अध्याय १५
शिरत्वको प्रबन्धबाट लाभ उठाउनुहोस्
यहोवा सारा ब्रह्माण्डका सर्वोच्च शासक हुनुहुन्छ। उहाँको इच्छाबमोजिम गर्न सङ्गठित हुन चाहन्छौँ भने उहाँको अधीनमा बस्नु अत्यावश्यक छ। ख्रिष्टियन मण्डलीको शिर येसु ख्रिष्ट हुनुहुन्छ भनेर स्विकार्नुपर्छ अनि जीवनको अन्य क्षेत्रमा पनि शिरत्वको सिद्धान्त पालन गर्नुपर्छ। यसरी शिरत्वको प्रबन्धअनुसार चल्दा सबैको हित हुन्छ।
२ अख्तियारको अधीनमा बस्नुपर्छ भन्ने आज्ञा यहोवाले मानिसजातिलाई पहिलो पटक अदनको बगैँचामा दिनुभएको थियो। यो आज्ञा उत्पत्ति १:२८ र २:१६, १७ मा पाइन्छ। पशुपक्षी मानिसको अधीनमा रहनुपर्थ्यो भने आदम र हव्वा परमेश्वरको अधीनमा रहनुपर्थ्यो। साथै तिनीहरू उहाँको इच्छाबमोजिम चल्नुपर्थ्यो। यसरी परमेश्वरको अधीनमा बस्दा शान्ति र सुव्यवस्था कायम हुने थियो। पहिलो कोरिन्थी ११:३ मा शिरत्वको सिद्धान्तलाई जोड दिँदै प्रेषित पावलले यस्तो लेखे: “तिमीहरूले यो कुरा बुझ भनी म चाहन्छु, हरेक पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ; त्यसैगरि स्त्रीको शिर पुरुष अनि ख्रिष्टको शिर परमेश्वर हुनुहुन्छ।” यस पदअनुसार यहोवाबाहेक सबै जना शिरत्वको अधीनमा बस्नुपर्छ।
३ अहिले धेरैजसो मानिस शिरत्वको सिद्धान्त स्विकार्दैनन् वा अरूको अधीनमा बस्न मान्दैनन्। किन? किनभने अदनको बगैँचामा प्रथम पुरुष र स्त्रीले जानाजानी परमेश्वरको अधीनमा बस्न इन्कार गरेपछि विद्रोह गर्ने मनोभाव सुरु भयो। (उत्प. ३:४, ५) तर तिनीहरूले साँचो स्वतन्त्रता भने पाएनन्। बरु तिनीहरू दुष्ट स्वर्गदूत सैतानको अधीनमा परे। यो पहिलो विद्रोहले गर्दा मानिसजाति परमेश्वरबाट टाढा भयो। (कल. १:२१) त्यसैले अहिले धेरै मानिस सैतानको अधीनमा परेका छन्।—१ युह. ५:१९.
४ बाइबलको सत्य सिकेर अनि त्यसअनुसार चलेर हामी सैतानको हातबाट उम्कन सफल भएका छौँ। हामी बप्तिस्मा गरिसकेका साक्षीहरू यहोवालाई सर्वोच्च शासकको रूपमा स्विकार्छौँ। हामी वफादार राजा दाउदजस्तै यहोवा नै “सबैको शिर हुनुहुन्छ” भनेर मानिलिन्छौँ। (१ इति. २९:११) हो, हामी नम्र भई यो कुरा स्विकार्छौँ: “यहोवा नै परमेश्वर हुनुहुन्छ भनी जान। उहाँले नै हामीलाई सृष्टि गर्नुभएको हो र हामी उहाँकै हौँ। हामी उहाँका मानिसहरू हौँ, उहाँको खर्कका भेडाहरू हौँ।” (भज. १००:३) यहोवा सबै थोकका सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले उहाँ महान् हुनुहुन्छ अनि उहाँ मात्र हाम्रो उपासना पाउन योग्य हुनुहुन्छ भनेर पनि हामीले बुझेका छौँ। (प्रका. ४:११) हामी साँचो परमेश्वरका सेवकहरू येसु ख्रिष्टको अनुकरण गर्छौँ। किनभने उहाँले परमेश्वरको अधीनमा बस्ने सन्दर्भमा सबैभन्दा राम्रो उदाहरण बसाल्नुभयो।
५ येसुले पृथ्वीमा हुनुहुँदा धेरै दुःख भोग्नुभयो। उहाँले त्यसबाट के सिक्नुभयो? हिब्रू ५:८ यस्तो जवाफ दिन्छ: “उहाँ परमेश्वरको छोरा हुनुहुन्थ्यो तैपनि आफूले भोगेको दुःखबाट उहाँले आज्ञाकारी हुन सिक्नुभयो।” जस्तोसुकै दुःखकष्ट आइपर्दा पनि येसु वफादार भई आफ्नो बुबाको अधीनमा बस्नुभयो। येसुले आफूखुसी केही पनि गर्नुभएन; आफ्नै तर्फबाट कहिल्यै बोल्नुभएन; न त आफ्नै महिमा खोज्नुभयो। (युह. ५:१९, ३०; ६:३८; ७:१६-१८) प्रचारको काममा खेदो र विरोध आए तापनि येसु आफ्नो बुबाको इच्छाबमोजिम गर्न पाउँदा रमाउनुभयो। (युह. १५:२०) उहाँ सधैँ यहोवाको अधीनमा बस्नुभयो। उहाँले “यातनाको खम्बाको मृत्युसम्मै” “आफूलाई नम्र बनाउनुभयो।” यसरी येसु पूर्णतया यहोवाको अधीनमा बस्नुभएकोले थुप्रै राम्रा नतिजाहरू हासिल भएका छन्। जस्तै: मानिसजातिले उद्धार पाउन सम्भव भयो, उहाँ उच्च पारिनुभयो र यहोवाको महिमा भयो।—फिलि. २:५-११; हिब्रू ५:९.
शिरत्वको अधीनमा बस्नुपर्ने क्षेत्रहरू
६ यहोवाको अधीनमा नबस्नेहरूको जीवन फिक्री र निराशाले भरिएको छ। तर यहोवाको इच्छाअनुसार चलेर उहाँको अधीनमा बस्नेहरूचाहिँ फिक्री र निराशाबाट जोगिएका छन्। हाम्रो शत्रु सैतान हामीलाई निल्न हरबखत दाउ खोजिरहन्छ। तर राजीखुसीले यहोवाको अधीनमा बसेर आफैलाई नम्र बनायौँ र सैतानको विरोध गऱ्यौँ भने त्यस दुष्टबाट छुटकारा पाउँछौँ।—मत्ति ६:१०, १३; १ पत्रु. ५:६-९.
७ ख्रिष्टियन मण्डलीमा हामी येसु ख्रिष्टको अधीनमा बस्छौँ र उहाँले “विश्वासी र बुद्धिमान् दास”-लाई दिनुभएको अख्तियारलाई पनि स्विकार्छौँ। यस्तो अधीनताले हामीले एकअर्काप्रति राख्ने दृष्टिकोण अनि एकअर्कालाई गर्ने व्यवहारमा असर गर्छ। परमेश्वरको अधीनमा बस्छौँ भने हामी उहाँको उपासनासित सम्बन्धित सबै क्षेत्रमा बाइबलले दिएको निर्देशनबमोजिम चल्न उत्प्रेरित हुनेछौँ। जस्तै: प्रचारकार्यमा, सभामा उपस्थित हुने तथा भाग लिने सन्दर्भमा, एल्डरहरूसित गर्ने व्यवहारमा र सङ्गठनले गरेका प्रबन्धहरूलाई स्विकार्ने सन्दर्भमा।—मत्ति २४:४५-४७; २८:१९, २०; हिब्रू १०:२४, २५; १३:७, १७.
८ हामी परमेश्वरको अधीनमा बसेकोले मण्डलीमा शान्ति, सुरक्षा अनि सुव्यवस्था कायम भएको छ। यहोवाका मानिसहरू उहाँका गुणहरू देखाउन सक्दो कोसिस गर्छन्। (१ कोरि. १४:३३, ४०) यहोवाका सेवकहरू र दुष्टहरूबीचको भिन्नताबारे बताएपछि दाउदले रमाउँदै यसो भने: “आनन्दित हुन् ती मानिसहरू, जसका परमेश्वर यहोवा हुनुहुन्छ!” (भज. १४४:१५) हामीले पनि यहोवाको सङ्गठनमा यस्तै आनन्द अनुभव गरेका छौँ।
९ वैवाहिक प्रबन्धमा र परिवारमा “स्त्रीको शिर पुरुष” हो। साथै पुरुषको शिर ख्रिष्ट हुनुहुन्छ र ख्रिष्टको शिर परमेश्वर हुनुहुन्छ। (१ कोरि. ११:३) पत्नी आफ्नो पतिको अधीनमा बस्नुपर्छ भने छोराछोरी आमाबुबाको अधीनमा बस्नुपर्छ। (एफि. ५:२२-२४; ६:१) परिवारको प्रत्येक सदस्यले शिरत्वको सिद्धान्त पालन गर्दा परिवारमा शान्ति छाउँछ।
१० पतिले ख्रिष्टको अनुकरण गर्दै मायालु तरिकामा आफ्नो अख्तियार चलाउनुपर्छ। (एफि. ५:२५-२९) तिनले आफूले पाएको अख्तियारको दुरुपयोग गर्नु हुँदैन। अथवा शिरको रूपमा पूरा गर्नुपर्ने जिम्मेवारीदेखि पन्छिनु हुँदैन। यसरी पतिले आफ्नो भूमिका राम्ररी पूरा गर्दा पत्नी र छोराछोरीलाई तिनको अधीनमा बस्न सजिलो हुन्छ। पत्नी पतिको सहयोगी हुन्। (उत्प. २:१८) पतिको आदर गर्ने अनि धैर्य गर्दै पतिलाई सहयोग गर्ने पत्नीले पतिको माया पाउँछिन् र उनको त्यस्तो व्यवहारले परमेश्वरको महिमा हुन्छ। (१ पत्रु. ३:१-४) शिरत्वसम्बन्धी बाइबलमा दिइएको सल्लाह पालन गर्ने पतिपत्नीले परमेश्वरको अधीनमा बस्ने सन्दर्भमा छोराछोरीको लागि राम्रो उदाहरण बसालिरहेका हुन्छन्।
हामीले जीवनको हरेक क्षेत्रमा शिरत्वको सिद्धान्त पालन गर्नुपर्छ
११ हामी परमेश्वरको अधीनमा बस्छौँ भने त्यसले हामीले “उच्च अख्तियारवालाहरू”-प्रति राख्ने दृष्टिकोणलाई पनि असर गर्छ किनकि “जो-जो अख्तियारमा छन्, तिनीहरूलाई परमेश्वरले आफ्नो अधीनमा विभिन्न ओहदामा राख्नुभएको हो।” (रोमी १३:१-७) ख्रिष्टियनहरू सरकारले बनाएको नियम-कानुन पालन गर्छन्। तिनीहरू कर तिरेर “जे-जे सिजरका हुन्, सिजरलाई र जे-जे परमेश्वरका हुन्, परमेश्वरलाई” दिन्छन्। (मत्ति २२:२१) साथै इलाका ढाक्ने प्रबन्ध मिलाउँदा जानकारीको सुरक्षासम्बन्धी नियमकानुन पालन गर्छन्। हामी परमेश्वरको धार्मिक स्तरसित नबाझिने सबै नियमकानुन पालन गर्छौँ, जसले गर्दा हामी आफ्नो सम्पूर्ण शक्ति प्रचारकार्यमा लगाउन सक्छौँ।—मर्कु. १३:१०; प्रेषि. ५:२९.
१२ हामीले जीवनको हरेक क्षेत्रमा शिरत्वको सिद्धान्त पालन गर्नुपर्छ। भविष्यमा सबै मानिस यहोवा परमेश्वरको अधीनमा बस्नेछन् भन्ने कुरामा हामी विश्वस्त छौँ। (१ कोरि. १५:२७, २८) यहोवाको शासन गर्ने अधिकारलाई राजीखुसीले स्विकार्ने र सधैँभरि उहाँको अधीनमा बस्ने सबैले उहाँको आशिष् पाउनेछन्!