ईश्वरीय अधीनता —किन र कसले देखाउनु पर्ने?
“हे परमप्रभु, मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्ति मानिसमा छैन।”—यर्मिया १०:२३.
१. कुन कुन प्रकारको स्वतन्त्रतालाई ठूलो महत्त्व दिंदै आएको छ?
अठारौं शताब्दीमा गरिएको स्वतन्त्रताको घोषणा सबैभन्दा प्रमुख मानव-दस्ताबेजहरूमध्ये एउटा हो। यसैद्वारा उत्तर अमेरिकाका १३ ब्रिटिस उपनिवेशहरू आफ्नो मूल देश ग्रेट ब्रिटेनबाट स्वतन्त्र भएको कुरा घोषित गरियो। तिनीहरू स्वतन्त्रता चाहन्थे तर स्वतन्त्र हुनका लागि विदेशी आधिपत्यबाट मुक्त हुन खाँचो थियो। राजनैतिक र आर्थिक स्वतन्त्रता एउटा ठूलो उपलब्धि हुन सक्छ। हालसालैमा पूर्वीय युरोपका केही मुलुकहरू राजनैतिक स्वतन्त्रतातर्फ अघि बढेका छन्। तथापि ती मुलुकहरूमा यसप्रकारको स्वतन्त्रताका साथसाथै धेरै गम्भीर समस्याहरू पनि खडा भएका छन् भन्ने कुरा स्वीकार्नै पर्दछ।
२, ३. (क) कुन प्रकारको स्वतन्त्रताको चाहिं रहर गर्नु हुँदैन? (ख) यस कुरालाई सुरुमा कसरी स्पष्ट पारिएको थियो?
२ स्वतन्त्रताका विभिन्न र रहरलाग्दा रूपहरू भए तापनि एउटा यस्तो प्रकारको स्वतन्त्रता पनि छ जसको रहर गर्नु हुँदैन। त्यो के हो? त्यो हो मानिसको सृजनहारदेखि स्वतन्त्र हुने रहर। त्यो एउटा आशिष होइन, श्राप हो। किन? किनभने माथि उल्लिखित यर्मिया अगमवक्ताका शब्दहरूले देखाए झैं, मानिस आफ्नो सृजनहारबाट स्वतन्त्र भएर बस्नका लागि बनिएको थिएन। आफ्नो सृष्टिकर्ताको अधीनमा रहनुको अर्थ उहाँप्रति आज्ञाकारी हुनु हो।
३ त्यो कुरा उत्पत्ति २:१६, १७-मा उल्लिखित यहोवाको यस आदेशद्वारा प्रथम मानव दम्पतीलाई स्पष्ट पारिएको थियो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानु, किनभने जुन दिन तैंले त्यो खान्छस् त्यसै दिन तँ मर्नेछस्।” तर आफ्नो सृजनहारको अधीनमा बस्न इन्कार गर्दा आदम र तिनको सारा सन्तानमाथि पाप, कष्ट र मृत्यु आइ पऱ्यो।—उत्पत्ति ३:१९; रोमी ५:१२.
४, ५. (क) मानिसहरूले परमेश्वरको अधीनमा बस्न इन्कार गर्दा, नतिजा के भएको छ? (ख) कुन चाहिं नैतिक नियमबाट उम्कनै सकिन्दैन?
४ मानिसहरूले परमेश्वरको अधीनमा बस्न इन्कार गर्नु मूर्खता मात्र होइन, नैतिक तवरमा पनि गलत हो। यसले गर्दा संसारभरि अव्यवस्था, अपराध, हिंसा, यौनिक अनैतिकता र त्यसको परिणामस्वरूप यौनसम्बन्धद्वारा सर्ने रोगहरू जताततै फैलिएको छ। साथै, जवान मानिसहरूले यहोवाको, तिनीहरूका आमा-बाबुको र देशका नियमहरूको अधीनमा बस्न इन्कार गर्नु नै आजको व्यापक बाल-अपराधको कारण हुन गएको छ, होइन र? स्वतन्त्रताको यो आत्मा आज धेरै मानिसहरूको विचित्र तथा भद्दा पहिरन र तिनीहरूले प्रयोग गर्ने अश्लील भाषामा देख्न सकिन्छ।
५ तापनि, सृष्टिकर्ताको यस अकाट्य नियमबाट कोही पनि उम्कन पाउने छैन: “धोकामा नपर, परमेश्वरको ठट्टा हुनेछैन, किनभने मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ। किनकि जसले आफ्नै शरीरको लागि रोप्तछ, त्यसले शरीरैबाट विनाशको कटनी गर्नेछ।”—गलाती ६:७, ८.
६, ७. अधीनमा बस्न इन्कार गर्नुको मूल कारण के हो र यसलाई के कस्ता उदाहरणहरूबाट देख्न सकिन्छ?
६ तर अधीनमा बस्न नचाहने यो सारा प्रवृत्तिको मूल कारण के हो? साधारणतया, स्वार्थ र अहङ्कार। यसैले गर्दा त प्रथम स्त्री हव्वालाई सर्पले ठग्न सक्यो र निषेध गरिएको फल तिनले खाइन्। तिनी आफ्नो सीमाको कदर गर्ने र नम्र हुँदी हुन् त, परमेश्वर जस्तै हुनु अर्थात् आफ्नो लागि असल र खराब आफै फैसला गर्नु तिनलाई रहर लाग्ने थिएन। र तिनी निस्वार्थ हुँदी हुन् त तिनका सृजनहार, यहोवा परमेश्वरले स्पष्ट रूपमा निषेध गर्नु भएको कुरा तिनले चाहने थिइनन्।—उत्पत्ति २:१६, १७.
७ आदम र हव्वाको पतनको केही समय पश्चात् नै अहङ्कार र स्वार्थको कारण कयिनले आफ्नो भाइ हाबिलको हत्या गऱ्यो। यसबाहेक, केही स्वर्गदूतहरूले पनि स्वार्थको कारण नै स्वतन्त्रतापूर्वक काम गरे र कामवासनाको आनन्द उठाउन मानिसको रूप धारण गरी आफ्नो मूल बासस्थान छाडे। निम्रोद पनि अहङ्कार र स्वार्थले प्रेरित भए र तिनी पछिका धेरै जसो सांसारिक शासकहरूले पनि यही प्रवृत्ति देखाएका छन्!—उत्पत्ति ३:६, ७; ४:६-८; १ यूहन्ना ३:१२; यहूदा ६.
यहोवा परमेश्वरको अधीनमा हामी किन बस्नु पर्छ?
८-११. हामीले ईश्वरीय अधीनता प्रकट गर्नु पर्ने कुन चार विशेष कारणहरू हुन्?
८ हाम्रो सृजनहार, यहोवा परमेश्वरको अधीनमा हामी बस्नु किन अनिवार्य छ? किनभने, प्रथमतः उहाँ नै ब्रह्माण्डको सर्वसत्ताधारी हुनुहुन्छ। सारा अख्तियार उहाँमा नै निहित छ। उहाँ हाम्रा न्यायकर्ता, कानुनदाता र राजा हुनुहुन्छ। (यशैया ३३:२२) यसैकारण त उहाँबारे यसप्रकार लेखिएको छ: “जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्।”—हिब्रू ४:१३.
९ यसको अलावा, हाम्रो सृजनहार सर्वशक्तिमान हुनुहुन्छ। अतः कसैले पनि सफलतापूर्वक उहाँको विरोध गर्न सक्तैन; उहाँको अधीनमा बस्ने आफ्नो कर्तव्यको अवहेलना गर्न पाउने छैन। गर्नेहरूले कुनै नकुनै बेला प्राचीन कालको फिरऊन र भविष्यमा परमेश्वरले तोक्नु भएको समयमा दियाबल अर्थात् शैतानले झैं विनाश भोग्ने छन्।—भजनसंग्रह १३६:१, ११-१५; प्रकाश ११:१७; २०:१०, १४.
१० सबै नै बौद्धिक प्राणीहरूको कर्तव्य अधीनमा बस्नु हो किनभने तिनीहरू सबै नै तिनीहरूको सृजनहारको उद्देश्यलाई पूरा गर्नका लागि सृजिएका हुन्। प्रकाश ४:११-ले यो घोषणा गर्दछ: “हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यको परमेश्वर हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए र सृजिए।” उहाँ महान कुमाले हुनुहुन्छ र उहाँले आफ्नो उद्देश्य पूरा गर्नका निम्ति मानव भाँडाहरूलाई बनाउनु हुन्छ।—यशैया २९:१६; ६४:८.
११ हाम्रो सृजनहार सर्वबुद्धिमान हुनुहुन्छ र हाम्रो सर्वोत्तम भलाइ केमा छ, सो उहाँ नै जान्नुहुन्छ। यो हामीले कहिल्यै बिर्सनु हुँदैन। (रोमी ११:३३) उहाँका नियमहरू ‘हाम्रै हितका’ लागि हुन्। (व्यवस्था १०:१२, १३) तर यो भन्दा पनि बढी त “परमेश्वर प्रेम हुनुहुन्छ” र हाम्रो सम्पूर्ण भलाइ मात्र चाहनु हुन्छ। हाम्रा सृजनहार, यहोवा परमेश्वरको अधीनमा हामी बस्नै पर्ने साँच्चै नै कति धेरै कारणहरू छन्।—१ यूहन्ना ४:८.
येशू ख्रीष्ट ईश्वरीय अधीनताको सिद्ध उदाहरण
१२, १३. (क) येशू ख्रीष्टले ईश्वरीय अधीनता कसरी प्रकट गर्नुभयो? (ख) येशूका कुन शब्दहरूबाट उहाँको नम्र मनोवृत्ति देख्न सकिन्छ?
१२ निश्चय नै, यहोवाको एक मात्र पुत्र, येशू ख्रीष्ट नै हाम्रा लागि ईश्वरीय अधीनताको सिद्ध उदाहरण हुनुहुन्छ। यसै कुरालाई औंल्याउदै प्रेरित पावल फिलिप्पी २:६-८-मा यसो भन्छन्: “[येशू], परमेश्वरको रूप भएर परमेश्वरसितै बराबरको हुनालाई, जोगाइराख्ने धन जस्तो सम्झनुभएन, तर आफूलाई रित्याईकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्तो भएर मृत्युसम्मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्युसम्मै आफूलाई होच्याउनुभयो।” येशूले कुनै पनि कुरा आफ्नै मनले गर्नु हुँदैन थियो। यो कुरा उहाँले पृथ्वीमा हुनुहुँदा बारम्बार भन्नु भयो; उहाँ कहिले पनि स्वतन्त्र भएर काम गर्नु हुँदैन थियो; बरु सधैं स्वर्गमा हुनुहुने आफ्नो पिताको अधीनमा बस्नु हुन्थ्यो।
१३ यूहन्ना ५:१९, ३०-मा हामी यी शब्दहरू पढ्छौं: “येशूले तिनीहरूलाई भन्नुभयो, ‘साँचो साँचो म तिमीहरूलाई भन्दछु, पिताले जे गर्नुहुन्छ त्यो पुत्रले नदेखेसम्म पुत्र आफैले केही गर्नसक्तैन, किनभने उहाँ जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ। म आफै केही गर्नसक्तिनँ, जस्तो म सुन्छु, म इन्साफ गर्छु औ मेरो इन्साफ ठीक छ, किनकि म आफ्नो इच्छा होइन, तर मलाई पठाउनेको इच्छा खोज्दछु।’” साथै, उहाँसित विश्वासघात गरिने रातमा पनि उहाँले बारम्बार यसो भन्नु हुँदै प्रार्थना गर्नु भयो: “मेरो इच्छाबमोजिम होइन, तर तपाईंको इच्छा बमोजिम होस्”—मत्ती २६:३९, ४२, ४४; यूहन्ना ७:२८; ८:२८, ४२ पनि हेर्नुहोस्।
ईश्वरीय अधीनताका प्राचीन उदाहरणहरू
१४. नूहले कुन-कुन तरिकाबाट ईश्वरीय अधीनता देखाए?
१४ ईश्वरीय अधीनताका प्राचीन मानव उदाहरणहरू मध्ये एकजना नूह थिए। तिनले आफ्नो अधीनता तीन बेग्लाबेग्लै ढङ्गहरूमा प्रदर्शित गरे। प्रथमतः तिनी एकजना धर्मी मानिस थिए र आफ्नो समयका व्यक्तिहरू बीच दोषमुक्त भएर साँचो परमेश्वरसित हिंड्ने गर्थे। (उत्पत्ति ६:९) दोस्रो, तिनले जहाजको निर्माण गरे। “परमेश्वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।” (उत्पत्ति ६:२२) तेस्रो, एकजना “धर्मको प्रचारक” भएर तिनले आउनलागेको जलप्रलयबारे चेताउनी दिए।—२ पत्रुस २:५.
१५, १६. (क) ईश्वरीय अधीनता देखाउने सम्बन्धमा अब्राहामले के असल उदाहरण छाडे? (ख) साराले अधीनता कसरी देखाइन्?
१५ ईश्वरीय अधीनताको एउटा अर्को विशिष्ट उदाहरण अब्राहाम थिए। तिनले ईश्वरीय अधीनता परमेश्वरको यस आदेशलाई पालन गरेर देखाए: “तेरो देश . . . बाट निस्केर जा।” (उत्पत्ति १२:१) यस आदेशलाई पालन गर्दा तिनले ऊर शहरका [र पुरातात्त्विक प्रमाणअनुसार त्यो कुनै साधारण शहर थिएन] सुविधाहरू छाडेर एउटा नौंलो मुलुकमा, एक ठाउँदेखि अर्को ठाउँ बसाइ सर्दै सय वर्ष बिताउन पऱ्यो। तर अब्राहामले ईश्वरीय अधीनता विशेष- तवरमा आफ्नो छोरा इसहाकलाई बलिदानको रूपमा चढाउन तयार भएर प्रकट गरे। त्यो एउटा जाँच थियो जसको तिनले सफलतापूर्वक मुकाबिला गर्न सके।—उत्पत्ति २२:१-१२.
१६ ईश्वरीय अधीनताको एउटा अर्को असल उदाहरण हामी अब्राहामकी पत्नी सारामा पाउँछौं। एउटा नौंलो मुलुकमा एक ठाउँदेखि अर्को ठाउँ घुमी रहनु पर्दा निश्चय नै धेरै असुविधाहरूको सामना गर्नु पऱ्यो होला। तर यसबारे तिनले सिकायत गरेको कुरा हामी कहीं पनि पढदैनौं। तिनको ईश्वरीय अधीनताको एउटा राम्रो उदाहरण हामी विशेष गरी त्यति खेर देख्छौं जब अब्राहामले दुई पटक तिनलाई मूर्तिपूजक शासकहरूको सामुन्ने आफ्नी बहिनी भनेर प्रस्तुत गरे। यसले गर्दा तिनी ती मूर्तिपूजक शासकहरूको झण्डै एउटी भित्रिनी हुन पुगे तापनि, तिनले दुवै पटक केही आपत्ति व्यक्त गरिनन्। तिनले आफ्नो हृदयमा पनि अब्राहामलाई “प्रभु” नै ठान्थिइन्। यसले पनि तिनको ईश्वरीय अधीनताको प्रमाण दिन्छ र ईश्वरीय अधीनता साँच्चै नै तिनको मानसिक झुकाव नै रहेछ भनी देखिन्छ।—उत्पत्ति १२:११-२०; १८:१२; २०:२-१८; १ पत्रुस ३:६.
१७. इसहाकले ईश्वरीय अधीनता देखाए भन्न किन मिल्छ?
१७ तर अब्राहामको छोरा इसहाकले देखाएको ईश्वरीय अधीनताको उदाहरण पनि हामीले बिर्सनु हुँदैन। तिनलाई अब्राहामले बलिदानको रूपमा चढाउने आदेश यहोवाबाट पाउँदा, यहूदी परम्पराअनुसार इसहाक करीब २५ वर्षको थियो। तिनले चाहेको भए, आफ्नो सय वर्ष पुगेको बूढो पितालाई रोक्ने प्रयास गर्न सक्थ्ये। तर गरेनन्। बलिदान चढाउने त्यहाँ कुनै जनावर नदेख्दा इसहाक निश्चय नै छक्क परे। तापनि तिनको पिताले तिनलाई वेदीमाथि राख्दा र पछि सम्भवतः छुरी चलाउनु पर्दा तिनको शरीर नछटपटिओस् भनेर तिनको हात-खुट्टा बाँधी दिंदा तिनी नम्रतापूर्वक राजी भए।—उत्पत्ति २२:७-९.
१८. अनुकरणीय ईश्वरीय अधीनता मोशाले कसरी देखाए?
१८ कैयौं वर्षपछि मोशाले पनि हाम्रा लागि ईश्वरीय अधीनताबारे एउटा असल उदाहरण कायम गरे। यस कुराको सङ्केत तिनको स्वभावबारे गरिएको यो वर्णनबाट देख्न सकिन्छ: “पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए।” (गन्ती १२:३) तिनले ४० वर्षसम्म उजाडस्थानमा यहोवाका आदेशहरू आज्ञाकारीताकासाथ पालन गर्दै आए। बीस-तीस लाखको सङ्खया भएको एउटा अटेर जातिको तिनले अगुवाइ गरे। यी सबैकुराबाट तिनको ईश्वरीय अधीनता अझ स्पष्टसित प्रमाणित हुन्छ। अतः लिखित वचनले पनि तिनीबारे यसो भन्छ: “तब मोशाले त्यसैनै गरे। परमप्रभुले दिनुभएको सबै आज्ञाबमोजिम तिनले गरे।”—प्रस्थान ४०:१६.
१९. अय्यूबले यहोवाप्रति आफ्नो अधीनता कुन कुन अभिव्यक्तिद्वारा देखाए?
१९ हाम्रोलागि ईश्वरीय अधीनताको एउटा उत्तम उदाहरण छाडेर जानेहरू मध्ये अय्यूब पनि छन्। अय्यूबका सबै धन-सम्पत्ति सखाप पार्न, तिनका छोरा-छोरीहरूलाई मार्न र यसपछि तिनको आफ्नै “टाउकोदेखि पैतालासम्म खटिरा” उब्जाइदिन यहोवाले शैतानलाई अनुमति दिनु भएपछि अय्यूबकी पत्नीले तिनलाई यसो भनिन्: “के तपाईं आफ्नो निष्ठामा अझै अडिनै रहनुहुन्छ? परमेश्वरलाई सरापेर मरे असल हुन्छ।” तापनि अय्यूबले आफ्नो ईश्वरीय अधीनता व्यक्त गर्दै तिनलाई यसो भने: “तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्छौ। परमेश्वरबाट सुख चाहिं भोगेर हामीले दुःख नभोग्नु र?” (अय्यूब २:७-१०) यसैप्रकारको मनोवृत्ति प्रकट गर्ने तिनका शब्दहरू अय्यूब १३:१५-मा पनि उल्लिखित छन्: “उहाँले मलाई मार्नु भए तापनि म धुकचुक मान्नेछैनँ।” हुन तः हो, अय्यूबले आफूलाई धर्मी साबित गर्न अलिक बढतै चासो देखाए। तापनि अन्तमा गएर तिनको एकजना तथाकथित शुभचिन्तकलाई यहोवाले भन्नु भएको यस कुराको उपेक्षा हामीले गर्नु हुँदैन: “तँ र तेरा दुई मित्रहरूसँग म क्रोधित भएको छु, किनभने मेरो दास अय्यूबले मेरो विषयमा भनेझैं तिमीहरूले भन्नुपर्ने कुरा भनेनौ।” निःसन्देह, अय्यूबले ईश्वरीय अधीनताको एउटा असल उदाहरण हाम्रा लागि कायम गरेका छन्।—अय्यूब ४२:७.
२०. दाऊदले कुन कुन ढङ्गमा ईश्वरीय अधीनता प्रदर्शित गरे?
२० हिब्रू शास्त्रमा पाइने अझ अन्य उदाहरणहरूबाट हामी अब एकजना अर्थात दाऊदबारे विचार गरौं। दाऊदलाई राजा शाऊलले एउटा जनावरलाई झैं लखेटेर हिंडदा दाऊदले शाऊललाई मारेर आफ्नो दुःखको अन्त गर्ने दुई पटक मौका पाए। तापनि, ईश्वरीय अधीनताले दाऊदलाई यसो गर्नदेखि रोके। तिनका शब्दहरू १ शमूएल २४:६-मा लेखेर राखिएको छ: “मैले आफ्ना मालिक, परमप्रभुको अभिषिक्त जनको केही हानी गर्ने कुरा मबाट परै रहोस्।” (१ शमूएल २६:९-११ पनि हेर्नुहोस्।) यस्तैगरी, आफूले गल्ती अथवा पाप गर्दा पनि सुधार स्वीकारेर तिनले आफ्नो ईश्वरीय अधीनता प्रकट गरे।—२ शमूएल १२:१३; २४:१७; १ इतिहास १५:१३.
पावलले देखाएको अधीनताको उदाहरण
२१-२३. कुन कुन बेग्ला-बेग्लै परिस्थितिहरूमा प्रेरित पावलले ईश्वरीय अधीनता देखाए?
२१ मसीही युनानी शास्त्रमा ईश्वरीय अधीनताको एउटा प्रमुख उदाहरण हामी प्रेरित पावलमा पाउँछौं। तिनले आफ्नो सेवकाईका अन्य कुराहरूमा झैं, यस विषयमा पनि आफ्नो मालिक येशू ख्रीष्टको अनुसरण गरे। (१ कोरिन्थी ११:१) यहोवा परमेश्वरले तिनलाई अरू प्रेरितहरूलाई भन्दा बढी शाक्तिशाली ढङ्गमा प्रयोग गर्नु भए तापनि पावल कहिले पनि स्वतन्त्र भएर काम गर्दैन थिए। अन्यजातिहरूबाट धर्म-परिवर्तन गरेर आएकाहरूले खतना गर्नुपर्छ कि पर्दैन भन्ने सवाल खडा हुँदा, “ती भाइहरूले [एन्टिओकका भाइहरूले] पावल र बर्णाबास र तिनीहरू मध्येबाट पनि कुनैलाई यस सवालको विषयमा यरूशलेममा प्रेरितहरू र धर्मगुरुहरूकहाँ जानालाई नियुक्त गरे” भनी लूका भन्छन्।—प्रेरित १५:२.
२२ पावलको मिसनरी गतिविधिबारे गलाती २:९-ले हामीलाई यसो भन्छ: “औ खामा कहलिएका याकूब, केफास र यूहन्नालाई जब ममाथि भएको अनुग्रह विदित भयो, तब मलाई र बर्णाबासलाई सङ्गतिको दाहिने हात दिएर हामी चाहिं अन्यजातिकहाँ जाने, र उनीहरू चाहिं खतनाका मानिसहरूकहाँ जाने भने।” स्वतन्त्र भएर काम गर्नुको सट्टा पावलले निर्देशनको खोजी गरे।
२३ यस्तैगरी पावल अन्तिम पटक यरूसलेममा भएको बेलामा तिनले मोशाको व्यवस्थाको विरोध गरेका छैनन् भनेर सबैलाई देखाउन मन्दिरमा गएर व्यवस्थाको विधिअनुसार गर्नु भनी तिनलाई त्यहाँका प्राचीनहरूले दिएको सल्लाह तिनले स्वीकारे। तर यसको परिणामस्वरूप तिनको विरुद्धमा मानिसहरूको हुल आइ लाग्यो। के यसको अर्थ ती प्राचीनहरू प्रति तिनले अधीनता देखाउनु एउटा गलती थियो? पटक्कै थिएन भन्ने प्रमाण हामी प्रेरित २३:११-मा पाउँछौं: “औ त्यही रात प्रभुले तिनका नजीक उभिएर भन्नुभयो, ‘साहस गर, पावल, किनकि जसरी तिमीले यरूशलेममा मेरो विषयमा गवाही दियौ, त्यसरी तिमीले रोममा पनि गवाही दिनुपर्छ।’”
२४. आउँदो लेखमा अधीनताका कुन कुन थप पक्षहरूबारे छलफल गरिनेछ?
२४ साँच्चै नै, हामीलाई शास्त्रले अधीनमा बस्ने जोडदार कारणहरूका साथसाथै यसप्रकारको अधीनता व्यक्त गर्ने मानिसहरूको ज्वलन्त उदाहरणहरू दिन्छ। आउँदो लेखमा हामीले पनि यहोवा परमेश्वरप्रति अधीनता देखाउने विभिन्न क्षेत्रहरू, सो गर्न हामीलाई मद्दत दिने कुराहरू र त्यसबाट पाइने इनामहरूबारे विचार गर्नेछौं। (w93 2/1)
तपाईं कसरी उत्तर दिनुहुन्छ?
▫ कुन प्रकारको स्वतन्त्रताको चाहिं रहर गर्नु हुँदैन?
▫ अधीनमा बस्न इन्कार गर्नुको मूल कारण के हो?
▫ कुन कुन कारणहरूका निम्ति हामी यहोवाको अधीनमा बस्नु पर्छ?
▫ शास्त्रले ईश्वरीय अधीनताका कुन कुन असल उदाहरणहरू दिन्छ?
[पृष्ठ ८-मा भएको चित्र]
निम्रोद, ईश्वरीय अधीनताको विरोध गर्ने जलप्रलय पश्चातको प्रथम शासक
[पृष्ठ ११-मा भएको चित्र]
नूह, ईश्वरीय अधीनताको एउटा दोषरहित उदाहरण।—उत्पत्ति ६:१४, २२