क्षेत्र सेवाको सभा कस्तो हुनुपर्छ?
१. क्षेत्र सेवा सभाको उद्देश्य के हो?
१ येशूले एकपटक आफ्ना ७० जना चेलाहरूलाई प्रचार गर्न पठाउनुअघि भेला गराउनुभयो। (लूका १०:१-११) “फसलका मालिक” यहोवा परमेश्वरले प्रचारको काममा डोऱ्याइरहनुभएको छ भनेर चेलाहरूलाई सम्झाउँदै येशूले प्रोत्साहन दिनुभयो। प्रचारको काम कसरी गर्ने भनेर स्पष्ट निर्देशन दिंदै उहाँले तिनीहरूलाई सुसज्जित पार्नुभयो अनि प्रचारलाई व्यवस्थित गर्न “दुई-दुई” जना गरी पठाउनुभयो। आज प्रचारमा जानुअघि गरिने सभाको उद्देश्य पनि यस्तै छ, त्यो हो: प्रोत्साहन दिने, सुसज्जित पार्ने र व्यवस्थित गर्ने।
२. क्षेत्र सेवाको सभा कति लामो हुनुपर्छ?
२ अहिले क्षेत्र सेवाको सभा १०-१५ मिनेटको हुन्छ। त्यसमा प्रचारको लागि साथी मिलाउने, इलाका दिने र प्रार्थना समावेश हुन्छ। अबदेखि भने क्षेत्र सेवा सभाको समय तालिकामा छाँटकाँट गरिएको छ। अप्रिलदेखि यो सभा ५-७ मिनेटको हुनेछ। मण्डलीको सभापछि क्षेत्र सेवाको सभा हुन्छ भने त्यो अझ छोटो हुनुपर्छ। किनभने उपस्थित सबैले मण्डलीको सभाबाट आध्यात्मिक लाभ उठाइसकेका हुन्छन्। क्षेत्र सेवाको सभा छोटो भएमा सबैले प्रचारमा अझ धेरै समय बिताउन पाउनेछन्। अग्रगामी वा प्रकाशकहरूले क्षेत्र सेवाको सभाअघि नै प्रचार सुरु गरिसकेका छन् भने तिनीहरूले प्रचारको घण्टाबाट थोरै समय मात्र कटौती गरे पुग्छ।
३. प्रकाशकहरूले पूरापूर लाभ उठाउन सकून् भनेर क्षेत्र सेवाको सभा कसरी व्यवस्थित गर्नुपर्छ?
३ प्रकाशकहरूले पूरापूर लाभ उठाउन सकून् भनेर क्षेत्र सेवाको सभा व्यवस्थित हुनुपर्छ। क्षेत्र सेवाका समूहहरू एकै ठाउँमा भेला हुनुभन्दा आ-आफ्नो समूहअनुसार भेला हुनु राम्रो हो। यसो गर्दा प्रकाशकहरूलाई क्षेत्र सेवाको सभामा आउन र इलाकामा जान सजिलो हुन सक्छ। साथै प्रचारको लागि साथी मिलाउन र समूह निरीक्षकहरूले आफ्ना समूहका भाइबहिनीहरूको ख्याल राख्न सजिलो हुन्छ। एल्डरहरूको निकायले स्थानीय परिस्थितिअनुसार के गर्दा राम्रो हुन्छ, छाँटकाँट गर्न सक्छन्। प्रार्थना गरेर सभा समापन गर्नुअघि सबैले कहाँ जाने अनि कोसित जाने भनेर थाह पाइसकेको हुनुपर्छ।
४. क्षेत्र सेवाको सभालाई मण्डलीका अन्य सभाहरूभन्दा किन कम महत्त्वपूर्ण ठान्नु हुँदैन?
४ मण्डलीका अन्य सभाहरूभन्दा कम महत्त्वपूर्ण होइन: क्षेत्र सेवाको सभा प्रचारमा जानेहरूका लागि सञ्चालन गरिने भएकोले मण्डलीका सबै जना उपस्थित हुने छैनन्। तर यसो भन्दैमा मण्डलीका अन्य सभाहरूभन्दा क्षेत्र सेवाको सभा कम महत्त्वपूर्ण छ भन्ने होइन। अन्य सभाहरू जस्तै क्षेत्र सेवाको सभा पनि प्रेम र सुकर्ममा उत्साहित बनाउने यहोवाको प्रबन्ध हो। (हिब्रू १०:२४, २५) क्षेत्र सेवा सभाको सञ्चालकले राम्रोसँग तयारी गऱ्यो भने यस सभामा हुने छलफलले यहोवा परमेश्वरको महिमा हुन्छ र उपस्थित सबैले लाभ उठाउन सक्छन्। परिस्थितिले दिएसम्म प्रचारमा जाने प्रकाशकहरू यस सभामा उपस्थित हुने कोसिस गर्नुपर्छ।
मण्डलीका अन्य सभाहरूभन्दा क्षेत्र सेवाको सभा कम महत्त्वपूर्ण छ भन्ने सोच्नु हुँदैन
५. (क) सेवा निरीक्षकले क्षेत्र सेवाको सभा व्यवस्थित गर्न के गर्नुपर्छ? (ख) यो सभा बहिनीले सञ्चालन गर्नुपऱ्यो भने कसरी गर्नुपर्छ?
५ सञ्चालकले गर्नुपर्ने तयारी: मण्डलीको सभाको कुनै भाग राम्रोसँग प्रस्तुत गर्न असाइनमेन्ट पहिल्यै पाएको हुनुपर्छ। त्यसैगरि क्षेत्र सेवाको सभाको लागि पनि असाइनमेन्ट पहिले नै पाउँदा सञ्चालकले राम्रो तयारी गर्न सक्छन्। क्षेत्र सेवाको समूहअनुसार भेला हुँदा समूह निरीक्षक वा तिनका सहायकले यस सभा सञ्चालन गर्नेछन्। तर प्रचारको लागि मण्डलीका सबै समूह एकैसाथ भेला हुँदा भने सेवा निरीक्षकले सञ्चालन गर्न खटाउनेछन्। कोही-कोही सेवा निरीक्षकले सबै सञ्चालकलाई तालिका दिन्छन् अनि त्यसको एक प्रति सूचना पाटीमा पनि टाँस्छन्। सेवा निरीक्षकले सञ्चालकहरू खटाउँदा राम्रोसँग विचार पुऱ्याउनुपर्छ। किनभने सभाको गुणस्तर सञ्चालकको सिकाउने र व्यवस्थित गर्ने क्षमतामा निर्भर हुन्छ। क्षेत्र सेवाको सभा सञ्चालन गर्न कुनै एल्डर, सहायक सेवक वा अन्य योग्य बप्तिस्मा गरेका भाइ छैनन् भने सेवा निरीक्षकले सभा सञ्चालन गर्न कुनै योग्य बहिनीलाई खटाउनुपर्छ।—“बहिनीले सभा सञ्चालन गर्नुपर्दा।” भन्ने पेटी हेर्नुहोस्।
६. सञ्चालकले किन राम्रो तयारी गर्नुपर्छ?
६ ईश्वरतान्त्रिक सेवा स्कुल वा सेवा सभामा भाग पाएका छौं भने त्यसलाई हामी हल्का रूपमा लिंदैनौं बरु राम्रोसित तयारी गर्छौं। सभामा जानुअघि मात्र के भन्ने भनेर सोच्दैनौं। त्यसरी नै क्षेत्र सेवाको सभा सञ्चालन गर्न पाएको जिम्मेवारीलाई पनि हल्का रूपमा लिनु हुँदैन। यो सभा छोटो हुने भएकोले सभालाई उत्थानदायी बनाउन र समयमै सिध्याउन झन् राम्रोसित तयारी गर्नु आवश्यक छ। राम्रोसँग तयारी गर्नुमा समूहले कुन इलाकामा प्रचार गर्ने हो, त्यो पनि पहिले नै पक्का गर्नु समावेश छ।
७. सञ्चालकले के-कस्ता विषयहरू छलफल गर्न सक्छन्?
७ के छलफल गर्ने? इलाका अनुसार परिस्थिति फरक-फरक हुने भएकोले विश्वासी र बुद्धिमान् दासले क्षेत्र सेवाको सभाको लागि कुनै खास रूपरेखा तयार गरेको छैन। “क्षेत्र सेवाको सभामा छलफल गर्न सकिने केही बुँदाहरू” भन्ने पेटीमा केही सुझावहरू दिइएका छन्। साधारणतया यो सभा छलफलको रूपमा सञ्चालन गरिन्छ। कहिलेकाहीं राम्रोसित तयारी गरिएको प्रदर्शन वा हाम्रो वेबसाइटबाट कुनै भिडियो देखाउन पनि सकिन्छ। क्षेत्र सेवा सभाको तयारी गर्दा सञ्चालकले त्यस दिन प्रचारमा जानेहरूलाई प्रोत्साहन दिने र सुसज्जित पार्ने कुरामा ध्यान दिनुपर्छ।
८. शुक्रबार र शनिबारको क्षेत्र सेवाको सभामा के-कस्ता विषयहरूमा छलफल गर्दा राम्रो हुन्छ?
८ धेरै जसो प्रकाशकहरूले शुक्रबार प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिका प्रस्तुत गर्ने गर्छन्। उहाँहरूले आफ्नो पारिवारिक उपासनामा अभ्यास गर्नुभएको प्रस्तुति सम्झन गाह्रो हुन सक्छ। त्यसैले सञ्चालकले हाम्रो राज्य सेवा-को अन्तिम पृष्ठमा दिइएका नमुना प्रस्तुतिहरू पुनरावृत्ति गर्नु राम्रो हुन सक्छ। अखबारमा आएको समाचार, विभिन्न घटना वा चाडपर्वसम्बन्धी विषयवस्तुलाई आफ्नो प्रस्तुतिमा समावेश गरेर कसरी पत्रिका प्रस्तुत गर्ने भनेर छलफल गर्न सकिन्छ। साथै घरधनीले पत्रिका स्वीकारेमा पुनःभेटका लागि कसरी बाटो तयार गर्ने भनेर पनि बताउन सकिन्छ। कुनै प्रकाशकले त्यस महिनाको पत्रिका प्रयोग गरिसकेका छन् भने केही सुझाव वा राम्रा अनुभवहरू बताउन सक्छन्। हप्ताको दौडान प्रचारमा जान नसकेर शनिबार मात्रै क्षेत्र सेवामा जान सक्ने भाइबहिनीहरू पनि हुन सक्छन्। शनिबारको क्षेत्र सेवाको सभा सञ्चालन गर्दा त्यस महिना प्रस्तुत गरिने साहित्य कसरी प्रस्तुत गर्ने भनेर सञ्चालकले छलफल गर्न सक्छन्। सुसमाचार र सृष्टिकर्ताको कुरा सुन्नुहोस् पुस्तिका, बाइबलले सिकाउँछ किताब जस्ता बाइबल अध्ययन गराउने प्रकाशनहरू कुनै पनि दिन प्रस्तुत गर्न सकिने भएकोले सञ्चालकले यी प्रकाशनहरू कसरी प्रस्तुत गर्ने भनेर पनि छोटकरीमा छलफल गर्न सक्छन्।
क्षेत्र सेवा सभाको तयारी गर्दा सञ्चालकले त्यस दिन प्रचारमा जानेहरूलाई प्रोत्साहन दिने र सुसज्जित पार्ने कुरामा ध्यान दिनुपर्छ।
९. सप्ताहन्तमा विशेष अभियान पर्छ भने के-कस्ता विषयमा छलफल गर्न सकिन्छ?
९ सप्ताहन्तमा विशेष अभियान पर्छ भने सञ्चालकले निम्तोपर्ची वा पर्चासितै त्यस महिनाको पत्रिका कसरी प्रस्तुत गर्ने वा चासो देखाएमा के गर्ने भनेर छलफल गर्न सक्छन्। यस्ता अभियानहरू किन महत्त्वपूर्ण छ भनेर देखाउने राम्रा अनुभवहरू पनि बताउन सकिन्छ।
१०, ११. क्षेत्र सेवाको सभालाई उत्थानदायी बनाउन प्रकाशकहरूले तयारी गर्नु किन महत्त्वपूर्ण छ?
१० प्रकाशकहरूले गर्नुपर्ने तयारी: क्षेत्र सेवाको सभालाई उत्थानदायी बनाउन उपस्थित प्रकाशकहरूले पनि ठूलो भूमिका खेल्छन्। तिनीहरूले पारिवारिक उपासनाको बेला प्रचारको लागि राम्रो तयारी गरेका छन् भने अरू प्रकाशकहरूलाई केही प्रोत्साहनदायी कुरा बताउन सक्छन्। क्षेत्र सेवाको सभामा आउनुअघि नै पत्रिका र साहित्यहरू आफूसित ल्याउनु पनि राम्रो तयारी हो। त्यसो गर्दा अनावश्यक ढिलासुस्ती नगरी सबै जना इलाकामा जान सक्छन्।
११ क्षेत्र सेवाको सभा सुरु हुनु केही समयअघि नै पुग्नु महत्त्वपूर्ण छ। हुन त हामी सबै मण्डलीका सभाहरूमा समयमै उपस्थित हुने कोसिस गर्छौं। तर क्षेत्र सेवाको सभामा ढिला उपस्थित भयौं भने यसले सभालाई बाधा पुऱ्याउँछ। कसरी? समूहलाई व्यवस्थित गर्नुअघि सञ्चालकले विभिन्न कुराहरू विचार गर्छन्। जस्तै: थोरै प्रकाशक मात्रै उपस्थित छन् भने तिनले सबै जनालाई सानो इलाकामा पठाउने योजना बनाउन सक्छन्। कोही क्षेत्र सेवाको सभामा हिंडेर आएका छन् अनि इलाका टाढा छ भने तिनले सवारी साधन भएकाहरूसँग साथी मिलाइदिन सक्छन्। इलाकामा बहिनीहरू मात्र काम गर्न सुरक्षित छैन भने तिनले भाइहरूलाई पनि बहिनीहरूसँगै पठाइदिन सक्छन्। अशक्त प्रकाशकहरूलाई सम्म परेको बाटो वा त्यत्ति भऱ्याङ उक्लन-ओर्लन नपर्ने घरहरू भएको इलाका दिन सक्छन्। नयाँ प्रकाशकलाई अनुभवी प्रकाशकसित पठाउन सक्छन्। तर प्रकाशकहरू क्षेत्र सेवाको सभामा ढिला आए भने पहिले मिलाएको प्रबन्धलाई परिवर्तन गर्नुपर्ने हुन्छ। हुन त कहिलेकाहीं हामीसित ढिलो आउनुको जायज कारण हुन सक्छ। तर ढिलो आउने बानी नै परिसकेको छ भने हामी आफैलाई यस्ता प्रश्नहरू सोध्न सक्छौं: मैले क्षेत्र सेवाको सभालाई कम महत्त्व पो दिइरहेको छु कि? अथवा सबै कामकुरा पहिले नै व्यवस्थित गर्न नसकेर पो हो कि?
१२. प्रचारको लागि आफै साथी छान्ने गर्नुहुन्छ भने तपाईंले कुन कुरा विचार गर्नुपर्छ?
१२ क्षेत्र सेवाको सभामा उपस्थित हुने प्रकाशकहरूले सभा सुरु हुनुअघि नै आफैले प्रचारमा जाने साथी छान्न सक्छन् वा सञ्चालकले छानिदिन सक्छन्। तपाईं प्रायः आफै साथी छान्ने गर्नुहुन्छ भने सधैं आफ्ना घनिष्ठ साथीहरूसित मात्र नभई अरू प्रकाशकहरूसित गएर “ठूलो मन”-को हुन सक्नुहुन्छ कि? (२ कोरिन्थी ६:११-१३) नयाँ प्रकाशकहरूको शिक्षण कलामा उन्नति गराउन कहिलेकाहीं तिनीहरूसँगै प्रचारमा जानुभए कसो होला? (१ कोरिन्थी १०:२४; १ तिमोथी ४:१३, १५) प्रचार कहाँबाट सुरु गर्ने भनेर दिइएको निर्देशन वा अन्य निर्देशनहरूलाई ध्यानपूर्वक सुन्नुहोस्। प्रचारको लागि मिलाइएको प्रबन्धलाई सभा सिद्धिएपछि फेरबदल नगर्नुहोस् र तुरुन्तै इलाकामा जानुहोस्।
१३. सबैजनाले आ-आफ्नो भूमिका राम्रोसँग निभाएमा क्षेत्र सेवाको सभाबाट कस्तो लाभ उठाउन सक्छौं?
१३ येशूले प्रचारमा पठाएका ७० जना चेलाहरू प्रचारपछि “रमाउँदै फर्के।” (लूका १०:१७) प्रचार जानुअघि येशूले सञ्चालन गर्नुभएको सभाले तिनीहरूलाई पक्कै मदत गरेको हुनुपर्छ। क्षेत्र सेवाको सभाले आज पनि उस्तै लाभ पुऱ्याउन सक्छ। सबै जनाले आ-आफ्नो भूमिका राम्रोसँग निभाएमा “सबै जातिलाई साक्षी” दिनु भनेर दिइएको आज्ञा पूरा गर्न क्षेत्र सेवाको सभाले हामीलाई प्रोत्साहन दिन्छ, सुसज्जित पार्छ र व्यवस्थित गर्छ।—मत्ती २४:१४.