलब्ध छ भने) र सभाभवनमा भएको पुस्तकालय प्रयोग गर्न सक्छौँ। यस्तो पुस्तकालयमा हाल उपलब्ध यहोवाका साक्षीहरूको प्रकाशन, वाच टावर प्रकाशन सूची (अङ्ग्रेजी) वा यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी राखिएको हुन्छ। साथै विभिन्न बाइबल संस्करणहरू, अनुक्रमणिका, शब्दकोश र अरू उपयोगी किताबहरू पनि राखिएको हुन्छ। सभाको अघि वा पछि जो-कोहीले पनि पुस्तकालय प्रयोग गर्न सक्छ।
क्षेत्र सेवाको सभा
२० सप्ताहन्तलगायत हप्ताका अरू दिनमा प्रकाशकहरू प्रचारकार्यमा जानुअघि आ-आफ्नो क्षेत्र सेवा समूहमा भेला हुन्छन् र क्षेत्र सेवाको लागि छोटो सभा गरिन्छ। यस्ता सभाहरू कसैको घरमा वा सबैलाई पायक पर्ने ठाउँमा हुने गर्छ। सभाभवनमा पनि यस्तो सभा गर्न सकिन्छ। फरक-फरक ठाउँमा स-सानो समूह भेला हुने प्रबन्ध मिलाइएको छ भने प्रकाशकहरूलाई भेला हुने ठाउँ र प्रचार गर्ने इलाकासम्म जान सजिलो हुन्छ। साथै डोऱ्याउने भाइलाई पनि साथी मिलाउन सजिलो हुन्छ र तुरुन्तै इलाकामा जान सकिन्छ। समूह निरीक्षकले पनि आफ्नो समूहमा भएकाहरूको राम्ररी ख्याल राख्न सक्नेछन्। हुनत समूहहरू छुट्टाछुट्टै भेला हुनुका आफ्नै फाइदाहरू छन्। तर परिस्थितिअनुसार एकभन्दा बढी समूह एकै ठाउँमा भेला हुनुपर्ने पनि हुन सक्छ। उदाहरणको लागि, यदि मध्यहप्ताको भेलामा प्रकाशकहरू थोरै हुन्छन् भने कुनै-कुनै समूह एकै ठाउँमा भेला हुन सक्छन् अथवा पूरै मण्डली नै सभाभवनमा वा पायक पर्ने कुनै ठाउँमा भेला हुन सक्छ। यसो गर्दा प्रचारमा जाने साथी पाउन सजिलो हुन्छ। बिदाको दिनमा पनि पूरै मण्डली सभाभवनमा भेला हुने प्रबन्ध मिलाउन सकिन्छ। अथवा प्रहरीधरहरा अध्ययन सिद्धिएपछि पनि पूरै मण्डलीको लागि क्षेत्र सेवा सभाको प्रबन्ध गर्न सकिन्छ।
२१ समूहहरू छुट्टाछुट्टै भेला हुन्छन् भने समूह निरीक्षकले क्षेत्र सेवाको सभा सञ्चालन गर्छन्। समय-समयमा समूह निरीक्षकले आफ्नो सहायक वा कुनै योग्य भाइलाई क्षेत्र सेवाको सभा सञ्चालन गर्ने जिम्मेवारी दिन सक्छन्। सञ्चालकले प्रचारकार्यको लागि चाहिने व्यावहारिक र मदतकारी सुझावहरूबारे छलफल गर्न तयारी गर्नुपर्छ। प्रचारकार्यमा जानको लागि साथी मिलाइसकेपछि र इलाका छुट्ट्याइसकेपछि समूहको एक जना प्रकाशकले प्रार्थना गर्छन्। त्यसलगत्तै सबै जना इलाकामा जान्छन्। क्षेत्र सेवाको सभा पाँचदेखि सात मिनेटको हुनुपर्छ। तर यो सभा मण्डलीको सभापछि गरिएको छ भनेचाहिँ त्योभन्दा कम समयमा सिध्याउनुपर्छ। सञ्चालकले प्रचारमा जाने सबैलाई प्रोत्साहन, व्यावहारिक सल्लाह-सुझाव र निर्देशन दिनुपर्छ। नयाँ प्रकाशक वा प्रचारकार्यमा मदत चाहिएका प्रकाशकलाई अनुभवी प्रकाशकसँगै प्रचारमा पठाउन सकिन्छ।
नयाँ वा साना मण्डलीहरूमा सभाका प्रबन्धहरू
२२ चेलाहरूको सङ्ख्या बढ्दै गएकोले मण्डलीहरूको सङ्ख्या पनि बढ्दै छ। साधारणतया क्षेत्रीय निरीक्षकले नयाँ मण्डली स्थापना गर्नको लागि आवेदन फाराम पेस गर्छन्। तर कुनै-कुनै अवस्थामा भने साना समूहहरूले नजिकको मण्डलीसित सङ्गत गर्नु नै बेस हुन्छ।
२३ कुनै-कुनै साना मण्डलीहरूमा दिदीबहिनीहरू मात्र हुन सक्छन्। यस्तो परिस्थितिमा कुनै बहिनीले मण्डलीमा प्रार्थना गर्दा वा सभाहरू सञ्चालन गर्दा बाइबलको सिद्धान्तअनुसार शिर ढाक्नुपर्छ। (१ कोरि. ११:३-१६) साधारणतया बहिनीहरू सभा सञ्चालन गर्दा समूहतिर फर्केर बस्छन्। तिनीहरू भाइहरूले जस्तो भाषण दिँदैनन्। बरु सङ्गठनले उपलब्ध गराएको विषयवस्तु पढेर अनि त्यसबारे केही टिप्पणी गरेर सभा सञ्चालन गर्छन्। अथवा बेला-बेलामा त्यस्तो विषयवस्तु चलाएर श्रोतासित छलफल गर्न सक्छन् वा प्रदर्शन देखाउन सक्छन्। शाखा कार्यालयले कुनै एक जना बहिनीलाई शाखासित सम्पर्क राख्न र सभाहरू सञ्चालन गर्न खटाउन सक्छ। समयको दौडान भाइहरू योग्य भएपछि चाहिँ उनीहरूले नै यी जिम्मेवारीहरू सम्हाल्नेछन्।
सम्मेलन
२४ एउटै क्षेत्रमा पर्ने मण्डलीहरू वर्षको दुई पटक एक दिने सम्मेलनमा भेला हुन्छन्। यी रमाइला अवसरहरूमा सबैले “ठूलो मनका” भएर ख्रिष्टियन दाजुभाइ दिदीबहिनीसित सङ्गत गर्ने मौका पाउँछन्। (२ कोरि. ६:११-१३) क्षेत्रको खास आवश्यकतालाई ध्यानमा राख्दै यहोवाको सङ्गठनले सम्मेलनको लागि बाइबलमा आधारित विषय र भागहरू तयार पार्छ। जानकारीहरू विभिन्न तरिकामा प्रस्तुत गरिन्छन्। जस्तै: भाषण, प्रदर्शन, पुनःअभिनय, मनोवाद र अन्तरवार्ता। यस्तो समय सुहाउँदो निर्देशनले उपस्थित सबैलाई आफ्नो विश्वास बलियो बनाउन मदत गर्छ। यी सम्मेलनहरूमा यहोवालाई आफ्नो जीवन समर्पण गरेका नयाँ चेलाहरूको लागि बप्तिस्माको प्रबन्ध पनि मिलाइएको हुन्छ।
अधिवेशन
२५ वर्षको एक चोटि अधिवेशनको आयोजना गरिन्छ। यस्तो ठूलो जमघट प्रायजसो तीन दिनको हुन्छ। यस जमघटमा केही क्षेत्रका (सर्किट) मण्डलीहरू एकसाथ भेला हुन्छन्। साना शाखाहरूले आफ्नो इलाकाका सबै मण्डलीको लागि एउटै अधिवेशन आयोजना गर्नु व्यावहारिक हुन सक्छ। कतिपय मुलुकमा भने परिस्थितिअनुसार वा सङ्गठनको निर्देशनअनुसार अधिवेशनको आयोजनामा केही छाँटकाँट गरिन्छ। समय-समयमा हाम्रो सङ्गठनले केही देशमा अन्तरराष्ट्रिय वा विशेष अधिवेशन आयोजना गर्छ। यस्ता अधिवेशनहरूमा विभिन्न देशका हजारौँ साक्षी भेला हुन्छन्। यस्ता ठूलठूला जमघटहरू आयोजना गरिँदा त्यसबारे प्रचारप्रसार पनि गरिन्छ। यसो गर्दा वर्षौँको दौडान थुप्रै मानिसले राज्यको सुसमाचार सुन्न पाएका छन्।
२६ यहोवाका समर्पित जनहरूको लागि अधिवेशन एउटा रमाइलो अवसर हो। यस्ता अवसरहरूमा हामी एकसाथ मिलेर यहोवाको उपासना गर्ने मौका पाउँछौँ। अधिवेशनमा बाइबलको शिक्षासम्बन्धी हाम्रो बुझाइलाई अझ प्रस्ट पारिन्छ। कुनै-कुनै अधिवेशनमा मण्डलीमा छलफल गर्न, व्यक्तिगत अध्ययन गर्न र प्रचारमा चलाउन नयाँ प्रकाशनहरू विमोचन गरिन्छ। अधिवेशनमा बप्तिस्माको प्रबन्ध पनि मिलाइएको हुन्छ। आध्यात्मिक उन्नति गर्न अधिवेशनमा उपस्थित हुनु निकै महत्त्वपूर्ण छ। संसारभरिका यहोवाका जनहरू एकताबद्ध छन् र तिनीहरू साँचो ख्रिष्टियनहरूको चिनारी, प्रेम देखाउँछन् भनेर अधिवेशनहरूमा प्रस्टै देखिन्छ।—युह. १३:३५.
२७ मण्डलीको सभा, सम्मेलन तथा अधिवेशनमा उपस्थित हुँदा हामी यहोवाको इच्छाबमोजिम गर्ने बल पाउँछौँ। साथै हाम्रो विश्वासलाई कमजोर पार्न सक्ने सांसारिक प्रभावहरूबाट सुरक्षित हुन्छौँ। यस्ता जमघटले यहोवाको महिमा र प्रशंसा गर्छ। (भज. ३५:१८; हितो. १४:२८) यस अन्तको समयमा यहोवाले आफ्ना जनहरूका लागि यस्ता स्फूर्तिदायी जमघटहरूको प्रबन्ध गरिदिनुभएकोमा हामी उहाँप्रति आभारी छौँ।
प्रभुको साँझको भोज
२८ हरेक वर्ष संसारभरिका यहोवाका साक्षीहरू येसु ख्रिष्टको मृत्युको वार्षिकी मनाउँछन्। यसलाई ख्रिष्टको मृत्युको स्मरणार्थ अथवा प्रभुको साँझको भोज भनिन्छ। (१ कोरि. ११:२०, २३, २४) यो उत्सव यहोवाका जनहरूको लागि वर्षकै सबैभन्दा महत्त्वपूर्ण सभा हो। यो दिनको सम्झना गर्नू भनेर येसुले हामीलाई तोकेरै आज्ञा दिनुभएको छ।—लुका २२:१९.
२९ बाइबलअनुसार जुन मितिमा निस्तार चाड मनाइन्थ्यो, त्यही मितिमा स्मरणार्थ उत्सव मनाइन्छ। (प्रस्थ. १२:२, ६; मत्ति २६:१७, २०, २६) ईसापूर्व १५१३ मा इस्राएलीहरूले मिश्रबाट छुटकारा पाएको दिनको सम्झना गर्न हरेक वर्ष निस्तार चाड मनाइन्थ्यो। त्यतिबेला यहोवाले इस्राएलीहरूलाई चन्द्र पात्रोको पहिलो महिनाको (नीसान) १४ औँ दिनमा निस्तार चाडको पाठो खाने र मिश्रबाट निस्केर जाने आज्ञा दिनुभएको थियो। यसरी तिनीहरूले मिश्रको दासत्वबाट छुटकारा पाउने थिए। (प्रस्थ. १२:१-५१) त्यो दिन कहिले पर्छ भनेर हिसाब गर्न वसन्त-विषुवलाई (वसन्त ऋतुमा दिन र रात बराबर हुने समय) आधार बनाइन्छ। त्यस समयभन्दा अघि वा पछि देखा पर्ने नयाँ चन्द्रमादेखि नीसान महिना सुरु हुन्छ। अनि स्मरणार्थ उत्सव मनाउने मिति तोक्न नयाँ चन्द्रमा देखा परेको दिनदेखि अर्को १३ दिन हिसाब गरिन्छ। साधारणतया स्मरणार्थ उत्सव वसन्त-विषुव पछिको पहिलो पूर्णिमामा पर्छ।
३० स्मरणार्थ उत्सव कसरी मनाउने भनेर येसु स्वयम्ले मत्ति २६:२६-२८ मा बताउनुभयो। यो उत्सव कुनै रहस्यमय धार्मिक प्रथाजस्तो होइन बरु एउटा प्रतीकात्मक भोज हो, जसमा येसु ख्रिष्टसित स्वर्गमा शासन गर्न छानिएका अभिषिक्त ख्रिष्टियनहरूले मात्र भाग लिन्छन्। (लुका २२:२८-३०) बाँकी समर्पित ख्रिष्टियनहरू र जिज्ञासु व्यक्तिहरू भने दर्शकको रूपमा मात्र उपस्थित हुन्छन्। यसरी उपस्थित भएर तिनीहरू यहोवाले आफ्नो छोरा येसु ख्रिष्टमार्फत सबै मानिसजातिको हितको लागि गर्नुभएको प्रबन्धप्रति आभारी भएको कुरा देखाउँछन्। स्मरणार्थ उत्सवको केही समयअघि विशेष जनभाषण दिइन्छ। यस भाषणले स्मरणार्थ उत्सवमा उपस्थित हुनको लागि उत्सुकता जगाउँछ र जिज्ञासु व्यक्तिहरूलाई अध्ययन गर्न प्रोत्साहित गर्छ।
३१ हामी यहोवाका साक्षीहरू सभाहरूमा उत्सुकतासाथ भेला हुन्छौँ किनभने यी सभाहरूमा हामी “एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित” बनाउने मौका पाउँछौँ। (हिब्रू १०:२४) विश्वासी र बुद्धिमान् दासले हाम्रो आध्यात्मिक आवश्यकतालाई ध्यानमा राख्दै यस्ता सभाहरूको प्रबन्ध गरेको हो। सबै यहोवाका साक्षी र जिज्ञासु व्यक्तिहरूले नियमित तवरमा सभामा उपस्थित भएर पूरापूर लाभ उठाउनु आवश्यक छ। यसरी यहोवाले आफ्नो सङ्गठनमार्फत गर्नुभएको प्रबन्धहरूप्रति धन्यवादी छौँ भनी देखाउँदा हामी एकतामा बाँधिन्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, हामीले यहोवाको प्रशंसा र महिमा गरिरहेका हुन्छौँ।—भज. १११:१.